कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ठगीधन्दा रोक्न सक्रिय होऊ

सम्पादकीय

मुलुकमा जुनसुकै बहानामा पनि खाद्यान्न, खानेतेल, तरकारी तथा फलफूलजस्ता उपभोग्य सामग्रीहरूको अनावश्यक मूल्यवृद्धि हुनु नियमित आकस्मिकताजस्तै भैसक्यो । जारी कोरोना महामारीमा त जीवनरक्षक मानिएका औषधिलगायतका अरू अत्यावश्यक उपचार तथा परीक्षण सामग्रीहरूसमेत मनलाग्दी मूल्यमा बिक्री भैरहेका छन् ।

ठगीधन्दा रोक्न सक्रिय होऊ

भाउ मात्रै अचाक्ली बढाइएको छैन, बजारमा नक्कली र गुणस्तरहीन सामग्री पनि उत्तिकै छ्यापछ्याप्ती छन् । यसबाट उपभोक्ता तथा बिरामीको स्वास्थ्यमै गम्भीर असर परिरहेको र पर्न सक्ने अवस्था छ । यस्तो ठगी धन्दा रोक्न प्रहरीले केही प्रयास गरेको देखिए पनि त्यो पर्याप्त छैन । उपभोक्ताको ढाड सेक्ने कुरा मात्र नभएर जनस्वास्थ्यकै गम्भीर सवाल पनि भएकाले यस्तो ठगी रोक्न सरकारले हरसम्भव प्रयत्न गर्नुपर्छ । ठगिनबाट जोगिन सम्बन्धित उपभोक्ता पनि सचेत रहनुपर्छ । र, यस्तो धन्दाबारे जानकारी राख्ने सरोकारवालालगायत जोकोहीले पनि प्रहरी–प्रशासनलगायतका निकायहरूमा सूचना दिएर ठगीमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने वातावरण बनाउनुपर्छ ।

सक्रिय संक्रमित र उपचारका लागि अस्पताल पुग्नेहरू दुवैको संख्या चुलिएसँगै बजारमा मानिसको रगतमा रहेको अक्सिजन मापन गर्ने अक्सिमिटर र संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिरजस्ता औषधिको माग अत्यधिक हुन थाल्यो । यही मौकामा यिनको कालोबजारी मात्र भएन, नक्कली तथा गुणस्तरहीन सामग्रीको पनि बेचबिखन मौलाएको हो । सेनिटाइजरमा त केहीले मानव स्वास्थ्यलाई हानि गर्ने रसायनसमेत मिसाएको पाइएको छ । कतिले सरकारबाट अनुमति नै नलिई पनि सेनिटाइजर उत्पादन गरिरहेको पत्ता लागेको छ । प्राविधिक र प्रयोगशालाबिनै निर्माण गरिएका यस्ता सामग्रीको गुणस्तर कस्तो होला, त्यसै पनि अनुमान गर्न सकिन्छ । यस्तै एक उत्पादनको नमुना परीक्षण गर्दा मानव स्वास्थ्यलाई असर गर्ने मिथानोल २४ प्रतिशत पाइएको छ, जबकि केही गरी मिथानोल शरीरभित्र पर्‍यो भने यसबाट विषाक्त पदार्थ उत्पादन भई व्यक्तिको ज्यानैसमेत जान सक्छ । त्यही भएर यसलाई शरीरमा प्रयोग गर्न नमिल्ने तथ्यलाई सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । र, बजारमा गुणस्तरहीन सामग्री बिक्री–वितरण नहोस् भनेर सम्बन्धित सबै निकायले अनुगमन बढाउनुपर्छ ।

यस अवधिमा कालोबजारी तथा ठगीधन्दा कतिसम्म अकल्पनीय रूपमा मौलाएछ भने, सामान्यतया बढीमा ५ हजार रुपैयाँ पर्ने एक भाइल रेम्डेसिभिरको ३० हजार रुपैयाँसम्ममा बिक्री गरेको समेत पाइएको छ । एउटा प्रयोगशालाले त कुस्त पैसा लिएर पीसीआरको नेगेटिभ रिपोर्ट दिने गरेको तथ्यसमेत बाहिर आएको छ । यस्तै, धाराबाट आउने पानीमा रसायन मिसाएर ‘७५ प्रतिशत’ ह्यान्ड सेनिटाइजर बजार पठाइएको पनि पत्ता लागेको छ । चीनबाट समेत लुकीछिपी ल्याइएका गुणस्तरहीन अक्सिमिटरलाई सस्तोमा तीन सय ८० रुपैयाँमा किनेर बजारमा २ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गरेको समेत भेटिएको छ । यी तथ्यहरूबाट थाहा हुन्छ— यो महामारीको मौकामा जसले जे गरे पनि हुने जसरी ठगी–अपराध व्याप्त छ । त्यसैले यसलाई रोक्नका निम्ति सरकारको उचित सक्रियताको खाँचो छ ।

यसरी कालोबजारी तथा ठगी कार्य रोक्न प्रहरीले मात्र होइन, कानुनी दायित्वबमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र औषधि व्यवस्था विभागले पनि आवश्यक अनुगमन तथा नियमन गर्नुपर्छ । नागरिकहरू गम्भीर मारमा परिरहँदा जिम्मेवार निकायहरू कुनै पनि बहानाबाजी नगरीकन अग्रसक्रिय हुनैपर्छ, अन्यथा यस्तो कार्यमा उनीहरूको समेत मिलेमतोको अर्थ लाग्छ । जसरी हुन्छ, सम्बन्धित सबै निकायहरूको सक्रियतामा बजारमा भैरहेको अनुचित धन्दा रोकिनुपर्छ र यस आरोपमा पक्राउ परेकाहरूलाई पनि उचित कानुनी कारबाही गरिनुपर्छ । ठगी तथा कालोबजारीमा संलग्न हुनेहरूलाई हदैसम्मको सजाय दिलाउन कसैको दबाब र प्रभावमा नपरीकन उपयुक्त कानुनी प्रक्रिया चाल्नुपर्छ ।

कालोबजारी ऐनले कमसल सामानलाई असल भनी झुक्याई बेचेको र औषधिमा मिसावट गरी बिक्री वितरण गरेको कसुरमा बढीमा ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ । यसअतिरिक्त ठगी कार्यमा संलग्नहरूलाई कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेश र औषधि ऐनका उपयुक्त प्रावधानअनुसार पनि कारबाही गर्न सकिन्छ । खालि यसका निम्ति प्रहरी प्रशासनलगायतका सम्बद्ध निकायहरूको इच्छाशक्ति, कटिबद्धता र निरन्तर सक्रियता आवश्यक पर्छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?