१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्पताल तोडफोडको उपचार

अस्पतालमा हुने हिंसात्मक घटनाको समाधान सुरक्षाकर्मी बढाउनु होइन, विश्वासको वातावरण सृजना गर्नु हो।

भेरी अस्पतालमा कोरोना संक्रमित राखिएको सघन उपचार कक्षका डाक्टर तथा नर्सहरूले जेठ १३ गते राति बिरामीका आफन्तको आक्रमणबाट जोगिन शौचालयको झ्यालबाट हामफाल्नुपर्‍यो । सो क्रममा कतिका खुट्टा मर्केका छन्, घाँटी थिचिएकी एक नर्सको धन्न सासै रोकिएन !

अस्पताल तोडफोडको उपचार

संक्रमितको उपचार, स्याहारजस्तो कठिन र खतरायुक्त काम गरिरहेका स्वास्थ्यकर्मीमाथि यस्ता खाले आक्रमण हुनु दुर्भाग्यपूर्ण छ अनि खेदजनक पनि । तर यो घटना अपवाद भने होइन । केही दिनअघि विराटनगरको नोबेल मेडिकल कलेजमा पनि यस्तै घटना भएको थियो । यस्ता घटना बारम्बार भैरहेका छन् र यसको प्रतिक्रियामा दोषीमाथि सख्त कारबाही गर्ने माग उठ्ने गर्छन् । कारबाही पनि हुने गरेको सुनिन्छ, तर यस्ता घटनाको अन्त्य भने भएको छैन । नेपालगन्जको घटनाका तीन दोषीमाथि ज्यान मार्ने उद्योग मुद्दा चलाइने सुनिएको छ । तोडफोड र हातपातजस्तो हिंसात्मक कार्य गर्नेहरूले सजाय पाउनैपर्छ ।

घटना भैरहनु, हताश/निराश स्वास्थ्यकर्मीहरूले सम्बन्धित निकायमाथि दबाब सृजना गर्न पेन डाउन गर्नु, प्रदर्शन गर्नु, दोषीमाथि कारबाहीको माग गर्नु र कारबाही हुने/भएका खबर आउनु नियमितजस्ता भैसके, बिग्रेको डीभीडी चलाएर फिल्म हेर्दा उही दृश्य दोहोरिइरहेजस्तो गरी । यो क्रम चलिरहेछ वर्षौंदेखि उसै गरी । यसो हुनुले समाधानका लागि गरिएका प्रयास अपुरा छन् भन्ने बुझिन्छ । अपुरो नभएको भए, दोहोरिन्न–तेहरिन्न थियो ।

भेरी अस्पतालको घटना सघन उपचार कक्षभित्र भएको छ, जहाँ बिरामीका आफन्तसमेत सितिमिति जान पाउँदैनन्, डाक्टर र नर्सहरू मात्र हुन्छन् । समस्या अस्पतालमा सुरक्षा दिन नसकेर भएको हो भनिन्छ । पहिला समस्याको सही पहिचान हुनुपर्‍यो । समस्या सुरक्षा कमीका कारण सृजित भएको होइन, अविश्वासले हो । एउटा समस्याका लागि अर्को समाधान खोजेर हुन्न । अविश्वाससृजित समस्याको समाधान विश्वासको सृजना हो । यदि हामी सुरक्षा कमीलाई कारण मान्छौं भने समाधानका रूपमा सुरक्षा बढाउन सकिएला । तर, घटना हत्तपत्त बिरामीका आफन्तसमेत छिर्न नपाउने सघन उपचार कक्षभित्र भएको छ, अनि त्यहाँ कति जना सुरक्षाकर्मी राख्दा सुरक्षा हुन्छ ? एक, दुई, तीन कति ? तीभन्दा धेरै जना आए भने त तोडफोड तथा धक्कामुक्का हुन सक्ने सम्भावना रहिरहन्छ । त्यसकारण अस्पतालमा हुने हिंसात्मक घटनाको समाधान सुरक्षाकर्मी बढाउनु होइन, विश्वासको वातावरण सृजना गर्नु हो ।

भेरी अस्पतालमा घटना भएपछि एक वरिष्ठ चिकित्सकले भारतको यस्तै प्रकृतिको एउटा घटना सुनाउनुभयो । अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्ने प्रावधान आएपछि पनि सो घटना भएको रहेछ । त्यतिबेला भारतमा अस्पतालमा तोडफोड तथा हातपात गर्ने दोषी पक्षलाई ५ वर्षसम्म जेल राख्ने, जमानतमा छुट्न पनि नपाउने व्यवस्था थियो र अस्पताल प्रशासनले यो जानकारी ठूलठूला अक्षरमा अस्पताल परिसरमा राखेको थियो । उक्त अस्पतालमा ७० वर्षीय एक वरिष्ठ चिकित्सक स्वयंसेवीका रूपमा काम गरिरहेका थिए । एक दिन उनी खाजा खान निस्किएका बेला एक सिकिस्त बिरामीलाई अस्पताल ल्याइएछ ।

बिरामीका आफन्तले सोधपुछ गर्दा डाक्टर खाजा खान गएको जानकारी पाए । उनीहरूका लागि उत्तिखेरै डाक्टर नहुनु, आकस्मिक कक्ष खाली गराएर सबै जना खाजा खान जानु र निकै बेर लगाएर (बिरामीका लागि एक मिनेटको पनि ठूलो महत्त्व हुन्छ) फर्कनु तीव्र आक्रोशको कारण बन्यो । ती वृद्ध डाक्टरले खाजा खान पाउनु जायज हो कि होइन, बिरामीका आफन्तका लागि सरोकारको विषय थिएन । उनीहरूले ती डाक्टरलाई यसरी कुटे, उनको तत्काल मृत्यु भयो । यस्तो कठोर व्यवस्था गरिए पनि त्यहाँ यस्ता घटना रोकिएका छैनन् । यो कुनै पूर्वनियोजित घटना थिएन, आवेशप्रेरित थियो ।

आवेशमा के गर्न हुन्न भनी मानिसलाई होस रहन्न । भनिन्छ नि, रिस उठ्दा कसैले गीता पढ्दैन । त्यसैगरी सजायको डरले आवेश सितिमिति रोकिँदैन पनि । मनोविज्ञानको यस्तो कमजोर पक्षलाई विचार गरेरै कानुनले सजायसमेत कम हुने व्यवस्था गरेको छ । आवेशमा, मानिसले जुन हतियार भेट्छ, त्यसले नै कहिले अरूलाई प्रहार गर्छ त कहिले आफैंलाई । त्यसैले हतियार लुकाउनुपर्छ भनिन्छ । अमेरिकामा स्कुल, कलेज वा सार्वजनिक स्थानमा हुने गरेका ‘मास सुटिङ’ मानसिक सन्तुलन गुमाएका व्यक्तिले बन्दुक भेट्टाएर गर्ने गरेका छन् । कतिपय घटनामा अरूलाई मारेपछि त्यस्ता व्यक्तिले आफैंलाई समेत गोली हानेको देखिन्छ । मानसिक सन्तुलन गुमाएपछि व्यक्तिले आफ्नोसमेत परबाह गर्दैन । त्यसैले अस्पतालमा हुने तोडफोड तथा हातपातका घटनाको रोकथामका लागि गर्नुपर्ने काम हो— विश्वासको तथा मानिस आवेशमा आएका बेला गर्न सक्ने अवाञ्छित वा अपराधजन्य कार्य रोकिने वातावरण बनाउनु ।

अस्पतालहरू सरकारी होऊन् वा निजी, यस्ता खाले घटनाहरू भैरहेका छन् । कुनै पनि घटना हुन्छ भने, त्यसको कारण एउटै मात्र हुन्न; एक, दुई वा त्योभन्दा बढी तत्त्व हुन सक्छन् । कुनै घटना कसैमाथि बारम्बार भैरहन्छन् भने केही कारण उसमा पनि रहेको हुन सक्छ भनी मान्नु तर्कशास्त्रको सामान्य सिद्धान्त हो । त्यस्तै कुनै ठाउँमा लगातार उस्तै घटना भैरहन्छन् भने त्यस स्थानको पनि हात/भूमिका हुन्छ भन्ने मान्यता छ, जस्तो— सवारी दुर्घटनामा चालक, यात्रु वा अन्य सवारी साधनको भूमिका हुन्छ । तर, कुनै ठाउँमा पटक–पटक दुर्घटना भैरहेमा त्यो ठाउँको पनि भूमिका होला भन्ने ठानी ‘दुर्घटना सम्भावित क्षेत्र’ को सूचनापाटी राखी चालकलाई सतर्क बनाउने गरिन्छ ।

अस्पतालहरूमा हुने घटनाहरू हामी अति असजिलो परिस्थितिमा काम गरिरहेका अस्पताल र स्वास्थ्यकर्मीकै कमजोरीले भैरहेका छन्, भनिरहेका छौं । ठन्डा दिमागले सोचौं त, कतै यसो भनेर तोरीका गेडा त छाडेका छैनौं ताकि पहाड बनाउन सकियोस्, अनि आगोमा घ्यू थपियोस् ? जानाजानी अस्पताल वा डाक्टरले यस खाले घटना हुने काम गर्दैनन् तर गल्ती वा कमजोरी अनजानमा पनि त हुन्छ ।

साधारणतया कुनै पनि मानिसले आफन्तको उपचार गराउन आउँदा अस्पतालमा तोडफोड र हातपात गर्ने उद्देश्य/नियत राखेको हुँदैन । अस्पताल आइसकेपछि जस्तो व्यवहार भोग्यो, त्यसले नै ‘सामान्यतया’ त्यस खाले व्यवहार गर्ने बनाउँछ । तर अचेल ‘असामान्य’ घटना पनि हुन थालेका छन् । अस्पतालमा कुनै बिरामी मर्न वा अवस्था बिग्रन लागेको छ भने, व्यावसायिक रूपमै हूलदंगा र तोडफोड गरी वा धम्की दिई अस्पताल पक्षबाट मोटो रकम असुल्न खोजिन्छ । आजभोलि सामान्य तथा असामान्य दुवै खाले परिस्थितिबाट जोगिनुपर्ने भएकाले त्यहीअनुसारको तयारी गर्नुपर्ने हुन्छ, चुनौतीबाट भागेर हुन्न । अनि कोरोना महामारीमा जनताको मनोविज्ञान पनि असामान्य हुने गरेको देखिएको छ । कोरोनाभन्दा निकै खतारनाक इबोला भाइरस अफ्रिकामा फैलिँदा अस्पताल ल्याइने बिरामीको मृत्युदर निकै उच्च थियो र आफन्तले बिरामी मरेमा अस्पताल र डाक्टरको कारण हो कि भनी शंका गर्थे ।

सेवाप्रदायक पक्षले विशेषज्ञको टोलीमार्फत विगतमा १०–१५ वटा अस्पतालमा भएका तोडफोड तथा स्वास्थ्यकर्मीमाथि भएका हातपातका घटनाको अध्ययन गर्दा, आफ्ना पक्षका पनि कमजोरी, बिरामी पक्षलाई आवेशमा ल्याउने तत्त्व के–के थिए, तथा उस्तै खालको परिस्थिति हुँदा कहीँ समस्या ननिस्किएको, कहीँ निस्किएको कारणको तुलनालाई केन्द्रमा राख्नुपर्छ । अनि त्यसैअनुरूप सेवाप्रदायक पक्षले तयारी गर्नुपर्छ । यसमा सुरक्षाका प्रावधानका साथसाथै जटिल अवस्थाका बिरामीका आफन्तसँग कसरी कुरा गर्ने भन्ने तालिम दिने तथा हूलदंगा हुन सक्ने अवस्थामा ‘मक’ अभ्याससमेत अनिवार्यतः गर्नुपर्ने प्रावधान राख्नुपर्छ । यस्तो अध्ययन नेपाल मेडिकल काउन्सिल वा नेपाल मेडिकल एसोसिएसन वा स्वास्थ्य मन्त्रालयको पहलमा हुनुपर्छ ।

कतिपय अवस्थामा अस्पतालहरूले स्तरीकृत कार्यविधि नबनाएका कारण स्वास्थ्यकर्मीपिच्छेका कार्यप्रक्रिया, विधि हुने गर्छ । यसो हुँदा, एकातर्फ काम गर्दा अलमल हुन सक्छ, अर्कातिर बिरामी पक्षले दुई पटकमा लिइएका उपायको तुलना गर्छन् । तुलना गर्दा एकभन्दा अर्को राम्रो ठान्नु स्वाभाविक नै हुन्छ । यदि नराम्रो ठानेको तरिकाका कारण बिरामीको अवस्था बिग्रेको छ भने, स्वास्थ्यकर्मी तथा अस्पताललाई दोषी ठहर्‍याई आक्रोशित हुन सक्छन् । त्यसकारण अस्पतालहरूले कार्यविधि बनाउनु जरुरी छ । स्तरीकृत कार्यविधि नअपनाउँदा ठूला त्रुटि भएका छन् ।

(नेपालद्वय प्यूठान अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन् ।)

प्रकाशित : जेष्ठ २४, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?