१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनलाइन कक्षा र आन्तरिक मूल्याङ्कन

वैकल्पिक माध्यमका नाममा अहिले प्रत्यक्ष उपस्थितिमा जस्तै दस बजेदेखि चार बजेसम्मको समयतालिका बनाइएको छ, त्यो व्यावहारिक देखिँदैन ।
साधना प्रतीक्षा

केही समयअघि भेट भएका एक परिचितलाई उनका छोराको पढाइबारे प्रश्न गर्दा उनको जवाफ थियो, ‘जाँचै नदिई एसईई पास गरेको, त्यो पनि ए प्लस ल्याएर, चानचुने कलेजमा पढ्दिनँ भन्यो । ए प्लस ल्याएकोलाई साइन्स नपढाई पनि त भएन । अहिले भने घाँडो पो भएको छ । जाँचै नदिई पास भएजस्तो सजिलो पढ्न त कहाँ हुन्थ्यो र ? बहिनीचाहिँ पनि जाँच दिन पर्दैन क्यारे भनेर अहिलेदेखि नै फुरुङ्ग छ । पढाइ भने जिरो... !’

अनलाइन कक्षा र आन्तरिक मूल्याङ्कन

यस्तैयस्तै दुखेसो पोखेर उनी अलग्गिए । अहिले अधिकांश अभिभावक यस्तै दुखेसो गर्न बाध्य भएका छन् । गत वर्ष महामारीका कारण एसईई परीक्षा सञ्चालन गर्न नसकिने अवस्थामा सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थी उत्तीर्ण गराउने निर्णय गरेको थियो । सोही आधारमा विद्यालयहरू आफ्ना विद्यार्थीहरूलाई अधिमूल्याङ्कन गरी राम्रो ग्रेड दिन पछि परेनन् । यसले विद्यालयको ख्याति बढे पनि, विद्यार्थीहरू खुसी भए पनि अधिकांश विद्यार्थीको सो खुसी दीर्घकालीन बन्न भने सकिरहेको छैन । राम्रो ग्रेड ल्याउनेले सकेसम्म विज्ञान–प्रविधि विषय लिनैपर्ने परम्परामा उनीहरू अहिले नराम्ररी अल्झिरहेका देखिन्छन् ।

निश्चित मापदण्डका आधारमा ग्रेडिङ गरिएको भनिए पनि ती मापदण्ड र आधारहरू केवल हात्तीको दाँतजस्ता देखिए । किनभने, विद्यालयहरूमा कसले राम्रो ग्रेडिङमा धेरै विद्यार्थी उत्तीर्ण गराउने भन्ने प्रतिस्पर्धा थियो । त्यसैले आफ्ना विद्यार्थीको रुचि र क्षमताका आधारमा ग्रेड निर्धारण गरी उनीहरूलाई उपयुक्त विषय रोज्ने अवसर दिन विद्यालयहरू चुके । यसरी देखावटी मापदण्डका आधारमा गरिएको मूल्याङ्कनका कारण विद्यार्थीका लागि फलामे ढोका मानिएको एसईई परीक्षाको स्तर खस्किएको छ । साथै यसले विद्यार्थीको भविष्यमा समेत नकारात्मक असर पुर्‍याउने देखिन्छ ।

कोभिडको दोस्रो लहरका कारण अहिले पुनः सोही प्रक्रिया दोहोर्‍याउनुको विकल्प छैन । गत वर्षको परीक्षाफल र त्यसबाट विद्यार्थी वर्गमा देखिएको प्रभावको सही आकलनबिना यस पटक पनि हचुवाका भरमा एसईईको औपचारिकता पूरा गर्नु मूर्खताबाहेक केही हुनेछैन । विद्यार्थीको समग्र क्षमताका आधारमा नभएर विभिन्न प्रभाव तथा विद्यालयको ख्यातिका लागि गरिने मूल्याङ्कनका कारण बढी क्षमतावान् विद्यार्थी पछाडि तथा कम क्षमतावान् विद्यार्थी अगाडि देखिन पनि सक्छन् ।

यसबाट राम्रा विद्यार्थीले चाहेको विषय अध्ययनको अवसर नपाउने र उनीहरू नैराश्यको सिकार हुने सम्भावना रहन्छ । अर्कातिर, अधिमूल्याङ्कन गरिएका विद्यार्थीहरू पनि अगाडिको पढाइलाई राम्ररी निरन्तरता दिन नसकी उही नैराश्यबोध गर्न पुग्छन् । त्यसैले एसईईजस्तो परीक्षामा निष्पक्ष तथा उपयुक्त मूल्याङ्कन पद्धतिका लागि सोही प्रकारको संयन्त्र निमार्णको पनि आवश्यकता देखिन्छ । शैक्षिक सत्रको समाप्ति तथा परीक्षाको मुखैमा आएर यस्तो निर्णय गरिनु पनि आफैंमा उपयुक्त देखिएको छैन । महामारी सम्बन्धमा विज्ञहरूका धारणा तथा यसको अन्त्यको सम्भावना हेरेर शैक्षिक सत्रको आरम्भदेखि नै कक्षा दसका विद्यार्थीहरूको मूल्याङ्कन आरम्भ गरिनु उपयुक्त हुने थियो । यसका साथै उसको समग्र क्षमता तथा सबै परीक्षामा उसले प्राप्त गरेको अंकका आधारमा ग्रेड तोकिने व्यवस्था भएमा मात्र परीक्षाफल प्रभावकारी हुने थियो । यसतर्फ सम्बन्धित निकाय संवेदनशील हुनैपर्छ ।

यसै गरी हाल सञ्चालन भइरहेको अनलाइन कक्षा पनि ‘बिरालो बाँध्ने परम्परा’ नै बनिरहेको छ । यसले लाखौं बालबालिकाको भविष्य उजिल्याउनुको साटो उनीहरूलाई अन्योलतर्फ धकेलिदिन पनि सक्छ । विशेष गरी निजी विद्यालायहरूले शुल्क असुलीका लागि अहिले जसरी सरकारले तोकेको मितिअगावै कक्षा सञ्चालन गरिरहेका छन्, त्यो प्रभावकारी देखिएको छैन । निषेधाज्ञाको अवस्था, अत्यावश्यकबाहेकका पसल नखुल्नु, शैक्षिक सामग्रीको सहज उपलब्धता नहुनु आदिका बीचमा अनलाइन कक्षा सञ्चालन कति प्रभावकारी होला ?

त्यसै पनि हामीकहाँ प्रविधिको सहज उपलब्धता तथा त्यसको प्रशस्त अभ्यास हुन सकेको छैन । प्रविधिका माध्यमबाट हुने तथा कक्षामा प्रत्यक्ष उपस्थितिमा गरिने पठनपाठनमा भिन्नता हुन्छ । वैकल्पिक माध्यमका नाममा अहिले प्रत्यक्ष उपस्थितिमा जस्तै दस बजेदेखि चार बजेसम्मको समयतालिका बनाइएको छ, त्यो व्यावहारिक देखिँदैन । यति लामो समय कोठाभित्र एकै स्थानमा डिभाइस चलाएर बस्नु बालबालिकाको स्वास्थ्यका दृष्टिले समेत उपयुक्त देखिँदैन । यसले उनीहरूका आँखा तथा मानसिकतामा समेत नकारात्मक प्रभाव पार्न सक्छ । हालको यस्तो पठनपाठनमा बालबालिका प्रायः निष्क्रिय र शिक्षक मात्र सक्रिय देखिन्छन् । निजी विद्यालय प्रशासनको अनावश्यक दबाबका कारण हाल शिक्षक तथा विद्यार्थी दुवैलाई मानसिक बोझ थपिएको छ । यति लामो समयको कक्षापश्चात् प्रत्येक दिनको गृहकार्य पनि प्रविधिकै माध्यमबाट गर्नुपर्ने हुँदा दुवैथरीले असहजता महसुस गरिरहेका छन् ।

अनलाइन कक्षाको अर्को समस्या, विद्यालयहरूले प्रयोग गरिरहेको जुमजस्तो निःशुल्क माध्यमका कारण कक्षामा अनावश्यक व्यक्तिको प्रवेश तथा अनेक प्रकारका व्यवधान हुने गरेका छन् । यसले पढाइमा बाधा पुर्‍याएको देखिन्छ । यसै गरी, सबै ठाउँमा इन्टरनेटको सुविधा प्रभावकारी छैन । महँगो नेट तथा त्यस्तै डिभाइसहरू प्रयोग गर्न नसक्नेहरूका लागि त पठनपाठन केवल औपचारिकता बनिरहेको देखिन्छ । जुन प्रकारले पठनपाठन भइरहेको छ, विद्यार्थीको मूल्याङ्कन पनि सोही आधारमा हुनुपर्नेमा सो पनि भएको देखिँदैन । कहिले अनलाइन तथा कहिले विद्यालयको पठनपाठन र परीक्षाका कारण गत शैक्षिक सत्रमा विद्यार्थीको मूल्याङ्कन प्रभावकारी भएको पाइएन ।

महामारी एकपछि अर्को धार गरी आइरहेको अवस्थामा, पाठ्यपुस्तकको सहज उपलब्धता नभएको परिस्थितिमा र वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने बाध्यकारी परिवेशमा उही पुरानो र सम्पूर्ण पाठ्यक्रमभन्दा महत्त्वपूर्ण विषयवस्तु निर्धारण गरेर विद्यार्थीकेन्द्री पनि हुने गरी सम्पूर्ण शैक्षिक सत्र नै वैकल्पिक रूपमा लाने गरी शैक्षिक कार्यक्रम ल्याइनुपर्ने थियो तर त्यसो हुन सकेन । जसरी हुन्छ कक्षा सञ्चालन गर्ने, विद्यार्थी भर्ना गर्ने, विद्यालयले शुल्क असुली गर्ने, सरकारले तिनबाट राजस्व उठाउनेबाहेक अन्य पक्षतर्फ यति लामो समयसम्म पनि ध्यान गएको पाइएन । आफ्ना बालबालिका ढोका थुनेर दिनभर मोबाइल र ल्यापटपमा बसेको देख्दा अभिभावक पनि मक्ख परिरहेका छौं । किनभने, उनीहरूले के पढिरहेका छन् के गरिरहेका छन् भनेर बुझ्न सक्ने क्षमता हामीमध्ये धेरैमा नहुन सक्छ ।

पढाइ भनेको दस कक्षा वा एघार–बाह्र कक्षा मात्र नभएर त्यसपछि पनि अझ धेरै हो भन्ने कुरा विद्यार्थीको मूल्याङ्कनका सन्दर्भमा विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थी स्वयम्ले समेत बुझ्नुपर्ने हुन्छ । अहिले मुलुकको राजनीति दिशाविहीन भए पनि शैक्षिक क्षेत्र त्यसमा अलमलिनु हुँदैन र शैक्षिक निकाय एवम् शिक्षाविद्हरूले बेलैमा सचेत भएर वर्तमान विषम परिस्थितिमा बालबालिकाको भविष्यतर्फ संवेदनशीलताका साथ वैकल्पिक कक्षाहरूलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक देखिन्छ ।

हुन त हरेक पटक ‘नयाँ’ का नाममा ‘पुरानै’ लाई तोडमोड गरी पाठ्यक्रम बनाउने, पाठ्यपुस्तकमा सकेसम्म आफ्नाहरूका सामग्री मात्र समावेश गराउने, मूल्याङ्कन गर्ने निकायहरूमा समेत पाएसम्म आफ्नैलाई मात्रै छिराउने हाम्रा कथित शैक्षिक एवम् प्राज्ञिक वर्गहरूबाट धेरै आशा गर्ने ठाउँ त छैन । आसन्न विपत्को परिवेशमा त्यसै पनि मानसिक रूपले असहजपन खेपिरहेका विद्यार्थीहरूलाई अस्पष्ट शैक्षिक गतिविधिले झनै असन्तुलित बनाएको छ । त्यसैले शैक्षिक क्षेत्रमा देखिएको अस्पष्टता र असहजताप्रति सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्छ । अन्यथा असंख्य बालबालिकाको भविष्य पनि यसरी नै अन्योलग्रस्त हुनेछ ।

प्रकाशित : असार २१, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?