कामवासना र व्यक्तित्व : स्वीकारोक्तिदेखि ढाकछोपसम्म

पश्चिमा संसारमा सिग्मन्ड फ्रायडको प्रादुर्भाव भएसँगै व्यक्तित्वको अध्ययनमा यौन मनोविज्ञानले प्रश्रय पायो र त्यसयता इतिहासका महत्त्वपूर्ण मानिने मानिसको यौनजीवनका माध्यमबाट उनीहरूको व्यक्तित्वलाई हेर्ने कोसिस थालियो । फ्रायड स्वयं पनि यो अध्ययन पद्धतिको अपवाद बन्न सकेनन् । 
शंकर तिवारी

सन् १७८९ । इस्वी संवत्‌को यो साल भन्नेबित्तिकै विश्वइतिहासमा जानकारी राख्ने जोकोहीलाई फ्रेन्च क्रान्तिको याद आउनु स्वाभाविक हो । फ्रेन्च क्रान्तिको महिमा र महत्ता यस्तो छ कि, यसको अध्ययन–अनुसन्धानबिना दुनियाँको कुनै पनि क्रान्तिको अध्ययन अधुरो–अपुरो हुन जान्छ ।

कामवासना र व्यक्तित्व : स्वीकारोक्तिदेखि ढाकछोपसम्म

सन् १७८९ मा एटलान्टिक महासागरवरिपरि के–के घटना भएका थिए भन्नेबारे बाह्र विद्वान्ले हालै गरेको एक अध्ययनलाई ‘१७८९ : ट्वेल्भ अथर्स एक्सप्लोर अ एअर अफ रिबेल्यन, रिभोलुसन एन्ड चेन्ज’ (२०२०) शीर्षकमा मार्क आरोन्सन र सुसान क्याम्पबेल बर्टोलेट्टीले सम्पादन गरेर छापेका छन् । यस पुस्तकमा मार्क आरोन्सनले थोमस जेफर्सनकी दास प्रेमिका शेली हेम्मिङ्सको प्रसंग पनि समाहित गरेकी छन् । कारण, १७८९ मा ती दासी आफ्नो भावी जीवनबारे अलमलका बीच कठोर निर्णय गर्दै थिइन् ।

थोमस जेफर्सन संयुक्त राज्य अमेरिकाका तेस्रो राष्ट्रपति थिए । त्यसो त उनले आफ्नो मृत्युपछि स्थापना गरिने इपिटाफ अर्थात् समाधि–लेखमा आफूलाई तेस्रो अमेरिकी राष्ट्रपतिभन्दा पनि ‘अथर अफ द डेक्लारेसन अफ अमेरिकन इन्डेपेन्डेन्स, अफ द स्टाच्युट अफ भर्जिनिया फर रिलिजियस फ्रिडम एन्ड फादर अफ द युनिभर्सिटी अफ भर्जिनिया; यिनै तीन कार्य म बाँचेको दसी–प्रमाण हुन्, जसका लागि मलाई सम्झिइयोस्,’ लेख्नू भनेर इच्छापत्रमा उल्लेख गरेका थिए । जहाँ–जहाँ मानिसहरू स्वतन्त्रताका लागि लडेका छन्, ती सबैले प्रेरणा लिने दुई विख्यात घोषणापत्र ‘द डेक्लारेसन अफ अमेरिकन इन्डेपेन्डेन्स’ (१७७४) र ‘डिक्लारेसन अफ द राइट्स अफ म्यान’ (१७८९) दुवैको लेखनीमा जेफर्सनको विशेष भूमिका थियो । एउटामा मूल लेखकका रूपमा र अर्कोमा सल्लाहकार/परिमार्जनकर्ताका रूपमा । अमेरिकाको स्वतन्त्रता संग्रामलाई फ्रान्सले सघाएको थियो । कारण, फ्रान्स र बेलायत ‘जानी दुस्मन’ थिए । तर, चतुर अमेरिकी कूटनीतिज्ञहरूले पेरिस र लन्डन दुवै राजधानीबाट आफ्नो देशको हितमा स्वतन्त्रता संग्रामपछि समेत कार्य गराइरहेका थिए ।

अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्रका लेखकका रूपमा जेफर्सनको ख्याति युरोपमा फैलिसकेको थियो । विशेष गरी उनले लेखेको वाक्य ‘हामी हरेक मनुष्यलाई विधाताले समान दृष्टिले सृष्टि गरेका हुन्छन् भन्ने कुरालाई स्वतः सिद्ध प्रमाणित मान्छौं किनभने उनीहरूलाई विधाताले सुम्पेको अहरणीय अधिकारका रूपमा जीवन, स्वतन्त्रता र सुखको खोजीलाई कसैले पनि निषिद्ध गर्न सक्दैन’ पढ्दा अहिले पनि जोकोही पाठक रोमाञ्चित हुन्छन् । थोमस जेफर्सन सन् १७८५ मा फ्रान्सका लागि अमेरिकी राजदूतका रूपमा पेरिस पुगेका थिए, जति बेला उनी चार सन्तानका पिता भइसकेका थिए । उनको परिवारसँगै शेली हेम्मिङ्स र उनका दाजु जोन बस्थे ।

शेली हेम्मिङ्स चौधवर्षे नवयौवना थिइन् भने थोमस जेफर्सन चौवालीस वर्षका अधबैंसे । जेफर्सनकी पत्नी मार्था असह्य रोगले मृत्युको मुखमा थिइन् । आफ्ना पतिलाई सन्तानसामु राखेर उनले आजीवन बिहे गर्नेछैनन् भनी वाचा गर्न लगाएकी थिइन्, अर्थात् उनका सन्तानहरूले सौतेनी आमाको मातहतमा रहनुपर्ने छैन । जेफर्सन–पत्नी मार्थाले उक्त किरिया गराउँदा उनको परिवारमा दासी भए पनि कामदारको हैसियतमा रहेकी शेली संयोगले त्यस घटनाको प्रत्यक्षदर्शी बन्न पुगेकी थिइन् । फलतः जेफर्सनले आजीवन दोस्रो बिहे गरेनन् र उनी पत्नीको वचनप्रति प्रतिबद्ध भए । के जेफर्सनको जीवनमा शेलीको उपस्थितिबेगर यो सम्भव थियो ?

लामो समय इतिहास जेफर्सनको पक्षबाट लेखिए पनि पुलिट्जर पुरस्कार विजेता प्राध्यापक आनेते गोर्दोन रिडले ‘द हेम्मिङ्सेस अफ मन्टिसेलो : एन अमेरिकन फ्यामिली’ (२००८) पुस्तकमा शेलीका आँखाबाट जेफर्सनलाई हेर्ने कोसिस गरेकी छन् । प्राध्यापक रिडका अनुसार, जेफर्सनको परिवारसँगै पेरिस पुगेकी शेलीलाई पेरिसमै रहने र जेफर्सनको परिवारबाट मुक्त हुने विकल्प पनि थियो, तर किन उनका दाइ र उनले जेफर्सनको परिवारबाट मुक्ति चाहेनन् ? किन उनी पेरिसको स्वतन्त्र जीवन त्यागेर जेफर्सनसँगै उनको गृहनगर मन्टिसेल्लो, अमेरिका प्रस्थान गर्नका लागि राजी भइन् ? शेलीकी आमा मार्थाको बाबुबाट गर्भवती भएका कारण मार्था शेलीकी विमातृ अर्थात् सौतेनी दिदी थिइन् । शेलीका पूर्वज अफ्रिकी/अश्वेत भएकाले जेफर्सनले त्यो सम्बन्धलाई विवाहमा परिणत गरेनन् भन्ने पनि छ । जे होस्, जेफर्सनले उनलाई परिवारमा औपचारिक रूपमा श्रीमतीको स्थान नदिए पनि बाँकी सम्पूर्ण इज्जत र मर्यादा दिए अनि त्यो मान्यता उनीहरूबाट हुन गएका सन्तानहरूको हकमा पनि लागू भयो ।

रिडका अनुसार, जेफर्सन यति उदार थिए कि उनले शेलीलाई कहिल्यै दासीका रूपमा व्यवहार गरेनन् । उनका भाइ जेम्सले भान्से र शेलीले जेफर्सनकी छोरीको कुरुवाका रूपमा फ्रान्समा त्यति बेलाको चल्तीको भन्दा बढी ज्याला पाउँथे । फ्रेन्च क्रान्तिको सफलतालगत्तै फ्रान्समा दास प्रथाको अन्त्य गरिएको थियो । फ्रान्समै बस्न चाहेकी भए शेली दासबाट मुक्त वा स्वतन्त्र मानिसको दर्जामा रहन सक्ने थिइन् । तर, अमेरिका फर्केर जाँदा उनीहरू दुवैको हैसियत दासका रूपमा रहे पनि जेफर्सनको परिवारभित्र उनीहरूको शान–सौकत भने यथास्थान रहने देखेर उनले त्यो विकल्प रोजिन् भन्ने छ । जेफर्सनले प्रेम र सपना देखे भने शेलीले प्रेम र कानुन देखिन् भन्ने रिडको मत छ । यसरी आजभन्दा झन्डै दुई शताब्दीअघि भएको र मानव इतिहासको स्वतन्त्रता संग्रामका दुई सर्वाधिक महत्त्वपूर्ण दस्तावेजसँग प्रत्यक्ष सम्बद्ध व्यक्ति थोमस जेफर्सनको निजी जीवनका घटनालाई इतिहासकारहरूले अहिले पनि उत्खनन गरिरहेका छन् । सार्वजनिक जीवनमा स्वतन्त्रताका पक्षधर भए पनि जेफर्सन निजी जीवनमा कति उदात्त थिए भनेर उनको परख भइरहेको छ ।

नेपालको सार्वजनिक वृत्तमा हालै लेखक सरिता तिवारीले कार्ल मार्क्सको जीवनको निजी पक्षका केही कुरा ‘कान्तिपुर’ को नियमित स्तम्भमार्फत सार्वजनिक गरिन् । कार्ल मार्क्स र उनकी घरेलु सहयोगीसँगको सम्बन्धबाट सन्तान जन्मेको सत्य–तथ्यका आधारमा र त्यसरी जन्मेको सन्तानलाई मार्क्सले अभिभावकत्व दिन इन्कार गरेको विषयलाई टेकेर सरिताले मार्क्सलाई ‘बलात्कारी’ को आरोप लगाएकी छन् । मार्क्सलाई देउताभन्दा माथि राख्ने नेपाली कम्युनिस्टलाई त्यो कुरा चित्त बुझेन । ‘कम्युनिस्टहरूका देउता’ मार्क्सलाई बलात्कारीको आरोप लाग्नु/लगाइनु कथित शुद्धतावादी मार्क्सवादीहरूलाई पाच्य हुने विषय थिएन । उनीहरूले सरिता तिवारीमाथि विभिन्न शैलीबाट प्रहार गर्ने कोसिस पनि गरे । त्यो लहरको अग्रमोर्चामा आफूलाई ‘वैज्ञानिक समाजवादी’ भन्न रुचाउने अर्का चिन्तक लेखक आहुति पनि ‘कान्तिपुर’ कै नियमित स्तम्भमै सामेल भए ।

आहुतिले त मार्क्सकी सेविकाले ‘इतिहासको महान् सर्वहारा क्रान्तिमा बलिदान दिएको’ भनेर गलत कार्यको महिमामण्डन नै गरे । इतिहासमा जोसुकैले गल्ती गरेको किन नहोस्, त्यो गल्ती गल्ती नै हुन्छ । मार्क्स एउटा मानिस थिए र मानिसका रूपमा उनका पनि सीमितता–कमजोरीहरू थिए । मार्क्सको निधनको धेरै वर्षपछि सार्वजनिक भएको यो तथ्यलाई मार्क्स पैदा भएको समाजले उनको मानवीय कमजोरीलाई सहजतापूर्वक सार्वजनिक बहसको विषय बनायो । नेपाली कम्युनिस्टलाई त्यही विषय एउटा सानो लिखतमा चर्चा गर्दा स्विकार्न मुस्किल भयो र उनीहरूले नाङ्गो बचाउमा उत्रेर आफ्नो बौद्धिक संकीर्णता प्रदर्शन गरे ।

महात्मा गान्धीका अन्यत्रका विरोधीजस्तै केही नेपाली कम्युनिस्ट गान्धीको आलोचना गर्नुपर्‍यो भने उनकी नातिनी–भतिजी मनु बेनसँगको सम्बन्धलाई लिएर आलोचना गर्छन् । गान्धीको मनुसँगको कुनै त्यस्तो अस्वस्थ सम्बन्ध थिएन । उनले आजीवन अनेक विषयको परीक्षण गरिरहे— राजनीति, आहारविहार, औखतीमुलोलगायत यावत् विषयमा । उनको आत्मकथाको शीर्षक नै ‘सत्यको प्रयोग’ त्यही कारण राखिएको हो । मनु गान्धी–पत्नी कस्तूरबा जीवित हुँदै गान्धीको परिवारमा समाहित भएकी थिइन् । कस्तूरबाको मृत्युपश्चात् मनुको आमा बन्ने अभिभारा गान्धीले सम्हाले । आफ्ना निजी सहयोगी प्यारेलाल मनुसँग लहसिएको सुइँको गान्धीले पाएका थिए । चालीस वर्षको उमेरदेखि ब्रह्मचर्यको अभ्यास गरेका गान्धीलाई करिब तीन दशकपछि आफ्नो ब्रह्मचर्यको परीक्षण गर्ने भूत सवार भयो । मनुलाई रुचि नै नभएको अनावश्यक विषयमा गान्धीले विवादमा ल्याए । गान्धीको मनुसँगको सम्बन्ध अरू कसैले सार्वजनिक नगरेर गान्धी स्वयंले गरेका थिए, त्यो पनि घटना भएकै हप्ता । आफूले गरेको परीक्षणमा अनुत्तीर्ण भएको बताउँदै गान्धीले आफूमा अझै हिंसाको अंश रहेको स्विकारे । त्यो गान्धीको इमानदार स्पष्टोक्ति थियो । कसैले लगाएको आरोपको खण्डन उनले गरेका थिएनन् । त्यसबारे गान्धीको जीवनका गाथाकारहरूले कलम चलाएका छन् र स्वयं मनुले लेखेका डायरी र पुस्तक ‘बापु माई मदर (१९४९)’ प्रकाशित छन् । गान्धीसँग नजिकबाट जोडिएका नारीहरूले र नारीहरूबारे गान्धी जीवित हुँदै र मृत्युपश्चात् पनि अनेकन् पुस्तक प्रकाशन गरेका/भएका छन् । यो क्रम रोकिएको छैन । तैपनि गान्धीले नेतृत्व गरेको आन्दोलनमा जति महिलाको अग्रमोर्चामा सहभागिता हुन्थ्यो, त्यति दुनियाँको कुनै आन्दोलनमा नभएको अध्ययनले देखाएका छन् ।

सत्य, अहिंसा, शान्ति र सत्याग्रहका माध्यमबाट गान्धीले विश्वलाई दिएको सन्देशलाई न्यूनीकरण गर्न उनका विरोधीहरू निजी विषयमा टेको लिएर बारम्बार प्रहार गर्न खोज्छन् । गान्धीले यस्तो प्रहारको सामना जीवनकालमै गरेका थिए । तर, त्यो कुराले गान्धीले गरेका महत्त्वपूर्ण कार्य ओझेलमा परेको छैन । त्यसैगरी कार्ल मार्क्सको व्यक्तित्व उनले गरेको विद्वत् कार्यको जगमा अडिएको छ । ‘कम्युनिस्ट मेनिफेस्टो’, ‘दास क्यापिटल’ लगायतका पुस्तक त्यसका अनुपम उदाहरण हुन् । मार्क्सको कोसँग कस्तो सम्बन्ध थियो भन्ने विषयले उनको बौद्धिक कार्यलाई ओझेल पार्ने सामर्थ्य नराखे पनि उनको सार्वजनिक र निजी जीवनबीचको संगति/असंगतिबारे परिचर्चा निषेध गर्न सकिने र गर्नुपर्ने विषय होइन ।

सन् १८५१ मा मार्क्स–पत्नी जेनी र घरेलु कामदार लेन्चेन डेमुथ ‘निम्स’ बाट केही महिनाको अन्तरालमा सन्तान पैदा भएका थिए । मेरी ग्याब्रिएल लिखित ‘लभ एन्ड क्यापिटल : कार्ल एन्ड जेनी मार्क्स एन्ड द बर्थ अफ अ रिभोलुसन’ (२०११) मा परिवारिक खर्च जोहो गर्न जेनी अन्तै गएका बेला मार्क्स भने लेन्चेनसँग अनुचित कार्यमा लिप्त रहेको उल्लेख छ । १८४८ मा ‘कम्युनिस्ट मेनिफस्टो’ सार्वजनिक गरेर संसारभरिका उत्पीडित सर्वहारा मजदुरको मुक्तिको कामना र आह्वान गरेका मार्क्स आफूबाट पैदा भएको सन्तानको बाप्टैजेसन/नामकरणमा सहभागी भएनन् । यो सबै कार्यको ढाकछोप गर्ने तारतम्य मिलाउन उनका अन्यतम सहयोगी एंगेल्स सरिक भए । जन्मदर्तामा बाबुको नाम खाली राखियो र एंगेल्स नक्कली अभिभावक बने । फ्रेडरिक नाम गरेका ती बालक नारकीय बाल्यकाल बिताउन बाध्य भए । यो कुराको वर्णन बेलायतको लेबर पार्टीका नेता एवं छाया सरकारका मन्त्रीसमेत रहेका टिरिस्ट्रम हन्टले ‘मार्क्स जेनेरल : द रिभोलुसनरी लाइफ अफ फ्रेडरिक एंगेल्स’ (२००९) मा विस्तारमा लेखेका छन् । मार्क्सको बौद्धिक र सार्वजनिक व्यक्तित्वमा कुनै ह्रास नपुगोस् भनेर एंगेल्सले यस प्रकरणलाई विलुप्त पार्ने सचेत कोसिस गरेका थिए ।

झन्डै चार दशक मार्क्सको परिवारको भरणपोषण गरेका एंगेल्सले त्यो बच्चालाई देखिसहेनन्, उनी अरू सबैप्रति उदार थिए, तर फ्रेडरिकप्रति अनुदार नै रहे । मार्क्स र एंगेल्सको यस्तो कृत्यले उनीहरूमा विद्यमान ढोंगी चरित्रलाई राम्रोसँग उजागर गरेको छ । मार्क्सको कृत्य सार्वजनिक नहोस् भनेर लेन्चेनलाई मार्क्स जीवित रहुन्जेल उनकै सुसारेका रूपमा राख्ने प्रबन्ध एंगेल्सले गरे । मार्क्सको देहान्तपश्चात् एंगेल्सले लेन्चेनलाई आफ्नो गृहस्थीमा जोडे । एंगेल्सको घरमा फ्रेडरिक आफ्नी आमा लेन्चेनलाई भेट्न सहजतापूर्वक पाउँदैनथे । एंगेल्सले यो कुरा आफ्नो मृत्यु हुने बेला आफ्नी अन्तिम सेविका/संगी लुसी र मार्क्सकी छोरी इलेअनोरसामुन्ने बकेको प्रमाण १८९८ मा लुसीले लेखेको पत्र इन्टरनेसनल इन्स्टिच्युट फर सोसियल हिस्ट्री, आमस्टरडममा सुरक्षित छ । मार्क्सको सम्पूर्ण व्यक्तित्व नबुझी उनीबाट प्रेरित एक महिला अधिकारकर्मीले यो तथ्य थाहा पाएपछि उनी विचलित हुनु अन्यथा होइन ।

पश्चिमा संसारमा सिग्मन्ड फ्रायडको प्रादुर्भाव भएसँगै व्यक्तित्वको अध्ययनमा यौन मनोविज्ञानले प्रश्रय पायो र त्यसयता इतिहासका महत्त्वपूर्ण मानिने मानिसको यौनजीवनका माध्यमबाट उनीहरूको व्यक्तित्वलाई हेर्ने कोसिस थालियो । फ्रायडको पद्धतिबाट मिथकीय, प्राचीन र आधुनिक पात्रहरू कोही बचेका छैनन्; फ्रायड स्वयं पनि यो अध्ययन पद्धतिको अपवाद बन्न सकेनन् । फ्रायडले आफ्नो उत्तराधिकारी (!) घोषणा गरेका मनोवेत्ता कार्ल गुस्ताभ युङले नै फ्रायडको निजी जीवन खोतल्दा उनीहरूबीच असमझदारी बढ्न पुगेको थियो । जोसेफ क्याम्पबेलद्वारा सम्पादित ‘द पोर्टेबल युङ’ (१९७१) का अनुसार, खासमा फ्रायडको आफ्नी सालीसँगको सम्बन्धलाई लिएर युङले चासो राखेका थिए । फ्रायडले श्रीमती र साली दुवैलाई सपनामा बरोबर देख्ने गरेकाले त्यो त्रिकोणीय सम्बन्धबारे युङ उचित निष्कर्षमा पुग्न चाहन्थे । फ्रायडले यसबारे युङलाई दिएको प्रत्युत्तर ‘म तिमीलाई यसबारे भन्न त सक्छु, तर मेरो प्राधिकारलाई विवादमा पार्न चाहन्नँ’ ले धेरै कुरा भन्छ । युङ भन्छन्, ‘फ्रायडले यो त्रिकोणीय सम्बन्धलाई राम्रोसँग केलाउन सकेका भए, उनी थप परिष्कृत हुने थिए ।’

विद्वान्हरूको तत्त्व–अन्वेषणमा मिथकीय देवताहरू त भाग्न पाउँदैनन् भने मार्क्स, गान्धी वा बीपी वा अन्यलाई उक्त फ्रेमबाट हेरिनु स्वाभाविक हो । पुरुष सत्ताको भारले थिचिने परम्परागत इतिहास लेखन शैलीलाई पुनर्लेखन गर्ने ‘न्यु हिस्टरिसिजिम’ ले इतिहास अध्ययनमा थप रोचकता प्रदान गरिरहेको छ । जगदीश घिमिरेले आफ्नो उपन्यास ‘सकस’ मा पृथ्वीनारायण शाह समलिंगी भएको प्रसंग उल्लेख गरेका छन् ।

बीपीले आफ्नो जीवनका आखिरी वर्षहरूमा भोला चटर्जीसँगको अन्तर्वार्तामा आफू श्रीमतीप्रति इमानदार हुन नसकेको स्वीकार गरेका छन् । यही कारण बीपीको व्यक्तिगत तवरमा श्रीमती सुशीलासँग कति मनमुटाव भयो या भएन, त्यसबारे केही कुरा बाहिर आएका छैनन् । न त बीपीले सम्बन्ध राखेका महिलाहरूका पक्षबाट ती कुरा बाहिर आएका छन् । तैपनि बीपीले भावी पुस्तालाई आफू सामान्य मानिसजस्तै थिएँ भन्नका लागि आफ्ना कमजोरी इमानदारीपूर्वक बताएर गएका छन् ।

कुनै पनि व्यक्तिको इमानदारी वा सच्चाइको मापन उसको समाज, परिवार र आफ्नाप्रति ऊ कति इमानदार हुन सक्यो र यी तीन तत्त्वबीच उसले कति सन्तुलन कायम गर्न सक्यो भन्ने कुराले निर्धारण गर्छ । थोमस जेफर्सनले शेलीलाई श्रीमतीको दर्जा नदिए पनि अपेक्षाकृत अधिकार र आडभरोसा दिए । तेइस वर्ष पार गरेपछि उनीहरूका सन्तानले दासको हैसियतबाट कानुनी रूपमै छुट्कारा पाएका थिए । अमेरिकामा उक्त घटना भएको आधा शताब्दीपछि कार्ल मार्क्सले आफ्नी सेविकालाई त्यो तहको आत्मीयता प्रदान गर्न सकेनन् । मार्क्सका जनरल मानिने एंगेल्सले फ्रेडरिकको नक्कली बाबु बनेर मार्क्सको इज्जत धेरै वर्षसम्म छोपिदिए । तर, उनको परस्त्रीगमनबाट जन्मेको सन्तानको आलोकबाट हेर्दा ‘मी टु जेनेरेसन’ को कुनै नारीवादी चेत भएको लेखकले त्यो मानेमा मार्क्सलाई बलात्कारी भन्नु कुनै आश्चर्य होइन । तथ्यको बेवास्ता गर्दै मार्क्सले कुनै गल्ती गरेकै थिएनन् भनेर एकोहोरो प्रलाप गर्न उद्यत हुनुले बुद्धिमत्ता झल्काउँदैन । खासमा सरिताजीको आशय मार्क्सले गरेको गल्ती त इतिहासमा लुकेन भने, आफ्ना अगुवा र समकालीन सामजिक/राजनीतिक/सांस्कृतिक अभियन्तालाई संकेत गरेर, आन्दोलनका सहयात्रीसँग गर्ने निन्दनीय र घृणित व्यवहार बदल्न र सच्याउन चेतावनीपूर्वक आग्रह गर्नु रहेको देखिन्छ ।

कुनै पनि लेखक वा ऐतिहासिक पात्र लेखकीय/ऐतिहासिक सामर्थ्यले प्रसिद्धिको भागी हुन सक्छ । कुनै पनि आन्दोलनको आयतन त्यसले समाजमा पार्ने प्रभावका आधारमा बढ्छ, न कि त्यस आन्दोलनका दर्म्यान भएका कमजोरीलाई छोपेर वा लेखकको व्यक्तित्वका कमजोरीलाई ढाकछोप गरेर । सबै खाले व्यक्तित्व अध्ययनको साझा निष्कर्ष ती व्यक्तिको सार्वजनिक–निजी वृत्तबीच कति तादात्म्य थियो भन्ने नै हो । गान्धीको भाषामा भन्नुपर्दा, उनीहरूको कथनी र करनीबीचको अन्तर कति थियो भन्ने नै हो । यो प्रतिमानबाट मार्क्स निःसन्देह कमसल साबित भएकै हुन् ।

खुला समाजमा स्वस्थ बौद्धिक विमर्श भइरहनुपर्छ । ती विमर्शको जग भने मनगढन्ते आरोप, बचाउभन्दा तथ्य र प्रमाणको सत्यापनमा आधारित भने हुनैपर्छ ।

प्रकाशित : असार १४, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?