दहीचिउरा कि बेबी सावर ?

पुरुषहरूलाई हाम्रो प्रश्न— गर्भवती बुहारीको भुँडीसँग फोटो त खिचाउनुभयो, तर नातिनी जन्मी भने उसलाई पैतृक सम्पत्ति नातिलाई जत्तिकै दिने कि नदिने ?

प्राणीजगत्‌को निरन्तरताका लागि गर्भधारण जरुरी हुन्छ । यसबारे गर्भावस्था र सुत्केरीका विभिन्न कालखण्डमा विभिन्न ढंगबाट व्याख्या भएको छ । एक समय यस्तो पनि थियो, सन्तान जंगल र गुफामा जन्माइन्थे र सामूहिक तरिकाले हुर्काइन्थे ।

दहीचिउरा कि बेबी सावर ?

तर मानव सभ्यताको विकाससँगै परिवार संस्थाको जरुरी भयो अनि विभिन्न परिधि र सीमारेखाहरू कोरिन थाले । सम्पत्ति आदि लुटिँदा महिलामाथि पनि आक्रमण हुन थाल्यो, बलात्कार सुरु हुन थाल्यो । अनि यस्तो कालखण्ड पनि आयो, जहाँ महिलाहरूलाई सम्भावित आक्रमणबाट जोगाउन अन्नसँगसँगै जमिनमुनि लुकाउन थालियो । विशेष गरी गर्भवती महिलाहरूलाई सुरक्षित राख्ने निहुँले लुकाउन थालियो । सायद यही कारण गर्भधारणसँग कतै न कतै लज्जा जोडिएको छ । अनि गर्भको प्रक्रिया र धारणलाई सरमको आवरण पहिर्‍याउने प्रथाको पनि थालनी भयो ।

समय बित्दै गएपछि हरेक समुदायमा महिला गर्भधारण र अधिकारलाई लिएर विभिन्न सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र राजनीतिक धारणा र नियमहरू बन्न थाले । मानव जंगलबासबाट अहिलेको आधुनिक युगसम्म आइपुग्दा गर्भधारण र गर्भावस्थाले धेरै रूपान्तरण भोग्नुपरेकामा दुईमत नहोला । हाम्रो समाजमा आज पनि अविवाहिताले गर्भधारण गरे त्यसलाई लज्जाजनक विषयका रूपमा हेरिन्छ । तर कतिपय ठाउँमा त गर्भ रहेपछि महिलालाई जन्मघरबाट बिदाइ गर्ने चलन छ । नेपाल र भारतमा पनि महिलावादी आन्दोलन ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ हुन्छ र गर्भधारण लज्जा होइन गर्वको विषय हो भनेर स्थापित गर्न सफल भएको छ । तैपनि संसारभरि रङ, लिंग, जात, शारीरिक बनोट आदिमा आधारित विभेद र त्योसँगै जोडिएका गर्भावस्थासम्बन्धी अनेक कुरीति, नियम र अत्याचार अझै धेरै छन् । जस्तै— अविवाहिता/एकल महिलाले कतै अझै विभेद सहनुपरिरहेको छ भने गर्भधारण गरेपछि केहिले त्यसलाई खुला प्रदर्शन गर्न थालेका छन् । गर्भधारणपछि फोटो खिचाउने विदेशको चलन नेपालमा पनि भित्रिएको छ ।

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए ।

हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— बेबी सावर । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्‍यौं ।

घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन् । सत्तरी वर्ष नाघेका सासू–ससुरा पनि संकोच मान्दै बुहारीको उत्साह हेर्दै त्यस माहोलमा रमाउन खोज्दै रहेछन् ।

‘बेबी सावर’ विदेशमा प्रायः गर्भस्थ बच्चाको लिंग के छ भन्ने थाहा पाएपछि गरिन्छ । केवल महिलाहरू जम्मा हुन्छन्, गर्भवतीलाई उपहार दिन्छन्, भ्रूण छोरा वा छोरी जे हो त्योअनुसारको नीलो वा गुलाबी लुगा आदि दिने र रमाइलो गर्ने गर्छन् । त्यसैले नेपालमा ‘बेबी सावर’ मनाउनुको तुक छैन । किनभने नेपालमा भ्रूणको लिंग पहिचान गर्नु कानुनी अपराध हो । नेपाली समाजले भ्रूण पहिचान गरेर, अपराध गरेर, रमाइलो गर्न थालेको हो कि भन्ने प्रश्न मनमा आउँछ । हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता गर्ने र किताब पढ्ने बानी, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने, स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौं । हाम्रो संस्कृति र कानुनसँग नमिल्ने ‘बेबी सावर’ चाहिँ धुमधामसँग मनाउने प्रयत्न गर्छौं । केक काट्छौं । जबकि केकले गर्भवती महिलालाई बेफाइदा गर्न सक्छ, शरीरमा चिनीको मात्रा बढाउँछ, भ्रूणलाई खराबी गर्न सक्छ । ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेको सायद यही होला ।

हाम्रो संस्कृतिमा हरेक समुदायका महिलाहरू गर्भवती भएपछि सुरक्षा दिन, उनको स्वास्थ्यको ख्याल राख्न अनेक चलन छन् । गर्भवतीलाई ‘दही–चिउरा’ खुवाउनु त्यस्तै एउटा चलन हो । ‘दही–चिउरा’ खान दिने भनेर अनेकथरीका स्वास्थ्यकर भोजन पनि दिइन्छ । घरमा खाना भाग लगाउँदा ‘दोजिया’ अर्थात् ‘दुई जीउकी’ का लागि भनेर भोजनको केही बढी भाग दिइन्छ । नेवार समुदायमा पनि गर्भवतीका लागि विशेष खाना बनाइन्छ । तर, ‘भुँडी देखाएर’ फोटो खिच्ने–खिचाउने चलन छैन ।

‘बेबी सावर’ जस्तो चलनले गर्भवती महिलालाई फाइदा गर्दैन । गर्भको व्यापारीकरण भयो । नेपालका सिने नायिकाहरूले गर्भावस्थाको फोटो खिचाएर राखेपछि सहरका नेपाली गर्भवती महिलाहरूलाई पनि भुँडी देखाएर फोटो खिचेर राख्ने इच्छा बढ्न सक्छ, बढिरहेको छ । ‘बेबी सावर’ का नाममा अनेक महिला–पुरुष जम्मा भई ‘भुँडीको फोटो’ खिचेर सामाजिक सञ्जालहरूमा राखेको देखिन्छ । तर वास्तवमा ‘वेबी सावर’ को अर्थै नबुझी, यस्तो ठाउँमा को–को जम्मा हुन्छन् भन्ने नबुझी, त्यसको प्रतीकात्मक अर्थ नबुझी नक्कल गर्दा, अनेक फोटा राख्दा विदेशीहरू कति हाँस्दा होलान् !

नेपालमा पहिलेपहिले गर्भवती महिलाहरू आफ्नो बढेको पेट लुकाएर हिँड्थे, गर्भ रहेको कुरा गर्न लाज मान्थे । पुरुषले आफू बाबु बन्न लागेको कुरा कसैलाई भन्दैनथे, लाज हुन्छ भनेर । त्यस्तो गर्नुपर्ने अवस्था अहिले जरुरी छैन । बिस्तारै महिलावादी आन्दोलन र शिक्षाले गर्भावस्था लज्जाको विषय रहेन, तर यसको अर्थ कुरै नबुझी विदेशीहरूको नक्कल गर्नु होइन ।

धेरैजसो नेपाली महिलालाई गर्भावस्थामा योगासन गर्नुपर्छ भन्नेबारे थाहा छैन, स्वास्थ्यकर खानेकुरा खानुपर्ने कुरा वास्ता गरिन्न, गाउँघरका महिलाहरूलाई कामको बोझले गर्भावस्थामा गाह्रो भएको वास्ता गरिन्न, तर ‘नक्कल गरेर बेबी सावर’ गर्नचाहिँ हामी खप्पिस हुँदै गएका छौं । नेपाली ‘बेबी सावर’ मा पुरुषहरू आफ्ना गर्भवती बुहारी, भान्जी, भतिजीको पेटमा हात राखेर फोटो खिच्छन् र सामाजिक सञ्जालमा राख्छन् । यी सबै पुरुषलाई हाम्रो प्रश्न— गर्भवती बुहारीको भुँडीसँग फोटो त खिचाउनुभयो, तर नातिनी जन्मी भने उसको अधिकारको पैतृक सम्पत्ति नातिलाई जत्तिकै दिने कि नदिने ? कि सदियौंदेखि छोरी जन्मनेबित्तिकै ऊ अरूको ‘नासो’ हो भनी धनी घरको छोरो खोजी बिहे गर्नुपर्छ भन्ने ?

प्रकाशित : असार १४, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?