गर्भावस्थामा कोभिड–चुनौती- विचार - कान्तिपुर समाचार

गर्भावस्थामा कोभिड–चुनौती

यस्तो चुनौतीपूर्ण समयमा हामी अरूको जीवन बचाउन बाँचिरहेका छौं र त्यसमा सफलतासमेत पाइरहेका छौं ।
मीता सिंह

देश यति बेला साँच्चिकै चुनौतीपूर्ण समयमा छ, कोभिडको दोस्रो लहरको सामना गर्दै छ । संक्रमित भएका र मृत्युवरण गरेकाहरूको संख्या सानो छैन । गत वर्षको पहिलो लहरमा संक्रमित केवल केही हजार थिए भने मृत्यु हुनेहरू केही सय । तर समय यस्तो भइसकेको छ, हामीले कहिलेसम्म यो चुनौतीको सामना गर्नुपर्ने हो भन्ने यकिन छैन ।

दिनहुँ हजारौं संक्रमित भइरहेका छन् र जीवन गुमाउनेहरू पनि थोरै छैनन् । सर्वत्र चिन्ता र त्रास छाएको छ । आफू डाक्टर भए पनि कहिलेकाहीँ त आफैंलाई पनि पीडा हुन्छ । कोभिड अस्पतालमा हाम्रो पक्षबाट जिम्मेवारीका साथ हेरचाह र उपचार भइरहँदा पनि मानिसहरू लगातार मरिरहेको देख्दा हामी डाक्टरहरू पनि निराश हुन्छौं, दिक्क पनि लाग्छ ।

काठमाडौंमा धेरै वर्ष कार्यरत रहेकी मैले त्यसअघि सन् १९८९ मा भेरी अञ्चल अस्पतालमा काम गरिसकेकी थिएँ, डीजीओ पूरा गरिसकेपछि । अछामका सहित अझ दुर्गम गाउँहरूमा कार्यक्रम लिएर गएकी थिएँ । कार्यक्रम मूल्यांकन, मेडिकल क्याम्प, क्यान्सर स्क्रिनिङ प्रोग्राम वा शैक्षिक गतिविधिका लागि पनि विभिन्न ठाउँमा पुगेकी थिएँ । गत वर्ष देशले कोभिड चुनौतीको सामना गर्दा म काठमाडौंको शिक्षण अस्पतालमा काम गर्दै थिएँ, त्यसको केही महिनापछि त्यहाँबाट अवकाश पाएँ । चार महिनापछि, आफ्नो दशकौंको क्लिनिकल र अध्यापनको अनुभवलाई ध्यानमा राख्दै म कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आबद्ध हुन आएँ । म यता आएदेखि नै देश कोभिडको दोस्रो लहरको प्रभावमा छ । यो निजी मेडिकल कलेज कोभिड अस्पतालमा परिणत भएको छ । मेडिकल कलेजलाई वैशाख १९ देखि कोभिड अस्पताल बनाइएपछि हामी मानसिक रूपमा बलियो हुनुपर्ने अवस्था उत्पन्न भयो, जुन स्वाभाविक पनि थियो । हामीलाई कोभिड संक्रमित र महिला केसहरूको उपचारमा नयाँ चुनौती थियो ।

हामी शैक्षिक गतिविधिहरू सञ्चालनसँगै स्थानीय र दाङ, प्यूठान, रुकुम, सुर्खेत, दैलेख र कैलालीजस्ता देशका विभिन्न भागबाट रेफर गरिएका बिरामीहरूको उपचार गर्ने गर्छौं । प्रायः प्रतिदिन ३० देखि ३५ वटासम्म डेलिभरी केस हुन्छन्Ù तीमध्ये केही गर्भाशय फुटेका र गर्भावस्थाबाट आपत्कालीन पीडित भएकाहरू हुन्छन् । धेरैजसो यस्ता गर्भवती महिला समय गुज्रिएपछि, अवस्था जटिल भएपछि आएका हुन्छन् । जस्तो अवस्थाका भए पनि हामीले अधिकांशतः बचाइरहेकै हुन्छौं । यसरी हामीले गर्भवती महिला र मातृ मृत्युदरको जटिलताबाट उद्धार पनि गरिरहेका हुन्छौं ।

हाम्रो विभागमा केही युवा डाक्टर सक्रिय छन्, रोगी र पीडित महिलाहरूको सेवामा उत्साहित भएर लागिरहने गर्छन् । डाक्टरहरू धेरै कुशल छन् । बिरामीको उपचारमा विद्यार्थीहरू पनि कडा परिश्रम गरिरहेका हुन्छन् । विभागका डाक्टर र रेजिडेन्टहरूले सेवा र समर्पणलाई नै मन्त्र बनाएका छन् । एक रेजिडेन्ट डाक्टर त हाम्रा लागि प्रेरक नै बनेका छन् । उनले आफ्नो विवाहका लागि बिदा लिनुपर्ने थियो, तर विभागको अवस्था देखेर मन बदले । कोभिड बिरामीहरूको सेवामा लागिरहनुपर्ने भएकाले विवाह स्थगित गर्न उनले आफ्ना बाबुआमालाई मनाए । अर्को विभागका दोस्रो वर्षका रेजिडेन्टले एनेस्थेटिस्ट रेजिडेन्टसँग विवाह गरे र लगत्तै अस्पतालै फर्किए । यी दम्पती विवाह गरेदेखि नै बिरामीको सेवामा निरन्तर खटिरहेका छन् । मानवसेवाको कति अनुपम उदाहरण ! हाम्रो विभागका एक युवा डाक्टरले ती दम्पतीका बारेमा भने, ‘उनीहरू आफ्नो मात्र होइन, बिरामीहरूको जीवनका पनि साझेदार हुन् ।’ र, यो भनाइ सत्य हो । घरमा ससाना बच्चा भएका यस विभागका महिला डाक्टरहरूले पनि कोभिड संक्रमित महिलाहरूको ज्यान बचाउन निकै समर्पणका साथ ड्युटी गरिरहेका छन् ।

चाहे कनिष्ठ डाक्टर होऊन् चाहे वरिष्ठ डाक्टर, नर्सिड स्टाफ, प्यारामेडिकल वा गैरचिकित्सा कर्मचारीहरू होऊन्, सबैले वैशाख १९ यता कोभिड संक्रमित आमाहरूका लागि मूल्यवान् सेवा दिइरहेका छन् । हाम्रो विभागले इन्स्ट्रुमेन्टल फोर्सेप्स डेलिभरी, सिजेरिन सेक्सन, गर्भपात, एक्टोपिक प्रेग्नेन्सी र घाउको इन्फेक्सनसहित प्रसववेदनापछिको एक्लेम्प्सियाको समेत उपचार गरेको छ । यस समय हाम्रो विभागमा जन्मिएका सबै बच्चा तीन किलोभन्दा माथिका थिए भने केवल एक बच्चा साढे दुई किलोको । आमाहरूमध्ये एक जना त कोभिड मात्र होइन कि एचआईभी र हेपाटाइटिस संक्रमित पनि थिइन् । सफल सिजेरिन सेक्सनपछि उनी बाँचिन् । आफ्नो बच्चा समातेर स्तनपान गराउन उनी सक्षम हुँदा हामीलाई अति आनन्दको अनुभूति भएको थियो । यस्तो चुनौतीपूर्ण समयमा हामी अरूको जीवन बचाउन बाँचिरहेका छौं र त्यसमा सफलतासमेत पाइरहेका छौं ।

सबै आमा र शिशुहरू अस्पतालबाट बिदाइको समयमा राम्रो अवस्थामा रहेका भए पनि तीन महिलाको उपचारमा, जति कोसिस गर्दा पनि, हाम्रो केही लागेन र दुर्भाग्यवश उनीहरूको मृत्यु भयो । सबैका लागि ठूलो क्षति थियो यो । ती तीनै जनाको मृत्यु कोभिडका कारण भयो । तीमध्ये दुई जनाले अस्पतालमै प्राण त्यागेका थिए । मलाई यी तीन जनाको मृत्युबाट सबैभन्दा बढी पीडा भयो, किनकि उनीहरू पहिलोपल्ट आमा बन्दै थिए; उनीहरूका लागि आमा बन्नु एउटा कौतूहलको विषय; उनीहरू मातृत्वको पर्खाइमा थिए; नयाँ परिवार सुरु गरेर धेरै अपेक्षा राख्दै जब उनीहरूले आफ्नो जीवनको नयाँ चरण सुरु गरिरहेका थिए, त्यो बेला ठूलै वज्रपात भएको थियो । भगवान्ले अन्याय गरेका थिए उनीहरूमाथि । तीमध्ये दुइटी २७–२७ वर्षका थिए भने अर्की २६ वर्षकी थिइन् ।

संक्रमित महिलाहरूको उपचारमा खटिरहेकै क्रममा यस अवधिमा एक डाक्टर र एक रेजिडेन्ट कोभिड पोजिटिभ देखिए । तर अहिलेसम्म उनीहरूको अवस्था ठीक छ, खतरामुक्त छन् । हामी अरू संक्रमित नभइहाले पनि कसैलाई सामान्य फ्लु वा हल्का ज्वरो आए पनि चिन्तित हुने गर्छौं, कोभिडले समायो कि भनेर । तर सबै डाक्टरले पेसाका कारण आफ्नो जीवनलाई जोखिममा राखेर काम गरिरहेका छौं । जीवन हामीलाई पनि प्रिय छ । तर, बिनाजिम्मेवारी हामीमाथि शासन गरिरहेका राजनीतिज्ञहरूको भरमा हाम्रो भविष्य सुरक्षित छैन, यो आजको गम्भीर चिन्ता र चासोको विषय हो । हामी पशुपतिनाथको भरमा छौं ।

(सिंह नेपालगन्ज मेडिकल कलेजकी प्राध्यापक हुन् ।)

प्रकाशित : असार ९, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता समीकरणको अचानोमा प्रहरी

राजेन्द्रसिंह भण्डारी

सत्ता समीकरण जोगाउन अपराधको राजनीतीकरण गर्ने सरकारको योजनाअनुरूप रेशम चौधरीलगायत आपराधिक घटनामा संलग्न र तथ्य प्रमाणबाट समेत दोषी प्रमाणित भइसकेका अभियुक्तहरू क्रमशः छुट्दै छन् ।

उनीहरू निर्दोष नै हुन् भने पनि, फौजदारी न्यायको मान्यता र प्रक्रियाबमोजिम छुट्ने नै छन्; सरकारले फौजदारी न्याय प्रणालीका आधारभूत सिद्धान्तको उल्लंघन गरी छुटाइरहनु पर्दैन । प्रहरीले कुनै आग्रह वा पूर्वाग्रहका आधारमा निजहरूका विरुद्ध राजनीतिक प्रतिशोधको कारबाही गरेको होइन । तसर्थ राजनीतिक मुद्दा नै होइन यो, कानुनबमोजिमको स्वाभाविक अनुसन्धानात्मक कारबाही मात्र हो ।

टीकापुर घटनालाई नजिकबाट नियाल्न तत्कालीन पृष्ठभूमिको तथ्यसंगत संश्लेषण र विश्लेषण गर्नुपर्ने हुन्छ । घटनाको केही दिनअघि मधेसी नेताहरूले बर्दिया र कैलालीका आमसभामा जातीय द्वेष फलाउने गरी भड्कावपूर्ण भाषण गरे, आफ्ना समुदायको उत्तेजक भीडलाई घरघरबाट खुँडा र हतियार लिएर आक्रमण तथा प्रतिकार गर्न आह्वान गरे । त्यहीबमोजिमको कार्ययोजनालाई आपराधिक कार्यमा परिणत गर्न रेशम चौधरीको मुख्य भूमिका रहेको मिसिलसम्बद्ध तथ्यले प्रमाणित गरेकाले सोही कसुरमा उनले सजाय भोगिरहेका छन् । राजनीतिक लाभलाई टीकापुर घटनाबाट छुट्याउने हो भने, यसको वास्तविक स्वरूप जस्ताको तस्तै प्रकट हुने नै छ । टीकापुर घटनामा नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतसहित निर्दोष नागरिकले ज्यान गुमाए । कसैको निर्दोष र अनाहकको मृत्युवरणमा समेत राजनीतिक अवसर खोज्ने सत्तालिप्साको पराकाष्ठा हो ।

सरकारले प्रहरीलाई सुरक्षा व्यवस्थामा खटाउँछ, कानुनबमोजिम बाहेकका कर्मलाई नियन्त्रण गर्न भन्छ र सोबापतको परिणामको जिम्मेवारीबाट अचानक पछि हटेर आफ्नो लाभको अवसरमा रूपान्तरण गर्छ । आपराधिक घटनाको नियन्त्रणमा राज्यको ठूलो साधनस्रोत परिचालन गरिएको हुन्छ, यसको रोकथाम तथा नियन्त्रणले नै कानुनी राज्यको अवधारणालाई व्यवहारमा उतार्ने गर्छ । फौजदारी न्याय प्रणालीको न्यूनतम मान्यतालाई जोगाउन नसक्ने हो भने, संवैधानिक र कानुनी मर्म नै समाप्त हुनेछ । विधिको शासन जोगाउन आपराधिक घटनालाई राजनीतिक समीकरण मिलाउने अस्त्रका रूपमा प्रयोग गर्न बन्द गर्नुपर्छ । हरेक वर्ष प्रहरी दिवसको कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीले नछुटाई भन्छन्, ‘अमर प्रहरीको योगदानलाई सम्मान गरिनेछ, उनीहरूको बलिदान खेर जाँदैन ।’ तर व्यवहारमा तिनै व्यक्तित्व प्रहरीको बलिदानका कारण सृजना भएको राजनीतिक स्थितिलाई आफूअनुकूल बनाउन उद्यत छन् ।

मधेस आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न रेशम चौधरीलगायतलाई सजायमुक्त गराउनु नै थियो भने, सरकार गठन भएकै दिन उक्त निर्णय लिइनुपर्थ्यो । यो राजनीतिक घटना थियो भने सरकारको प्राथमिकतामा उहिल्यै किन परेन ? सरकार सजाय भोगिरहेका अभियुक्तलाई छुटाउन तयार हुने, बदलामा केही समय सत्तामा टिकाउन अर्को पक्षले मद्दत पुर्‍याउनेजस्ता सेटिङको सहजीकरण र व्यवस्थापनमा गृहमन्त्री स्वयं धर्नास्थलमै गई आन्दोलनरत पक्षसँग सहमति गर्नेजस्ता गतिविधिले राजनीतिक अंकगणितसँग फौजदारी अपराधको ज्यामिति मिलाउन अहिले यस्तो निर्णय लिइएको हो भन्ने प्रस्ट हुन्छ । प्रहरीको बीभत्स हत्या भएको घटनामा समेत यस किसिमको लेनदेन गर्ने सरकारबाट प्रहरीले संगठनात्मक विकास र उच्च मनोबल कायम गराउने अपेक्षा राखिरहनुपर्ने अवस्था हुनु अर्को विडम्बना हो । अचानोका प्रहरीको मनोभावनामा चोट पुर्‍याएर सत्ताको आयु केही समय थपिएला तर कानुनी राज्यको अवस्था के होला ?

टीकापुर घटनालाई त्यस बेला अहिलेको सत्ता पक्षले आतंककारी घटना भनेको थियो । यद्यपि अपराधको प्रकृति त्यस्तै भए पनि हामीकहाँ आंतककारीसम्बन्धी ऐन खारेज भइसकेकाले उक्त घटनालाई आपराधिक घटनाका रूपमा दर्ज गरी अनुसन्धान प्रक्रिया अघि बढेको थियो । घटनामा तथ्यगत ढंगले ठहरिएका आधारमा दोषी वा निर्दोषको वर्गीकरण गरिएको थियो । राज्यको यो मौलिक अनुसन्धानात्मक प्रक्रिया हो, जसले भविष्यमा अपराध कार्यमा संलग्न रहनेलाई हतोत्साही गराउने र निर्दोषलाई कानुनी उपचारको ग्यारेन्टी गराउँछ । यस विधिलाई लत्याएर प्रहरीको मानमर्दन गरेर सरकारले गरिरहेको सत्ता टिकाउको अप्राकृतिक र अराजनीतिक अभ्यासले कानुनी शासनको स्खलन त हुने नै छ, कानुनी राज्य स्थापनाको प्रहरीको बलिदानपूर्ण योगदानको उपहास गरेको पनि ठहरिनेछ । जुन सरकारले प्रहरीको योगदानलाई दाउमा लगाएर राजनीतिक बजारभाउमा जुवासरह खेल्ने गर्छ, उसले कानुनको र लोकतान्त्रिक पद्धतिको विकास गर्ला भनी सोच्नसम्म सकिन्न ।

राजनीतिक स्थायित्वका नाममा प्रणाली परिवर्तनलाई सामाजिक मुद्दा बनाइरहने, उक्त मुद्दाको स्थापनाका लागि गरिने हिंसात्मक या अन्य आन्दोलनको स्थापन वा विस्थापनमा प्रहरीकै भर पर्नुपर्ने र प्रहरीकै त्यागलाई समयान्तरमा लत्याइदिने प्रवृत्तिका कारण प्रहरीको संगठनात्मक अनि मनोवृत्तिगत विकास हुन नसकेको हो । महामारी होस् वा आन्दोलन नियन्त्रण, सबै क्षेत्रमा सबैभन्दा बढी भौतिक क्षति बेहोर्ने संगठन प्रहरी नै हो । पर्दा, मर्दा वा केही गर्दा प्रहरीसेवा नै चाहिन्छ । यस्तो अत्यावश्यकीय सेवाको प्रहरी स्वयं भने राजनीतिक सौदाबाजीको रणनीतिक नियत र नियतिको जालझेलमा फसेको छ, तैपनि उसले मुस्कानसहितको सेवाको अप्राकृतिक अभ्यासको जोखिम उठाइरहेकै छ । भौतिक बलिदान संख्यात्मक हिसाबकिताबको विषय मात्रै होइन । प्रहरीजस्तो जीवन्त संगठनले संख्याभन्दा साख जोगाउन कर्तव्यपालनाका क्रममा आफ्नो प्राण आहुति गरेका हुन्छन् ।

राजनीतिमा भने राजनीतिक साखभन्दा संख्याले ठूलो महत्त्व राख्छ, यद्यपि गणितीय विज्ञानमा सबैभन्दा ठूलो संख्यालाई अनन्त अर्थात् गणनासमेत गर्न नसकिने भनेर छाडिएको छ भने आरम्भमा शून्यको संख्यालाई समावेश गरिएझैं राजनीतिमा पनि चेतनाको अवस्था शून्य रहँदा सरकारको संख्यालाई टाउको गणनासँग जोडेर मूल्यांकन गर्नुपर्ने हुन्छ । सरकारमा संख्या पुर्‍याउनकै लागि गरिने यस किसिमका अप्राकृतिक र अराजनीतिक सम्झौताले चेतनाशून्य राजनीतिको छवि उजागर त गर्ने नै छ, सोको विकल्पमा उत्पन्न हुन सक्ने विग्रह र उद्वेलित आममनस्थितिले पुनः प्रहरीकै बलिदान त खोज्ने होइन भन्ने जोखिममा पनि वृद्धि भइरहेको देखिन्छ ।

कुनै पनि घटनाको सम्भावित परिणामलाई अर्को सम्भावित घटनाको अप्रत्याशित परिणामसँग तुलना गरेर समयमै उपयुक्त निर्णय लिन सकिएन भने अप्राकृतिक संख्याको जगमा टिकेको सत्ता भ्यगुताको धार्नीमा परिणत हुन केही बेर लाग्ने छैन । आफ्नै खुट्टा पनि अर्काको निर्देशनमा उचाल्नेले सरकारका लागि बलिया भरपर्दा खुट्टा बन्नेछन् भन्ने विश्वास गर्न नसकिने अनिश्चितताको वर्तमान अवस्थामा पनि, सरकारले निश्चित रूपमा हार्ने राजनीतिक संख्याको दाउ खेल्नुभन्दा प्रहरीको ऐतिहासिक योगदानको अवमूल्यन नगरेर आफ्नो राजनीतिक साख जोगाए के बिग्रिन्थ्यो ?

प्रकाशित : असार ९, २०७८ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×