प्राकृतिक विपत्तिप्रति सजगता- विचार - कान्तिपुर समाचार

प्राकृतिक विपत्तिप्रति सजगता

सम्पादकीय

नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ पानी बढी पार्ने पर्ने आकलनका साथ केही साताअघिदेखि नै विज्ञहरूले सतर्क रहन आग्रह गर्दै आएका थिए । त्यस्तो अनुमानअनुरूपै मुलुकमा मनसुन सक्रिय भएको एक साता पनि नबित्दै बाढीपहिरोको वितण्डा सुरु भैसकेको छ ।

बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । तस्बिर : अंगद ढकाल/कान्तिपुर

मंगलबारदेखि कतिपय नदीनालाका तटीय क्षेत्रका बस्तीहरूमा बाढीले बबन्डर मच्चाउन थालेको छ । विशेषगरी सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जनधनको ठूलो क्षति भएको खबर छ । मनाङ, पाल्पा, बाजुरा, म्याग्दी गोरखालगायतका स्थानमा पनि मानव बस्ती र पूर्वाधारहरू बगेका छन् । अहिले नै त यस्तो छ भने, सालाखाला सय दिन सक्रिय रहने मनसुन अवधिमा के–कस्तो आपत् बेहोर्नुपर्ला ? त्यसैले क्षतिबाट बच्न पूर्वतयारी तथा सतर्कता अपनाउन अनि उद्धार तथा राहतको प्रबन्धमा कुनै त्रुटि र कमी हुन नदिन यतिबेला सम्बन्धित सबै निकायहरू जुट्नुपर्छ ।

बाढीपहिरोबाट अहिलेसम्म भएको क्षति अद्यावधिक भैरहेको छ । मेलम्चीमा कम्तीमा सात जनाको ज्यान गएको पुष्टि भएको छ । बजारमा ठूलै असर परेको देखिन्छ । यस्तै, देशैभर कैयौं घर–परिवार विस्थापित भएका छन् । लगातारको वर्षाले नारायणी नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका ३६ वटै ढोका खोल्नुपरेको छ । शनिबारसम्मै देशका अधिकांश भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यसको अर्थ बाढी र पहिरोको तत्कालीन खतरा अझै छ । त्यसैले सरकारले जोखिममा पर्न सक्ने बस्तीहरूलाई सरकारले समयमै सूचित गर्नुपर्छ । यस्तो बेला सूचना प्रणालीको महत्त्वपूर्ण भूमिका हुन्छ । बाढीको सम्भावना भएका क्षेत्र पहिचान गरी स्थानीयवासीलाई मोबाइलमा सन्देश पठाउने कार्य विगतमा प्रभावकारी देखिएको छ, यसको प्रयोगलाई अझ व्यापक तुल्याउनुपर्छ । र कथं कहीं विपत् निम्तिएमा उद्धार राहतका निम्ति सरकारी टोली तम्तयार अवस्थामा बस्नुपर्छ । आश्रयविहीन हुनेहरूका निम्ति अस्थायी बसोबासको प्रबन्ध मिलाउनुपर्छ ।

बाढीपहिरोबाट बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ । गृह मन्त्रालयका अनुसार अघिल्लो जेठ मसान्तयताका एक वर्षमा मात्रै पहिरोबाट २९३ र बाढीबाट ३९ जनाको ज्यान गएको छ । यस अवधिमा ६४ जना पहिरो र ४४ जना बाढीमा परी बेपत्ता छन् भने पहिरोमा परेका २२९ जना घाइते छन् । यसैगरी लगातारको वर्षाका कारण ८५५, पहिरोबाट ७८० र बाढीबाट ५१९ परिवार प्रभावित भएका छन् । यो वर्ष त सुरुमा वितण्डा देखिन थालिसकेको छ । नेपालको भूगोल नै प्राकृतिक विपत्तिका निम्ति संवेदनशील भएकाले हाम्रा मानवीय गतिविधिहरू संयमित हुनुपर्छ । पूर्वाधारहरू बनाउँदा दिगो विकासका सूत्र अपनाउनुपर्छ ।

खानीजन्य पदार्थ बेचेर व्यापार घाटा घटाउन सोचेको सरकारले बुझ्नुपर्छ— अहिलेको विपत्ति निम्तिनुमा जथाभावी गरिएको नदीजन्य पदार्थको दोहन र पर्यावरणीय पक्षलाई भुलेर गरिएको डोजरे विकासको पनि भूमिका छ । सिन्धुपाल्चोककै हकमा पनि यस्तो दोहनको मात्रा निकै छ । त्यसमाथि २०७२ सालमा गएको भूकम्पपछि जोखिमपूर्ण मानिएका बस्तीहरूको व्यवस्थापनमा पनि अझै ध्यान दिइएको छैन । त्यसैले खतरा अझै टरेको छैन । वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशत यही मनसुन अवधिमै पर्छ । यसमा पनि मध्यअसारदेखि मध्यसाउनसम्म बढी पानी पर्छ । बाढी र पहिरोजन्य जोखिमको सम्भावना भदौसम्मै रहन्छ । त्यसैले नागरिकलाई विपत्बाट जोगाउन सम्पूर्ण पूर्वतयारी र प्रतिकार्यका लागि सबै तहका सरकार तम्तयार रहनुपर्छ ।

प्रकृतिको आफ्नै कार्यप्रक्रिया हुन्छ, त्यो मान्छेको वशमा हुँदैन, त्यसलाई हामी कसैगरी रोक्न पनि सक्दैनौं । हामी सतर्क रह्यौं प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न भने अवश्य सक्छौं । प्रकृतिको बाटो अवरुद्ध गरेनौं वा अनावश्यक दखल पुर्‍याएनौं भने विपत् नै पनि कम गर्न सक्छौं । विपत्तिको यो नियमित नियतिलाई पूर्ण रूपमा टार्न नसके पनि यसबाट हुने क्षति कम गर्न सक्छौं । यसका निम्ति खासगरी सरकारसितै दूरदृष्टि हुन जरुरी छ । बर्सेनि बाढीपहिरो आएपछि मात्रै यसबारे ब्युँझने तर अरू बेला ध्यान नदिने परम्पराको अन्त्य आवश्यक छ । र, विपत् व्यवस्थापन भनेको उद्धार तथा राहत मात्रै होजस्तो ठान्ने कार्यशैलीबाट माथि उठ्नुपर्ने खाँचो पनि उत्तिकै छ ।

अरू बेला विपत् व्यवस्थापनका निम्ति सिन्को नभाँच्ने तर विनाशलीला मच्चिन थालेपछि हवाई निरीक्षण गर्ने शैली त यसै पनि हेलिकप्टर–पर्यटनका नामले आलोचित भैसकेको छ । निश्चय पनि विपत्तिबाट भएको क्षतिको सही अवलोकन गरी तदनुरूप तत्काल प्रतिकार्य गर्नुपर्छ । त्यसका निम्ति हेलिकप्टरबाट निरीक्षण तथा उद्धार कार्य पनि आवश्यक हुन्छ । नेपाली सेनाले बुधबार मेलम्चीमा गरेको हेलिकप्टर–उद्धार प्रशंसनीय छ । तर स्थलगत प्रतिकार्यमा खटिनु नपर्ने राजनीतिकर्मीलगायतले गर्ने हवाई पर्यटन भने केवल राजनीति हो । उनीहरूले विपत् व्यवस्थापनका निम्ति दीर्घकालीन हिसाबले ध्यान नदिएकैले यसप्रति आक्रोश पोखिने गरेको बुझ्न सक्नुपर्छ । तसर्थ, सबै सरोकारवालाको ध्यान विपत् प्रभावितका निम्ति आवश्यक उद्धार, राहत तथा तत्कालीन बसोबासको बन्दोबस्त मिलाउनुका अतिरिक्त विपत्बाट बच्न दीर्घकालीन कार्ययोजना अघि सार्नेमा पनि केन्द्रित हुनुपर्छ । यसका निम्ति वर्षा लागेपछि मात्रै बाढीपहिरोको चिन्ता गर्ने प्रवृत्तिमा सुधार आउनुपर्छ ।

प्रकाशित : असार ३, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपहिरोको वितण्डा : गण्डकीमा सयौं परिवार विस्थापित

गाउँपालिका कार्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, बैंक, जलविद्युत् आयोजनामा पनि क्षति
प्रदेश ब्युरो

पोखरा — सोमबार रातिदेखिको वर्षाका कारण गण्डकी प्रदेशका ११ वटै जिल्लामा बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको छ । मनाङ, म्याग्दी र लमजुङ बढी प्रभावित भएका छन् । अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

मुस्ताङको पान्डा खोलामा सोमबार आएको बाढी । तस्बिर सौजन्य : निरज थकाली

बाढीले मनाङमा मर्स्याङ्दी नदीको पुल बगाउँदा नार्पाभूमि गाउँपालिका र नासोंका ५ वटा वडा सम्पर्कविच्छेद भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बुधबार ताचै जाने मर्स्याङ्दीमाथिको बेलिब्रिज, थोंचे–चिल्चे जाने झोलुंगे पुल, थोंचेबाट तिल्चे जाने दूधपोखोलाको झोलुंगे पुल बगाएको छ ।

यस्तै, कोतोबाट नार्पाभूमि जाने मर्स्याङ्दीमाथिको झोलुंगे पुल र सिरान तालतर्फ जाने अर्को झोलुंगे पुल बगेका छन् । तिमाङखोलाको बेलिब्रिज भने मंगलबार बगाएको थियो । चामे, तिमाङ, धारापानी, ताल, तिल्चेलगायत ठाउँमा रहेका आधा दर्जन लघु जलविद्युत् आयोजना पनि बगेका छन् ।

बाढीले नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी धारापानी, वडा ५ कार्यालय, थोंचे स्वास्थ्य चौकी, धारापानीस्थित प्रभु बैंक र प्राइम कमर्सियल बैंक बगाएको छ । ५ वटा पर्यटकीय होटल पनि बगाएको छ । प्रजिअ लामिछानेले प्राइम कमर्सियलमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताए । मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा बस्तीमा पानी पसेर ३ घर बगाएको छ । डीएसपी सुवास खड्काका अनुसार मर्स्याङ्दी र आसपासका बाढीले तालगाउँ डुबानमा परेको छ । चामेको ५ र धारापानी क्षेत्रमा करिब १० घर बगेका छन् ।

मनाङ सदरमुकाम चामेकोघेङखोलामा बाढी आएपछि नयाँ बजार क्षेत्रमा फसेका स्थानीयलाई बुधबार फड्के बनाएर उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : होमनाथ पन्थी

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले पीडितको उद्धार गरिरहेको बताए । चामेका ६५ र तालगाउँका ५० घरपरिवार विस्थापित भएका छन् । तालगाउँका स्थानीय तालडाँडामा बसेका छन् भने धारापानीका ७० जना ओडार गाउँमा स्थानान्तरण भएका छन् । धारापानीका २० भन्दा बढी घर विस्थापित भएका छन् । बाढीले बेंसीसहर–चामे सडकको ठाउँठाउँमा छियाछिया बनाएको छ । चामेबाट धारापानी क्षेत्रका स्थानीयको उद्धार गर्न आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ३३ जनाको टोली चामेबाट आउन नसकी फर्केका छन् ।

लमजुङमा निर्माणाधीन जलविद्युत् आयोजनाको संरचनासँगै करिब २० घर बगाएको छ । ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाको संरचना बगाएको छ । यस्तै, ङादीमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना र ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको संरक्षणमा पनि क्षति पुर्‍याएको छ ।

दोर्दीखोलामा आएको बाढीले दोर्दी–८ हिलेबजार क्षेत्रका २० घर बगाएको छ । वडा ६ को कीर्तिपुरबेंसीको ४० घर, ढोडेनीबेंसीको ६ र कर्तीबेंसीको १४ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । हिलेबजारका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयमा राखिएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित मिदीमखोलामा फसेका ८ स्थानीयको उद्धार गरिएको छ । उनीहरू मंगलबार धान रोप्न खेतमा गएका थिए । खोलामा बाढी आएपछि गाईफार्ममा रात गुजारेका उनीहरूको बुधबार उद्धार गरिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका निरीक्षक बोधराज रेग्मीले बताए । म्याग्दीमा १०२ परिवार विस्थापित भएका छन् भने ८६ घर उच्च जोखिममा छन् । सबैभन्दा बढी बेनी नगरपालिकाको २, ३, ४, ५, ६ र ९ वडामा स–साना पहिरोले घर भत्केपछि ४२ परिवार विस्थापित भएका छन् ।

सदरमुकामसमेत रहेको बेनीबजार कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । संरक्षणका लागि लगाइएको तटबन्ध भत्काई कटान सुरु गरेको बेनीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । अन्नपूर्ण गाउँपालिकामा १७, मंगलामा २०, मालिकामा ८, धवलागिरिमा २० परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेको म्याग्दीको तातोपानी क्षेत्र ।

बागलुङमा ३० परिवार विस्थापित भएका छन् । सबै ग्रामीण सडक, राजमार्ग र पक्की पुलसमेत भत्केपछि आउजाउ ठप्प भएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए । गत वर्षदेखि बागलुङ नगरपालिकाले निर्माण थालेको औद्योगिक क्षेत्र कालीगण्डकीले कटान गरेको छ । प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले विस्थापित ३० घरका १ सय ५५ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । विस्थापित हुने काठेखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका हुन् । ढोरपाटन नगरपालिका–९ मा भुजीखोलाले सडक बगाएपछि आउजाउ बन्द भएको सिकार आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए ।

बडिगाड खोलाको बाढीले बुर्तिवाङ बजार, बडिगाड गाउँपालिकाको भीमगिठे, ग्वालीचौर र खरवाङ बजार जोखिममा पारेको स्थानीय कमल पौडेलले बताए । गलकोट नगरपालिकाको नरेठाँटी, हटिया र काँडेवासलगायतका बजार क्षेत्र जोखिममा परेपछि मंगलबारदेखि नै कतिपयले घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । ‘बस्ती जोखिम भएकाले सुरक्षित स्थानमा बस्न भनेका छौं,’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘तत्काल उद्धारमा खटिन समेत नसकिने अवस्था भएपछि सुरक्षित बस्न भनेका छौं ।’ ताराखोलामा पहिरोले जलविद्युत् आयोजनामा क्षति पुगेपछि तीन दिनदेखि अन्धकार छ । दुई वटा ‘खानेपानी आयोजना बगेपछि बलेनीको पानी खान बाध्य छौं,’ स्थानीय महेन्द्र घर्तीले भने, ‘फोन सम्पर्कमा समेत समस्या भएको छ ।’

पर्वतको जलजलामा ७, फलेबास र बिहादीमा एक/एक गरी ९ घर भत्किएको छ । प्रहरी निरीक्षक प्रदिप पौडेलले विस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य ३३ घर उच्च जोखिममा छन् ।

नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैंडाकोट र कावासोतीमा ९६ घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार वडा २ को बोटेटोलमा ९१ घर डुबानमा परेपछि ३ सय २५ जनालाई अक्सफोर्ड कलेज र त्यहींको चर्चमा अस्थायी बसोबास गराइएको छ । कावासोती–१७ अमलटारीका ५ घर डुबाएको छ । गोरखामा १६ घर विस्थापित भएका छन् । करिब ९० मिटर सडक दरौंदीले कटान गरेपछि बारपाक सडक अवरुद्ध बनेको छ ।

मंगलबार आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलाले बगाएर बेपत्ता भएका गोविन्द चौधरीको शव बुधबार फेला परेको डीएसपी प्रकाश दाहालले बताए । बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । २७ घरधुरी रहेको सल्लेरीमा अन्य घर पनि जोखिममा परेपछि स्थानीय बुधबार बिहानैदेखि घरका सामग्री सुरक्षित स्थानमा सार्न थालेका हुन् । विस्थापितलाई राहत सामग्री वितरणको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । धार्चे गाउँपालिका–५ माछिखोलास्थित बूढीगण्डकी नदी किनारका १० घर विस्थापित भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–४ झोलुंगेका दुई घर उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।

दरौंदी नदीले कटान गरेको गोरखाको बारपाक सडक । तस्बिर सौजन्य : मिनबहादुर गुरुङ

कालीगण्डकी नदीको बहाव बढेपछि स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणी बजार डुबानमा परेर क्षतिग्रस्त ८ घरपरिवारलाई स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसी राजेन्द्र अधिकारीका अनुसार उनीहरूलाई अस्थायी टहरोका लागि त्रिपाल दिइएको छ । कास्कीको मादी गाउँपालिकामा निर्माण भएका र निर्माणाधीन ४ जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । निर्माणाधीन ४४ मेगावाटको सुपरमादी आयोजनामा करोडौंका सामग्री बगेका छन् । यसैगरी १२ मेवाको नामार्जुङ मादीको पावरहाउस डुबानमा परेको छ भने २५ मेगावटाको अपर मादी र अर्को सिक्लेस हाइड्रोमा पनि क्षति पुगेको छ । मादी–७ मा ६ परिवारलाई अन्यत्र सारिएको छ ।

तनहुँमा पहिरोको जोखिम बढ्दै गएको छ । सानाठूला खोला नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रमा कटान गर्नुका साथै केही भूभाग डुबानमा समेत पर्न थालेका छन् । झरीका कारण सानाठूला पहिरो खस्दा केही घरमा क्षति पुगे पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

-आश गुरुङ (लमजुङ), घनश्याम खड्का (म्याग्दी), प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत), नारायण शर्मा (पूर्वी नवलपरासी), हरिराम उप्रेती (गोरखा), प्रतीक्षा काफ्ले (स्याङ्जा) र सम्झना रसाइली (तनहुँ)

प्रकाशित : असार ३, २०७८ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×