कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

छुवाछुतविरोधी योद्धा पनि थिइन् योगमाया

योगमायाले आश्रममा आएका सबै भक्तका अगाडि गाउँकी काहिँली कमिनीलाई पानी सार्न लगाएर आफैंले घटघट पिएर जातपात भेदभाव झुटो हो भन्ने दृष्टान्त दिएकी थिइन् ।
रणेन्द्र बराली

गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ,’ भन्ने रचनाले हरेक युगान्तकारी महान् व्यक्तिहरूको योगदानको परिवेशलाई अनुभूत गराउँछ । जातीय समानताको हक, मानव अधिकार, सामाजिक न्याय तथा महिला मुक्ति आन्दोलनको सरोकारमा संसार हल्लाउने केही महान् नारीहरू विभिन्न कालखण्डबीच धर्तीमा उदय भए ।

छुवाछुतविरोधी योद्धा पनि थिइन् योगमाया

जस्तै : नारी मुक्ति आन्दोलनकी अग्रज, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चकी संस्थापक जर्मन महिला क्लारा जेडकिन, १९५६ मा रंगभेदविरुद्ध विद्रोह गरेर जातीय एवम् लिंगीय समानतावादी सङ्घर्षकी नायिका अफ्रो–अमेरिकन महिला रोजा पार्क्सजस्ता विश्वप्रसिद्ध नारीहरूकै हाराहारीमा लिन सकिन्छ नेपालकी संघर्षशील नारी योगमाया नेउपानेलाई ।

नेपाली भूमि भोजपुर जिल्ला नेपालेडाँडाको सानो सिम्ले गाउँभित्र एक सामान्य परिवारको मझेरी उघार्दै विसं १९२५ मा जन्मेर हुर्केकी नारीले युगैँंदेखिको जर्जरान्ध समाज परिवर्तनका लागि पुरातन व्यवस्थाका पृष्ठपोषक राणा शासनलाई नै चुनौती दिँदै न्यायको पक्षमा विद्रोह गरेर जहानिया सत्ता मात्र होइन सिङ्गो सामन्तवादको जग हल्लाउने गरी अन्याय र असत्यको विरुद्ध संघर्ष गर्दै सामूहिक प्राणाहुतिसम्म दिन सक्ने वीरांगना हुन्, योगमाया । उनले गरिब, दलित, महिला, आम उत्पीडितजनका अधिकारको पक्षमा गर्जेको काव्य ‘सर्वार्थ योगवाणी (१९६०/९८)’ सत्ताधारीका लागि विभीषिका बन्न पुग्यो ।

एउटा नारीले छोरीको, बुहारीको र आमाको रूपमा समेत बेहोर्न पर्ने लिंगीय विभेद≤ परिवार, समाज र समूल राज्यद्वारा नै गरिने अपमान एवम् शोषणको वेदनाले विक्षिप्त योगमाया जब स्वयम् बाल विधवा भएपछि बेहोर्नुपरेको कटु बुहार्तन, लाञ्छना, तिरस्कारको तिरले घोचेर छियाछिया भएको उनको हृदयबाट ज्वालामुखी फुटे जसरी विद्रोहको ज्वाला निस्कियो । उनले समाजका सारा रूढिग्रस्त मान्यताको पर्खाल भत्काएर मानवीय न्याय र समानताको बाटो रोज्ने अठोट गरिन् । जंगल र भीरपाखा छिचोल्दै निशाचर बनेर रातारात भागेर लुक्दै कुद्दै माइत पुगिन् । अनि सामाजिक उत्पीडनबाट मुक्त हुने विकल्पको चिन्तन गर्न थालिन् । माइतीले पनि कर्मघरमै गएर मृतक स्वामीको सतमा रहेर परम्परागत जीवनयापन गर्नुपर्ने दबाब दिइरहेकै बखत एक जना समवयस्क कँडेल थरका पुरुषसँगको सामीप्यमा भारतको आसाम पुग्छिन् । केही वर्षपछि, कँडेलको मृत्यु हुन्छ र अर्कै डोटेल थरका पुरुषसँग सम्बन्ध भएपछि छोरी जन्मिन्छ । छोरीको बाउको पनि देहान्त हुन्छ ।

त्यसबखत भारतमा चलेको भीषण राष्ट्रिय मुक्ति आन्दोलनको उभारले योगमायाको विद्रोही चेतनालाई न्याय र समानताको संघर्षमा सफलता प्राप्त हुने विश्वास जगाइदिएको हुन्छ । करिब ४ वर्षको आसाम फूलबारीको बसाइले उनलाई सामाजिक र धार्मिक ज्ञानार्जनमा ठूलो सघाउ पुर्‍याएको हुन्छ । त्यसपछि उनीमा स्वदेशमै फर्केर अधर्मी, अनाचारी, अविवेकी पुरातन समाजलाई सदाचारी बनाउने र दीनदुःखीको सेवा गर्ने प्रबल उत्प्रेरणा झनै जागृत भयो ।

नाबालक छोरी नैनकलालाई काखमा च्यापेर नेपाल फर्किइन् । भोजपुर मझुवाबेंसी भन्ने ठाउँनेर अरुण नदीको किनारमा कुटी बनाएर ध्यान–चिन्तन गर्न थालिन् । त्यस ठाउँमा निर्मित आश्रम योगमायाको ध्यानयोग केन्द्र मात्रै नभएर बिस्तारै उनले सुनाउने कवितात्मक शैलीको ज्ञानवर्द्धक प्रवचनले, सामाजिक कुरीतिको विरोध, गरिब, अनाथ, एकल महिला, उत्पीडित तथा अन्यायमा परेका असहायजनको आश्रयस्थल नै बन्यो । अझै भनौं भने, निरीह दीनदुःखीहरूको जनअदालतजस्तै बन्न पुग्यो र न्यायिक आन्दोलनको शंखघोष गर्ने थलोसमेत भयो ।

योगमायाको मुख्य माग धर्मराज्य हुनुपर्छ भन्ने हो । उनको धर्मसमाजको मूल एजेन्डा थियो– सती प्रथा, दास प्रथा र छुवाछुत प्रथाको अन्त्य । छोरीले पढ्न पाउनुपर्छ । सौता हाल्न प्रतिबन्ध हुनुपर्छ । विधवा नारीले पुनर्विवाह गर्न पाउनुपर्छ । चर्को ब्याजखोरी र घूसखोरीलाई सख्त सजाय हुनुपर्छ । बालविवाह, केटीको मञ्जुरीबिनाको विवाह गर्न नपाइने कानुन हुनुपर्छ । शिक्षामा भेदभाव नहोस्, महिला दलितले वेद पढ्न पाउनुपर्छ । काल्पनिक त्रासदी देखाएर जनता ठग्ने गुरुड पुराण लगाउन बन्द गर्नुपर्छ । गरिबको ऋण मिनाहा होस् । एक समान मानापाथी कायम होस् । खेतीयोग्य जमिन बाँझो राख्न नपाउने व्यवस्था होस् । भूदानयज्ञ गरी भूमिहीन गरिबलाई जग्गा वितरण गरियोस् । पुराना थोत्रा ऐन खारेजी गरी नयाँ उपवृद्ध बनाई देशभरि लागू गरियोस्जस्ता क्रान्तिकारी माग पूरा गराएर धर्मराज्य घोषणा होस् भन्ने माग थियो उनको । यही घोषणाको सेरोफेरोमा रहेर विद्रोहपूर्ण आन्दोलन गर्दा राज्यले दिएको अनेकथरीका यातना, आपत्–विपत् सास्ती–संकट, जेलनेल झेलेर एउटा अग्रगामी इतिहास रचिन योगमायाले ।

योगमायाले आफ्ना माग र जनअधिकारको सवाललाई कविताको छन्दमै प्रस्तुत गर्ने भएकाले उनलाई उनका जीवनी लेखक निनु चापागाईले ‘प्रगतिशील कवि’ भनेका छन् । आश्रममा आएका सबै भक्तका अगाडि गाउँकी काहिँली कमिनीलाई पानी सार्न लगाएर आफैंले घटघट पिएर जातपात भेदभाव झुटो हो भन्ने दृष्टान्त दिइन् योगमायाले । जब काहिँली कमिनीको हातको पानी पिएर भक्तजनको हारमा सँगै राखेर जातीय समानताको व्यवहार रचिन्, त्यसपछि सानो खैलाबैला उठ्ने कुरै थिएन त्यसबखत । तथापि मानिस मानिसमा कोही सानोठूलो जात हुँदैन भन्नेमा ढुक्क थिएन उनी । माधवराज जोशीले कहाँ छ छुवाछुत, कहाँ छ जात भन्दै दिउसै लालटिन बालेर खोज्दै हिँड्दा कहीँ नभेटाएको कुरा सुनाउँथिन् सबैलाई ।

त्यतिबेला जातीय समानताको कुरा मात्र होइन, कथित सानो जातलाई आफ्नै यज्ञस्थलमा सँगै राखेर ख्वाउनेसम्मको विद्रोह चानचुने विषय थिएन । सती प्रथा, कर्मकाण्ड, जातिभेद र छुवाछुतजस्ता सामाजिक विकृति र विभेदको विरुद्ध विद्रोह गर्ने कार्य जोसमनी सन्त शशिधर (१८०४–१९०६) कै पालादेखि हुँदै आएको र सन्त दिलदास (१८७८–१९४०) मा पुगेर यो निकै विस्तारित भएको थियो, जुन कुरा योगमायालाई राम्रो जानकारी थियो । त्यसैले निर्धक्कसँग सबैलाई सम्झाउँदै उनी कविताको लयमा भन्थिन् ।

‘कुल ता हाम्रो ब्राह्मण हो छैनौ कुलैमा,

जात् ता सत्य छैन राख चुलैमा ।।

जातपात छुवाछुतको अन्त्य हुनुपर्छ,

यो धमिरोले समाज मक्काएको छ ।।’

योगमायाको न्यायिक धर्मसमाजको प्रभावले पछि गएर उनको आश्रम एक किसिमको न्यायालयजस्तो बन्न पुगेको पाइन्छ । निर्धा निम्छरा, अनाथ, अवलाहरूलाई गाउँका ठूला ठालुले गर्ने अन्याय अत्याचारको न्यायिक फैसला गर्थिन् योगमाया । वैदिक धर्म र मानवीय नैतिकताको आधारमा कवितात्मक शैलीमा उनले दिने न्यायिक तर्कलाई कसैले काट्न सक्दैनथे । ‘सामाजिक संरचना नै अधर्मी पक्षपाती भएको हुनाले विधि विधानै फेर्नुपर्छ’ भनेर धनकुटाका बडाहाकिममार्फत प्रधानमन्त्री युद्धशमशेरसमक्ष धर्मराज्यको माग गर्दै ‘भिक्षापत्र’ पठाइन् योगमायाले । आफ्ना माग लिएर शासकवर्गसँग कटाक्ष गरिन् । १९९५ साल कात्तिकसम्म माग सुनुवाइ नभए पूर्णिमाको दिन सामन्ती कुशासनको विरोधमा उनका अनुयायीहरूसमेत २०४ जनाले अग्निसमाधि लिएर राज्यलाई चेतावनी दिने हेतुले उही मझुवाबेंसीमा प्राणहवन गर्नका लागि अग्निकुण्ड बनाउन सयौं भारी दाउरा थुपारेको देखेपछि बडाहाकिम माधवशमशेरले सबैलाई गिरफ्तार गरेर कठोर यातनासाथ कैद गरे ।

जेलबाट छुटेपछि पनि योगमायाले आफ्नो आन्दोलन जारी राखिन् । रूढिग्रस्त अहङ्कारवादी शोषणमा टिकेको शासकले उनको माग पूरा गर्ने कुरै थिएन । उनलाई साथ दिनेहरूसमेतको बलमा संघर्ष चर्कंदै गयो । जहानिया राणा शासनले सत्यलाई दबाउँदो रहेछ र न्यायका लागि छाती खोलेर विद्रोह गर्नुपर्ने रहेछ भन्ने सन्देश त उनको आन्दोलनले दियो । तर राज्यले माग पूरा गर्ने कुरै भएन । अतः धर्मराज्य प्राप्तिको उद्घोष गर्दै आजभन्दा ८० वर्षअघि १९९८ असार ३१ गते अरुण नदीमा हेलिएर उनीसमेत ६८ जनाले जलसमाधि लिएर सामन्ती राणा शासकलाई नरहत्यारो साबित गरिदिइन् ।

नेपाल आमाकी सुपुत्री योगमाया नेउपाने एक विद्रोहीचेत भएकी, समाज सुधारक, जनमुखी, राजनीतिज्ञ, साहित्यकार, प्रगतिशील आशुकवि, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकु र धर्मराज्य (मुक्तियुद्ध) को सेना कमान्डर नारी थिइन् भन्न सकिन्छ । उनी भन्थिन्, ‘मेरा चेलाहरूले मलाई दूध केरा ख्वाउने, मेरा गुणगान गाउने हैन, मानिसहरूका दुःखहरण गर्न मसँगै लागेर संघर्ष गर्न र आवश्यकताअनुसार मृत्युवरण गर्नेसम्मको हिम्मत राख्नुपर्छ ।’

नेपालको इतिहासमा विरलै जन्मने वीरांगना योगमायाजस्तो महान् महिलालाई संसारसामु उजागर गर्ने श्रष्टाहरू समालोचक निनु चापागाई, पत्रकार लेखनाथ भण्डारी, नेपाल अध्ययन केन्द्र, इतिहासविद् ज्ञानमणि नेपाल, समाजसेवी मातृका तिम्सिना, अस्मिता महिला प्रकाशनगृह, बारबरा निम्री अजिज, लेखक उत्तमप्रसाद पन्त, साहित्यकार नीलम कार्कीलगायत खोजकर्ता एवम् कृतिकारहरूप्रति यस महान् कार्यका लागि साधुवाद दिनैपर्छ । नेपालको ऐतिहासिक निधि योगमयाको विषयमा अझै यथार्थ अनुसन्धानका खाँचो छ । उनको जीवन संघर्षगाथा सबै मुक्तिकामी जनताको चासोको विषय बन्नुपर्छ ।

प्रकाशित : असार ३१, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?