सगरमाथा चुचुरोमा विभाजक रेखा !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा चुचुरोमा विभाजक रेखा !

दुई देशबीचको पानीढलो सीमारेखा काट्नेबित्तिकै अर्को पाइला टेक्ने ठाउँचाहिँ नेपालको सगरमाथा शिखर नै हो ।
बुद्धिनारायण श्रेष्ठ

चीनले झोमोलुङ्मा/सगरमाथाको चुचुरोमा एउटा विभाजक रेखा (लाइन अफ सेपरेसन) सृजना गर्न लागेको थियो । सञ्चारमाध्यमका अनुसार, नेपाल र चीनतर्फबाट शिखरमा उक्लने आरोहीहरूलाई चुचुरोमा मिसिन नदिई कोरोना भाइरसबाट बचाउने अभिप्रायले रेखा खिच्न आँटिएको थियो ।

चुचुरोमा यस्तो विभाजक रेखा सृजना गर्न सकिन्छ/सकिँदैन र सकिने/नसकिने जेसुकै भए पनि यसमा चीनको भित्री मनसाय के थियो/छ भन्ने जान्न सकिएको छैन । सीएनएन, बीबीसी, रोएटर्सजस्ता विश्व सञ्चारमाध्यमले यस सम्बन्धमा जिज्ञासा व्यक्त गरी समाचार प्रसारण प्रकाशन गरेका छन् । यसर्थ यसबारे यहाँ छोटकरीमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

चीनको भनाइ

चुचुरोमा विभाजक रेखा खिच्न आवश्यक परेका सम्बन्धमा चीनको भनाइ छ, ‘नेपालतर्फको आधारशिविरमा रहेका आरोहीहरूलाई गत अप्रिल महिनादेखि कोरोना भाइरसले गाँजेको छ । पर्यटन राजस्वको भोको नेपाल सरकारले मनसुन वर्षाअघि वसन्त ऋतुको जुन महिनादेखि आरोहण गर्न दिइएको अनुमति रद्द गर्नुपर्छ । नेपालमा ७ मेमा एकै दिन सबभन्दा धेरै ९,०२३ जना संक्रमित भए । जबकि चीनमा ८ मेका दिन १२ केस मात्रै थिए । यिनीहरू सबै समुद्रपारबाट आएका यात्रु थिए ।’ (रोयटर्स, ८ मे २०२१)

कोरोना संक्रमण हुन सक्ने भएकाले गत वर्ष तिब्बततर्फबाट कुनै विदेशीलाई आरोहण अनुमति दिइएको थिएन । तिब्बती आधारशिविरबाट चोमोलुङ्माको दृश्यावलोकन गर्न जाने तिब्बती पर्यटकलाई यस पटक पनि रोक लगाइएको छ । यसै कारण चुचुरोमा विभाजक रेखा सृजना गर्नुपरेको हो भन्ने चीनको भनाइ छ ।

नेपालको भनाइ

वैशाख २८ को ‘काठमान्डु पोस्ट’ को प्रश्नमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘चुचुरोमा विभाजक रेखा सृजना गर्न कसैलाई पनि अनुमति छैन । सगरमाथा एउटा अन्तर्राष्ट्रिय सीमा हो । विभाजन रेखा खिचिने भनिएको बारे चीनबाट कुनै औपचारिक जानकारी आएको छैन । चीनबाट कुनै व्यक्तिले यस्तो भने पनि यो हुन्छ भन्ने छैन ।’

यस वसन्त ऋतुको सिजनमा नेपाल सरकारले ४३ आरोहण दलका ४०८ पर्वतारोहीलाई आरोहण अनुमति दिएको छ । यीमध्ये ९३ महिला र ३१५ पुरुष छन् । प्रत्येकसँग ११ हजार अमेरिकी डलर दस्तुर लिने गरिएको छ । यस सिजनमा सरकारले ६६ करोड रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि एक नर्वेजियनसहित ३० जनाजति संक्रमित आरोही आधारशिविरबाट काठमाडौं फर्किएका छन् । यस सिजनको पहिलो टोलीका रूपमा कामी रिता शेर्पाले आफ्नो पहिलेको रेकर्ड तोडी वैशाख २४ गते २५ औं पटक सफल आरोहण गरेका छन् । जेठ ४ मा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद–अल खलिफासहित १२ जना विदेशीले समेत सफल आरोहण गरे । १६ वर्षीय सोनाम शेर्पा र उनका बाबु पूर्णकुमार (पीके) ले जेठ ९ गते शिखर पुगी बाबुछोरा एकैसाथ पुगेको रेकर्ड कायम गरे ।

जेठ १४ सम्ममा स्वदेशी र विदेशी गरी ३३० जनाले सगरमाथा चुचुरो चुमिसकेका छन् । यो हरफ लेख्दै गरेको समयसम्म अझ केही आरोही सफा मौसम पर्खेर आधार तथा दोस्रो शिविरमा प्रतीक्षारत छन् । आरोहणका क्रममा अक्सिजन अल्पता र अन्धोपन भएका कारण दुई विदेशी आरोही र खर्पसमा खसी एक शेर्पाको मृत्यु भएको छ । पर्यटन विभागकी प्रवक्ता तथा लियाजो अफिसरका रूपमा आधारशिविर गएकी मीरा आचार्यले बाहिर हल्ला चलेजस्तो संक्रमणको कुनै समस्या नरहेको र सुक्षित ढंगले आरोहण भइरहेको बताएकी छन् ।

विभाजक रेखा कसरी सृजना गरिँदै छ ?

रेखा रचना गर्नका लागि चीनको तिब्बती पथप्रदर्शकको सानो टोली सगरमाथा शिखरमा उक्लने योजना थियो । २१ चिनियाँ नागरिक भएको समूह सगरमाथाको तिब्बती मोहडाबाट चुचुरो पुग्नुअघि तिब्बती पथप्रदर्शक टोलीले विभाजक रेखा खिची ती गाइडहरूमार्फत रेखा कार्यान्वयन गराउने चीनको मनसाय थियो । यद्यपि, तिनीहरू चुचुरोको मृत क्षेत्र (डेथ जोन), जहाँ अक्सिजनको अल्पता हुन्छ, त्यही क्षेत्रमा रहनेछन् भन्ने कुरो स्पष्ट थिएन (रोयटर्स, ८ मे २०२१) । तर चीनले तिब्बततर्फबाट चोमोलुङ्मा आरोहण गर्ने कार्य मे १५ मा रद्द गरेको छ । नेपालबाट आरोहण गर्ने अस्ट्रियाको फुर्टेनब्याच एडभेन्चर कम्पनीले आधारशिविरमा रहेका २० आरोहीको आरोहण त्यसै दिन रद्द गरेको छ, कोरोना भाइरसलाई कारण देखाई ।

यी कुरा जेसुकै भए पनि चुचुरोमा कसरी विभाजन रेखा लागू गरिनेछ भन्ने कुराका सम्बन्धमा विश्लेषण गर्दा यो कल्पित रेखा मात्र हुन सक्छ । भौतिक रूपले यहाँ रेखा स्थापना गरिने सम्भावना छैन । रेखाको रूपमा ३ मिटर लामो स्टिल पोललाई हिउँको थुप्रोभित्र डेढ–दुई मिटर धसाएर एकाध मिटर देखिने गरी राख्न सकिएला । तर कालान्तरमा त्यसलाई बेजोड हावाले ढाल्छ र हिउँले बगाएर लैजान्छ । यही हिउँ नै दक्षिणतिर खुम्बु हिमनदीका रूपमा मन्द गतिले बग्ने गर्छ ।

नेपाल–चीन सीमारेखा र सगरमाथा चुचुरो

सन् १९६१ मा नेपाल–चीन सीमा सन्धि भएको थियो । त्यसअनुरूप १९६२ मा सीमांकन भयो । सीमांकनमा पानीढलो सिद्धान्त अवलम्बन गरिएको थियो । सगरमाथा चुचुरोको पश्चिमबाट छुराको धारजस्तो धारिलो परेको पानीढलो शृंखला पछ्याउँदै सीमारेखा शिखरको नजिकै उत्तरी छेउ पुगेको छ । यहाँबाट सीमा दक्षिणतर्फ हिलारी स्टेप, अनि थोरै पूर्व र त्यसपछि दक्षिण ल्होत्से हिमाल पुगेको छ ।

छुराको धारजस्तो सीमारेखाको उत्तरतिर चीन पर्छ । यो चिनियाँ भूभाग करिब ७० डिग्रीको एकदमै भिरालो अवस्थितिमा छ । यहाँको हिउँ चीनतिर बगिरहने भएकाले आरोहीहरू चिनियाँ भूमिमा धेरै मिनेट उभिन सक्दैनन् । दुई देशबीचको पानीढलो सीमारेखा काट्नेबित्तिकै अर्को पाइला टेक्ने ठाउँचाहिँ नेपालको सगरमाथा शिखर नै हो ।

सगरमाथा चुचुरो समुद्रको सतहबाट ८८४८.८६ मिटर अग्लो, ३ मिटर चौडा र ८ मिटर लम्बाइ भएको करिब २५ वर्गमिटरको दक्षिणतिर ढल्केको तर्प्याइँलो गरो (स्लोपिङ टेरेस) ले बनेको छ । यसमाथि डेढ मिटर चौडा र २ मिटर लम्बाइ भएको करिब ३ वर्गमिटर क्षेत्रफलमा हिउँको सानो ढिस्को छ । यही ढिस्को सर्वोच्च शिखर हो । यो चुचुरो सानो डाइनिङ टेबलजत्रो छ, जहाँ पाइला राखेपछि मात्र सगरमाथा विजेता बन्न सकिन्छ । यसलाई अझ खतरनाक क्षेत्र मानिन्छ । बेतोडको हावाहुरी चल्ने र एकै छिनमा मौसम बिग्रिन सक्ने भएकाले यहाँ कोही पनि धेरै समय उभिइरहन सक्दैनन् ।

चुचुरो नेपालको सरहदभित्र परेको छ । नेपाल र चीनबीच सगरमाथाको विवाद पर्दा चिनियाँ प्रधानमन्त्री चाउ एन–लाईको नेपाल भ्रमणका समय २०१७ वैशाख १६ गते सिंहदरबार ग्यालरी बैठकमा पत्रकार सम्मेलन गरी उनले सगरमाथा नेपालकै हो भनेका थिए । यसै क्रममा ‘कल्पना’ साप्ताहिकका प्रधान सम्पादक किशोररमण राणाको प्रश्नको जवाफमा उनले नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्न सकिने भनी समझदारी भएको उल्लेख गरेका थिए । ‘यूएस पिरियोडिकल टाइम’ का संवाददाता डन कोन्नेरीले ‘सगरमाथा चीन र नेपालका बीच बराबर पारेर विभाजन गर्ने हो ? नेपाल यसमा मन्जुर छ ?’ भनी सोधेको प्रश्नको जवाफमा चाउ एन–लाईले भनेका थिए, ‘भाग लगाउने प्रश्नै आउँदैन ।’

निचोड

केही अध्येताले चीनले चुचुरोलाई आधा–आधा पारी रेखा खिच्ने मनसायले अहिले विभाजक रेखाको परिकल्पना गरेकाले सञ्चारमाध्यममा आएको हुनुपर्छ भन्ने गरेका छन् । राजनीतिक हिसाबले चीनले नेपाललाई फकाएर शिखर आधा भाग लगाउन खोज्यो भन्ने शंका नेपालको सीमित राजनीतिक वृत्तमा परेको यदाकदा सुनिएको छ । तर यो सम्भावना छैन । चाउ एन–लाईको भनाइ अहिलेसम्म अडिग छ । सगरमाथाका सम्बन्धमा दुवै देशले मिलेर काम गर्छन् भनी सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर संयुक्त रूपले २०७७ मंसिर २३ मा भएको घोषणाबाटै स्पष्ट हुन्छ ।

चीनले अहिले ‘लाइन अफ सेपरेसन’ खिच्ने नै भए पनि छुराको धारजस्तो पानीढलो सीमाको नेपालतिर पर्ने २ मिटर लाम्चो चुचुराको आधा भागमा खिच्नुपर्ने हुन्छ । यसअनुसारको सीमारेखा मान्ने हो भने सगरमाथा चुचुरो आधा–आधा भन्ने भान पर्न सक्छ । त्यसैले यो लाइन खिच्ने आवश्यकतै पर्दैन । चुचुरोको ठीक उत्तर प्राकृतिक पानीढलो सीमारेखा कायम छँदै छ ।

दोस्रो कुरा, विभाजक रेखा खिचेर चीन र नेपालतर्फबाट सफल आरोहण गर्नेहरूलाई एकआपसमा मिसिन नदिने मनसाय चीनको देखिन्छ । यथार्थतः आरोहीहरू त्यहाँ लामो समय संसर्गमा आउँदैनन् । सफल आरोहण गरेपछि फोटो/भिडियो खिचेर फर्कनै हतार हुन्छ । तेस्रो, आरोहीहरू स्वयम् अक्सिजन मास्कमा हुनाले र बाक्लो पोसाकले पीपीईको काम गर्ने भएकाले कोरोना भाइरस सार्ने गुन्जायस नै रहँदैन । चौथो, कोरोना भाइरस संक्रमित आरोहीलाई चुचुरो पुग्न स्वास्थ्यले नै दिँदैन । पाँचौं, शिखरमा एक पटकमा छ–सात जनाभन्दा बढी आरोही उभिने ठाँवै छैन । धेरै संख्यामा एकै पटक शिखरमा पुगेका आरोहीहरू छ–सात जनाको खेपमा आलोपालो गरी फोटो खिच्नुपर्ने हुन्छ ।

त्यसैले कोरोना भाइरस संक्रमणको अत्तो थापेर चुचुरोमा विभाजक रेखा सृजना गर्न प्राविधिक दृष्टिले आवश्यक पर्दैन । अहिले आएर चीनले आरोहण रद्द गरे पनि एकतर्फी तरिकाले रेखा खिचिए यसले नेपाल र चीनको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

अरूमा संक्रमण दर घट्यो, ५ वर्षमुनिकामा उस्तै

संक्रमणमुक्त भएका बालबालिकामा ‘मल्टिसिस्टम इनफ्‍ल्यामेटरी सिन्ड्रोम’
जनकराज सापकोटा

काठमाडौँ — पछिल्लो एक साताको पीसीआर र एन्टिजेन परीक्षणमा कोरोना संक्रमितको संख्या ओरालो लागेको देखिए पनि कम उमेर समूहका बालबालिका संक्रमित हुने दर घटेको छैन । १८ वर्षमुनिका संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिका बालबालिकाको हिस्सा उच्च देखिन्छ ।

मंगलबार संक्रमण पुष्टि भएका ५ हजार १ सय ५३ मध्ये १८ वर्षमुनिका ५ प्रतिशत अर्थात् २ सय ९३ जना छन् । संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिकाको संख्या भने झन्डै १४ प्रतिशत छ । सोमबार ४ हजार ४ सय ७२ संक्रमित हुँदा १८ वर्षमुनिकाको संख्या ७ प्रतिशत थियो । ३ सय १२ जना बालबालिकामा संक्रमण पुष्टि भएकामा ५ वर्षमुनिका ५६ जना थिए । यो कुल संक्रमितको १ दशमलव २५ प्रतिशत हो ।

संक्रमित बालबालिकामा ५ वर्षमुनिका झन्डै १८ प्रतिशत छन् । यस्तै, आइतबार ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि हुँदा १८ वर्षमुनिका ६ प्रतिशत अर्थात् २ सय ३४ जना थिए । कुल संक्रमितमध्ये ५ वर्षमुनिका बालबालिकाको संख्या ३९ अर्थात् १.१२ प्रतिशत थियो । आइतबार १८ वर्षमुनिका कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिकाको संख्या १६.६६ प्रतिशत थियो ।

शनिबार कुल संक्रमितको संख्या ५ हजार ४२ थियो । जसमा १८ वर्षमुनिका ६ प्रतिशत अर्थात् ३ सय १७ बालबालिका संक्रमित भए । जसमा ५ वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ४८ जना अर्थात् कुल संक्रमितको ०.९५ प्रतिशत थियो । शनिबार कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिका १५.१४ प्रतिशत थिए ।

गत बुधबारयताको तथ्यांकले ५ वर्षमुनिका बालबालिकामा संक्रमण दर घटेको देखाउँदैन । कुल संक्रमितको संख्यासँगै १८ वर्षमुनिका बालबालिकाको संक्रमण दर पनि ओरालो लागिरहँदा पनि ५ वर्षमुनिका बालबालिकाको संक्रमण दर भने उस्तै देखिन्छ । मंगलबार कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिकाको संख्या कम देखिए पनि १८ वर्षमुनिका बालबालिकामध्ये यो उमेर समूहको संक्रमित बालबालिकाको हिस्सा उल्लेख्य रूपमा घटेको देखिँदैन । बालबालिकासम्बन्धी ऐनले १८ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई बालबालिका भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार विज्ञप्ति निकालेर कोरोना महामारीको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउने सक्ने र त्यतिबेला बालबालिका बढी मात्रामा प्रभावित हुने जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा त्यति बेला बालबालिकाको संक्रमणको दर बढ्न सक्ने हुनाले अस्पतालहरूले स्वीकृत शय्यामा कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका निम्ति प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अन्य देशको तुलनामा पनि बालबालिका संक्रमित हुने दर नेपालमा उच्च देखिन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका १३ प्रतिशत हाराहारी छन् । जबकि नेपालमा पछिल्लो एक साता कुल संक्रमितमध्ये बालबालिका १५ प्रतिशतभन्दा धेरै छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले कोभिडको पहिलो लहरमा कुल संक्रमितमध्ये २ देखि ३ प्रतिशत मात्रै बालबालिका देखिएकामा पछिल्लो लहरमा उल्लेख्य वृद्धि भएको बताए । ‘एक सातायता संक्रमणको दर स्थिर देखिए पनि बालबालिकाको हिस्सामा उल्लेख्य कमी आएको देखिँदैन,’ उनले भने, ‘बरु संक्रमित भएर निको भइसकेका बालबालिकामा मल्टिसिस्टम इनल्यामेटरी सिन्ड्रोम (एमआईएससी) देखिने गरेको बताए । डा. बिच्छाका अनुसार कोभिड संक्रमणमुक्त भएको एक देखि डेढ सातापछि बालबालिकामा शरीरका दुई वा दुईभन्दा धेरै अंग संक्रमित हुने जोखिम देखिएको छ ।

हार्वर्ड मेडिकल स्कुलका अनुसार दुई दिनभन्दा बढी लगातार उच्च ज्वरो आउनु, आँखाको सेतो भाग रातो देखिनु, पेट दुख्नु, बान्ता वा पखाला चल्नु, घाँटी दुख्नु, जिब्रो अस्वाभाविक रातो देखिनु, निन्द्रा राम्रो नपर्नु र मांसपेशी दुख्नु जस्ता समस्या एमआईएससीमा देखिने गर्छ । प्रसिद्ध ‘जर्नल ल्यानसेट चाइल्ड एन्ड एडोलेसेन्ट’ मा गत वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्ममा गरेको अध्ययन प्रतिवेदनअनुसार एमआईएससीको उपचार सकिएको ६ महिनापछि पनि एक तिहाइ बालबालिकामा लगातार मांसपेशी कमजोर हुने, थकान लाग्ने र मानसिक स्वास्थ्यसम्बन्धी अप्ठ्यारा देखा पर्ने गरेको पाइएको थियो ।

डा. बिच्छाका अनुसार संक्रमण दर उच्च भएर ओरालो लाग्न थालेको साता दिनपछि एमआईएससीका लक्षण भएका बालबालिका अस्पतालमा भर्ना हुने दर बढ्ने देखिन्छ । उनले अघिल्लो लहरमा पनि संक्रमण उच्च भएको एक सातापछि यस्ता बिरामीको संख्या अस्पतालमा बढेको सुनाए ।

‘सोमबार मात्रै अस्पतालमा एमआईएससी भएका तीन र मंगलबार दुई बालबालिका भर्ना भए,’ उनले भने । कान्ति बाल अस्पतालमा अहिले १६ जना संक्रमित बालबालिका उपचाररत छन् । ‘भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा धेरै बालबालिकामा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको छ,’ उनले भने, ‘अभिभावकले जनस्वास्थ्यको नियम पालना गरेनन् भने बालबालिका संक्रमण हुने दर बढ्छ ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×