उत्पादनसँग नजोडिने शिक्षा- विचार - कान्तिपुर समाचार

उत्पादनसँग नजोडिने शिक्षा

मधु राई

एसएलसी सकाएर मेरा छोराछोरी उच्च शिक्षाका लागि एक दशकअघि काठमाडौं आएका थिए । विद्यालय पढ्दाताका भातभान्सामा सघाउने गरे पनि उनीहरू कतिपय तरकारी खाँदैन थिए । काठमाडौं आएपछि बेलाबेला फोनमा ‘ममी, लसुन र प्याजको पात कस्तो हुन्छ ?’ भनेर सोध्ने गर्थे ।

विद्यालयमा छँदा उनीहरूले जीवविज्ञान अन्तर्गत परियोजना कार्य गरेको मलाई सम्झना छैन, गरेको भए उनीहरूले मलाई यसरी सोध्ने थिएनन् । विद्यालयमा छउन्जेल विज्ञान विषय उनीहरूका लागि हाउगुजी बन्न पुग्यो ।

विद्यालय चाहे सामुदायिक हुन् या निजी, अधिकांशले किताबी ज्ञानलाई मात्र प्राथमिकता दिन्छन् । विद्यालयस्तरको जीव विज्ञानको पठनपाठन अपुरो छ भनेर विज्ञहरूले भन्दै आएको धेरै भयो तैपनि अधिकांश विद्यालयले यस्ता सुझावलाई नजरअन्दाज गरिरहेका छन् । निजी विद्यालयको पूर्वप्राथमिक तहदेखि नै विज्ञान विषयअन्तर्गत विद्यार्थीलाई तरकारीलगायत फलफूलको बारेमा पढाउनुपर्ने हुन्छ । सहरबजारका अधिकांश बालबालिकाले कतिपय तरकारी र फलफूलका बोटबिरुवासमेत देखेका हुँदैनन् । त्यसो त, बोटबिरुवा मात्र हैन कतिपयले कुकुर, बिरालोबाहेक अधिकांश घरपालुवा जनावरसमेत चिन्दैनन् । अझ यसको उपयोगिता थाहा पाउनु त टाढाको कुरा । औपचारिक शिक्षाको प्रारम्भिक खुड्किलो पूर्वप्राथमिक र प्राथमिकतह हो, जहाँ ससाना विद्यार्थीलाई विषयप्रति रुचि जगाउन व्यावहारिक शिक्षणसिकाइले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । अन्य विषयभन्दा पनि जीवविज्ञानलाई रुचिकर बनाउन व्यावहारिक कक्षा अपरिहार्य हुन्छ ।

बोटबिरुवा, घरपालुवा जनावर लगायतबारे पाठ्यसामग्री भए पनि यससम्बन्धी व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्नेमा अधिकांश विज्ञान शिक्षकहरू अनभिज्ञ छन् । यसैका कारण बालबालिकाको शिक्षणसिकाइ पढाइलेखाइमा मात्र सीमित हुन पुगेको छ । त्यसो त, कतिपय जीवविज्ञानका पाठहरूका अभ्यास हेर्ने हो भने पुस्तक लेखकले शिक्षकहरूलाई परियोजना कार्य गराउन सुझाउँदै आएको देखिन्छ । तर, यसबारे शिक्षकलगायत विद्यालय व्यवस्थापन मौनप्रायः देखिन्छन् । अन्य विषयभन्दा विज्ञानको सैद्धान्तिक शिक्षणसिकाइलाई रुचिकर र प्रभावकारी बनाउन यस्ता परियोजना कार्यहरूले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विकसित मुलुकहरूको सफल अभ्यासले प्रमाणित गरेको छ । बोटबिरुवासम्बन्धी गराइने परियोजना कार्यअन्तर्गत तरकारी र फलफूलको बिरुवा उमार्न र स्याहार्न ससाना विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूमा कौतूहल मात्र जाग्दैन, शिक्षणसिकाइ रमाइलो र प्रभावकारी पनि हुन्छ ।

चीन, भियतनाम र क्युबाले विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान दिन किसानको घरखेतमै पुर्‍याउन थालेको वर्षौं भयो । शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘अमेरिकाले प्राथमिक तहको पाठ्यक्रममा कृषिसहितको शिक्षणसिकाइलाई अनिवार्य गरेको छ भने माध्यमिक तहका विद्यार्थीहरूलाई यङ फार्मर्स एसोसिएसनमा आबद्ध गराई शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास गरिरहेको छ ।’ अन्य विकसित देशहरूले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक कक्षालाई पनि अनिवार्य गरेका छन् । यसले विद्यार्थीको रुचि तथा सीप चिन्न र सोहीअनुरूपको शिक्षणसिकाइमा ध्यान दिन मद्दत पुर्‍याउँछ । विद्यार्थीहरूले आफ्नो रुचि पहिल्याए भने उच्च शिक्षाका लागि विषय रोज्न सहज हुन्छ ।

शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षणसिकाइका कारण विकसित देशका विद्यार्थीहरूलाई पढाइलाई जनजीविकासँग जोड्न सहज भएको छ । ती देशले विद्यार्थीलाई जनशक्तिको रूपमा तयार गर्न कृषिसम्बन्धी पाठ्यसामग्रीलाई व्यावहारिक बनाउने प्रयास गर्दै आएका छन् । हामीकहाँ विद्यालय शिक्षा त के उच्चशिक्षा हासिल गरिसकेपछि पनि कुन क्षेत्रमा कस्तो काम गरी जीविकोपार्जन गर्ने भन्नेमा विद्यार्थीहरू बढी अलमलिने गरेको पाइन्छ । यसो हुनुमा विद्यार्थीभन्दा पनि अन्य विषयलगायत विज्ञान विषयको शिक्षक तथा विद्यालय व्यवस्थापनको निष्क्रिय शिक्षणसिकाइ जिम्मेवार छ । घरमा सधैं बिरुवा देख्नेलाई कक्षाकोठाको बोर्डमा बिरुवा पढाउने चलन पनि हाम्रैमा छ । त्यस्तै तरकारी खुवाउनुअघि अभिभावकले ‘यसको बोट कस्तो हुन्छ’ भनी सोध्ने गरे बालबालिकाले सहजै बोटविरुबा चिन्थे ।

त्यसो त, हामीकहाँ शिक्षाविद्, कृषिविज्ञहरूले वर्तमान शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनिरहन्छन्् । विद्यानाथ कोइरालालगायत अरू विज्ञले पनि यस विषयमा लेखिरहेका हुन्छन् । कृषिविज्ञ मदन राईले पनि शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर पैरवी गर्दै आएका छन् । यसका लागि उनले अढाई दशकदेखि खोटाङको दिक्तेलमा शुभम फाउन्डेसनको व्यवस्थापनमा जनजागृति आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् । राई भन्छन्, ‘विद्यालय शिक्षा सकिने बेलासम्म विद्यार्थीले जीविकोपार्जन गर्न सक्ने सय वटा सीप सिकाउँछु ।’ उनले शिक्षा र उत्पादनसम्बन्धी हरेक शनिबार दिउँसो फेसबुकमा संवाद पनि गर्ने गरेका छन् । नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर शिक्षाविद् कोइराला र कृषिविज्ञ राईले जस्तै अन्य व्यक्तित्वले पनि पैरवी गर्न थालेको वर्षौं भयो । तर, यस्ता प्रयासहरूलाई सरकारमा बसेकाहरूले नजरअन्दाज गर्दै आएका छन् । यसको एउटा गतिलो उदाहरण हो— यसपालिको कुल बजेटको १०.९१ प्रतिशत मात्र शिक्षाका लागि छुट्याउनु । पछिल्लो चुनावी घोषणापत्रमा दलहरूले शिक्षामा २० प्रतिशत विनियोजन गर्छौं भनेका थिए तर त्यो कागजमै सीमित छ ।

विकसित मुलुकहरूले शिक्षालाई समृद्धिको मेरुदण्ड मानेका छन् र सोहीअनुरूप शिक्षालाई उत्पादनसँग जोड्ने हरसम्भव प्रयास गर्दै आएका छन् । हामीकहाँ सरकारले अहिलेसम्म शिक्षालाई प्राथमिकतामा राखेको देखिँदैन । यसो गर्नु भनेको शिक्षालाई समृद्धिको मेरुदण्ड नमान्नु हो । सरकारको यही अल्पबुझाइको दुष्परिणाम देश र जनताले भोग्दै आएको वर्षौं भयो । जबसम्म सरकारले विकसित मुलुकले जस्तै शिक्षालाई समृद्धिको मेरुदण्ड मानी उत्पादनसँग जोड्ने प्रयास गर्दैन, तबसम्म शिक्षित बेरोजगार जन्मिरहने निश्चितप्रायः छ ।

प्रकाशित : असार ६, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

पहिले स्वास्थ्य अनि बिहेभोज

मधु राई

गत वर्षको जस्तै यसपालि पनि कोरोना–कहरबीच धेरैको बिहे भयो, गरियो । घरआँगनमा पाल टाँगेर वा पार्टी प्यालेसमा तामझामका साथ बिहेभोज पनि खुवाए । कतिपय जोडी भने कहिले निषेधाज्ञा खुकुलो होला र बिहे गरौंला भनेर कुरिरहेका छन् ।

विराटनगर महानगरपालिकाले वैशाख १८ देखि सात दिनका लागि निषेधाज्ञा जारी गर्‍यो । उक्त आज्ञा विराटनगरवासीले दिउँसो मात्र पालना गरे, बेलुकी भने कतिपय वडामा बिहेको बाजा बजिरहे । गत वर्ष ‘कोरोनाका कारण बिहेमा उपस्थिति जनाउन सकिएन’ भन्दा आफन्तहरू रिसाए । यसपालि पनि छिमेकी र आफन्तले बिहेको निमन्त्रणापत्र थमाइरहेका छन् । तीमध्ये केहीलाई ‘परिस्थिति अनुकूल भए मात्र आउँछु, नरिसाउनुहोला’ भनेर मैले टार्दै आएकी छु ।

‘यस्तो बेला किन बिहे गरिदिनुभएको छोराछोरीको ?’ भन्दा छिमेकीहरूको उत्तर हुने गर्छ– ‘लगन यति बेलै छ त के गर्नु ?’ स्वास्थ्यभन्दा लगनलाई महत्त्वपूर्ण ठान्ने उनीहरूको यस्तो जवाफ सुन्दा म किंकर्तव्यविमूढ हुन्छु । उनीहरूलाई धार्मिक आस्था र पुरेतहरूको सल्लाह/सुझावले विषम परिस्थितिमा पनि छोराछोरीको बिहे गराइदिन प्रोत्साहन मिलिरहेको छ । सरसर्ती हेर्दा, पुरेतहरूले पनि स्वास्थ्यभन्दा कर्मकाण्डलाई बढी महत्त्व दिएको पाइन्छ । पोहोरको तुलनामा द्रुत गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहरले त्रस्त बनाइरहेको छ । तैपनि कतिपय व्यक्ति पोहोरको जस्तै स्वास्थ्यको ख्यालै नगरी भन्दै छन्, ‘आ, यो कोरोनासोरोना यस्तै हो; आउँछ, जान्छ !’

यस्तो संकटको बेला पनि कतिपय अभिभावक छोराछोरीको बिहे गरिदिन हतारिएको देख्दा म छक्क पर्छु । निमन्त्रणा पाएपछि बिहेभोजमा सहभागी हुनेहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेको देखिँदैन । ‘अब्बुइ, जानुपर्छ नि हउ बोलाएपछि त !’ भन्ने निम्तालुहरूका कारण पनि बिहे गर्ने र गराइदिनेहरूको हौसला बढेको छ । अरू त अरू भइगए, शिक्षित तथा देश–विदेश घुमेका युवायुवतीसमेत महामारीबीच बिहे गर्न हतारिएको देख्दा नेपालीहरू जति नै पढे पनि स्वास्थ्य सचेतनामा दशकौं पछि रहेछन् भन्ने महसुस हुन्छ । स्वास्थ्यलाई सर्वोपरि नठान्ने यस्ता शिक्षित र स्वास्थ्य सचेतनामा पछि परेकाहरूले महामारी फैलने वातावरण तयार गरिरहेका छन् ।

पछिल्लो समय भारतको नयाँ दिल्लीलगायत अन्य राज्यमा भएका बिहेभोजबाट संक्रमण फैलिरहेका समचार आइरहेका छन् । बिहेमा सहभागी हुनेहरूको कोरोनाका कारण ज्यानै पनि गइरहेको छ । छिमेकी मुलुकका यस्ता समाचार हामी त्यति पढ्दैनौं, पढे पनि पत्याउँदैनौं । हुन त, सामान्य अवस्थाजस्तै बिहे मात्र होइन, मगनी, पुराण, महारुद्रीजस्ता धार्मिक अनुष्ठान आयोजना गरेका तथा पूर्वतयारी गरिरहेका फोटा सामाजिक सञ्जालमा टन्नै भेटिन्छन् । यस्ता फोटा हेर्दा साँच्चै अवस्था सामान्य भइसकेको हो कि भन्ने जोकोहीलाई पर्न सक्छ । फोटामा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पनि पालना गरेको देखिँदैन । यस्ता फोटाहरूले अरूलाई पनि ‘जेसुकै होस्, बिहे र धार्मिक कार्यक्रम रोक्नु हुँदैन’ भन्ने सन्देश दिइरहेका छन् अनि अप्रत्यक्ष रूपमा यस्ता कार्य गर्न प्रोत्साहन पनि गरिरहेका छन् ।

यसपालि कोरोनाको दोस्रो लहरले केकति जनधनको क्षति गर्ने हो, अहिल्यै आकलन गर्न सकिन्न । पछिल्लो समय भारतका बिहारवासीले पनि छोराछोरीको बिहेका लागि विराटनगरका होटल तथा पार्टी प्यालेसहरू रोज्न थालेका छन् । सामान्य अवस्थामा यो हाम्रा लागि खुसीको खबर भए पनि कोरोना–कहरबीच तामझामका साथ विराटनगरका पार्टी प्यालेसहरूमा बिहेभोज हुनु भनेको खतराको घण्टी बज्नु हो । यी र यस्ता कतिपय कारण यसपालि कोरोना महामारी द्रुत गतिमा फैलिरहेको वास्तविकताबाट होटल तथा पार्टी प्यालेस सञ्चालकहरू अनभिज्ञ देखिन्छन् । पहिले व्यवसाय अनि मात्र स्वास्थ्य भन्ने मान्यतालाई सर्वोपरि ठान्ने यस्ता सञ्चालकहरूका कारण पनि विराटनगर पूर्वको कोरोना हटस्पट बन्दै गएको छ ।

त्यसो त, होटल तथा पार्टी प्यालेस सञ्चालकहरू, बिहे तथा अन्य धार्मिक अनुष्ठान गर्ने–गराउनेहरूको मनोबल त्यसै बढेको होइन । केही समययता सम्पन्न भएका राजनीतिक सभा, र्‍याली अनि उद्घाटन/शिलान्यासजस्ता गतिविधिले पनि महामारी द्रुत गतिमा फैलाइरहेको जानकारहरू बताउँछन् । भर्खंरै सम्पन्न रात्रिकालीन विराट गोल्डकपले पनि विराटनगरलाई हटस्पट बनाउन धेरथोर मद्दत गरेको छ । जनताको जीवनरक्षार्थ राजनीतिक दलहरू ढाल बनेर उभिनुपर्नेमा उल्टो कुर्सी बचाउने/खोस्ने खेलमा लागेकाले पनि सर्वसाधारण निराश छन् र स्वास्थ्य मापदण्ड पालना गर्न उदासीन पनि ।

सर्वसाधारणमा स्वास्थ्य सचेतना कम हुनुका थुप्रै कारणमध्ये एउटा हो— महामारीमा राजनीतिक दलहरूले गरेका क्रियाकलाप । विशेष गरी भारतमा भएका राजनीतिक र धार्मिक गतिविधिकै सिको हाम्रो सत्तारूढ दलले गर्दै आएको छ । विभिन्न राज्यका विधानसभा चुनाव र हरिद्वारको कुम्भमेलाका कारण भारतमा कोरोना समुदायस्तरमै फैलियो । उक्त मेलामा सहभागी भएका ज्ञानेन्द्र शाह र कोमल शाह अहिले कोरोनाको उपचार गरिरहेका छन् । हामीकहाँ पनि केही साताअघि माडीमा सीतारामको मेला आयोजना गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफूसँगै श्रीमतीलाई पनि संक्रमित बनाए । अहिले उनीहरूको उपचार भइरहेको छ ।

नेताहरू स्वयं कोरोनाप्रति संवेदनशील नभएकै कारण सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पालना गरेको देखिँदैन । स्वास्थ्यप्रति सचेतना जगाउन सरकार पहिले संवेदनशील हुनु जरुरी छ । अनि यस्तो बेला बिहेलगायतका धार्मिक अनुष्ठान गर्नेहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनि भीडभाड नगर्न स्थानीय तहले आग्रह र सके नियमन पनि गर्नुपर्छ । उनीहरूलाई निषेधाज्ञा पालना गराउनु अपरिहार्य छ । साथै शिक्षित छोराछोरीले आफ्ना अभिभावकलाई ‘कोरोना सन्त्रास कम भएपछि बिहे गर्छौं’ भन्न सक्नुपर्छ । पुरेतहरूले पनि आफ्नो र अरूको स्वास्थ्यको ख्याल गरी कोरोनाकालमा लगनभन्दा मानव स्वास्थ्य सर्वोपरि हुन्छ भनेर बिहे गर्ने–गराउनेहरूलाई सम्झाउन सक्नुपर्छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×