कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हाम्रा मूर्ति र कलाकौशल हराएरै सकिने भए !

हामीले संस्कार, संस्कृतिलाई त्याज्य र काम नलाग्ने सम्झँदै गयौं; मौका कुरेर बस्नेहरूले हामीले आराध्य सम्झेर पुजेका मूर्तिहरूलाई खुरुखुरु बाहिर लग्दा पनि चासो दिएनौं ।
गोविन्द टण्डन

आफ्नै प्राचीन गौरवमय इतिहास बोकेको, सानो भूभागमा फैलिएको भए पनि प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदाहरूले गर्दा नेपालको विश्वरंगमञ्चमा आफ्नै महत्त्व छ । त्यसैले नेपालप्रतिको आकर्षण इतिहासको उषाकालदेखि नै केही न केही रूपमा भइरहेको पाइन्छ ।

हाम्रा मूर्ति र कलाकौशल हराएरै सकिने भए !

चिनियाँ यात्रीहरूको बराबरको आवागमन, दुई छिमेकी भारत र तिब्बतका लागि एक किसिमले ‘ट्रान्जिट भूमि’ बनेर जनजीविका, रहन–सहन र विधि–व्यवहारका अनेकौं क्रियाकलापमा नेपालको सहयोग रहेकै कारण उत्तर र दक्षिणका छिमेकीसँग सहअस्तित्वको भावना विकसित र पल्लवित भएको इतिहास साक्षी छ ।

नेपालमा विश्वका अरू संस्कृति र सभ्यतामा जस्तो ठूलठूला गुफामा मूर्तिकलाहरू सजिएका या कुनै भव्य प्रस्तरकला उत्कीर्ण भएका आकर्षक डाँडाकाँडा, पहाड–पर्वत अझै प्राप्त हुन सकेका छैनन् । यत्रा डाँडाकाँडा, विशाल पर्वतमाला भए पनि इन्डोनेसियाको जस्तो ‘बोरोबुदोर’ (विश्वकै सबैभन्दा ठूलो बौद्ध स्तूप) या कम्बोडियाको जस्तो ‘अंकोरभाट’ (विश्वको सबैभन्दा विशाल विष्णुमन्दिर) बन्न सकेन । त्यसैगरी महाराष्ट्र, भारतमा पाइएजस्तो एलिफान्टा, एलोरा गुफा पनि पाइएको छैन । यसो किन भयो भनी कहिलेकाहीँ जोकसैको मनमा जिज्ञासा आउन सक्छ । नेपालमा पहाड–पर्वतका बाटाघाटामा कहीँकतै उपयुक्त ढुंगा देखिए धार्मिक भावका केही मन्त्र उत्कीर्णसम्म गरेको पाइन्छ । मुस्ताङमा मानिस बसोबासका केही गुफा पाइनुदेखि बाहेक भव्य र आकर्षक गुफा पाइएको छैन । यद्यपि यी गुफाहरूको त्यति प्रचार–प्रसार हुन पाएको छैन ।

हामीकहाँ विभिन्न मठ, मन्दिर, गुम्बा, विहारका अंग–प्रत्यंग भएर सतहमै देखिने मूर्ति एवं अन्य कलाकृतिको बाहुल्य रह्यो । इतिहासका विभिन्न कालखण्डमध्ये गोपालवंशभन्दा अघिको शाक्यवंशीहरूको समयको पश्चिमी तराई लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह, सैनामैना आदि स्थलमा रहेका प्राचीन कृतिहरूको ज्यादातर अवशेषहरू जमिनमुनि रहेको अवस्थाले गर्दा उत्खनन गर्नुपर्ने र त्यसपछि धेरै कुरा थाहा हुन सक्ने अवस्थामा छन् भने तिनै क्षेत्रतिर सतहमा केही प्राचीन मूर्ति एवं कलाकौशलहरू यत्रतत्र छरिएर रहेका हिजोआज देख्न पाइन्छ । यद्यपि धेरै त्यस्ता कीर्तिहरूको महत्त्व नबुझेर खेतबारीमा यसै लडिरहेको अवस्था पनि कतिपय ठाउँमा छ भने कतिपय ठाउँमा त जानाजान बेमाखसमेत पारिएका छन् ।

नेपालको तराईमा भएका जनककालिक अवशेषहरूको बेलाबेला चर्चा हुन्छ, तर आजसम्म फेला पार्न सकिएको छैन । बाह्रौं शताब्दीतिरको सिम्रौनगढ राज्यका अवशेष विभिन्न मन्दिर र सतहमा रहेका अनगिन्ती आकर्षक मूर्ति र सतहमा असरल्ल रहेका नेपालका महत्त्वपूर्ण मूर्तिकलाहरूलाई अपेक्षित रूपमा जोगाएर राख्न सकिएको छैन । हिजो केन्द्रले केही गरेन भनेर आलोचना गरे पनि अब प्रदेशहरूले स्थानीय मठ–मन्दिर, गुम्बा, विहारलगायतको संरक्षण, संवर्द्धन गर्न कहीँकतैबाट बाधा–व्यवधान छैन । मात्र समन्वय र आवश्यक योजना, बजेट व्यवस्थासहितको सफल कार्यान्वयन नै जरुरी छ । तर यसमा राजनीतिक खिचातानी, अस्थिर सरकारको मनमौजी शैली धेरै हदसम्म बाधक बनेको छ ।

काठमाडौं खाल्डोकेन्द्रित वाग्मती सभ्यतामा लिच्छविकालको जस्तो बेजोड मूर्तिकला त्यसपछि कहिल्यै बनेन । समकालिक भारतमा गुप्तकालको छत्रछाया रहेको र तिनताक नेपालमा लिच्छविहरूको शासन चलिरहेका बेला यति धेरै आकर्षक र भव्य मूर्तिहरू निर्माण भए, तिनको लेखाजोखा नै गर्न सकिन्न । मूर्तिलाई उनीहरूले निकै प्रश्रय दिनुको मुख्य कारण ढुंगा, त्यसभित्रको बाह्य कलाकृतिलाई नभई मूर्तिको भित्री रहस्यलाई हो । मूर्ति ढुंगालाई होइन, मूर्तिभित्र समेटिएको आदर्श, गुण, उपादेयता र ईश्वरप्रतिको आस्थालाई हो । कुनै बेला मूर्तिपूजा भनेको हाम्रो धर्म–संस्कृति होइन भन्नेहरूले पनि कुनै चिह्न या मूर्तिकै विविध रूपप्रति आकर्षित भएर अनेक चिह्न र स्वरूपहरूप्रति आ–आफ्नो किसिमले आस्था देखाइरहेको पाइन्छ ।

गौतम बुद्ध स्वयं पनि मूर्तिपूजा होइन, मानवमा अन्तर्निहित पञ्चशीलको भावलाई जागृत गरेर जीवनको महत्त्वबोध गराउन चाहनुहुन्थ्यो । तर, अहिले विश्वमा सम्भवतः भगवान् गौतम बुद्धका जति मूर्ति कसैको बनेको छैन होला ! तर यो विकृति होइन, मूर्तिको आदर्श र गुणको अनुशीलन गर्दा त्यो यस्तै हुन्छ । त्यसरी बनेका मूर्तिहरू कुनै ठूला आकार–प्रकारका नभईकन मठ–मन्दिर, गुम्बा, विहारको मूल गर्भगृहका लागि बने । त्यस बेलाका मूर्तिहरू शिरदेखि पाउसम्म तालमान मिलेका छन्, मानौं प्रस्तरमा कुनै प्रकारको चिल्लो लेपन दलिएको छ, अंग–प्रत्यंग अत्यन्त सजग भएर कुँदिएका छन् । तिनमा अस्वाभाविक लाग्ने गरी मूर्तिमा कुनै प्रकारको लुगा, गहना, अन्य आभूषण दिइएको छैन । यिनै मूर्तिहरूले विश्वका कलापारखीहरूलाई लोभ्याए ।

मल्लकालिक मूर्तिनिर्माणमा केही प्रयत्न नभएको होइन तर लिच्छविकालको कलाकौशलको उच्चता मल्लकालमा आइपुग्दा एक किसिमले समाप्त भइसकेको थियो । झन्डै तीन सय वर्षको राजनीतिक उथलपुथल, अस्थिरता, आपसी झैझगडा, खिचातानी नै यसको प्रमुख कारण बन्यो । बनेका मूर्तिहरू, खासगरी प्रस्तर मूर्तिहरू बनाउनका लागि बनाएजस्तो मात्र भए । शाहकालमा आइपुग्दा अरू खस्कियो । अहिले त पुराना मूर्तिहरू हेरेर जेजस्तो रूप आउँछ, बनाउनेसम्ममा गएर अड्कियो । न शास्त्रीय ज्ञान, न त्यो सीपको तालिम, न अध्ययन, न चिन्तन, जसोतसो पुर्ख्योली पेसा भनेर मात्र चलेको छ ।

धातुकलामा मल्लकाल फेरि अर्को उचाइमा पुग्यो । त्यस कालमा बनेका धातुका मूर्तिहरू, गरगहना एवं आभूषणहरू यति कलात्मक छन् कि के भन्ने ? त्यसैगरी पौवाचित्र, काष्ठ कालिगडीमा मल्लकाल उत्कृष्ट बनेर रह्यो । पौवाचित्र र काष्ठ कालिगडीको मल्लकालअघिको अवस्था थाहा हुन ती वस्तुहरूको स्वाभाविक क्षणिकताका कारण देखाउन सक्ने उल्लेख्य उदाहरणको अभाव छ ।

मल्लकालकै सेरोफेरोमा नेपालमा पल्लवित स्तूप वास्तुकलाको रौनक विश्वमाझ केही न केही पुगेको तथा साना–ठूला स्तूपहरू निर्माण गर्ने प्रचलन नेपालमा रहिरहेको अवस्थामा चीनको युयान वंशका मंगोल सम्राट् कुबलया खाँ (इस्वी १२७९–१३६८) को निमन्त्रणामा सत्रवर्षे अरनिकोको नेतृत्वमा गएको असी कलाकारको टोलीले चीनको बेइजिङको ‘ह्वाइट डगोबा’ का अतिरिक्त विभिन्न ठाउँमा निर्माण गरेका अनेकौं कलाकारिताले भरिपूर्ण सीपलाई विस्तार र प्रख्याति गराइदिएकाले नेपाल–चीनबीचको पुरानो सम्बन्धलाई उजागर गर्ने मैत्रीबोधक उल्लेख्य घटना बन्न पुगेको छ ।

भूगोलले नेपाल देश जरुर सानो हो/रह्यो तर मूर्ति, कला, कौशल एवं प्रकृतिप्रदत्त खजानाका कारण नेपालको प्रख्याति कम छैन । सानो देश भएकाले जेसुकै विषयमा पनि लघु रूपले आकलन गर्ने बानी बसाल्यौं, त्यसमा गल्ती पहिलेदेखि नै हुँदै आएको छ जसको प्रतिविम्ब समाजका विभिन्न चिन्तन, सोच र तह र तप्कामा परिरहेको छ । त्यसलाई परिवर्तन गर्ने दिशातिर कसरी लाग्ने, कहाँबाट सुरु गर्ने, के–के गर्ने रणनीतिक ढंगबाट अघि बढ्ने हो भने गौरवबोधक अनेक कार्यको इतिहास र फेहरिस्तले नवीन ऊर्जा र क्रियाशीलता दिने गर्छ ।

प्राचीनकाल, मल्लकालमा त्यसरी नेपालको सरहदपारि पुगेको कलाकारिताको सीपका कतिपय तथ्य र इतिहास अन्धकारमा छन् । कहाँ के गरियो, के स्थापना गरियो, त्यसको चासो समाजलाई भएन, देशलाई भएन । फलतः व्यक्ति–व्यक्तिको प्रयासमा आ–आफ्ना तर्फबाट जेजति कार्यहरू कहाँ के भए, त्यसको पनि कतै चर्चा–परिचर्चा भएन । प्रजातन्त्रप्राप्तिको केही अघि र त्यसपछि छिटपुट रूपमा नेपाली मूर्तिकारहरूको विदेशयात्रा केही अघि बढ्यो । स्वदेशमा पनि चुपचाप केही काम भए, तर त्यसबारे पनि धेरैलाई थाहा छैन । पाटन भिञ्चेबहालका बुद्धरत्न वज्राचार्य त्यसको नेतृत्व लिई नेपालका पहाड–कन्दरा पुग्छन् । कहिले युवा छोरालाई लिएर तालिम पनि सँगसँगै दिन्छन्, कहिले आफ्नै बहालका युवाहरूलाई लिएर नेतृत्व दिन्छन् । योगी नरहरिनाथ उनलाई कहिले चन्दननाथ पुर्‍याउँछन्, कहिले रतननाथ पुर्‍याउँछन् र गुरु गोरखनाथसहित शिव, विष्णु, पार्वतीका मूर्ति स्थापना गरेर नेपालको प्राचीन परम्परालाई ब्युँताउन प्रयत्न गर्छन् ।

पछि पचहत्तरै जिल्लामा नेपाल प्रहरीका कार्यालय बन्छन्, जहाँ निर्माण हुने प्रहरी कार्यालयमा देवी भगवतीका मन्दिर बन्छन् । त्यस्ता मूर्ति ठाउँ–ठाउँमा गएर बनाउन पन्ध्र वर्ष खर्चिन्छन् बुद्धरत्न वज्राचार्य । ती मन्दिरमा स्थापना गर्ने स–साना मूर्ति भएकाले कसैको ध्यान जाँदैन । म्यानमारमा पशुपतिनाथको मन्दिरमा राख्ने शिवलिंगलगायत मन्दिरवरपर राखिने अन्य मूर्ति बनाउने जिम्मा उनैको हुन्छ । त्यो उनको पहिलो विदेशयात्रा बन्छ ।

पशुपति क्षेत्र होस् या गुह्येश्वरी मन्दिर क्षेत्र, राजदरबार होस् या विभिन्न व्यक्तिहरूका विभिन्न स्वरूप र शैलीका मूर्ति बनाउने माग धान्न बुद्धरत्न नै अघि सर्छन् । पछि उनका छोरा लोकराज वज्राचार्य जापानको ओसाकामा लुम्बिनीको जस्तै ‘अशोकस्तम्भ’ का साथै मायादेवी, सिंह, हात्ती आदिका भव्य प्रस्तरमूर्तिहरू बनाउँछन् । सम्राट् अशोक (तेस्रो शताब्दी इपू) ले एउटै शिलामा कसरी त्यत्रो स्तम्भ निर्माण गरे होलान् लाग्ने कामलाई उनी त्यही उचाइ, मोटाइ, गोलाइको हुबहु उतारी ‘मोनोलेथिक’ स्तम्भलाई आठै महिनामा सिध्याएर जापानमा स्थापना गरिदिन्छन् । उनैले संघराम बिहार, विजयेश्वरीमा प्रस्तरमा ठूलो मूर्ति कत्रोसम्म बनाउने सकिने रहेछ भन्ने दाताको उत्कण्ठालाई झन्डै साढे तेह्र फिट अग्लो बुद्धको मूर्ति बनाइदिएर वाहवाही लुट्छन् । अरू कलाकारलाई हौसला मिल्छ । नयाँ–नयाँ प्रयोग सुरु हुँदै जान्छन् ।

केही महिनाअगाडि पैंतीस फिट अग्लो गौतम बुद्धको भव्य मूर्ति ज्वालामाई मन्दिरको केही पर मुक्तिनाथ मन्दिरकै नजिकमा स्थापना गरिन्छ । यो काम युवा मूर्तिकार धर्मराज शाक्यको नेतृत्वसहितको समूहले गर्छ । गोसाइँकुण्डमा स्थापना गर्न ओकु बहालका राजु शाक्य सत्ताइस फिटको अर्को आकर्षक मूर्ति धमाधम तयार पार्दै छन् । यसरी नेपाली कलाकारहरूका सीपयुक्त मूर्ति एवं कलाकौशलका उत्कृष्ट नमुनाहरू देश–विदेशमा छरिएर रहेका छन् । सिक्किममा तामाको पाताद्वारा नेपाली मूर्तिकार राजेन्द्र शाक्यको नेतृत्वमा स्थापना भएको १५० फिट अग्लो पद्मपाणि बोधिसत्त्वको मूर्तिले त्यस क्षेत्रको महत्त्व बढाउन र पर्यटकीय आकर्षण बढाउन ठूलो योगदान पुगेको छ ।

‘इस्ट इन्डिया कम्पनी’ नामको व्यापारिक समूहले भारतीय भूखण्डको मालिक हुने स्वप्न देख्न थालेपछि र बेलायती हुकुमतले त्यसलाई लिएपछि निर्माण हुँदै गएको अंग्रेज साम्राज्यको छत्रछहारीमा जान्ने–बुझ्ने र जासुसी गर्न नै किन नहोस्, त्यसै बेलादेखि या त्यसपछिका रेजिडेन्ट र हाकिमहरूका साथ आएका चिकित्सक या सहयोगीहरूले काठमाडौं खाल्डोको अध्ययन–मनन र चिन्तनपछि लेखेका पुस्तकहरूले उनीहरू यहाँका प्राचीन मूर्ति एवं कलाकृतिहरू देखेर कति मोहित बने भन्ने उजागर गरेका छन् । तिनै पुस्तकहरू पश्चिमेली पाठक, कलापारखी, मूर्तिसंग्रहकर्ता र मूर्तिचोरहरूसम्म पुग्यो । उनीहरूका पुस्तकबाट त्यस्ता सृजनाहरूको प्रशंसा र उद्धार गर्ने काममा केही न केही सहयोग पनि पुग्यो ।

सन् सत्तरीको दशकमा अमेरिका–भियतनाम युद्धले अमेरिकी युवाहरूमाझ यस्तो विरक्तिको भाव जाग्यो, उनीहरू शान्तिको खोजीमा बरालिन थाले । त्यसै क्रममा शान्तिभूमि बुद्धभूमि, भगवान् पशुपतिनाथ र सगरमाथाको देश नेपाल आइपुगे । रुद्र, शिव, पशुपतिनाथको महत्त्वका कैयन् आदर्शमय गुणहरू बिर्सेर गाँजा र भाङको ‘दम्मरुदम’ मा रमाउँदा यहाँ पनि हिप्पीवादको असर र प्रभाव पर्‍यो । त्यो विरक्ति अमेरिकी नागरिकमा मात्र सीमित भएन, युरोपभरि कुनै न कुनै रूपले फैलियो । त्यसको नतिजास्वरूप नेपालका मठ–मन्दिर, विहार, गुम्बामा रहेका, चोक–चोक र आगमघरमा रहेका साना–ठूला प्रस्तरका मूर्ति, सुनका मूर्ति, देवीदेवताको गहना, आभूषणलगायत विभिन्न कलाकृतिहरू कसरी, कुन बाटो, कसको सहयोगमा सियोजसरी हराउन थाले । नेपालको कुनै प्राचीन मूर्तिको कुरा आयो भने अमेरिकामा रहेको संग्रहालय या कसैको संग्रहमा रहेको जानकारी भएको पुस्तक हेर्नुपर्ने अवस्था आयो । नेपालका यस्ता बहुमूल्य मूर्ति एवं कलाकृतिहरू केही वर्षदेखि युरोप, अमेरिकामा कहाँ–कहाँ छन् भन्ने सूचनाका आधारमा केहीलाई फर्काउने काम पनि हुँदै छ । यसमा सूचना दिने व्यक्ति र मिडियाको ठूलो हात छ ।

केही दिनअगाडि काठमाडौंको तलेजु भवानीको घाँटीमा लगाउने गहनाको एक भाग अमेरिकाको सिकागो संग्रहालयमा संगृहीत रहेको सूचनाले सबै नेपालीलाई तरंगित तुल्याइदिएको छ । त्यत्रो सुरक्षासाथ राखिएको मन्दिरबाट त्यो गहना कसरी अमेरिका पुग्यो ? मूल पुजारीले समाचारमा भनेजस्तो ‘छानबिन आयोग’ ले लगिसकेको वस्तु हो भने अझ गम्भीर विषय सामु आउँछ । त्यो कसरी बाहिर गयो ? त्योसँग महिनौं दिन लगाएर बुझाएको तुलजाका अरू गरगहना कतै साबुतै रहेका होलान् ?

हामीले हाम्रो संस्कार, संस्कृतिलाई त्याज्य र काम नलाग्ने सम्झँदै गयौं; मौका कुरेर बस्नेहरूले त्यसैको फाइदा लिएर हामीले आराध्य सम्झेर पुजेका मूर्ति, चिह्नहरूलाई खुरुखुरु बाहिर लग्दा पनि चासो दिएनौं । तिनको व्यवस्थित पूजाआजा, संरक्षण–संवर्द्धन एवं प्रवर्द्धनका लागि पुर्खाहरूले दूरदृष्टिका साथ राखिदिएको जिउनीस्वरूपका गुठीजग्गाहरूलाई छिन्नभिन्न तुल्याउन सरकार, नागरिक (केही अपवादबाहेक) सबैको सहयोग रह्यो ।

इस्वीको बीसौं शताब्दीको अन्ततिरका कला अध्येता पर्सी ब्राउनले आफ्नो पुस्तकमा एक ठाउँ लेखेका छन्, ‘नेपालमा जति मानिसहरू छन् त्यति मूर्तिहरू छन् । जति घरहरू छन्, त्यति मठ–मन्दिरहरू छन् ।’ यसबाट नेपालको उहिलेको अवस्था बोध गर्न सहयोग पुग्छ । अहिले हामी कुन स्थितिमा छौं, विचार गरौं । हाम्रा मूर्ति, कलाकौशललाई कसरी ब्युँताउने, मठ, मन्दिर, गुम्बा, विहारजस्ता साधनास्थललाई जीवन्त तुल्याउन सामान्य नागरिकदेखि लिएर सरकारको ध्यान आकर्षित गर्न विभिन्न योजनाहरूको आवश्यकता छ । नभए हाम्रा मूर्ति, कलाकौशलहरू हराएरै सकिने भए !

प्रकाशित : असार १५, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?