२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस महाधिवेशनको दृश्यावली

बेलायतको व्यवस्था संसदीय हो, हाम्रो होइन । मात्रै कागजमा ‘संसदीय’ लेखिएको व्यवस्थालाई संसदीय भन्न मिल्दैन । संसदीय व्यवस्थाको प्रामाणिकता र इमानदारीका लागि सञ्चारदेखि न्यायालयसम्म यो व्यवस्था घनीभूत भएर छाउनुपर्छ ।
किशोर नेपाल

अघिल्लो साता, असार ४ गते, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ १६ देखि १९ गतेसम्म सम्पन्न हुने भनिएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महासमिति प्रतिनिधि रहेका विभिन्न प्रदेशका मित्रहरूसँग भेटघाट गर्दै आफू एक पटक फेरि सभापतिको उम्मेदवार हुने बताए ।

कांग्रेस महाधिवेशनको दृश्यावली

उनी सभापतिको चुनाव एक पटक फेरि लड्न चाहन्छन् भन्ने त जगजाहेर भैसकेको थियो तर स्वयं उनले नै आफ्नो उम्मेदवारीको स्पष्ट रेखा यसरी सार्वजनिक गरेका थिएनन् । उनले प्रदेश १ का ज्ञानेन्द्र कार्की, सीता गुरुङ र मीन विश्वकर्मासँग भने, ‘म सभापतिको चुनाव लड्छु । तपाईंहरू तयारीमा लाग्नुस् । विमल पनि लड्छन्, म पनि लड्छु ।’ देउवाको घोषणाले कसैलाई आश्चर्यमा पारेन । उनीबाट पार्टीको भविष्य वा उनको आफ्नै भविष्यप्रति स्पष्ट चेतनाको अपेक्षा कसैले गरेको थिएन ।

सभापति देउवाको यो घोषणालगत्तै, पार्टीका उपसभापति तथा लामो समयदेखि उनका विश्वस्त सहयोगी रहेका विमलेन्द्र निधिले प्रतिवादमा भनेका थिए, ‘मैले चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने मेरो आशय तपाईंलाई पहिले नै बताएको थिएँ । यसको तपाईंलाई सम्झना होला । म त अझ सभापति पदमा तपाईंको समर्थन लिएर चुनाव लड्न चाहन्थें ।’

विमलेन्द्रले ‘एक्कासि’ चुनाव लड्ने निर्णय गरेका थिएनन् । उनले तेह्रौं महाधिवेशनका समयमा देउवालाई आफ्नो निर्णय बताइसकेका थिए । उनको तर्क थियो, चौधौं अधिवेशनमा सभापतिको चुनाव नलड्ने हो भने उमेरको हिसाबले पन्ध्रौं अधिवेशनको चुनाव ढिलो हुन्छ । जुन परिवेश र परिस्थितिमा विमलेन्द्रले चौधौं महाधिवेशनमा आफू सभापति पदमा चुनाव लड्ने बताएका थिए, त्यसलाई पूरै बिर्सिएर देउवाले निकै रूखो स्वरमा जवाफ दिएका थिए, ‘चुनाव लड्ने अधिकार तपाईंको पनि छ । लड्नुस् ।’ विमलेन्द्र निधिका लागि सभापति देउवाको यो व्यवहार अनपेक्षित थिएन । उनले यो पूरै घटनालाई सहज रूपमा लिएका थिए । सभापतिमा उम्मेदवारीको घोषणा गरेपछि उनको आत्मविश्वास बढेको देखिन्थ्यो । शुक्रबार उनका लागि दुई प्रकारले उत्साहवर्द्धक साबित भयो । पहिलो त उनले आफ्ना समकालीन मित्रहरू बीपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइराला र गणेशमान सिंहका कान्छा सुपुत्र प्रकाशमान सिंहलाई आफ्नो विवाहोत्सवको वर्षगाँठका अवसरमा दिवाभोजमा बोलाएका थिए । विमलेन्द्र स्वयं महेन्द्रनारायण निधिका कान्छा सुपुत्र हुन् । शुक्रबार अपराह्न उनले नेपाली कांग्रेसका नौ जना युवा नेतासँग छलफल गरे ।

नेपाली राजनीतिका तीन महारथीका तीन सुपुत्रको यो भेटघाट अराजनीतिक थिएन । त्यो अवसरमा उनीहरूले कोभिडका बारे सरकारी अकर्मण्यताप्रति चिन्ता व्यक्त गरे । खास गरेर, सरकारले भ्याक्सिनको जोहो गर्न नसकेकामा तीनै नेता आक्रोशित थिए । सिन्धुपाल्चोकमा उद्धार र राहतको गति तीव्र पार्न उनीहरूले माग गरे । आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि उनीहरूले आफ्नो राय प्रकट गरेका थिए । देउवा विपक्षी गठबन्धनका नेता भएको नाताले सरकार प्रमुख भएको अवस्थामा सरकारको सुसञ्चालनका बारे पनि उनीहरूका बीच विचार–विमर्श भएको थियो । भदौ १६ का लागि तय गरिएको पार्टीको महाधिवेशन छलफलको अर्को विषय थियो ।

पूर्वसांसद चन्द्र भण्डारीको संयोजनमा अपराह्न आयोजित भेटघाटमा युवा नेताहरू गगन थापा, दीपक गिरि, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र सरिता प्रसाईंसँग विमलेन्द्रले विभिन्न विषयमा छलफल गरे । छलफलमा उपस्थित एक सहभागीका अनुसार, विमलेन्द्रको आत्मविश्वास निकै दह्रो देखियो । विमलेन्द्रको भनाइ थियो— चुनाव जित्नका लागि आफ्नो ‘टिम’ मात्रै भएर पुग्दैन, यसका लागि विस्तारित ‘टिम’ बनाउनुपर्छ । सबै क्षेत्र र समूहका मतदातालाई आकर्षित गर्न सक्ने व्यावहारिक कार्यक्रम पार्टीका लागि आवश्यक रहेको उनको भनाइ थियो । युवा नेताहरूले उनको उम्मेदवारीलाई ‘पुस्तान्तरण’ तर्फको गहकिलो पाइला भनेर प्रशंसा गरेका थिए । कांग्रेसले स्वाभाविक रूपले सभापति बनाउन सक्यो भने पार्टीको साख बढ्नेमा सबैको सहमति थियो । यसका लागि युवा साथीहरूले के–के गर्न सक्छन्, त्यसैका आधारमा पार्टीलाई मजबुत बनाउन जुट्नुपर्ने सहमति वार्ताको महत्त्वपूर्ण पाटो थियो ।

नेपाली कांग्रेसको सभापति पदमा प्रतिस्पर्धा गर्ने विमलेन्द्र एक्लै होइनन् । प्रकाशमान र शशांकले निकै अघि नै सभापतिको चुनाव लड्ने इच्छा व्यक्त गरिसकेका छन् । सर्वाधिक मत पाएर कांग्रेस कार्यसमितिमा चुनिएका शेखर कोइरालाले सभापति पदमा आफ्नो उम्मेदवारीको घोषणा निकै पहिले गरेका हुन् । त्यति बेला सभापतिमा लड्ने औपचारिक घोषणा गर्ने उनी सायद पहिलो नै थिए । पछिल्लो समयमा, गोपालमान श्रेष्ठ र सुजाता कोइरालाले पनि सभापति पदमा उम्मेदवारीको घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारीका बारे औपचारिक केही बताएका छैनन् ।

कांग्रेसका युवा नेताहरूले देउवा र पौडेललाई सभापति पदमा उठ्न नदिन बाध्यात्मक परिस्थिति खडा गर्ने संकेत गरेका छन् । त्यसको अर्थ, ती दुवै नेतालाई सभापतिको चुनावमा भाग लिन नदिने हिसाबले एक्ल्याउने हो । युवा नेताहरूको आग्रह र अनुरोधले सभापति पदमा चुनाव नलड्ने हिसाबले देउवा र पौडेलको मन पगाल्न सक्छ कि सक्दैन ? यो मुख्य कुरा हो । सक्रिय कार्यकर्ताहरूको यस्तो आग्रह नेताहरूका लागि बाध्यकारी हुनुपर्ने हो । त्यो हुन्छ कि हुँदैन, यसै भन्न सकिँदैन । तर, यो कार्यले नेताहरूलाई आफ्नै कार्यकर्ताबाट एक्ल्याउँछ । यस्तो अवस्था आयो भने बयोवृद्ध नेताद्वय पौडेल र देउवाका लागि निकै कष्टकर हुने देखिन्छ ।

अहिले सभापति देउवा प्रतिपक्षी दलहरूको गठबन्धनका नेता छन् । उनको काँधमा निकै ठूलो दायित्व आएको छ । अहिलेसम्मको पर्यवेक्षणमा देउवा नेतृत्वको गठबन्धन वर्तमान सरकारको विकल्पका रूपमा आउने सम्भावना प्रबल देखिन्छ । त्यसो भयो भने देउवाका लागि पार्टीको बागडोर सम्हाल्नु कठिन हुनेछ । किनभने, पार्टीमा महाधिवेशनसँग सम्बन्धित धेरै काम बाँकी छन् । मुख्यतः क्रियाशील सदस्यहरूको छानबिन नै भएको छैन । यस्तो स्थिति आएमा पार्टीको अधिवेशन स्थगित गर्ने उपायहरूको खोजी हुनेछ । नेपाली कांग्रेस संवैधानिक र कानुनी त्रुटिका बीच पार्टी सञ्चालन गर्ने एउटा मात्रै पार्टी होइन । एमाले, माओवादी केन्द्र र अन्य पार्टीबाट समेत यस्ता त्रुटि भएका छन् । यी त्रुटिहरूको निदानका लागि कानुनमा संशोधन मुख्य आवश्यकता हो । प्रतिपक्षी गठबन्धन सरकारमा गएपछि यस्तो संशोधन हुनेछ । किनभने, यो नेपाली कांग्रेसको मात्रै नभएर सर्वदलीय आवश्यकता हो । ऐन–कानुनमा यस्तो संशोधनले दलहरूको आयु तत्कालका लागि लम्बिइहाल्ने राय कानुनविद्हरूको छ ।

यो भन्न अलिकति पनि संकोच मान्नुपर्दैन, नेपाली कांग्रेस अत्यन्त अलोकतान्त्रिक हिसाबले चलिरहेको छ । ‘सभापति नै पार्टी, पार्टी नै सभापति’ को हिसाबले चलिरहेको छ यो पार्टी । राजनीतिको लक्ष्य सत्ता र पदप्राप्ति मात्रै होइन । सुख–सुविधा, गाडी–घोडा, महत्त्वपूर्ण ठाउँमा आफ्ना मानिसको नियुक्ति, विदेश भ्रमण — सत्ताका अनेक रूपमध्ये केही हुन् । सत्ताले गर्ने नियुक्तिहरूमा प्रधानमन्त्री, विपक्षी नेता, प्रधान न्यायाधीशको भाग तोकिन्छ । यो नै हो सत्तासुख । नेपाली कांग्रेसको सभापतिको पद पनि संघर्षको भन्दा सत्ता र सुविधाकै राजनीति हो ।

विद्वान्हरू अहिले देशमा चलेको राजनीतिक व्यवस्थालाई संसदीय व्यवस्था भन्दैनन् । बेलायतको व्यवस्था संसदीय हो, हाम्रो होइन । मात्रै कागजमा ‘संसदीय’ लेखिएको व्यवस्थालाई संसदीय भन्न मिल्दैन । संसदीय व्यवस्थाको प्रामाणिकता र इमानदारीका लागि सञ्चारदेखि न्यायालयसम्म यो व्यवस्था घनीभूत भएर छाउनुपर्छ । हामी अहिले एउटा युगको अन्त्यमा आइपुगेका छौं । हामीकहाँ नयाँ युगको सुरुआत हुँदै छ । हामी अहिले जुन व्यवस्थालाई स्वीकार गरेर हिँडेका छौं, यो हाम्रो व्यवस्था होइन । यसबारे नेपाली कांग्रेसभित्र ठूलो अनभिज्ञता छ । यो पार्टीका स्थानीय तहका महत्त्वपूर्ण नेताहरूको अनभिज्ञता हटाउने पहिलो काम गर्नुपर्छ, नेतृत्वले । स्थानीय शक्तिलाई बढीभन्दा बढी बलियो नबनाउने हो भने जनताको व्यवस्था बलियो हुन सक्दैन ।

प्रकाशित : असार १०, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?