१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अन्तरविधागत सहकार्य र अनुसन्धान

अन्तरविधागत विषयलाई नचिन्ने प्रणालीबाट शिक्षित र दीक्षित विद्यार्थीहरू कुनै समस्यालाई समग्रतामा हेर्ने र बहुआयामिक ढंगले सोच्नेभन्दा अमुक एक विधाको पैरवीकर्तामै सीमित हुने खतरा रहन्छ । त्यसैले विद्यार्थीलाई एक विधाको गहिराइमा डुबाए पनि बहुविधाको चौडाइमा पौडिन सिकाउनुपर्छ ।
उत्तमबाबु श्रेष्ठ

सन् १८७८ ताका अमेरिकी अन्वेषक, वैज्ञानिक र उद्यमी थोमस एल्वा एडिसन एउटा नयाँ वस्तुको आविष्कार गर्ने क्रममा थिए । संसारमा विद्युत्को आविष्कार भइसके पनि करेन्टलाई प्रकाशमा बदल्ने वस्तु चिम (लाइट बल्व) बनिसकेको थिएन । त्यसैले भरपर्दो चिमको निर्माणमा त्यतिबेला एडिसनलगायतका २२ जना अध्येता विश्वभर अनुसन्धानरत थिए । चिमको विकासपछि आममानिसको दैनिक क्रियाकलापमा आमूल फेरबदल भयो; चिम बन्नुभन्दा पहिले कृत्रिम उज्यालोमा खाना खानु ‘लक्जरी’ थियो ।

अन्तरविधागत सहकार्य र अनुसन्धान

यतिखेर एडिसनको चिम लगभग विस्थापित भइसकेको छ र त्यसको सट्टा अहिले कम विद्युत् खपतमै बढी उज्यालो दिने एलईडी (लाइट इमिटिङ डायड) चिमको प्रयोग गरिन्छ । तथापि चिमको विकासलाई आधुनिक मानव सभ्यताकै क्रान्तिकारी आविष्कारमध्येको मानिन्छ । जसलाई बनाउन एडिसनलाई ठूलै पापड बेल्नुपरेको थियो ।

‘म असफल भएको होइन, मैले दसौं हजार बेकामे विधिहरू सिकेँ’ भन्ने एडिसनले चिममा प्रयोग हुने ‘फिलामेन्ट’ को खोजीमा ६ हजारभन्दा बढी वस्तुहरू परीक्षण गरेका थिए । सन् १८८० अगस्ट २ मा उनले उपयुक्त वस्तु — जापानमा पाइने विशेष प्रजातिको बाँस — फेला पारे । परम्परागत रूपमा मुरलीलगायतका हस्तकलाका सामानहरू बनाउन प्रयोग गरिने उक्त बाँस एक जना साथीले उनलाई जापानबाट पठाइदिएका थिए । उक्त बाँसबाट निकालिएको मसिनो रेसा फिलामेन्टको रूपमा प्रयोग गर्दा लाइट बल्ब एक हजार घण्टाभन्दा बढी समयसम्म बल्ने भयो । मानव सभ्यतालाई नयाँ उचाइमा पुर्‍याउने चिमको निर्माण भौतिक विज्ञानभन्दा बाह्य विधागत ज्ञानको उपयोगले मात्र सम्भव भएको थियो अर्थात् त्यो अन्तरविधागत ज्ञानको उपज थियो ।

अन्तरविधागत अनुसन्धान

भिन्न विधाका ज्ञानको उपयोगले सफलता पाउने एडिसन एक्लो होइनन् । चार्ल्स डार्बिनले प्रकृति छनोटको सिद्घान्तलाई बुझ्ने र व्याख्या गर्ने क्रममा राजनीतिक अर्थशास्त्री थोमस माल्थसको जनसांखिकी सिद्घान्तको सहारा लिएका थिए । १७ औं शताब्दीका आइज्याक न्युटनदेखि १९ औं शताब्दीका लुई पास्चरसम्मले आफ्नो अनुसन्धान र अन्वेषणको क्रममा आफूले पढेका भन्दा फरक विधाका ज्ञानको उपयोग गरेका थिए । त्यसै गरी जीवशास्त्री जेम्स वाट्सन र भौतिकशास्त्री फ्रान्सिक क्रिकको सहकार्यले डीएनए पत्ता लागेको थियो । पछिल्लो समयमा लेजर सर्जरीदेखि मानव जिनोमसम्म, अणुबम बनाउनेदेखि राडरसम्म र पृथ्वीको हरितक्रान्तिदेखि चन्द्रमामा पुग्नेसम्मका विज्ञान प्रविधिका उपलब्धिहरू बहुविधागत र अन्तरविधागत सहकार्यका परिणाम हुन् ।

आफ्नो वरपरका प्रकृति र आफूलाई बुझ्ने उत्सुक मानवीय स्वभावका कारण संसारमा ज्ञान उत्पादन सम्भव भयो । सुरुमा सम्भवतः सहजताका लागि ज्ञानको खोजीलाई विषयगत वर्गीकरणमार्फत संस्थागत गरियो । पूर्वीय दर्शनका चार वेदमा विद्यमान विषयगत विशिष्टतादेखि एरिस्टोटलको समयमा भएको ज्ञानको विधागत वर्गीकरणले त्यसलाई पुष्टि गर्छ । एरिस्टोटलको समयमा ज्ञानलाई तीन भागमा — धर्म, गणीत, भौतिकशास्त्रलाई सैद्घान्तिक ज्ञानÙ नैतिकता र राजनीतिलाई व्यावहारिक ज्ञानÙ र ललितकला, साहित्य र इन्जिनियरिङलाई उत्पादनमूलक ज्ञान — को रूपमा वर्गीकरण गरिएको थियो । औद्योगिक क्रान्तिपछि युरोपका विश्वविद्यालयहरूमा विभागहरू बनाएर उच्च शिक्षाको अध्ययन र अनुसन्धानमा विधागत विशिष्टता भित्र्याइयो । जसको अनुसरण गर्दै विश्वभरका विश्वविद्यालयहरूमा विभाग खोल्ने, त्यसअन्तर्गत पढ्ने, पढाउने र उपाधिले विद्यार्थीलाई विभूषित गर्ने परम्परा बस्यो ।

विश्वविद्यालयको विधागत संरचनाले दुई कुरामा सहजता ल्यायो । एउटा त्यसले डिग्रीधारीलाई पहिचान दियो जस्तै ः इन्जिनियरिङमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर, भौतिक विज्ञानमा विद्यावारिधि । दोस्रो डिग्रीलाई रोजगारी वा अन्य विश्वविद्यालयमा अध्ययनका लागि विनिमयको आधार पनि दियो । साथै त्यसले विधागत गहिराइमा पुग्न अध्येताहरूलाई मद्दत गर्‍यो । जसका कारण पछिल्लो समय संसारभर हरेक विधाहरूले ज्ञान सृजनामा उल्लेख्य प्रगति गरे । विषयगत गरिराइको जानकारीसँगै विधागत सीमितता पनि सतहमा आयो । फलस्वरूप बृहत् र जटिल समस्याहरूको समाधान गर्न, नीति उपयोगी ज्ञान उत्पादन गर्न र मानवीय निर्णयहरूलाई सघाउन एकल विधागत ज्ञानले मात्रै अपुग हुने कुराको अवगत भयो । त्यसले बहुविधागत प्राध्यापन, अन्तरविधागत सहकार्य र अनुसन्धानको मर्म र आवश्यकतालाई प्राज्ञिक क्षेत्रमा स्थापित गरायो । बिस्तारै विश्वविद्यालयहरूमा अन्तरविधागतका पढाइ, तालिम र अनुसन्धान परियोजनाहरू सुरु हुन थाले । सन् १९९० पछि त जैविक इन्जिनियरिङ, न्यानोटेक्नोलोजी, बायोइन्फरम्याटिक्सजस्ता नयाँ अन्तरविधागत विषयहरू जन्मिए ।

कुनै निश्चित समस्या समाधानका लागि एकभन्दा बढी ज्ञान–विज्ञानका विधाहरूको तथ्यांक, सूचना, विधि, उपाय, सिद्घान्त र अवधारणाको प्रयोग गरी गरिने अनुसन्धानलाई अन्तरविधागत अनुसन्धान (इन्टरडिस्पिलिनरी रिसर्च) भनिन्छ । जसले एकल विधाको बुझाइ, क्षमता, दक्षता र दृष्टिकोणले नभ्याउने अनुसन्धान गरी नयाँ ज्ञान उत्पादन गर्न वा समस्याको समाधान खोज्न सहयोग गर्छ । अन्तरविधागत अनुसन्धान कार्य एकै व्यक्ति वा विभिन्न विधामा विशिष्टता हासिल गरेका व्यक्तिहरूको समूह मिलेर गर्न सकिन्छ । पछिल्लो समयमा मानवजातिले भोगिरहेका समस्याहरू खाद्यसुरक्षा, गरिबी, जलवायु परिवर्तन, मानव स्वास्थ्य, जैविक विविधताको ह्रास, वातावरणीय विनाशसाथै अटोमेसन र कृत्रिम बौद्घिकीजस्ता प्रविधिको विकाससँगै थपिएका मानवीय, सामाजिक र पर्यावरणीय चुनौतीहरूलाई बुझ्न र त्यसलाई समाधान गर्न अन्तरविधागत बुझाइ, सहकार्य र अनुसन्धान अपरिहार्य बनेको छ ।

अन्तरविधागत सहकार्यका तगारा

नेपालमा पछिल्लो समयमा बायोइन्फर्म्याटिक्स, बायोटेक्नोलोजी, प्राकृतिक स्रोतको व्यवस्थापनजस्ता विषयमा पढ्ने पढाउने, विज्ञान कूटनीति, दिगो विकासजस्ता अन्तरविधागत विषयमा बहस–छलफल गर्ने चलन बढे तापनि अन्तरविधागत सहकार्य र अनुसन्धानको अवस्था कमजोर छ । नेपालमा अन्तरविधागत सहकार्य र अनुसन्धानको प्रमुख तगारो वर्तमान शैक्षिक प्रणाली हो, जसले विद्यार्थीहरूमा बहुविधागत सिकाइको आयतन बढाउनुको साटो एकल विधामै कैद गराउँछ । यहाँ विद्यार्थीको सिकाइको विधागत विशिष्टता पढाइको प्रारम्भमै अर्थात् उच्च माध्यमिक तहबाटै गराइन्छ । विद्यार्थीहरूले व्यवस्थापन, विज्ञान, कला कुन विषय पढ्ने हो त्यतिखेर नै निर्णय गर्नुपर्ने हुन्छ । उच्च माध्यमिक तहमै एकल विधाको शैक्षिक सुरुङमा पसेपछि अपवादबाहेक (विज्ञान पढ्नेले अन्य विधा पढ्न सक्ने) उक्त विद्यार्थी त्यस सुरुङबाट निस्कन असम्भव छ । र, मन लागी नलागी सोही विधामै स्नातकोत्तर वा विद्यावारिधिसम्म पढ्नुपर्ने बाध्यता छ ।

दोस्रो तगारो निश्चित विधा मात्रै पढाउने उद्देश्यले खोलिएका शैक्षिक संस्थानहरू हुन् । जस्तै : स्नातक तहमा अस्कलमा विज्ञान, शंकरदेवमा व्यवस्थापन, सरस्वतीमा समाजशास्त्र र ललितकलामा आर्टस् पढाइन्छ । स्नातकोत्तर पढाउने कीर्तिपुर क्याम्पसको विभागीय संरचना पनि उस्तै छ । स्नातक र स्नातकोत्तर तहको यस्तो खण्डित संरचनाले विद्यार्थीलाई विशिष्टताको थप गरिराइमा धकेल्छ । उच्च माध्यमिक तहमै विधागत विशिष्टताको सुरुङमा पसेका विद्यार्थी यस्तो एकाङ्गी शैक्षिक बिसौनीमा उक्लेपछि आफ्नो विधाइतरको विषयमा उत्सुक नहुने, जानकारी नराख्ने मात्रै होइन, अन्य विषय पढ्नेसँग साथी बन्ने, छलफल गर्ने र अन्तरघुलन हुने अवसरबाट वञ्चित हुन्छन् ।

तेस्रो, अन्तरविधागत विज्ञतालाई जबरजस्ती विधागत विज्ञतामा रूपान्तरण । एकातिर यसरी पाठ्यक्रम र क्याम्पसको बनोटले बहु र अन्तरविधागत विज्ञताको उत्पादन रोकेको छ भने अर्कातिर विदेशमा अन्तरविधागत विषयहरू पढेर आएकाहरूलाई जबरजस्ती नेपालमा भएकै विधाको मात्रै समकक्षता प्रमाणपत्र लिन लगाइन्छ । त्यो इन्कारेमा डिग्रीलाई मान्यता नदिनेसम्मको अपराध गरिन्छ । उदाहरणका लागि कसैले नेपालमा पढाइ नहुने फोटोनिक्स वा न्युरोबायोलोजीमा पीएचडी गरेर आएको छ, उसलाई त्रिविविले यहाँ पढाइ हुने विषय, फिजिक्स वा बायोटेक्नोलोजीजस्ताको समकक्षता प्रदान गर्छ ।

त्यसकारण पाठ्यक्रमको बनोट, पढाउने संस्थानहरूको संरचना र अन्तरविधागत विषयलाई नचिन्ने नियमका कारण हाम्रा विश्वविद्यालयहरूमा अन्तरविधागत सहकार्य र अनुसन्धानको विकास हुन सकेको छैन । जसले गर्दा विज्ञानका दुई मुख्य हाँगा समाज विज्ञान र प्रकृति विज्ञानबीचमा सहकार्य हुन त परै जाओस् प्रकृति विज्ञान नै पढेकाहरूबीचमा पनि मिल्दाजुल्दा विषयको जानकारी राख्ने, अन्य विधागत ज्ञानलाई स्विकार्ने र सहकार्य गर्नेसमेत हुन सकेको छैन । परिणाम यहाँ माटो पढ्नेले त्यसमा उम्रने बिरुवा पढ्नेसँग, बिरुवा पढ्नेले त्यसमा लाग्ने कीरा पढ्नेसँग, कीरा पढ्नेले कीरालाई खाने चरा पढ्नेसँग सहकार्य गर्न उत्सुक हुँदैन । यस्तो प्रणालीबाट शिक्षित र दीक्षित विद्यार्थीहरू कुनै समस्यालाई समग्रतामा हेर्ने र बहुआयामिक ढंगले सोच्नेभन्दा अमुक एक विधाको पैरवीकर्तामै सीमित हुने खतरा रहन्छ ।

एकाङ्गी विज्ञताले अरूको विधागत ज्ञानलाई निषेध गर्छ र आफ्नो मात्रै ज्ञानलाई ठूलो ठान्ने अहंकार जन्माउँछ । यहाँ वन संरक्षणको जिम्मा पाएको निकायले भौतिक पूर्वाधार बनाउनेलाई र भौतिक पूर्वाधार बनाउनेले वनलाई परस्पर शत्रु ठान्छ । जैविक विविधता संरक्षणका लागि संरक्षण क्षेत्र बनाइँदा स्थानीय समुदायको जीविकाप्रति संवेदनशील भएर बन्दैन । पुरातात्त्विक महत्त्वको ठाउँमा सडक खन्नेले त्यहाँको ऐतिहासिकता देख्दैन । खेतमा सहर बसाल्नेले खाद्यको दिगोपनबारे सोच्दैन । फलस्वरूप हाम्रो विकासको सोच, गराइ र नतिजा टाक्सिन पुगेको छ ।

वर्तमानमा नेपालले भोगिरहेको विकास र प्रगतिका समस्याहरू अन्यत्रजस्तै बहुआयामिक छन् । हामीले भोगिरहेको अव्यवस्थित सहरीकरणदेखि जलवायु परिवर्तनको प्रकोपसम्म, आर्थिक विपन्नतादेखि सामाजिक पछौटेपनसम्म, जैविक विविधताको ह्रासदेखि प्रदूषणसम्मका समस्याहरूको हल कुनै एक विधागत विज्ञताले मात्रै गर्न सम्भव छैन । त्यसका लागि बहुविधागत सहकार्यको आवश्यकता र अन्तरविधागत ज्ञान उत्पादन र बृहद् सोचको जरुरी छ । त्यसका लागि हामीले हाम्रा विद्यार्थीहरूलाई एक विधाको गहिराइमा डुबाए पनि बहुविधाको चौडाइमा पौडिन सिकाउनुपर्छ । सिकाइलाई विषय ज्ञाता बनाउनेभन्दा समस्याको समाधान गर्न सक्ने बनाउन जरुरी छ । जसका लागि हामीले बहुविधागत अन्तरक्रिया र समायोजनको वातावरण बनाइदिने, अन्तरविधागत ज्ञान उत्पादनलाई उत्प्रेरणा दिने, पाठ्यक्रम र विधागत रोजाइलाई सकेसम्म खुकुलो र स्वतन्त्र बनाइदिने गर्नुपर्छ ।

लेखक डेभिड इप्स्टिनले आफ्नो पुस्तक ‘रेन्ज : ह्वाई जनरालिस्ट ट्राइम्फ इन अ स्पेसलाइज्ड वर्ल्ड’ मा रोचक सन्दर्भ दिएका छन् । अमेरिकी गल्फ खेलाडी टाइगर उड जसले १८ महिनाको उमेरमै पटर समाते, तीन वर्षमा नाइन होल कोर्स खेले, १८ वर्षमा अमेरिकी एम्याच्योर गल्फ च्याम्पियनसिप जिते र २१ वर्षको उमेरमा विश्वको एक नम्बरको गल्फ खेलाडी बने । स्विस टेनिस खेलाडी रोजर फेडेररले आठ वर्षमा र्‍याकेट समाते, भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेनिसजस्ता गोलो वस्तु सबै खेले, १६ वर्षमा टेनिसमा थिग्रिएका उनले २१ वर्षमा विम्बल्डन जिते र ३६ वर्षमा विश्वको एक नम्बर टेनिस खेलाडी बने ।

इप्स्टिन भन्छन्– अहिलेको अत्यन्त विशिष्टीकृत युगमा हामीलाई उडहरू कम फेडररहरू ज्यादा चाहिन्छ । अन्तरविधागत सहकार्य र अनुसन्धानका लागि फेडररजस्तै अन्य खेल बुझेका तर एउटामा विशिष्टता हासिल गरेका थुप्रै विज्ञको खाँचो हामीलाई छ । अबको हाम्रो पढाइ र सिकाइको गन्तव्य त्यतातिर मोडिन जरुरी छ ।

प्रकाशित : असार ३१, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?