उत्पादनसँग नजोडिने शिक्षा

मधु राई

एसएलसी सकाएर मेरा छोराछोरी उच्च शिक्षाका लागि एक दशकअघि काठमाडौं आएका थिए । विद्यालय पढ्दाताका भातभान्सामा सघाउने गरे पनि उनीहरू कतिपय तरकारी खाँदैन थिए । काठमाडौं आएपछि बेलाबेला फोनमा ‘ममी, लसुन र प्याजको पात कस्तो हुन्छ ?’ भनेर सोध्ने गर्थे ।

उत्पादनसँग नजोडिने शिक्षा

विद्यालयमा छँदा उनीहरूले जीवविज्ञान अन्तर्गत परियोजना कार्य गरेको मलाई सम्झना छैन, गरेको भए उनीहरूले मलाई यसरी सोध्ने थिएनन् । विद्यालयमा छउन्जेल विज्ञान विषय उनीहरूका लागि हाउगुजी बन्न पुग्यो ।

विद्यालय चाहे सामुदायिक हुन् या निजी, अधिकांशले किताबी ज्ञानलाई मात्र प्राथमिकता दिन्छन् । विद्यालयस्तरको जीव विज्ञानको पठनपाठन अपुरो छ भनेर विज्ञहरूले भन्दै आएको धेरै भयो तैपनि अधिकांश विद्यालयले यस्ता सुझावलाई नजरअन्दाज गरिरहेका छन् । निजी विद्यालयको पूर्वप्राथमिक तहदेखि नै विज्ञान विषयअन्तर्गत विद्यार्थीलाई तरकारीलगायत फलफूलको बारेमा पढाउनुपर्ने हुन्छ । सहरबजारका अधिकांश बालबालिकाले कतिपय तरकारी र फलफूलका बोटबिरुवासमेत देखेका हुँदैनन् । त्यसो त, बोटबिरुवा मात्र हैन कतिपयले कुकुर, बिरालोबाहेक अधिकांश घरपालुवा जनावरसमेत चिन्दैनन् । अझ यसको उपयोगिता थाहा पाउनु त टाढाको कुरा । औपचारिक शिक्षाको प्रारम्भिक खुड्किलो पूर्वप्राथमिक र प्राथमिकतह हो, जहाँ ससाना विद्यार्थीलाई विषयप्रति रुचि जगाउन व्यावहारिक शिक्षणसिकाइले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । अन्य विषयभन्दा पनि जीवविज्ञानलाई रुचिकर बनाउन व्यावहारिक कक्षा अपरिहार्य हुन्छ ।

बोटबिरुवा, घरपालुवा जनावर लगायतबारे पाठ्यसामग्री भए पनि यससम्बन्धी व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्नेमा अधिकांश विज्ञान शिक्षकहरू अनभिज्ञ छन् । यसैका कारण बालबालिकाको शिक्षणसिकाइ पढाइलेखाइमा मात्र सीमित हुन पुगेको छ । त्यसो त, कतिपय जीवविज्ञानका पाठहरूका अभ्यास हेर्ने हो भने पुस्तक लेखकले शिक्षकहरूलाई परियोजना कार्य गराउन सुझाउँदै आएको देखिन्छ । तर, यसबारे शिक्षकलगायत विद्यालय व्यवस्थापन मौनप्रायः देखिन्छन् । अन्य विषयभन्दा विज्ञानको सैद्धान्तिक शिक्षणसिकाइलाई रुचिकर र प्रभावकारी बनाउन यस्ता परियोजना कार्यहरूले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विकसित मुलुकहरूको सफल अभ्यासले प्रमाणित गरेको छ । बोटबिरुवासम्बन्धी गराइने परियोजना कार्यअन्तर्गत तरकारी र फलफूलको बिरुवा उमार्न र स्याहार्न ससाना विद्यार्थीहरूलाई सिकाउँदा उनीहरूमा कौतूहल मात्र जाग्दैन, शिक्षणसिकाइ रमाइलो र प्रभावकारी पनि हुन्छ ।

चीन, भियतनाम र क्युबाले विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान दिन किसानको घरखेतमै पुर्‍याउन थालेको वर्षौं भयो । शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘अमेरिकाले प्राथमिक तहको पाठ्यक्रममा कृषिसहितको शिक्षणसिकाइलाई अनिवार्य गरेको छ भने माध्यमिक तहका विद्यार्थीहरूलाई यङ फार्मर्स एसोसिएसनमा आबद्ध गराई शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास गरिरहेको छ ।’ अन्य विकसित देशहरूले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक कक्षालाई पनि अनिवार्य गरेका छन् । यसले विद्यार्थीको रुचि तथा सीप चिन्न र सोहीअनुरूपको शिक्षणसिकाइमा ध्यान दिन मद्दत पुर्‍याउँछ । विद्यार्थीहरूले आफ्नो रुचि पहिल्याए भने उच्च शिक्षाका लागि विषय रोज्न सहज हुन्छ ।

शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षणसिकाइका कारण विकसित देशका विद्यार्थीहरूलाई पढाइलाई जनजीविकासँग जोड्न सहज भएको छ । ती देशले विद्यार्थीलाई जनशक्तिको रूपमा तयार गर्न कृषिसम्बन्धी पाठ्यसामग्रीलाई व्यावहारिक बनाउने प्रयास गर्दै आएका छन् । हामीकहाँ विद्यालय शिक्षा त के उच्चशिक्षा हासिल गरिसकेपछि पनि कुन क्षेत्रमा कस्तो काम गरी जीविकोपार्जन गर्ने भन्नेमा विद्यार्थीहरू बढी अलमलिने गरेको पाइन्छ । यसो हुनुमा विद्यार्थीभन्दा पनि अन्य विषयलगायत विज्ञान विषयको शिक्षक तथा विद्यालय व्यवस्थापनको निष्क्रिय शिक्षणसिकाइ जिम्मेवार छ । घरमा सधैं बिरुवा देख्नेलाई कक्षाकोठाको बोर्डमा बिरुवा पढाउने चलन पनि हाम्रैमा छ । त्यस्तै तरकारी खुवाउनुअघि अभिभावकले ‘यसको बोट कस्तो हुन्छ’ भनी सोध्ने गरे बालबालिकाले सहजै बोटविरुबा चिन्थे ।

त्यसो त, हामीकहाँ शिक्षाविद्, कृषिविज्ञहरूले वर्तमान शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनिरहन्छन्् । विद्यानाथ कोइरालालगायत अरू विज्ञले पनि यस विषयमा लेखिरहेका हुन्छन् । कृषिविज्ञ मदन राईले पनि शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर पैरवी गर्दै आएका छन् । यसका लागि उनले अढाई दशकदेखि खोटाङको दिक्तेलमा शुभम फाउन्डेसनको व्यवस्थापनमा जनजागृति आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् । राई भन्छन्, ‘विद्यालय शिक्षा सकिने बेलासम्म विद्यार्थीले जीविकोपार्जन गर्न सक्ने सय वटा सीप सिकाउँछु ।’ उनले शिक्षा र उत्पादनसम्बन्धी हरेक शनिबार दिउँसो फेसबुकमा संवाद पनि गर्ने गरेका छन् । नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भनेर शिक्षाविद् कोइराला र कृषिविज्ञ राईले जस्तै अन्य व्यक्तित्वले पनि पैरवी गर्न थालेको वर्षौं भयो । तर, यस्ता प्रयासहरूलाई सरकारमा बसेकाहरूले नजरअन्दाज गर्दै आएका छन् । यसको एउटा गतिलो उदाहरण हो— यसपालिको कुल बजेटको १०.९१ प्रतिशत मात्र शिक्षाका लागि छुट्याउनु । पछिल्लो चुनावी घोषणापत्रमा दलहरूले शिक्षामा २० प्रतिशत विनियोजन गर्छौं भनेका थिए तर त्यो कागजमै सीमित छ ।

विकसित मुलुकहरूले शिक्षालाई समृद्धिको मेरुदण्ड मानेका छन् र सोहीअनुरूप शिक्षालाई उत्पादनसँग जोड्ने हरसम्भव प्रयास गर्दै आएका छन् । हामीकहाँ सरकारले अहिलेसम्म शिक्षालाई प्राथमिकतामा राखेको देखिँदैन । यसो गर्नु भनेको शिक्षालाई समृद्धिको मेरुदण्ड नमान्नु हो । सरकारको यही अल्पबुझाइको दुष्परिणाम देश र जनताले भोग्दै आएको वर्षौं भयो । जबसम्म सरकारले विकसित मुलुकले जस्तै शिक्षालाई समृद्धिको मेरुदण्ड मानी उत्पादनसँग जोड्ने प्रयास गर्दैन, तबसम्म शिक्षित बेरोजगार जन्मिरहने निश्चितप्रायः छ ।

प्रकाशित : असार ६, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?