कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अटिजमको पहिचान र उपचार

घर परिवारले अटिजम भएका बालबालिकालाई अनुकूल व्यवहार गर्न र सहज सिकाइको वातावरण तयार पारिदिए उनीहरूको जीवन सामान्य बनाउन सकिन्छ ।
गीता शर्मा

म अटिजम भएको बालककी आमा हुँ । जन्मिएको करिब एक वर्षसम्म बाबुका क्रियाकलापहरू सामान्य नै थिए; ‘बाबा’, ‘पा’, ‘मामा’ ‘हट्’, ‘च्या’ जस्ता शब्द बोल्थ्यो तर प्रस्टसँग बुझिँदैन थियो । बाबु चकचके, गोरो र स्वस्थ थियो । त्यति बेलासम्म सब ठीकठाक थियो ।

अटिजमको पहिचान र उपचार

सोह्र महिनाको हुँदासम्म पनि उसको बोली प्रस्ट भएन, बाबु–मम्मी देखाऊ भन्दा देखाएन, घुम्न जाऔं भन्दा बुझेन । बाबुले कान सुन्दैन या कम सुन्छ भन्ने ठानेर हामी जचाउन नेपालगन्जबाट काठमाडौं आयौं । टिचिङ अस्पतालमा चेकजाँच गरेपछि कान सुन्छ भन्ने थाहा भयो । डाक्टरले गैरिधारास्थित अटिजम केयर सेन्टरमा रिफर गर्नुभयो । त्यहाँ बाबुका विभिन्न क्रियाकलापको परीक्षण गरियो र यसैका आधारमा उसमा अटिजमका लक्षणहरू भएको प्रतिवेदन दिइयो । हामीलाई मदर्स ट्रेनिङमा आउन सुझाव पनि दिइयो । त्यस बेला बाबु अठार महिनाको भइसकेको थियो । अटिजम भनी पहिचान भए पनि मेरो आत्माले छोरालाई त्यस्तो केही भएको छैन भनिरहेको थियो । मनभरि पीडा बोकेर हामी घर फर्कियौं ।

बाबु तीन वर्षको भएपछि हामीले नेपालगन्जकै एउटा मन्टेसोरीमा भर्ना गरिदियौं । एक छिन पनि एक ठाउँमा नबस्ने, खाना खुवाउन ज्यादै गाह्रो हुने, झ्यालझ्यालमा चढ्ने, चोटपटक लाग्ला भनेर पनि नडराउने, बिनाकारण कहिले रुने, कहिले हाँस्ने, कहिले दौडनेलगायतका क्रियाकलापले गर्दा बाबुलाई मन्टेसोरीमा राख्न सकिन्न भन्नुभयो शिक्षकहरूले । त्यसपछि बाबुका लागि राम्रो विद्यालयको खोजीमा रहेका बेला कान्तिपुर दैनिकमा काठमाडौंमा रहेको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रसम्बन्धी लेख छापियो, जसमा अटिजम भएका बालबालिकालाई राखिँदो रहेछ । यही लेखलाई पछ्याउँदै हामी त्यस केन्द्रमा पुग्यौं । अहिले बाबु त्यहीँ छ र पहिलाको भन्दा धेरै कुरा बुझ्छ पनि । बाबुलाई अटिजम छ भनेर हामीले स्विकारिसकेका छौं र हामीलाई आफ्नो छोरालाई अरूसँग दाँजेर हेर्नु पनि छैन अब । उसलाई जे–जति सकिन्छ, सिकाउँदै जान्छौं र अटिजम सम्बन्धमा बुझ्दै, बुझाउँदै पनि जानेछौं । समयमै पहिचान, स्वीकार गरी अटिजममैत्री व्यवहारमा आफूलाई ढाल्नुबाहेक यसको उपचारै छैन ।

बालबालिकाका सर्वांगीण विकासका लागि समयमै उपयुक्त शारीरिक वृद्धि र विकास अत्यावश्यक मानिन्छ । कुनै बालबालिकामा वृद्धि क्रमिक रूपमा हुँदै जाँदा सोही अनुपातमा विकास नभई अस्वाभाविक क्रियाकलाप तथा व्यवहार देखा पर्ने अवस्था अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । सामान्य बालबालिकामा देखिनेभन्दा फरक स्वभाव, व्यवहार तथा क्रियाकलापहरू यदि कुनै बालबालिकामा देखा पर्छ भने त्यो अटिजमको संकेत हो । यो मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकास क्रममा हुने असमान अवस्थाको रूप हो । बालबालिकाको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न भएर सामाजिक क्रियाकलाप, सञ्चार, सीप र कल्पनाशक्तिको विकासमा असर पुग्छ, जसले गर्दा उनीहरूमा सामान्यभन्दा फरक खालका व्यवहार तथा क्रियाकलापहरू देखा पर्छन्; जस्तो— उपयुक्त सञ्चारको बुझाइ नहुनु, घुलमिल हुन नसक्नु, मन पर्ने कुराहरू दोहोर्‍याइरहनु आदि ।

अटिजम कुनै रोग नभएकाले औषधिबाट निको हुन्छ भन्ने हुँदैन । यो बौद्धिक अपांगता होइन, मस्तिष्कको विशेष अवस्था मात्रै हो । अटिजम किन हुन्छ भन्नेबारे विश्वमा विभिन्न अध्ययन हुँदै आएका छन् । अस्वस्थकर र विषादीयुक्त खानेकुरा, संक्रमण, धूमपान, मद्यपान एंव जन्मपूर्व आमाले लिने तनाव, वंशानुगत रोगलगायतलाई अटिजमका कारकका रूपमा अनुमान गरिएको छ, पुष्टि हुनै बाँकी छ । अटिजम विकासात्मक अपांगता हो, जुन बच्चा जन्मेसँगै आउँछ र ६ महिनादेखि ३ वर्षसम्ममा यसका व्यवहारहरू देखा पर्छन् । अमेरिकामा प्रत्येक ५४ शिशुमा १ जनामा यस्तो समस्या भएको एउटा अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा अटिजमको संख्या कुल जनसंख्याको एक प्रतिशत भएको उल्लेख गरेको छ । यसैलाई आधार मानेर नेपालमा करिब ३ लाखमा अटिजम भएको अनुमान गरिन्छ । नेपाल सरकारले अपांगताका दस प्रकारमध्ये एउटामा अटिजमलाई राखेको छ ।

आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने, आँखामा आँखा जुधाउन नसक्ने, एक्लै बस्न र एक्लै खेल्न रुचाउने, सामान घुमाउने, घुमिरहेको सामान देखेर खुसी हुने वा कराउने, चोटपटक लाग्दा नबुझ्ने, काटेर रगत आउँदा पनि खासै नडराउने, बढी हल्ला मन नपराउने, झर्को मान्ने, कुनै नौलो वा आफूलाई आवश्यक चीज औंलाले नदेखाउने वा शब्दको प्रयोग नगर्ने बरु सीधै समात्नेलगायतका गतिविधि यसका लक्षणहरू हुन् । सामान्य बालबालिकाका लागि सिकाउन प्रयोग गरिने तरिकाहरू यस्ता बालबालिकालाई काम लाग्दैनन् । अटिजममा कहिलेकाहीँ अन्य शारीरिक समस्यासमेत देखा पर्छन् । त्यस्तो अवस्थामा अटिजम भएकाको जीवन झन् कष्टकर हुन पुग्छ । अटिजमका स्वभाव, व्यवहार र क्रियाकलापहरू व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । कसैले आफैंलाई टोक्ने, चिथोर्ने वा हानि गर्ने गर्छन् भने कसैले अरूलाई । कोही जता पायो त्यतै दौडिरहन्छन् भने कोही एकै ठाउँमा बसिरहने हुन्छन् । कोही कान थुनिरहने, हात हल्लाइरहने खालका हुन्छन् । कोही ठूलो आवाज आउँदा र भीडमा ज्यादै डराउने हुन्छन् ।

अटिजम भएका बालबालिकाले खानेकुरा नचिन्ने र नबुझ्ने हुँदा खुवाउन ज्यादै कठिन हुन्छ, एक पटक खाएको कुरा केही समय नखुवाउँदा भुल्नेसमेत हुन्छन् । ठोस खानेकुरा राम्ररी चपाएर खान, चिसो तातो खाने कुरासमेत खान नसक्ने हुन्छन् । अटिजम भएका बालबालिकालाई दिसापिसाबसमेत बुझाउन कठिन हुन्छ । सामान्यभन्दा सामान्य व्यवहार सिकाउन पनि वर्षौं लाग्छ । रिसाहा वा सहनै नसक्ने व्यक्तिले अटिजम भएका बालबालिकालाई सिकाउनै सक्दैनन् । उनीहरूले यस्ता बालबालिकालाई झनै तनाव थपिदिन्छन् । अटिजम भएका बालबालिकाको हरेक क्रियाकलाप तनावयुक्त हुन्छ, जसले गर्दा सिकाउने बेला धेरै माया, स्याहार र संयम चाहिन्छ । यस्ता बालबालिकालाई बुझ्न, उनीहरूसँगै रमाउन सक्नुपर्छ । यसो गर्दा उनीहरू खुसी भई हाम्रा कुरा सुन्छन् र सिकाउन पनि सहज हुन्छ ।

एउटा अटिजम बालकका स्वभावहरू अरूसँग पूरै नमिल्न सक्छन् । तर, सामान्यभन्दा असामान्य क्रियाकलाप देखा पर्नु, सञ्चारको बुझाइ अनि केही सिक्ने क्षमतामा कमी हुनुजस्ता मुख्य संकेतका आधारमा अटिजम भए–नभएको यकिन गर्न सकिन्छ । अटिजम भएका बालबालिकाले आफ्नो इच्छाले जुन काम गर्छन्, सोमा एकोहोरो लागिरहने हुँदा उनीहरूले गर्ने काममा ज्यादै निखार आएको हुन्छ, राम्ररी पनि गर्छन् । उनीहरू इमानदार हुन्छन्; झुट बोल्ने, ठग्ने प्रवृत्ति हुँदैन ।

अटिजम भएका बालबालिकाको बुझाइ बिस्तारै–बिस्तारै बढ्दै जान्छ । उनीहरूलाई अभिभावकका तर्फबाट मुख्य सहयोग भनेकै अटिजमलाई स्विकार्नु हो, त्यसपछि मात्र परिवार–छरछिमेकले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने हिम्मत गर्दैनन् । अटिजमका सम्बन्धमा परिवार र छरछिमेकमा जनचेतना जगाउनुपर्छ । अटिजम भएका बालबालिकालाई धेरैभन्दा धेरै माया दिएर अपनत्व र सुरक्षित महसुस गराउनुपर्छ । उनीहरूका गल्ती र कमीकमजोरीलाई दण्डित गर्ने, रिसाउने, डर–त्रास भर्ने काम गरेमा उग्र व्यवहारहरू झन् बढ्न सक्छन् । तसर्थ उनीहरूलाई माया गर्दै जाँदा बिस्तारै धेरै कुरा बुझाउन सकिन्छ । बुझाइलाई बढाउँदै लैजाने तरिका पनि यही हो । फिजियो, स्पिच, सेन्सरी, म्युजिकलगायतका थेरापी नियमित रूपमा गराउन; विशेषज्ञसँग आफ्ना छोराछोरीका लक्षणका सम्बन्धमा परामर्शहरू लिन; अटिजम विद्यालयमा आबद्ध गराउन; घरपरिवारले अटिजममैत्री व्यवहार गर्न र सहजै सिक्ने वातावरण बनाउन सके उनीहरूको जीवनलाई सरल र सामान्य बनाउन सकिन्छ ।

(शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत छिन् ।)

प्रकाशित : असार १३, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?