२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

के सिक्ने हिमालको बाढीपहिरोबाट ?

मनाङको नासो उपत्यकामा मसँग गफिँदै गरेका ती व्यक्ति एक्कासि चिच्याए, ‘ओहो, कस्तो लमजुङे पानी पो पर्‍यो ! यस्तो पानी त हाम्रो गाउँमा पहिले कहिल्यै परेको थाहा छैन ।’
जीवनमणि पौडेल

नेपालमा यो वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान मौसमविज्ञहरूले केही महिनाअघि नै गरिसकेका थिए । नभन्दै यस वर्ष असार महिना लाग्दा–नलाग्दै मुसलधारे पानी पर्‍यो । यसले केही हिमाली र पहाडी जिल्लाहरूमा ज्यादै ठूलो मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍यायो ।

के सिक्ने हिमालको बाढीपहिरोबाट ?

सिन्धुपाल्चोकका मेलम्चीबजार र हेलम्बु नराम्ररी प्रभावित भए भने, मनाङका सदरमुकाम चामे र नासो उपत्यका पहिलो पटक बाढीपहिरोको चपेटामा परे । पहाड र तराईका जिल्लाहरूका लागि बाढीपहिरो नौलो प्राकृतिक घटना होइन तर मनसुन कम हुने हिमाली भेगका लागि यो पहिलो घटना बन्न पुग्यो । सायद यस भेगका तीन पुस्ताले एकैसाथ यस्तो विपत्को पहिलो अनुभव गरे, गर्दै छन् । हजुरबा–हजुरआमा, बुबाआमा र छोराछोरीले मुसलधारे पानीका कारण आफ्नो ठाउँमा बाढीपहिरोको वितण्डालाई पहिलो पटक आफ्नै घरआँगनमा देख्न र भोग्न पुगेका छन् । आज आफ्नो विपत्को साक्षी बन्न पुगेका छन् ।

जल तथा मौसम विभागद्वारा अभिलेखित वर्षाको तथ्यांकलाई विश्लेषण गर्दा, नेपालमा चार दशकयता पानी पर्ने मात्रा, तरिका र भू–परिदृश्यमा व्यापक परिवर्तन आएको छ । महाभारत–तटीय क्षेत्रमा हुनेजस्तो वर्षा हिमाली क्षेत्रमा सर्न थालेको छ । यसको मुख्य कारक मानवसृजित जलवायु परिवर्तन हो भन्ने धेरैको मत पाइन्छ । हुन पनि मानवीय व्यवहार र क्रियाकलापहरू विश्वमा भइरहेको जलवायु परिवर्तनका लागि बढी जवाफदेह देखिन्छन् । विश्वले अहिले बढ्दो जनसंख्या, औद्योगिकीकरण, सहरीकरण, खनिजजन्य तरल पदार्थको अत्यधिक दोहन र प्रयोग, वनविनाश, स्रोतमाथिको असमान पहुँच र प्रयोग आदिलाई जलवायु परिवर्तनको प्रमुख कारक भनेको छ ।

जलवायु परिवर्तनका कारण पर्यावरण र सामाजिक प्रणालीमा असन्तुलित फेरबदल आइरहेको छ । हामीले आफ्नै व्यवहार र क्रियाकलापका कारण पर्यावरणलाई बदलिरहेका छौं, यसैमा गर्व गरिरहेका छौं । यतिले मात्र हामीलाई पुगिरहेको छैन, प्राकृतिक वस्तुको आवश्यकताभन्दा अत्यधिक र फजुल उपभोगमा केन्द्रित बनिरहेका छौं । हामीले आफ्नो सोच अर्थकेन्द्रित बनाइरहेका छौं । भौतिक विलासितालाई जीवनको अभिन्न अंग बनाइरहेका छौं । यसैलाई सबै थोक भनिरहेका पनि छौं तर त्यसले जन्माउने भावी परिणामबारे सोच्न सकिरहेका छैनौं । हामीले पर्यावरण र त्यसको चक्रलाई बिगार्‍यौं । परिणाम, आज विश्वमा हरितगृह ग्यासको उत्सर्जन बढ्दो छ, जसका कारण विश्वको औसत तापक्रम मात्र बढेको छैन, पानी पर्ने तरिका र मात्रामा पनि व्यापक परिवर्तन आएको छ । यसको नकारात्मक असर हरितगृह ग्यास उत्सर्जनमा खासै भूमिका नखेल्ने मनाङ, मेलम्ची र हेलम्बुजस्ता क्षेत्रमा समेत परेको छ । आउँदा दिनहरूमा यो लहरमा अझै कति मनाङ, मेलम्ची र हेलम्बु थपिँदै जाने हुन् ! अहिलेको बाढीपहिरोले हिमाली भेगका लागि यो अन्तिम घटना होइन कि सुरुआत हो भन्ने संकेत दिएको छ ।

२०६९ सालको कुरा हो, मनाङको नासो उपत्यकामा म कृषि, पशुपालन र जलवायु परिवर्तनमा स्थानीय ज्ञान, बुझाइ र अनुकूलन विषयमा आफ्नो विद्यावारिधिका लागि इथ्नोग्राफी गरिरहेको थिएँ । आफू मानवशास्त्री भएका नाताले स्थानीय मानिसहरूसँग कुराकानी गर्नु, उनीहरूको दैनिकी अवलोकन गर्नु र जलवायु परिवर्तनलाई लिएर उनीहरूको सांस्कृतिक दृष्टिकोण बुझ्नु मेरो अध्ययनको उद्देश्य थियो । साउनको आखिरी दिन थियो । एक साँझ म खाना खाएपछि एक व्यक्तिसँग कुराकानी गरिरहेको थिएँ । वर्षाको समय, पानी छिट्याउन थाल्यो । एक छिनमा त एक्कासि मुसलधारे वर्षा हुन थाल्यो । तराईमा जन्मे–हुर्केको मेरा लागि मुसलधारे वर्षा आश्चर्यको विषय थिएन, तर मसँग गफिँदै गरेका ती व्यक्ति एक्कासि चिच्याए, ‘ओहो, कस्तो लमजुङे पानी पो पर्‍यो ! यस्तो पानी त हाम्रो गाउँमा पहिले कहिल्यै परेको थाहा छैन ।’ वर्षा याममा आकाश गर्जन नभई मसिनो पानी पर्नु नै मनाङको असारे झरीको विशेषता थियो । यस्तो वर्षालाई उनीहरू स्थानीय भाषामा असारप्यांगी भन्थे । पछि मैले स्थानीय बासिन्दाबाट थाहा पाएँ, २०६५ सालअघिसम्म मनाङ–लमजुङ सिमाना च्याम्चेभन्दा माथि मेघ गर्जन गर्दैनथ्यो ।

स्थानीय बासिन्दाको बुझाइमा, मनाङमा बाढीपहिरोको सम्भावना करिब एक दशकअघि नै देखिइसकेको थियो । तल्लो मनाङमा करिब एक दशकअघि परेको ‘लमजुङे पानी’ अर्थात् तल्लो तटीय क्षेत्रमा पर्ने किसिमको वर्षाले कमजोर र अति भिरालो भौगोलिक संरचनामा बाढीपहिरो आउन सक्ने संकेत दिइसकेको थियो, जसलाई न नीतिनिमार्ताहरूले चासो दिएका थिए न त त्यहाँ विकास लैजानेहरूले । त्यसबेला मनाङ मोटर सडक संरचनाका माध्यमबाट नेपालका अन्य भागसँग जोडिन खोजिरहेको थियो । बाटाहरूको निर्माण र विस्तार द्रुत गतिमा हुँदै थियो । भिरालो र कमजोर भौगोलिक संरचनामा डोजरे इन्जिनियरहरूले गाउँगाउँसम्म बाटाको नक्सांकन र निर्माणलाई तीव्रता दिइरहेका थिए । गाउँलेहरू पनि सडक संजालसँग जोडिन पाएकामा उत्साहित थिए । यी तमाम कारकले गर्दा मनाङको कमजोर भूसंरचना खलबलिएको थियो । अहिलेको बाढीपहिरो कमजोर भूसंरचनामाथि जलवायु परिवर्तन, डोजरे विकास र स्थानीय मानिसहरूको सडक सञ्जालसँग जोडिन चाहने उत्साहको सम्मिश्रण हो ।

‘लमजुङे पानी’ अर्थात् स्थानीय व्यक्तिले प्रयोग गरेको भाषालेे स्थानीय तहको वातावरणीय परिवर्तनलाई बुझ्न कति सघाउँदो रहेछ भन्ने थाहा पाउन लामो समयदेखि मानवशास्त्र अध्ययन–अध्यापन र समुदायमा बसेर अनुसन्धान गरेकाले मलाई गाह्रो भएन, नत्र मैले मानिस र स्थानीय भाषाबीचको अन्तरसम्बन्धलाई बुझ्न सक्ने थिइनँ होला । मानवशास्त्रीय ज्ञानले मलाई ती स्थानीय व्यक्तिको मुसलधारे पानी पर्दा निस्केको चिच्याहटले मौसममा आइरहेको परिवर्तनलाई बुझ्न राम्ररी सघायो । तर आज यी स्थानीय ज्ञान र विषयहरूप्रति खासै चासो दिइँदैन । अझ, पश्चिमा पद्धतिमा आधारित शिक्षा प्रणाली र त्यसबाट दीक्षितहरूले रैथाने अनुभव, ज्ञान र बुझाइहरूलाई कहिल्यै ज्ञानको मूलधारमा ल्याउन प्रायः खोजेनन् । उनीहरू जहिले पनि रैथाने ज्ञानलाई पछौटे, रूढिवादी र आधुनिकताविरोधीका रूपमा चित्रण गर्न उद्यत रहे । हामीले पनि ज्ञानलाई औपनिवेशिक मोडलबाट मात्र हेर्‍यौं । परिणाम, हिमाली भेगका बासिन्दाले आज ठूलो मानवीय, भौतिक तथा आर्थिक मूल्य चुकाउनुपरेको छ ।

जलवायु परिवर्तन र प्राकृतिक विपत्का विषयमा हुने सेमिनार, गोष्ठी तथा बहसहरूमा अहिले पनि मानव पक्षलाई दोस्रो तहका रूपमा हेरिन्छ । तर स्थानीय मानिसहरू आफ्नो भौगोलिक वातावरणमा भइरहेको परिवर्तनका बारेमा पहिलो प्रत्यक्षदर्शी र पहिलो प्रभावित हुने समुदाय भएका नाताले विश्वसमुदायसमक्ष आफ्ना समस्याहरूको सुनुवाइका लागि अपिल गरिरहेका छन्, जसलाई सुन्न न सरकार तयार छ, न विज्ञ समूह उत्सुक छ, न त विकास निर्यातकर्ताहरू नै । स्थानीय बासिन्दाका जानकारी, भोगाइ र बुझाइ सरकार, बौद्धिक जगत् तथा विकासेहरूका लागि सम्भावित विपत्का बारेमा सोच्न र आवश्यक नीति–कार्यक्रम तयार गर्न महत्त्वपूर्ण संकेत र सूचना हुन सक्छन् । ती ज्ञान र अभ्यासहरू अरू त्यस्तै समुदायको जीवन र जीविका रक्षाका लागि पनि उपयोगी हुन सक्छन् । आउँदा दिनहरूमा सम्भावित बाढीपहिरोजस्ता प्राकृतिक विपत्का बारेमा अनुमान गर्न स्थानीय बासिन्दाले दिने सूचना र उनीहरूको दैनिक जीवनका अनुभव र भोगाइले ठूलो सहयोग गर्ने देखिन्छ ।

प्रकाशित : असार २८, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?