कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तामाकोसीको उज्यालो

कस्तै बाधा–अवरोधहरूले पनि तामाकोसी आयोजनालाई लक्ष्यमा पुग्नबाट रोक्न सकेनन् ।
राजेन्द्र मानन्धर

देशको एउटा रोचक बहसको विषय बन्दै तामाकोसीले एक दशक बितायो । दशकसम्म नेपालको राजनीति र अर्थराजनीतिको केन्द्रभागबाट तामाकोसी बगिरह्यो । राजनेता, जलस्रोतविद्, अर्थशास्त्री, वातावरणविद् र समाजशास्त्रीका लागि तामाकोसी विश्लेषणको विषयवस्तु बनी नै रह्यो । 

तामाकोसीको उज्यालो

तामाकोसी अर्थात् माथिल्लो तामाकोसीलाई जलविद्युत् उत्पादन गर्ने कारखानाका रूपमा मात्र हेरिएन, राजनीतिक धारका रूपमा हेरियो, आर्थिक मेरुदण्डका रूपमा लिइयो, सामाजिक परिवर्तनको ढोका भन्ने बुझियो, देशको गौरव चित्रण गरियो, अन्तर्राष्ट्रमा देखाइने तागतका रूपमा प्रस्तुत गरियो । ४५६ मेगावाट क्षमताको तामाकोसी बन्छ या बन्दैन भन्दाभन्दै अन्ततः यसको शुभारम्भ गरियो । असार २१ को अपराह्नदेखि देशका लागि तामाकोसीको बिजुली प्रसारण गरियो ।

देशको उत्तरी कुइनेटोमा प्राकृतिक ड्यामका रूपमा प्रचारित दोलखाको विगु गाउँपालिकास्थित लामाबगर लघु उपत्यकाजस्तै लाग्छ । अति नै रमणीय लामाबगरले प्राचीनकालदेखि चीनको तिब्बती बस्तीका मानिससँग नातागोता र लेनदेनको सम्बन्ध राख्छ । तामाकोसीको किनारैकिनारको यात्राबाट लामाबगर र तिब्बतबीच बिहाबारी चल्छ, मितेरी लगाउने गरिन्छ ।

लामाबगरबाट तिब्बत यात्रा तय हुने तामाकोसीको घाँटीमा बाँध बनाइएको छ । त्यहाँबाट गोगरसम्म सुरुङबाट पानी दौडाइएको छ । गोगरमा भूमिगत पावर हाउस बनाइएको छ, जसबाट उज्यालो छर्नु भनेको देशले खपत गरिरहेको जम्मा विद्युत्मा आधा हिस्सा थप्नु हो । हालसम्मकै ठूलो जलविद्युत् आयोजनालाई स्वदेशी पुँजीबाट निर्माण गर्नु पनि हो । नेपाली व्यवस्थापकीय नेतृत्व र निर्णयले ठूलो परियोजनालाई सफलताको चुचुरोमा पुर्‍याउनु पनि हो ।

तिब्बतबाट नेपाल हुँदै भारतको बिहारसम्म प्राचीन व्यापारिक मार्गको मुख्य हिस्सा तामाकोसी किनारैकिनार तिब्बततिर पछ्याउँदै २०५९ को वसन्तकालीन एक मध्याह्न हामी लामाबगर पुगेका थियौं । तामाकोसीको सुसाइ र हावाको वेगको मिश्रणबाट लामाबगरमा अजिब धुन गुन्जिरहेको थियो । छ्यछोतबाट झन्डै तीन घण्टा उकालो यात्रापछि लामाबगर उपत्यकाको दक्षिणी काखमा उभिँदा एउटा बस्ती आँखाअगाडि पर्‍यो ।

बस्तीभित्र आ–आफ्नै कर्ममा रमाइरहेका मानिसहरूको मुस्कान र हार्दिक व्यवहारबाट अभिभूत हुँदै अघि बढ्दा उत्तरतिर अर्को बस्ती देखियो । उस्तै मनमोहक । अग्लो ढुङ्गामा बसेर रिलवाला क्यामेराबाट सीमित तस्बिरहरू कैद गरेपछि सहयात्री इन्जिनियर महेन्द्रबहादुर कार्की र म त्यतै लाग्यौं । त्यो त्यही ठाउँ थियो, जसलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्रको प्राकृतिक बाँधस्थल भनिएको थियो ।

त्यो बस्तीतिर अघि बढ्दै गर्दा ढुङ्गाका गारोका बीचबीचमा माने र विभिन्न अक्षर कुँदिएका देखिए । अझ अघि बढेर एउटा नेपाली र अर्को तिब्बती गुम्बालाई फेरो मार्दै हामी बस्तीमा पस्यौं । रैथाने बासिन्दा र तिब्बती शरणार्थीहरू मिलिबसेको सानो संसारमा तिनका आ–आफ्नै रहनसहन, भाषा र वेशभूषासँग साक्षात्कार भयो । अहिले मोटरबाट मिनेटमै पुगिने त्यो ठाउँ, लामाबगरको दक्षिण कुनाबाट उत्तर कुना, पुग्न त्यति बेला हामीलाई एक घण्टा लागेको थियो । बालुवामा हिँड्नुपर्दा गलेर खुत्रुक्कै भएका थियौं, सास बढेर भुतुक्कै ।

त्यति बेला लामाबगरका बासिन्दाका निम्ति बाहिरी मानिस त्यहाँ पुग्नु नै नौलो विषय हुने गर्थ्यो । सोधखोज गर्दै थुन्डु शेर्पाको घर पुग्यौं, जसको सहयोग लिन हामीलाई भनिएको थियो । छुर्पी र जडीबुटीको व्यापार गर्ने थुन्डुले भद्रतापूर्वक आतिथ्य दिएकाले हामी तत्कालै घुलमिल भयौं । उनैकी कान्छी छोरीले मीठो खाना बनाएर खुवाइन् । खाना खाएपछि रिपोर्टिङ गर्दै र तस्बिरहरू लिँदै गर्दा एक युवा हामी भए ठाउँ आए, आफू दोलखाकै पवटीको भन्दै । संयोगवश, उनी केही वर्षदेखि तामाकोसीको बहाव नापेर नेपाल विद्युत् प्राधिकरणमा रिपोर्ट पठाउने काम गर्दा रहेछन् ।

हामी उनीसँगै तामाकोसीको किनारैकिनार हालको ड्याम साइटमा पुग्यौं । बालुवा र हिलो भएको फराकिलो किनार । अझ उत्तरतिर आँखा तर्काउँदा कुनै मानिसको घाँटीजस्तै दुवैतिर साँघुरिँदै आएको चट्टानी भीरको काप । त्यो काप हुँदै तामाकोसी बगिरहेको क्षेत्र नै हालको ड्यामस्थल हो । त्यही घाँटीलाई नै ताकेर प्राधिकरणले सस्तोमा विद्युत् उत्पादन हुने

आधार खोज्न तामाकोसीमा बग्ने पानीको अनुसन्धान गर्दै थियो । लामाबगर क्षेत्रमा आकर्षक जलविद्युत् आयोजनाको पहिलो खोज अस्ट्रियाली नागरिक डा. क्रिस्चियन उल्हरले गरेका थिए । भूगर्भविद् उल्हरले २०५४ देखि २०५७ सम्म अध्ययन गरेर त्यो आयोजना सस्तो र आकर्षक हुने भनेपछि प्राधिकरणले पनि पहल थालेको थियो ।

हामी ४५८० मिटर उचाइमा रहेको च्छोरोल्पा हिमतालबाट बगेको पानीबाट बिजुली उत्पादन गर्नेबारेको कामका सिलसिलामा लामाबगर पुगेका थियौं । इन्जिनियर कार्कीको साथ हाइड्रो पावरबारे जान्न मेरा लागि लाभदायक भइरहेको थियो (उहाँकै नेतृत्वमा संसारकै अग्लो ठाउँको लघु जलविद्युत् आयोजनाबाट १५ किलोवाट बिजुली निकालिएका प्रतिवेदनहरू बनेका छन् ।)

कार्की दाइकै चिनजानका र त्यति बेला तामाकोसी आयोजना हेर्न खटिएका मृगेन्द्रबहादुर श्रेष्ठलाई मैले काठमाडौं आएपछि प्राधिकरणको केन्द्रीय कार्यालयमा भेटें । उहाँसँग लिएको थप जानकारीसहितको मेरो रिपोर्ट कान्तिपुर दैनिक र नेपाल पत्रिकामा छापियो (माथिल्लो तमाकोसीबारे नेपाली पत्रकारबाट गरिएको स्थलगत रिपोर्टिङ त्यही पहिलो रहेको भनिरहनुहुन्छ तामाकोसी आयोजना प्रमुख श्रेष्ठ) ।

देश नै उज्यालो बनाउने माथिल्लो तामाकोसीलाई मृगेन्द्रबहादुर श्रेष्ठले निकै कठिन परिस्थितिमा हाँक्नुभयो । सुरुमा आयोजनाको लागत ३५ अर्ब २९ करोड भनिएको थियो । तत्कालका लागि उक्त बजेट तलमाथि परेमा देशलाई ठूलो घाटा हुने ठानिन्थ्यो । तत्कालीन अर्थमन्त्रीहरूले स्वदेशी लगानीमा त्यति ठूलो परियोजना सञ्चालन गर्न आँट गरिरहेका थिएनन् । श्रेष्ठका अनुसार, त्यो साहस जुटाउनमा भीमबहादुर तामाङ, पशुपति चौलागाईंलगायतका दोलखाका नेताहरूको ठूलो योगदान रहेको थियो ।

नेपालको जल राजनीतिमा एउटा ऐतिहासिक घटना मानिने माथिल्लो तामाकोसीबारे कान्तिपुर पब्लिेकसनका प्रकाशनहरूले प्राथमिकतापूर्वक स्थान दिने गर्थे । मैले २०५८ चैत १५ मा कान्तिपुर दैनिक प्रवेश गरेदेखि २०७७ पुस १४ गतेसम्म माथिल्लो तामाकोसीका लागि धेरै शब्द खर्चिएको थिएँ । नेपाल पत्रकार महासंघको दोलखा शाखामार्फत हामीले सामाजिक र राजनीतिक क्षेत्रमा गरेको सकारात्मक लबिइङले पनि तामाकोसीको विरोधमा उठेका कैयौं ज्वारभाटा शान्त भएका थिए । गलत, बदनियत र खाइमासी भए हिसाबकिताब पछि पनि गर्न सकिन्छ, तर राष्ट्रिय गौरवको आयोजनामा बाधा पर्न हुन्न भन्ने अडान हामीले सुरुदेखि नै राख्दै आयौं । यो वा त्यो बहानामा आयोजनाको गति रोक्न खोज्नु भनेको तामाकोसीको क्षतिमा सहयोग पुर्‍याउनु हो भन्नेमा हामी दृढ थियौं ।

यो एक दशकका दौरान माथिल्लो तामाकोसीका नाममा आमहडतालहरू भए, सडक अवरुद्ध गरिए । तामाकोसीका सवारी साधनमाथि प्रतिबन्ध लगाइए । कर्मचारीहरूका लागि हिँडडुल गर्न नपाइने गरी तगारा लगाइए । अदालतमा मुद्दाका ठेलीहरू दर्ता भए । तर, त्यस्ता बाधा–अवरोधहरूले पनि तामाकोसी आयोजनालाई लक्ष्यमा पुग्नबाट रोक्न सकेनन् ।

माथिल्लो तामाकोसीबारे अनेक भ्रम छर्दै आएका दुःखी आत्माहरू अन्तिमसम्म थाकेका थिएनन् । तामाकोसीलाई गर्भमै तुहाउन स्वदेशी र विदेशी दलबलले अन्तिमसम्म तागत लगाई नै रहे । त्यस्ता ‘विज्ञ’ हरू सुरुसुरुमा ‘स्वदेशी लगानीले बन्न सम्भवै छैन’ भन्दै कुर्लिए । अलि पछि ‘स्वदेशी व्यवस्थापनले थेग्नै सक्दैन’ भन्दै बम्किन थाले । कहिले ‘यत्रो महँगो प्रोजेक्ट कसरी बनाउन सकिन्छ’ भन्दै तर्साउन खोजे । कहिले ‘डिजाइनमै कैफियत छ’ भन्दै दुष्प्रचारमा लागे । कहिले ‘तामाकोसी बन्दै बन्दैन’ भन्दै हिँडे । तर तामाकोसीले ती सबैलाई झुटो साबित गरिदियो ।

षड्यन्त्र, अप्ठेरा, अवरोध, असहयोग र प्राकृतिक वज्रपातको सामना गर्दै अन्ततः तामाकोसी आयोजनाले दिग्विजय प्राप्त गरेको छ । अब यसबारे भएका असहमतिहरूलाई थाती राखौं, बेइमानी र बेथितिहरू भए खोजी गर्दै गरौं । अहिले भने सबै मिलेर तामाकोसीको जितमा दीप प्रज्वलन गरौं ।

प्रकाशित : असार २३, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?