नेकपा विसर्जनका शोकमग्न यात्रीहरू

प्रचण्डसामु मुख्य दुई विकल्प छन् । पहिलो, एमाले नेता माधवकुमार नेपाल पक्षसँग एकता गर्ने; दोस्रो, बदलिएको माओवादी पार्टी बनाउन दुई–चार वर्ष कम्मर कसेर लाग्ने ।
गंगा बीसी

एमाले र माओवादी केन्द्रबीच कुन सिद्धान्त र विचारका आधारमा एकता भएर नेकपा बनेको थियो ? दुई पार्टी एक हुनुको उद्देश्य के थियो ? आखिर नेकपा लामो समय किन टिकेन ? यस्ता तमाम प्रश्नको उत्तर विघटित नेकपाका नेताहरूको व्यवहारले दिइरहेको छ ।

नेकपा विसर्जनका शोकमग्न यात्रीहरू

एमाले र माओवादी केन्द्रलाई नेकपा नामको जलप लगाइएपछि मुलुकको सबभन्दा ठूलो मात्र होइन, संसद्मा दुईतिहाइनजिकको पार्टी बनेको थियो । सत्ताकेन्द्रित स्वार्थको जलप लामो समय नटिकेपछि यी दुई पार्टी पुरानै अवस्थामा फर्किएका छन् । पछिल्लो समय यी दुवै पार्टीको न ताल मिलेको छ, न सुर ।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अविश्वास र स्वार्थ प्रबल हुँदा नेकपा विभाजनतिर गयो । अन्ततः नेकपा विभाजनको पटाक्षेप सर्वोच्च अदालतबाट भयो । सर्वोच्च अदालतले ‘वैधानिक’ रूपमा विभाजन गर्नुअघि नेकपाभित्र सत्ता दाउपेच मुख्य कुरा थियो । पार्टी विभाजनको आधारभूमि बाह्य शक्ति, अदालतले बनाएको होइन भन्ने प्रस्ट छ । यदि नेताहरूले पदीय स्वार्थका लागि विभाजनको बीउ नरोपेका भए यति बेला उनीहरू ‘विन विन’ अवस्थामा हुने थिए । नेकपामा अन्तर्कलह नभएको भए, एकले अर्काको अस्तित्व स्विकारेका भए नेकपा अहिलेसम्म जीवितै रहन्थ्यो; मुलुककै शक्तिशाली पार्टी भइराख्थ्यो । नेकपा छिन्नभिन्न भएपछि यसका शोकमग्न यात्रीहरू बाहिर जतिसुकै नक्कली हुँकार छोडे पनि भित्रभित्रै भुसको आगोझैं जलिरहेका छन् । त्यो आगो बढ्दै गएर आगामी निर्वाचनमा डढाउने अवस्थामा पुग्नेछ ।

०००

नेकपा विभाजन भएपछि पहाडजस्तो गह्रुँगो भारी लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिँडेका छन् । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री भएका कारण विभाजनको भार कम परेको होला, तर समय बित्दै जाँदा उनी र उनका अनुयायीहरूलाई यसको मार थपिँदै जानेछ । धरतीमा बिलाइसकेको माओवादी फेरि सर्वोच्च अदालतले जगाइदिएपछि प्रचण्डलाई बालुवाबाट तेल निकाल्नुजत्तिकै गाह्रो भइरहेको छ । उनलाई माओवादी पार्टी कसरी अघि बढाउने भन्ने यकिन छैन, उनी आफैं पनि के गर्ने भन्नेमा निश्चित छैनन् । अब माओवादीमा प्राण भर्न सहज छैन । यति बेला माओवादीसँग जनताका लागि नयाँ एजेन्डाको खडेरी छ । जनताको रगत र बलिदानमा बनेको पार्टी यसरी बाटो बिराएको बटुवाझैं हुनु नयाँ एजेन्डा बोक्ने पार्टीका लागि गतिलो शिक्षा हुन सक्छ । माओवादीले कुनै बेला देखाएका सपनाहरूको मलामी बनेर स्वयं माओवादी नेताहरू हिँडिरहेका छन् । माओवादीहरूले ‘हामी बिग्रँदै छौं’ भन्दै झन्पछि झन् नवीन मुद्दालाई छोड्दै आएका हुन् ।

एमालेसँग एकता गरिसकेपछि माओवादीले न नयाँ एजेन्डा स्थापित गर्न सक्यो, न आफू रूपान्तरण हुन सक्यो । राजनीति र विचारको अधकल्चो अवस्थामा माओवादीले एमालेसँग एकता गर्‍यो, त्यही अवस्थामा अलग भयो । माओवादीलाई पुनर्जीवन दिन मुखले होइन, व्यवहारमै जनताको पक्षमा पूर्ण रूपान्तरण हुनुपर्छ, जुन सिसिफसको कथाजस्तो हुनेछ । शान्ति प्रक्रियापछि माओवादीका यात्राले ‘सबै पार्टी उस्तै रहेछन्’ भन्ने देखाएको छ । नेकपा विभाजनपछि सबभन्दा धेरै शोकमग्न यात्रीहरू माओवादीमै छन् । किनकि उनीहरूले विसर्जन भइसकेको माओवादीमा प्राण भर्नुपरिरहेको छ । माओवादीले पहिले आफ्नो घर बलियो बनाएको भए यति बेला काम लाग्दैन भनेर छोडिसकेको घरमा फर्कनुपर्ने थिएन । अब प्रचण्डसामु मुख्य दुई विकल्प छन् । पहिलो, एमाले नेता माधवकुमार नेपाल पक्षसँग एकता गर्ने । दोस्रो, बदलिएको माओवादी पार्टी बनाउन दुई–चार वर्ष कम्मर कसेर लाग्ने । प्रचण्डले पहिलो विकल्प अवलम्बन गर्ने रणनीति लिएको देखिन्छ ।

०००

माधवकुमार नेपाल यति बेला किंकर्तव्यविमूढ छन् । उनले एमालेबाट न विद्रोह गरेर नयाँ पार्टी बनाउन सके, न त एमालेभित्र अस्तित्व काम गर्न सके । ओलीले उनलाई बिरालोले मुसा खेलाएझैं खेलाइरहेका छन्, जसका कारण उनी एमालेभित्र झन्झन् कमजोर हुँदै गइरहेका छन् । नेकपा विसर्जनपछि उनी दोबाटामा उभिएका छन् । आफूले बनाएको एमाले छोड्न उनलाई सजिलो छैन, माओवादीसित एकता गर्न पनि कठिन छ ।

एमाले र माओवादी केन्द्र एकतापछि ओली र प्रचण्डले नेपाललाई खासै महत्त्व दिएनन्, जबकि उनी त्यति बेला निर्णायक अवस्थामा थिए । ओली र प्रचण्डलाई लागेको थियो— दुवै मिलेपछि पुगिहाल्यो, दुई मिलेपछि मजाले शासन गर्न सकिन्छ । तर ओली र प्रचण्डको मुख मिले पनि मन मिलिनसकेको हुनाले एकताभन्दा संघर्ष बढी रह्यो । पछि गएर संघर्ष मात्र बाँकी भएका बेला सर्वोच्चले विभाजन गरिदियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी मिल्न सक्ने अवस्था अन्त्य भइसकेको थियो । ओलीलाई अल्पमतमा पारेर कारबाही गर्ने प्रचण्ड र नेपालको योजना पनि सर्वोच्चको फैसलाले तुहाइदियो ।

धेरैलाई लागेको थियो, सर्वोच्चको त्यो फैसलापछि नेपाल पक्षले विद्रोह गर्नेछ । तर नेपाल पक्षले न विद्रोह गर्‍यो, न ओलीसँग मिल्यो । यसले कार्यकर्तालाई अलमलमा पारिदियो । उनले ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग समानान्तर रूपमा वार्ता जारी राखे । यस्तो स्वभाव देखेर नेपाललाई कतिपयले हिलोमा गाडेको किलोको संज्ञा दिए । तत्काल निर्णय गर्न नसक्नु नेपालको पुरानै विशेषता हो, यस पटक पनि उनले त्यही शैली देखाइरहेका छन् । उनले एमालेमा रहेर समानान्तर कमिटीहरू चलाएका त छन्, तर ती पनि अलमल अवस्थामा छन् । पछिल्लो समय ओलीले एकताका लागि एमालेको पुरानै संरचनालाई मान्यता दिने प्रतिबद्धता जनाए पनि नेपाल पक्षले विश्वास गर्न सकेको छैन । ओलीले फेरि पनि ललिपप देखाएका हुन् भन्ने नेपालको बुझाइ छ । एमालेसँग सम्मानजनक रूपमा मिल्न नसके वा विद्रोह गरेर अर्को पार्टी बनाउन नसके नेपाल झन्पछि झन् कमजोर हुँदै जानेछन् । मिल्न पनि नसक्ने र विद्रोह पनि नगर्ने हो भने उनको राजनीतिक बल कमजोर हुँदै जानेछ । नेपालसामु पनि मुख्य दुई विकल्प छन् । पहिलो, नयाँ पार्टी गठन गरी निर्वाचनको मुखमा माओवादीसँग मोर्चा बनाउने वा पार्टी एकता गर्ने । दोस्रो, एमालेभित्र बलियो हुन संघर्ष गर्ने ।

०००

माओवादीसँग चुनावी एकताको बलमा प्रधानमन्त्री बनेका ओली नेकपा विभाजनले कुनै पछुतो नभएको शैलीमा प्रस्तुत भइरहेका छन् । एमाले ‘सुप्रिमो’ ओली अहिलेजति शक्तिशाली कहिल्यै थिएनन् । उनले पार्टीमा मात्र होइन, सरकारमा पनि ‘राज’ गरिरहेका छन् । ओलीराजको मुलुकभर जतिसुकै आलोचना भए पनि उनले पूरै बेवास्ता गर्दै आएका छन् ।

के नेकपा विभाजन भएपछि ओलीलाई हाइसन्चो भएको छ ? बाहिरबाट हेर्दा त्यस्तै देखिए पनि भित्र त्यस्तो छैन । नेकपा हुँदा ओलीमा जति राजनीतिक शक्ति थियो, अहिले त्यसको आधा पनि छैन । एमालेमा उनीसँग माधव–झलनाथ पक्ष पनि छैन । ओली र प्रचण्डले शक्ति र सत्ताको स्वार्थको खेल खेल्दाखेल्दै नेकपा विभाजन हुन पुग्यो । एकले अर्कालाई पाखा लगाउने दाउपेच गर्दागर्दै पार्टी नै रहेन । नेकपा एक हुन जसरी दुवैको स्वार्थ मिलेको थियो, त्यसरी पार्टी जोगाउन राजनीतिक स्वार्थ मिल्न सकेन । अर्को कुरा, मुख्य नेताहरू जानी–नजानी, नेकपा एक भएको नरुचाउने शक्तिको ‘गोटी’ हुन पुगे । र, भविष्यमा उनीहरूले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।


प्रकाशित : असार ८, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?