कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गगन र विश्वप्रकाशको काँध

गुटगत लेनदेन र सम्झौताहरूबाट नेतृत्वमा पुग्ने कि वैचारिक–राजनीतिक हस्तक्षेप गरेर ? गगन/विश्वप्रकाशहरूले कांग्रेसको राजनीतिक विरासत बोक्न काँध दरिलो बनाउनुपर्ने बेला आएको छ । 
राजाराम गौतम

अब नेपाली कांग्रेसको भारी कसले बोक्ने ? चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा सर्वाधिक चासोको प्रश्न हो यो । 

गगन र विश्वप्रकाशको काँध

रामचन्द्र पौडेललाई लाग्छ, अब काँध फेर्ने पालो उनको । ‘सभापति शेरबहादुर देउवाको काँध थाकिसक्यो, उनले विश्राम लिनुपर्छ ।’

तर, देउवा विश्रामको मुडमा छैनन् । उनी थप एक कार्यकाल नेतृत्वमा दोहोरिन चाहन्छन् । त्यसको उनले तयारी नै थालिसके ।

देउवा र पौडेलपछिका पुस्ताका नेताहरूचाहिँ यी दुवैले विश्राम लिनुपर्ने तर्क गर्दै छन् । शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायत नेतृत्वमा पुग्ने दौडधुपमा छन् । शेखर र निधिले सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।

नेतृत्वको दाबी यीभन्दा पछिको पुस्ताले पनि गरेको छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, कल्याण गुरुङ आदि यो पुस्ताका प्रतिनिधि हुन् । यो पुस्ताको निष्कर्ष छ, अब पुरानो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ ।

महाधिवेशन हुने लगभग पक्का भएपछि कांग्रेस वडादेखि केन्द्रसम्म चलायमान भएको छ । केन्द्रमा नेताहरू ‘लन्च मिटिङ’ मा व्यस्त छन् भने गाउँ–टोलमा चियापसलमा । तलदेखि माथिसम्मैको चासो नेतृत्व परिवर्तनमा छ । देउवा नै दोहोरिने हुन् कि दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ ? त्यसो भएमा को ? शेखर, निधि, सिंह वा शशांक ? नयाँ पुस्ताका गगन, विश्वप्रकाश, प्रदीप, कल्याण आदिको भूमिका के हुने ? महामन्त्रीलगायत पदाधिकारीस्तरमा यिनको बढोत्तरी होला ? जति पनि यस्ता छलफल र चर्चा भएका छन्, ती मूलतः पदीय भूमिका र भागबन्डाकै कुरामा केन्द्रित छन् । राजनीतिक–वैचारिक मुद्दा ओझेलमा परेको छ ।

पार्टी बलियो हुन त्यसको नेता को भन्ने कुराले निश्चय पनि अर्थ राख्छ । यद्यपि राजनीतिक कार्यदिशाबिना एउटा सुदृढ पार्टीको कल्पना गर्न सकिँदैन । विचार, सिद्धान्त कुनै पनि दलको अस्त्र हो । यो अस्त्रबिना दल अपुरो हुन जान्छ । कांग्रेसको यो महाधिवेशनको मुद्दा के हो ? नेतृत्वमा पुग्ने होड चलिरहँदा यो प्रश्न कहीँकतै गौण छ, हराएको छ । कांग्रेसको दीर्घकालीन स्वास्थ्यका लागि यो प्रवृत्ति हानिकारक छ ।

कांग्रेसमा दोस्रो पुस्ता र त्यसपछिको नयाँ पुस्ता नेतृत्वका लागि जुर्मुराउनु सुखद पक्ष हो । जति पनि उम्मेदवारीका घोषणा भएका छन्, त्यसबाट भावी परिदृश्यहरू अनुमान गर्न नसकिए पनि कांग्रेसमा देउवालाई विस्थापन गर्न खोजिएको प्रस्टै बुझिन्छ । गुटगत राजनीतिका हिसाबले देउवा बलियो नेता हुन् । यद्यपि चार पटक प्रधानमन्त्री र पार्टी सभापतिको भूमिकामा रहिसकेका देउवाप्रति कार्यकर्ता पंक्ति र जनस्तर दुवैतिर आम अविश्वास छ ।

देउवाको उदय गुटगत राजनीतिकै परिणति थियो । कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको अन्तद्वन्द्र्वका ‘बाइप्रोडक्ट’ हुन् उनी । विद्यार्थी राजनीति गर्दा कार्यकर्ता पंक्तिमा उनीप्रति आकर्षण नै थियो । तर, पटक–पटक सत्ता राजनीतिको स्वाद चाख्दै गएपछि उनको छवि स्खलित अनि विवादित हुँदै गयो । अहिले गतिशील कांग्रेसको बाधक बनेका छन् उनी । त्यस हिसाबले कांग्रेसको नेतृत्वमा देउवाको विकल्पको खोजी आवश्यक हो । तर, नेतृत्वको अनुहार मात्रै फेरेर कांग्रेसले गतिशीलता पाउनेछैन । पदीय भूमिका खोज्दै नेतृत्वको आकांक्षा राख्नेहरूले आगामी राजनीतिक रोडम्याप कोर्न सक्नुपर्छ ।

कांग्रेसको स्थापना जनउत्तरदायी शासन व्यवस्थाको वकालत गर्दै भएको थियो । २००६ सालमा कांग्रेस जन्मिँदा यो पार्टीले स्वेच्छाचारी होइन, संवैधानिक राजाको वकालत गर्‍यो । र, निर्वाचित जनउत्तरदायी शासन व्यवस्थाको पक्षमा उभियो । संवैधानिक राजा र प्रजातन्त्र कांग्रेसले अनवरत अघि बढाएको विचार थियो । अझ यसमा बीपीको समाजवादको सपना पनि जोडिएको थियो । सारमा बीपीको समाजवाद थियो, ‘एक हल गोरु, एउटा गाई र सानो घर ।’

२०४६ पछि पटक–पटक सत्तामा पुगेका कांग्रेसी नेताहरूले बीपीको सपनाको सानो घर होइन, काठमाडौंमै महल ठड्याए । महँगा, विलासी गाडीतिर आकर्षित भए । बीपीको समाजवादको सपना कांग्रेसीहरूका लागि उनको स्मृतिका दिन ‘गाउने गीत’ मा सीमित भएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि कांग्रेसका मुद्दा थिएनन् । तर, दरबार र संसदीय दलबीच द्वन्द्व बढ्दै जाँदा कांग्रेस गणतन्त्रको कित्तामा उभिन पुग्यो । आफ्नै नयाँ पुस्ता गणतन्त्रको पक्षमा उभिएपछि कांग्रेसले बाध्य भएर संवैधानिक राजतन्त्रको बाटो त्याग्यो । यद्यपि कांग्रेसभित्र अहिले पनि यी विषयलाई लिएर मतभेद छन् । महामन्त्री शशांक कोइरालाले खुलेरै हिन्दु राष्ट्रका पक्षमा मत जाहेर गरेका छन् भने, संघीयताका विषयमा पनि कतिपय नेताका फरक–फरक मत सुनिन्छन् । यो सन्दर्भमा कांग्रेसले नीतिगत प्रस्टता खोज्नु आवश्यक छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । संवैधानिक राजतन्त्र पनि इतिहास भइसक्यो । यो परिवशेमा आफ्ना राजनीतिक–आर्थिक मुद्दाहरू परिष्कृत गर्दै लैजाने कांग्रेसको कार्यभार बाँकी नै छ । महाधिवेशन यस्तो विमर्शका लागि उपयुक्त थलो हुन सक्छ ।

मूलतः कांग्रेस यी तीनवटा परिचयले चिनिन्छ । एक, बीपीले सिञ्चित गरेको पार्टी । दुई, लोकतान्त्रिक आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गरेको पार्टी । तीन, जीवित र सक्रियमध्ये सबैभन्दा पुरानो पार्टी । यही परिचयको सीमामा कैद भएर अब कांग्रेस अघि बढ्न सक्दैन । महाधिवेशनलाई नेतृत्वका आकांक्षीहरूले पदप्राप्तिको होडबाट निस्केर वैचारिक मन्थन गर्ने एउटा महत्वपूर्ण अवसर बनाउन सक्नुपर्छ ।

विगतका अभ्यास हेर्दा महाधिवेशनमा वैचारिक ‘डिस्कोर्स’ निकै कम हुने गरेका छन् । नरहरि आचार्य, प्रदीप गिरी आदि नेताले बेलाबखत सैद्धान्तिक ‘डिस्कोर्स’ नगरेका होइनन् । पछिल्लो सयम गगन थापाले पनि छलफल अघि बढाउने प्रयत्न गरेका थिए । तेह्रौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हँुदा उनले कांग्रेसको संरचनागत सुधारसहित राजनीतिक प्रस्ताव अघि सारेका थिए, जसमा खासै बहस भएन । त्यसयता पनि उनीलगायत नयाँ पुस्ताका नेताहरूले कांग्रेस सुधारका पक्षमा बेलाबखत आफ्ना प्रस्तावनाहरू अघि सारेका एकाध दृष्टान्त छन् । यद्यपि जुन स्तरमा बहसहरू हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । नेतृत्वमा अग्रसरता देखाउँदै गरेको नयाँ पुस्ताले पार्टीमा राजनीतिक–वैचारिक हस्तक्षेप नै गर्न सक्नुपर्छ ।

कांग्रेसलाई गणतन्त्रको पक्षमा उभ्याउन नयाँ पुस्ताको भूमिका रह्यो । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछिको दृष्टान्त नै हेरौं न । ओलीले संसद् विघटन गरेपछि कांग्रेस सुरुमा द्विविधाग्रस्त थियो । आन्दोलन गर्ने कि चुनावमा होमिने ? उसले चुनावमुखी आन्दोलन अघि बढायो । तर, ओलीविरुद्ध उभिन आनाकानी गरिरहेका देउवा पार्टीभित्र हस्तक्षेप बढाउँदै लगेपछि ‘पोजिसन’ लिने ठाउँमा आए । कांग्रेसले ‘पोजिसन’ लिएपछिका राजनीतिक परिदृश्यहरू फेरिएका छन् ।

यो पछिल्लो सन्दर्भबाट कांग्रेसमा झन् स्पष्ट र दृढ नेतृत्व आवश्यक रहेको देखिएको छ । अनेक स्वार्थका लाभहानि हेर्ने, ढुलमुले, द्विविधाग्रस्त र प्रतिक्रियाको राजनीतिमा सीमित नेतृत्व होइन, कांग्रेसले नीतिगत रूपमा पुनर्जागृत गर्न सक्ने ‘डाइनामिक लिडरसिप’ चाहिएको छ ।

कांग्रेसको सात दशक लामो राजनीतिक यात्रा सधैं सुखद रहेन । लोकतान्त्रिक संघर्षको मोर्चामा अग्रपंक्तिमा रहे पनि यसले पार्टी र सरकार सञ्चालनमा कौशल देखाउन सकेन । समग्रतामा लोकतन्त्रको पहरेदार तर आन्तरिक लोकतन्त्रमा अति नै गरिब कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा, सत्ताप्राप्ति र पदप्राप्तिका भद्दा खेलहरू पटक–पटक दोहोरिए । जीवनको उत्तराद्र्धमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता हस्तीहरूले पार्टी नै परित्याग गर्नुपर्ने अवस्था आयो । सारमा, अस्वस्थ गुटबन्दी, राजनीतिक चिन्तनको अभाव, व्यवहारमा लोकतान्त्रिक नहुनु आदि कारणले कांग्रेस खस्किएको हो । नूर गिरेको कांग्रेसको साख फर्काउने नेतृत्व यो महाधिवेशनले दिन सक्ला ?

एकथरी कांग्रेसीको विश्वास छ— देउवाको विकल्पमा शेखर, निधि वा जोकोही आए पनि कांग्रेसले पुनर्जीवन पाउनेछ । गगन र विश्वप्रकाश महामन्त्रीमा चुनिएर मुख्य नेतृत्वको सारथि भए भने कांग्रेसले काँचुली फेर्नेछ । अर्काथरीको कथन छ— व्यक्ति परिवर्तन गौण हो, पार्टी जीवनमा मूल कुरा विचार हो । कांग्रेसले कस्तो विचार अघि सार्न सक्छ, त्यो विचार बोक्ने नेता त्यसअनुकूल छ÷छैन भन्ने पक्षले मात्रै कांग्रेसको आगामी दिन निर्धारण गर्नेछ ।

कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस चल्दै गर्दा गगन र विश्वप्रकाश रूपान्तरणका ‘विम्ब’ बनेका छन् । देउवा दोहोरिए वा दोस्रो पुस्ताका अरू कोही नेता सभापति भए पनि तिनले महामन्त्रीमा गगन र विश्वप्रकाशको साथ खोजेका छन् । गगन र विश्वप्रकाश दुवैका लागि यो अवसर र चुनौती दुवै हो । यी दुवै नेताप्रति कांग्रेसले मात्रै होइन, देशले नै आशा गरेको छ । अनुहार बदलेर नेतृत्वमा पुगून् भन्ने शुभेच्छा होइन, पार्टीमा जबर्जस्त वैचारिक हस्तक्षेप गरून् भन्ने अपेक्षा गर्ने जमात ठूलो छ ।

२०४६ को जनआन्दोलनका बेला स्कुल पढिरहेका गगनको राजनीतिप्रति रुचि त्यही बेलादेखि जागेको हो । नेपाल विद्यार्थी संघमा संगठित भएर विद्यार्थी राजनीतिमा होमिएका उनी सडक आन्दोलनबाट राष्ट्रिय परिदृश्यमा देखिए । २०६३ को आन्दोलन, त्यसपछि कांग्रेसलाई गणतन्त्रको पक्षमा उभ्याउन भूमिका खेले । सांसद भए, संसदीय समितिमा काम गरे, स्वास्थ्यमन्त्री भएर काम गरे । यी परीक्षणमा उनी तुलनात्मक रूपमा सफल देखिए, जसले गर्दा उनीप्रति अहिले पनि आमरूपमा अपेक्षा कायमै छ । विश्वप्रकाशको पृष्ठभूमि पनि विद्यार्थी राजनीतिमै थियो । शालीन ढंगले बोल्न सक्ने र पेचिलो लेख्न सक्ने उनी अहिले कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा छन् । र, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । सन्देह के मात्रै छ भने, गुटगत नेताको छहारी छोडेर पार्टीलाई वैचारिक–राजनीतिक दिशानिर्देश गर्न यी दुई नेता सक्षम होलान् ?

दुवै नेता गुटका प्रतिनिधि हुन् । विश्वप्रकाश शेरबहादुर गुटका नेता हुन् भने गगन कृष्णप्रसाद सिटौला समूहका नेता । कांग्रेसमा गुट र नेताको फेर समातेर नेतृत्वमा पुग्ने होड छ । सबैजसो अवसरको खोजीमा छन् । गुटको फेरो समातेर नेता बन्ने कि विचारको ? आशा गरिएका दुवै नेता यसबारे प्रस्ट हुनुपर्ने देखिन्छ ।

तेह्रौं महाधिवेशनमा गगन महामन्त्रीमा ५८४ मत ल्याएर पराजित हुँदा धेरैले ४० नकट्दै साहस गरेको भनेर टिप्पणी गरेका थिए । कतिले गुटको प्रतिनिधि भएर लड्दा पराजित हुनुपरेको विश्लेषण गरे । जे भए पनि तेह्रौं महाधिवेशनले उनलाई नेतृत्वमा अग्रसर हुने जग बनाइदिएको थियो । आज उनलाई सबैजसो सभापतिका उम्मेदवारले महामन्त्रीका रूपमा आफ्नो टिममा आउन आमन्त्रण गर्नुले कांग्रेसमा उनको आकर्षण सिद्ध हुन्छ । तर, उनले नेतृत्वको दाबासँगै वैचारिक–राजनीतिक मुद्दालाई पनि बोक्न सक्नुपर्छ । कुनै पनि नेतालाई राजनीतिक कार्यक्रम र मुद्दाले स्थापित गर्छ । गुटगत लेनदेन र सम्झौताहरूबाट नेतृत्वमा पुग्ने कि वैचारिक–राजनीतिक हस्तक्षेप गरेर ? गगन÷विश्वप्रकाशहरूले कांग्रेसको राजनीतिक विरासत बोक्न काँध दरिलो बनाउनुपर्ने बेला आएको छ ।

@Rajaramgautam









प्रकाशित : असार २२, २०७८ २२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?