एमालेको रामरमिता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको रामरमिता

दम्भ, अहंकार, कुण्ठा, निरीहता, हुतिहारापन र अवसरवादी चरित्रजस्ता अनेक अराजनीतिक प्रवृत्तिका भारीले एमाले उठ्नै नसक्ने गरी थिचिएको छ । 
राजाराम गौतम

कम्युनिस्टहरू राजनीतिक पतनको डिलमा पुगेपछि प्राचीन पात्रहरूमा आफ्नो जीवन खोज्छन् । प्राचीन युनानी मिथका दुई पात्र नार्सिसस र फिनिक्स चरोको कथा नेपाली कम्युनिस्ट वृत्तमा चर्चित छ । 

नार्सिसस अपार सम्भावना बोकेको एउटा पात्र हो, जो आफ्नै सुन्दरताप्रति अधिक मोहित भएर मर्छ । आफ्नो अनुहारको प्रतिविम्ब हेर्न नहुने श्राप पाएको ऊ पानी खोज्दै एक दिन पोखरीको डिलमा पुग्छ । आफ्नो सुन्दर अनुहार देखेर ऊ यति मोहित हुन्छ, त्यहाँबाट आफूलाई हटाउनै सक्दैन र मर्छ । फिनिक्स चरो आफ्नो आयु सकिएपछि आगोमा जलेर खरानी हुन्छ र त्यही खरानीबाट ब्युँतेर नयाँ काया लिएर उड्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदै पार्टीमा अन्तरविरोध चुलिएपछि सैद्धान्तिक ‘डिस्कोर्स’ गर्न रुचाउने नेता घनश्याम भुसालले २०७५ मंसिर ४ मा कान्तिपुरमा ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टीर् ?’ शीर्षक लेखमा प्रश्न उठाएका थिए, ‘नेकपा आफ्नो रूप हेरीहेरी, आफैं हुन्छु दंग हुँदै नार्सिससजस्तो सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैं अगाडि बढ्छ ?’

यी दुई सम्भावनामध्ये नेपाली कम्युनिस्टहरू नार्सिससको बाटोतिर उन्मुख भएका छन् । पछिल्लो राजनीतिक कालखण्डमा नेकपासँग प्रचुर अनुकूलता थियो । जनताबाट अनुमोदित भएर सत्तामा पुगेको थियो । विरोध गर्ने प्रतिपक्ष कमजोर थियो । छिमेकहरूसँगको सम्बन्ध अनुकूलतामा बदलिएको थियो । अनेक उतारचढावपछि मुलुक अग्रगामी राजनीतिको बाटोमा थियो । रक्तरञ्जित इतिहासको जगमा नेपालको संविधान–२०७२ सहितका राजनीतिक उपलब्धि हासिल भएका थिए । मान्छेहरूले कम्युनिस्ट सत्तासँग आशा र अपेक्षा राख्न थालेका थिए । विडम्बना, आत्मरति र अहंकारको व्यूहबाट नेकपा निस्कनै सकेन । उसले जनअपेक्षामाथि निर्ममताका साथ कुठाराघात गर्‍यो, जनादेशको घोर अपमान गर्‍यो । र, आपसमै लडेर सिद्धिने बाटोतिर अग्रसर भयो ।

यदुवंशीझैं नेपालका कम्युनिस्टहरू पतनको बाटोमा छन् । विनाशको प्रतिस्पर्धामा नेकपा एमाले सबैभन्दा अगाडि छ । धेरै जनताले पत्याएको, जुझारु र तेजिला कार्यकर्ता भएको, केन्द्रदेखि तलैसम्म बलियो संगठन भएको पार्टीको छवि थियो एमालेको । एमाले र माओवादी केन्द्र मिलेपछि गठन भएको नेकपा झन् शक्तिशाली भएको थियो । चुनावी एकता हुँदै पार्टी एकता नै भएपछि मुलुकमा कम्युनिस्टहरूको दबदबा नै कायम भयो । कतिसम्म भने, त्यो दबदबामा चेपिएर कांग्रेस कमजोर प्रतिपक्षको हैसियतमा एउटा कुनामा निरीहझैं थन्किएको थियो । शक्ति–उन्मादले नेकपालाई छिन्नभिन्न पारेको छ भने किनारामा बसेर कम्युनिस्टहरूको ‘ताण्डव’ हेर्दै गरेको कांग्रेस सत्तामा पुगेको छ । र, तिनै कम्युनिस्टहरूले कांग्रेसलाई किस्तीमा सजाएर सत्ता सुम्पेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै २२ सहित १ सय ६५ सांसदले विश्वासको मत दिएपछि आवधिक निर्वाचन नहुँदासम्म उनले सरकारको नेतृत्व गर्ने भएका छन् । सरकारको नेतृत्व पाएर कांग्रेस उत्साहित छ । तर, आमरूपमा देउवाप्रति आकर्षण र उत्साह छैन । देउवा साख गुमेका नेता हुन् । पार्टीकै नेतृत्वको कुरा होस् वा यसअघिका प्रधानमन्त्रीय कार्यकालहरू होऊन्, उनी खरो उत्रन सकेका छैनन् । उनका लागि यो अर्को परीक्षा हो । फेरि उनले आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् ।

देउवाको पाँचौं आगमनले उत्साह नभरे पनि ‘डिरेल’ हुँदै गरेको राजनीतिलाई पुनः लिकमा ल्यएको छ । पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तामोहमा फसेर अन्धाधुन्ध विधि मिच्दै संविधान र समग्र राजनीतिमाथि नै आघात पुर्‍याएका थिए, देउवाले त्यो घाउमा मल्हम लगाउने अवसर पाएका छन् । कोमाबाट ब्युँतेको राजनीतिलाई देउवाले के–कति मल्हमपट्टी गर्लान् ? त्यो आगामी दिनमा उनले लिने नीति र कार्यशैलीले तय गर्नेछ ।

अहिले भने सबैको ध्यान एमालेतिर छ, जो मरणासन्न भएर छटपटिएको छ । गम्भीर राजनीतिक उपचारको खोजीमा छ । एमालेको यो हबिगत किन र कसरी भयो ? के फिनिक्स चरोझैं खरानीबाट ब्युँतेर एमालेले नयाँ काया फेर्ला ? यी प्रश्नको सेरोफेरोमा यो विश्लेषण केन्द्रित रहनेछ ।

एक थरी एमालेहरू अहिले अदालतसँग रुष्ट छन् । फेरिएको राजनीतिक परिदृश्य र समीकरणमा अदालतको प्रभाव देख्छन् उनीहरू । अर्का थरीलाई लाग्छ, विदेशी शक्तिकेन्द्रहरूको प्रभावमा परेर एमाले छिन्नभिन्न भयो । तेस्रो थरीको धारणा छ— कांग्रेस, माओवादी लगायतका दलहरूले खेलेका कारण एमालेको अन्तर्द्वन्द्व चुलियो । देउवा, प्रचण्ड आदिले बोकेका कारण माधव नेपाल ‘फ्लोर क्रस’ गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनतिर लागे । यी तर्कहरू पूर्ण असत्य होइनन् । खेल्ने ठाउँ दिएपछि विपक्षीले पनि खेल्छ, विदेशी स्वार्थ शक्तिहरूले पनि खेल्छन् । तर मूलतः एमाले आफ्नै कारणले पछारिएको हो । एमाले पछारिनुमा, यसले काया फेर्न नसक्नुमा केन्द्रदेखि वडासम्म हुर्केका केही प्रवृत्ति जिम्मेवार छन् ।

केही वर्षअघि ‘लिङ्ग नछुट्टिएको पार्टी’ भनेर नेकपा एमालेको आलोचना हुन्थ्यो । एउटा गुट कांग्रेसतिर ढल्कने, अर्को माओवादीतिर लहसिने गरेपछि राष्ट्रिय राजनीतिमा यो ढुलमुले चरित्र बोकेको दलमा दर्ज थियो । केही वर्षकै अन्तरालमा एमालेको राजनीति यति विधि खस्कियो, अहिले मान्छेहरू प्रश्न गर्न थालेका छन्— एमाले कुनै राजनीतिक दल नै हो ? यो प्रश्न किन पनि उठेको छ भने, एमालेमा अब कुनै दलीय चरित्र बाँकी रहेन । दम्भ, अहंकार, कुण्ठा, निरीहता, हुतिहारापन र अवसरवादी चरित्रजस्ता अनेक अराजनीतिक प्रवृत्तिको भारीले एमाले उठ्नै नसक्ने गरी थिचिएको छ ।

दम्भ र अहंकारका अगुवा ओली नै हुन् । छुद्र बोल्ने, जालझेलमा विश्वास गर्दै आफूलाई पछ्याउने ‘छोटे’ हरूको दस्ता उनले पार्टीपंक्तिमा निर्माण गरेका छन् । शक्तिशाली प्रधानमन्त्री हुन माओवादीलाई भित्र्याएयता चलेको अन्तरपार्टी संघर्षमा उनको अहं निरन्तर प्रकट भइरह्यो । पार्टी विधान, संविधान केही वास्ता गरेनन् उनले । निरन्तर मिच्दै जसरी पनि शक्तिमा रहिरहने प्रपञ्च मात्रै गरिरहे ।

ओलीले शक्तिको अभ्यास बढाउँदै लाँदा उनीनजिक रहेको, आश गरिएको नेतृत्व पंक्तिमा चाकर प्रवृत्ति विकास भयो । सहीलाई सही र गलतलाई गलत भन्ने आँट तिनले देखाउन सकेनन् । सार्वजनिक छवि ध्वस्त हुँदै जाँदा पनि ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङजस्तो समाजले आश गरेको नेतृत्व वर्गले ओलीको दासत्व स्वीकार गर्‍यो ।

माधव नेपाल ‘इगो’ बाट निर्देशित भए । ओलीले प्रचण्डसँग ‘पावर सेयरिङ’ गरेपछि तत्कालीन नेकपामा नेपाल किनाराका साक्षी बन्न पुगेका थिए । ओली र प्रचण्डबीच टकराव हुँदा मात्रै उनी निर्णायक हुन सक्थे । अन्यथा उनी निरीह बनेका थिए । जब ओली–प्रचण्ड टकराव बढ्यो, नेपालले मध्यमार्गी भूमिका निर्वाह गरेर नेकपाभित्र सल्केको अन्तर्द्वन्द्व व्यवस्थापनमा भूमिका खेल्नुपर्थ्यो । तर, ओलीले उनलाई यति धेरै प्रताडित गरेका थिए, उनी प्रचण्डतिर उभिए । शीर्ष तहमा हुर्केको प्रतिष्ठाको लडाइँ बढ्दै जाँदा नेकपा त रहेन नै, एमाले पनि रहने/नरहने अवस्थामा आयो । संविधान पटक–पटक मिचेपछि नेपालले जे राजनीतिक बाटो हिँड्नुपर्थ्यो, त्यो हिँडे । त्यो सही छ । तर, अन्तर्द्वन्द्व बढेका सुरुआती दिनमा उनले आफ्नो स्वभावअनुसार समन्वयकारी भूमिका खेलेका भए, सायद आजको दिन नआउन पनि सक्थ्यो ।

यो अवस्थाको जिम्मेवार दोस्रो पुस्ताका ‘मूर्धन्य’ हरू पनि हुन्, जसको हुतिहारापन र अवसरवादी चरित्र एमालेको काया फेर्ने कुरामा बाधक भएको छ । घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्टलगायतले पार्टी एकताको नाममा खेलेको भूमिका निराशाजनक छ । यो पुस्ताले नेतृत्व आफूले लिनुपर्छ भन्ने आँट नै गर्न सकेन । ओली र माधवलाई मिलाउन हिँडेको यो पुस्ताले कम्तीमा पार्टीले गरेको व्यवस्थाअनुसार, सत्तरी कटेका नेताले विश्राम लिनुपर्छ भन्नसम्म सकेको छैन ।

न मिल्न सक्ने, न विभाजित हुन सक्ने अवस्थामा छ एमाले । ओलीले माधव नेपालबिनाको एमाले बनाउने सोचेका छन् । बालुवाटारबाट बहिर्गमन भएपछि बालकोटको बार्दलीबाट उनले त्यही उद्घोष गरे । यसअघि नै कुनै बेला नेपालनिकट तर हाल ओली कित्तामा पुगेका शेरबहादुर तामाङले ‘विपक्षीलाई सत्ताको श्रीपेच पहिर्‍याउनेहरूलाई पार्टीमा स्वागत गर्न नसकिने’ बताइसकेका थिए । गोकुल बाँस्कोटालगायत ओली समूहका नेता–कार्यकर्ताहरू नेपालबिनाको एमालेको पक्षमा धारणा सार्वजनिक गरिरहेका छन् ।

न माधव नेपालबिनाको एमाले यति बेला सम्भव देखिन्छ, न ओलीबिनाकै । बरु पार्टी र सरकार दुवैमा असफल, शक्तिशाली पार्टीलाई छिन्नभिन्न पार्ने ओलीबिनाको एमाले बौरिन सक्ला । तर, पार्टीमा पकड अझै राख्न सकेका र सत्ताच्युत हुँदा पनि उस्तै तुजुक देखाउन सकेका ओलीको विकल्प त्यो समूहले सोच्दैन ।

अधिकांश एमाले नेता–कार्यकर्ता ओली–नेपालसहितको एमाले नै चाहन्छन् । तर, जुन स्तरको आवेश, गालीगलौजमा यी दुई समूह ओर्लेका छन्, तत्कालका लागि त्यो पनि सम्भव देखिँदैन । दुवै समूहका दोस्रो पुस्ताका नेता एक ठाउँमा आउने हो भने बरु नेपाल र ओलीबिनाको एमाले चाहिँ बन्न सक्छ । दोस्रो पुस्ताका दुवै गुटका नेता एक ठाउँमा आएर शीर्ष तहलाई बिदा दिने गरी राजनीतिक हस्तक्षेप गर्न सक्ने हो भने यो एमाले पुनर्गठनको नयाँ शिरा हुन सक्छ । यो परिवेश बनाउन पनि एमालेको यो पुस्ता तयार छैन । उमेर समूह, पार्टीमा लगानी, क्षमता उस्तैउस्तै भएका दोस्रो पुस्ताका समकक्षीले कसलाई नेता मान्ने ? यी अवस्थाहरूले गर्दा एमाले न बेग्लाबेग्लै हुन सक्ने, न त मिलेर अघि बढ्न सक्ने अप्ठेरो अवस्थामा छ । तल्लो तहसम्म विभाजित कार्यकर्ता पंक्ति या त गुटको तावेदारी गर्छ या निरीह र निराश छ ।

कुनै बेला प्रगतिशील राष्ट्रवादको कुरा गर्ने, जनजीविकाको मुद्दा उठाउने एमालेको राजनीति आज व्यक्तिप्रधान भएको छ । यसका नेताहरूलाई अराजनीतिक बाटो हिँडेकामा चिन्ता छैन । बरु नेताहरूको व्यवस्थापन कहाँ कसरी गर्ने, कसरी एकता गरेर ‘एमाले नामक कम्पनी’ जीवित राखिराख्ने र त्यसमार्फत शक्ति आर्जन गर्ने अनि त्यसको स्वाद चाख्ने भन्ने नै ध्याउन्न छ । एमाले नेतृत्वले जनताका नाममा जति नै भाषणवाजी गरे पनि उनीहरूको मुख्य स्वार्थ शक्ति र सत्ता नै हो, अग्रगामी राजनीति होइन ।

एमालेको राजनीति फेर्न दोस्रो पुस्ता किन तयार छैन ? किनभने यो पुस्ता जोखिम लिन चाहँदैन । यसको वर्ग फेरिएको छ । जोखिम त्यसले लिन्छ, जोसँग गुमाउने केही हुँदैन । हिजो निरंकुशकालमा यी नेताहरूसँग गुमाउने केही थिएन । जिते ‘हस्तिनापुरको राज’ भन्ने थियो, हारे गुम्ने केही थिएन । आज गुम्यो भने सानसौकत, सत्ता, पद र प्रतिष्ठा, फेरि शून्यबाट संघर्ष थाल्ने आँट र चाहना यो पंक्तिमा छैन । त्यसैले राजनीतिका नाममा प्रहसन र रमिता हुँदा पनि दोस्रो पुस्ताका नेताहरू त्यसलाई बदल्ने बाटोमा छैनन् । यो अवस्थामा एमालेरूपी फिनिक्स चरोले नयाँ काया कसरी पाऊला ?

प्रकाशित : श्रावण ६, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

बदलिँदो भूराजनीतिमा बीपीको सान्दर्भिकता

भुवनलाल जोशी र लियो ई. रोजले बीपीले परराष्ट्रनीतिलाई आफ्नो राजनीतिक शक्ति सुदृढ पार्नका लागि उपयोग गरेनन् भनेका छन् । बीपी स्वयंले ‘म कूटनीतिक स्तरमा राजनीति गर्न चाहन्नँ, म र राजाबीच यही फरक छ’ भन्नुभएको थियो । 
दिनेश भट्टराई

पहिलो विश्वयुद्ध (१४ अगस्ट १९१४) चलिरहँदा भारत प्रवासमा जन्मिएका बीपी कोइराला दोस्रो विश्वयुद्धसम्म आइपुग्दा पढाइ सकेर राजनीतिमा होमिनुभयो । महात्मा गान्धीले अंग्रेजविरुद्ध चलाएको भारत छोडो आन्दोलनमा सहभागी हुँदा उहाँ २९ नोभेम्बर १९४२ मा गिरफ्तार भई १७ जनवरी १९४५ मा रिहा हुनुभयो ।

बीपीले आफू छुटेको सूचना पाएकै दिन यता काठमाडौंमा राणाले बन्दी बनाएका पिता कृष्णप्रसाद कोइरालाको निधनको खबर पनि पाउनुभयो । स्वतन्त्रताप्राप्तिका लागि छोरा (बीपी) भारतीय जेलमा र पिता नेपालको जेलमा बन्दी रहनुले प्रजातन्त्रप्रति त्यो परिवारको लगाव स्पष्ट हुन्छ । बीपीको विचारमा, प्रजातन्त्र अविभाज्य छ; हामीले प्रजातन्त्र चाहने हो भने प्रजातन्त्रप्राप्तिको लडाइँलाई बेवास्ता गर्नु हुँदैन । २००७ सालमा जनक्रान्तिको नेतृत्व गरेर मध्ययुगीन नेपाललाई आधुनिक (प्रजातान्त्रिक) युगमा प्रवेश गराउने श्रेय बीपीलाई जान्छ ।

दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भयो । समाजवादी भनिने कम्युनिस्टहरूको नेतृत्व सोभियत रुसले गर्‍यो भने स्वतन्त्र र प्रजातान्त्रिक खेमाको नेतृत्व अमेरिकाले । शीतयुद्ध उत्कर्षमा पुग्दै गर्दा बीपी नेपालमा जननिर्वाचित (२०१६ सालमा) प्रधानमन्त्री बन्नुभयो । छरछिमेकमा परिस्थिति बडो जटिल बन्दै थियो । त्यो कठिन अवस्थामा उहाँले सुझबुझका साथ देशको नेतृत्व गर्नुभयो ।

तर जनमतको अनादर गर्दै राजा महेन्द्रले १८ महिनामै बीपी नेतृत्वको सरकार अपदस्थ गरिदिए । अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि छाइरहेका बेला बीपीलाई गिरफ्तार गरी राजाले संसदीय व्यवस्था नै भत्काइदिए । त्यसपछि उहाँले ८ वर्षको कठोर कारावास र त्यति नै समय प्रवासमा बिताउनुपर्‍यो । उतार–चढावका बीच शीतयुद्ध कालमै २०३९ साउन ६ मा उहाँको देहान्त भयो । बीपी प्रधानमन्त्री हुँदा होस् वा जेल र प्रवासमा रहँदा, सधैं नेपाली राजनीतिको केन्द्रमा रहनुभयो । सधैं जनतालाई सर्वोपरि मानेर राजनीति गर्नुभयो ।

युरोपलाई विभाजित गर्ने बर्लिनको पर्खाल ९ नोभेम्बर १९८९ मा ढल्यो । बीपीका अनुयायीहरूकै नेतृत्वमा २०४६ सालको जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्र ३० वर्षपश्चात् पुनर्बहाली भयो । उता युरोपमा बर्लिनको पर्खाल ढलेपछि शक्तिशाली सोभियत साम्राज्य पनि पतन भयो । उक्त घटनासँगै एकध्रुवीय भएको विश्वमा अमेरिकी शक्तिको सर्वोच्चता कायम भयो ।

एसियाको यस खण्डमा देखिएको जटिलता र बढ्दो तनाव,यहाँको विविधतामा देखिएका जातीय अन्तरविरोध र संघर्ष, बढ्दो असहिष्णुता, उग्र राष्ट्रवाद र अतिवाद, वढ्दो धर्मान्धका बीच भूराजनीतिमा तीव्र बदलाव भइरहेको छ । आणविक शक्ति भारत र पाकिस्तानबीचको वैमनस्य, सीमाक्षेत्रमा देखिएको आतंकवाद, परराष्ट्र नीतिमा गैरसरकारी तत्त्वको प्रयोग र आणविक हतियार आतंकवादीको हातमा जान सक्ने खतराका कारण जटिलता थपिएको छ । हिमाली भेगका राज्यमा अस्थिरता र अशान्ति छ । यही क्षेत्र जलवायु परिवर्तनको केन्द्रमा छ । बीसौं शताब्दीमा तेलधनी राष्ट्रहरूमा केन्द्रित भूराजनीति अब तेलको सट्टा स्वच्छ ऊर्जामा केन्द्रित हुन पुगेको छ । पानीको धनी यो क्षेत्रमा पानीको सम्भावित युद्ध क्षेत्र देखिनुले दक्षिण एसिया एक्काइसौं शताब्दीमा भूराजनीतिको केन्द्रबिन्दु भइरहेको छ । कुनै समय अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यस क्षेत्रलाई ‘विश्वको खतरनाक ठाउँ’ भनेका थिए । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जानु र तालिवानको सम्भावित सत्तामा वापसीले दक्षिण एसिया मात्र नभई विश्वलाई नै भयभीत बनाएको छ ।

यस पृष्ठभूमिमा त्यति बेला बीपीबाट अभिव्यक्त विचार वर्तमानमा सान्दर्भिक प्रसंगलाई यहाँ चित्रित गर्न खोजिएको छ । बदलिँदो भू–राजनीतिबीच नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताका सम्बन्धमा ४५ वर्षअगाडि बीपीले बोलेका सन्दर्भ अध्ययन गर्दा अहिलेकै परिस्थितिलाई आकलन गरेको जस्तो देखिन्छ । बीपीले परराष्ट्र नीतिलाई घरेलु राजनीतिका लागि कहिल्यै उपयोग गर्नुभएन । नेपालको परराष्ट्र नीतिलाई नजिकबाट अध्ययन गरेका प्राध्यापक भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लियो ई. रोजले परराष्ट्र नीतिलाई आफ्नो राजनीतिक शक्ति सुदृढ पार्नका लागि बीपीले उपयोग नगरेकै भनी उल्लेख गरेका छन् । बीपी स्वयंले ‘म कूटनीतिकस्तरमा राजनीति गर्न चाहन्नँ, म र राजाबीच यही फरक छ’ भन्नुभएको थियो ।

बीपी प्रधानमन्त्री छँदा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतीय संसद्लाई सम्बोधन गर्दै भने, ‘हाम्रो सुरक्षाको प्रश्न उत्तरमा हिमालसम्म छ ।’ बीपीले नेहरूको त्यो भनाइको प्रतिवाद गर्दै भन्नुभएको थियो, ‘नेहरूजीले नेपालसँग नसोधी, नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्नुहुने थिएन । नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुक हो । नेपालले मागेको खण्डमा मात्र भारतले सहयोग गर्ने हो, भारतबाट एकतर्फी रूपमा कारबाही हुन सक्दैन ।’बीपीको अभिव्यक्तिपछि समकक्षी नेहरूले भनेका थिए, ‘बीपीको आशय पूर्णतः सही हो, भारतले एकतर्फी रूपमा कारबाही गर्ने भन्ने प्रश्नै उठ्दैन ।’

जनवरी १९६० मा भारत भ्रमणका बेला बीपीले ‘नेपाल र भारतबीचमा संयुक्त सुरक्षा’ बारे उठाइएको प्रश्नको जवाफमा यो पूर्णतः अनावश्यक छ भन्दै ‘वर्स द्यान युजलेस’ भन्नुभएको थियो । बीपीलाई राजाले अपदस्थ गरेको ५ वर्षपछि ३० जनवरी १९६५ मा नेपाल र भारतबीच हतियार आयातसम्बन्धी समझदारी भयो, जसमा अरू मुलुकबाट हतियार र सामग्री आयात गर्नुपर्ने अवस्था आएमा दुई सरकारबीचको ‘समन्वय र सल्लाह’ मा गरिने भनी बुँदा नम्बर ४ र ५ मा उल्लेख छ । गोप्य राखिएको यो समझदारी २७मे १९८९ मा कलकत्ताबाट प्रकाशित हुने ‘स्टेट्सम्यान’ दैनिकमा आयो । नेपालले पछि चीनबाट सस्तो दरमा अत्यावश्यक हतियार आयात गर्दा सन् १९६५ को उक्त समझदारी उल्लंघन भएको आरोप लगाउँदै भारतले आर्थिक नाकाबन्दी लगायो । क्षणिक सत्तास्वार्थका लागि राजाले राष्ट्रिय सुरक्षामा आपसी समन्वय र सल्लाह गर्न सहमति गरेको तथ्य बाहिरियो ।

संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको प्रतिनिधित्व हुनुपर्ने कुरालाई बीपीले २९ सेप्टेम्बर १९६० मा पन्ध्रौं साधारणसभालाई प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा जोडदार रूपमा उठाउनुभयो । चीनलाई बाहिर राखेर ‘संयुक्त राष्ट्रसंघको विश्वव्यापकता कायम हुन सक्दैन र विश्वमा विद्यमान राजनीतिक वास्तविकता प्रतिबिम्बित हुँदैन’ भन्ने उहाँको दृढ विश्वास थियो । राष्ट्रसंघलाई प्रभावकारी र सशक्त बनाउन चीनको प्रतिनिधित्व आवश्यक भएको कुरा त्यसपछिका घटनाले प्रमाणित गर्छन् । यति बेला चीन एसिया मात्र नभएर विश्व राजनीतिक व्यवस्थाको केन्द्रमा पुग्नुले बीपीको उक्त भनाइ सार्थक हुन पुगेको छ । बीपीले सम्बोधनमा आर्थिक असमानताले देशभित्र र देशहरूबीच द्वन्द्व र तनाव सिर्जना गर्छ भन्नुभएको थियो, जुन अहिले पनि सान्दर्भिक देखिन्छ । उहाँले राष्ट्रसंघलाई शक्ति राष्ट्रबीचको फुटबल बनाउन हुँदैन भन्दै साना राष्ट्रहरूको भूमिका र जिम्मेवारी उत्तिकै रहने विचार पनि व्यक्त गर्नुभएको थियो ।

२०३३ पुस १६ गते स्वदेश फर्किने बेला बीपीले दक्षिण एसियाको भूराजनीतिका साथै विश्वराजनीतिको गहन विश्लेषण र त्यसको सम्भावित असर आकलन गर्नुभयो । देशमा राष्ट्रिय एकता र मेलमिलाप कायम गर्न व्यक्तिगत खतरा, राष्ट्रको अस्तित्वका सामु नगण्य ठानेर स्वदेश फिर्तीको ऐतिहासिक निर्णय लिनुभयो । जबकि नेपालमा उहाँमाथि राजकाज अपराधका आठ मुद्दा विचाराधीन थिए । राजाले जुनसुकै बेला फाँसी चढाउन सक्थे ।

त्यस बखत देशवासीका नाममा जारी गरिएको अपिलमा बीपीले ‘विदेशी तत्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्, देशको राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएका बेला त्यो गम्भीर वास्तविकतालाई बुझेर म स्वदेश फर्किने निर्णयमा पुगेको छु’ भन्नुभएको थियो । ‘राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने’ सन्देशसहित उक्त अपिलमा उल्लेख छ, ‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।’ बीपीको उक्त चिन्ता वर्तमान नेपालका सन्दर्भमा हामीले गम्भीरतापूर्वक मनन गर्नुपर्ने भएको छ ।

विदेशी सहायतामार्फत भूराजनीति प्रभावित हुने गर्छ । विदेशी सहायताबारे बीपीको विचार थियो, ‘हामीहरूको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्गको सिर्जना गर्छ, जसलाई देशको आर्थिक अवस्थासँग कुनै मतलब हुँदैन । उनीहरूको सम्पन्नता विदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने वा अवैध व्यापार गर्नेजस्ता कुरामा आधारित रहन्छ ।’ बीपीको बुझाइमा, विदेशी सहयोग परिचालन गर्न सक्रिय भुइँफुट्टा वर्गका जराहरू स्वदेशमा नभएर विदेशी भूमिमा हुन्छन् । अमेरिकाका सन्दर्भमा त्यति बेलै बीपीको भनाइ थियो, ‘अमेरिकाको विश्वव्यापी कूटनीति कमजोर भएको छ । अमेरिकाले एकातिर समाजवादीसँग पनि मुकाबिला गर्नुपर्ने, उता चिनियाँ र रुसी धुरीसँग पनि मुकाबिला गर्नुपर्ने भएकाले अब उसका सामु अन्तर्राष्ट्रिय सम्बन्धको रोजाइ सबै मुलुकबाट फिर्ता आएर आफ्नो मुलुकमा मात्र सीमित रहने कि विश्वव्यापी रणनीति बनाउने, दुई विकल्प मात्र बाँकी छन् ।’

विश्वव्यापी रूपमा लोकतन्त्र कमजोर भइरहेको छ र लोकतान्त्रिक संस्थाहरूप्रति नागरिकको विश्वास घट्दो छ । ट्रम्पकालमा यो प्रवृत्ति अमेरिकामा बढी थियो । नयाँ राष्ट्रपति बाइडेनले ट्र्रम्पकालमा भएका कमीकमजोरी सुधार गरेका छन् र स्वेच्छाचारी शासन अबको समस्या हो भन्ने चित्रण गरेका छन् । दक्षिण र दक्षिणपूर्वी एसिया विश्व महाशक्ति राष्ट्रहरूको भूराजनीतिक सर्वोच्चताका लागि परीक्षणस्थल बन्दै छन् । उग्रराष्ट्रवाद र अधिनायकवादबीच यस क्षेत्रमा अस्थिरताको नयाँ चक्र सुरु भएको छ ।

नेपाल फर्किने निर्णय भएपछि बीपीले भन्नुभएको थियो, ‘नेपाल निकै संवेदनशील क्षेत्रमा भएकाले यो अन्तर्राष्ट्रिय महत्त्वको देश भएको छ । हिन्दुस्तान र चीनको छिमेकी भएको एवं यी दुई देशबीच मेल नभएको कारणले हाम्रो सानो मुलुक उनीहरूको चासोको देश भएको छ । उता अमेरिका र रुसजस्ता महाशक्तिको पनि यस क्षेत्रमा प्रत्यक्ष चासो रहेको हुनाले यो क्षेत्र अस्थिर भएको छ ।’ बीपीको आशंका थियो, ‘नेपालमा जातिगत अन्तरविरोध चर्काएर नेपाली–नेपालीबीच रहेको एकता खलबल्याउने, नेपाली–नेपालीबीच तिमीहरू र हामीहरू भन्ने विद्वेष चर्काउने प्रयास हुनेछन् ।’ अहिले देखिएको जातीय चलखेलले यो आशंकालाई पुष्टि गर्छ ।

सिड्नीमा सन् १९८१ मा भएको एसिया–प्रशान्त समाजवादी सम्मेलनमा बीपीले भन्नुभएको थियो, ‘प्रजातान्त्रिक समाजवादको अभावमा तेस्रो विश्वका मुलुकहरू, फासिस्ट सैनिक शासन वा तानाशाही साम्यवाद वा त्यो पनि नभए प्रतिक्रियावादी धार्मिक कट्टरवादी मुलुकमा परिणत हुन सक्छन् ।’ अहिलेको प्रवृत्ति हेर्दा उग्रराष्ट्रवादसँगै लेफ्ट र राइट दुवैमा सस्तो लोकप्रियतावाद (पपुलिज्म) बढेको छ ।

बीपीका लागि राष्ट्रको स्वार्थरक्षा, सम्मान र प्रतिष्ठा सधैंभरि सर्वोपरि रह्यो । जस्तोसुकै कठिन परिस्थितिमा पनि सम्झौता गर्न तयार हुनुभएन । बीपीको स्वतन्त्र चिन्तन प्रक्रिया, बौद्धिकता, कल्पनाशीलता, गहिरो अध्ययनका कारण मौलिक विषय प्रस्तुत गर्ने क्षमता र तीक्ष्णता थियो । दीर्घकालसम्म सोच राख्ने उहाँको चिन्तनशीलता थियो । स्वतन्त्र चिन्तनशक्तिकै कारण बीपीले भूराजनीतिबाट माथि उठेर पनि निर्णय गर्न सक्ने सामर्थ्य र क्षमता राख्नुहुन्थ्यो । तत्कालीन विश्वमा बीपी आफ्नो चिन्तनबाट चिनिनुभएको हो । बीपीलाई भेट्ने विश्वका प्रायः नेताले उहाँको बौद्धिकताको र तीक्ष्णताको प्रशंसा गरेको पाइन्छ ।

जर्मनीका पूर्वचान्सलर तथा नोबेल पुरस्कार विजेता (सन् १९७१) विली ब्रान्टले भनेका थिए, ‘बीपी विचार मात्र दिँदैनन्, समस्या मात्र भन्दैनन्, समस्या समाधानका सुझाव पनि दिन्छन् ।’ बीपीका बारेमा अमेरिकी पत्रिका ‘न्युजविक’ ११ जुन १९७९ को अंकमा लेख्छ, ‘कोइराला नेपालका आकर्षक राजनीतिज्ञ मात्र नभएर ग्रामीण विकासको योजना बनाउन सक्ने नेता हुन् ।’ ३ डिसेम्बर १९७७ मा ‘वासिङ्टन पोस्ट’ ले कोइरालाका नेपालमा धेरै अनुयायी भएको र जेलमा भए पनि उहाँको उपस्थितिलाई राजाले वेवास्ता गर्न नसक्ने उल्लेख गरेको थियो । अमेरिकाको ‘एफएल सीआईओ फ्री ट्रेड’ समाचारले फेब्रुअरी १९७८ मा लेखेको थियो, ‘कोइरालाको प्रजातन्त्र र स्वतन्त्रताप्रतिको विश्वास विश्वभरि नै प्रसिद्ध छ ।’

विश्वका समाजवादीहरूबीच परिचित र लोकप्रिय बीपी विश्वका समाजवादीे सम्मेलनहरूलाई सम्बोधन गर्दा तेस्रो विश्वको गरिबी, समस्या र जनताले भोग्नुपरेका दुःख, कष्ट र पीडामा केन्द्रित रहेका सन्दर्भहरू छन् । अहिलेको अन्तरनिर्भरताको समयमा पनि विश्वमा देखिएको अन्तर्मुखी प्रवृत्ति, चीनको उदय, रुसको पुनरुत्थान, अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धा र तनाव, दुई छिमेकी चीन र भारतबीचको सीमा विवादका कारण नेपालमा छिमेकीहरूको दबदबाका साथै विश्व महाशक्ति राष्ट्रहरूको ध्यान छ । संवेदनशील भूरणनीतिक अवस्थितिमा छ नेपाल । यसले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता र ‘अस्तित्व’ नै संवेदनशीलतामा पुर्‍याएको छ । यो संवेदनशील घडीमा बीपीका विचार र चिन्तनलाई सिंगो राष्ट्रले मनन गर्न सके देशमा मेलमिलापको वातावरण बन्नेछ र जनतामा आशाको सञ्चार गर्नेछ ।

प्रकाशित : श्रावण ६, २०७८ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×