कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खतरा ‘सूचना संकट’ को

विपुल पोख्रेल

अर्थशास्त्री अमर्त्य सेनले गरिबी निवारणका सन्दर्भमा मिडियाको भूमिकाबारे भनेका छन्, ‘प्रेस स्वतन्त्रता भएको ठाउँका मानिसहरूले भोकका कारण मृत्युवरण गर्नु पर्दैन ।’ जापान र चीनका ठूला भोकमरीको विश्लेषणात्मक अध्ययनपछि उनी यस्तो निष्कर्षमा पुगेका हुन् ।

खतरा ‘सूचना संकट’ को

समाजमा अकल्पनीय संकट आएका बेला मिडिया पनि संवेदनशील बन्नुपर्नेमा दुईमत छैन । नेपालमा पत्रकार आचारसंहिताले पनि यस्तो संकटको परिकल्पना गरेको छ । जस्तो कि, बुँदा ११ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक, विपत्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री संकलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्छ ।’

माथि उल्लिखित दुई सन्दर्भले दुइटा कुरा औंल्याएका छन् । पहिलो, समाजमा कुनै पनि बेला कुनै पनि प्रकृतिको संकट उत्पन्न हुन सक्छ । दोस्रो, त्यस्तो संकटका बेला पत्रकारिताको भूमिका विशिष्ट हुन सक्छ; अथवा भनौं, त्यो संकट समाधानको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पत्रकारिता हुन जान्छ । अहिले सिंगो संसारले कोरोना संकट झेलिरहेको छ । नेपालमा पनि गम्भीर असर देखिइरहेको छ । नेपालमा करिब ५ लाख ७२ हजार संक्रमित छन् र झन्डै ७ हजार ६ सय जनाको मृत्यु भैसकेको छ । कोरोना संक्रमणविरुद्धको भरपर्दो औषधि पत्ता लागिनसकेको अवस्थामा यसबाट जोगिन व्यक्ति आफैं सजगता हुनुपर्छ । भौतिक दूरी कायम गर्ने, मास्क नियमित लगाउने, हातले नाकमुख नछुने, हात साबुनपानीले धोइराख्ने, स्यानिटाइजरको प्रयोग गरिराख्नेजस्ता उपायहरू अपनाइरहनुपर्छ । अन्यथा अवस्था अझै भयावह हुने खतरा छ ।

एउटा सर्वेक्षणअनुसार, संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीबारे मिडियाबाट जानकारी पाउनेहरूको संख्या अत्यधिक छ, ८६ प्रतिशत । यो तथ्यांकले यस्तो संकटका बेला मिडियाको भूमिका कति प्रभावकारी हुँदो रहेछ भनी प्रस्ट्याउँछ । तर, यस्तो भूमिका निर्वाह गरिरहेको क्षेत्रलाई राज्यले अझै पनि ‘फ्रन्टलाइनर’ भन्न नचाहनु विडम्बनापूर्ण छ ।महामारीले हरेक वर्ग, समुदाय र भूगोलका नागरिकलाई प्रभावित पारिरहेकै छ । देशका धेरै ठाउँमा घोषित र केही भागको अघोषित निषेधाज्ञाले जनजीवन कष्टकर बनिरहेकै छ । सामाजिक, व्यावसायिक, शैक्षिकलगायतका सबै गतिविधि ठप्प छन् । बिहान–बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकको पीडामा सहयोग गर्ने कोही भेटिएका छैनन्, राज्यले पनि निषेधाज्ञा गर्नबाहेक जनजीवनलाई सहयोग पुग्ने राहतको कार्यक्रम ल्याउन सकेको छैन ।

सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नुपर्छ । संविधानको मौलिक हकको दफामा रहेका ‘स्वास्थ्यको हक’ र ‘समानताको हक’ को यो संवेदनशील घडीमा प्रभावकारी कार्यान्वयन गर्नु राज्य संयन्त्रहरूको दायित्व हो । संविधानले आधारभूत स्वास्थ्य सेवामाथि नागरिकको निःशुल्क पहुँचको पनि व्यवस्था गरेको छ । संक्रामक रोगको निःशुल्क उपचार गर्नुपर्नेसम्बन्धी कानुनी प्रावधानहरू छन् । संविधान र कानुनभन्दा ठूलो मानवीय दायित्व त छँदै छ । तर अवस्था फरक छ । अस्पतालमा बेड, अक्सिजन र आवश्यक औषधिको अभाव देखिएको छ । अक्सिजन आपूर्तिमा पन्ध्र मिनेट मात्र समस्या हुँदा एउटै अस्पतालका चार जनाको एउटै समयमा मृत्यु हुनुजस्तो कहालीलाग्दो अवस्था हामीले भोगिरहेका छौं । एम्बुलेन्स र हेलिकप्टरले जथाभावी भाडा असुलेका छन् । स्वास्थ्य सामग्रीको कालोबजारी, खरिदमा कमिसनका समाचारहरू पनि सार्वजनिक भैरहेका छन् ।

महामारीका बेला यस्ता बेथिति र बदनियत टुलुटुलु हेरेर नेपाली पत्रकारिता क्षेत्र बस्न सक्दैन । पत्रकारिता क्षेत्रले यस्ता दुष्प्रवृत्तिलाई निरन्तर उजागर गर्दै राज्यलाई गम्भीर र संवेदनशील बनाउन हरसम्भव प्रयास गरिरहेकै छ । यो भूमिका निर्वाह गर्दै गर्दा सही तथा तथ्यपरक सूचना सम्प्रेषण होस् भनेर पत्रकारिता क्षेत्र आचारसंहिताको बुँदा ११ ले भनेझैं गरेर संवेदनशील भइरहन पनि जरुरी छ । सूचना नै नागरिकको एक मात्र सहारा बनेको यो समयमा सूचना गलत भयो अथवा पुगेन भने अर्को समस्या निम्तिने जोखिम हुन्छ । कोरोनाबाट कसरी जोगिने ? कोरोनासँगको लडाइँका सन्दर्भमा हाम्रो समाज, देश र विश्वभर कस्तो तयारी भैरहेको छ ? कोरोनाले सबै ठप्प बनाएको अवस्थामा राज्य संयन्त्रहरूले के काम गरिरहेका छन् ? कोरोनापछि यहाँको अर्थतन्त्र चलायमान बनाउने राज्यको नीति के छ ? शिक्षा क्षेत्र के होला ? कृषि उत्पादनले बजार कसरी पाउला ? उद्योगधन्दाको अवस्था के होला ? साना–ठूला लगानीहरूको सुरक्षा कसरी गर्ने तयारीमा छ राज्य ? व्यवसाय कर्जाको व्यवस्थापन कसरी गर्ने ? यी यावत् सवाल यति बेला आम मानिसका मनमा उब्जिरहेका छन्, जसबारे सही सूचना प्रवाह हुन नसके सूचनाका भोका मानिसहरूमा छटपटी बढ्नेछ र त्यसको प्रतिक्रिया अनपेक्षित पनि हुन सक्छ । सूचना पाउनु नागरिकको संवैधानिक हक हो भन्ने कसैले बिर्सन मिल्दैन ।

तर, कोरोनाबारे सही सूचना निर्माण गर्ने राज्य पक्ष मानौं आराम गरिरहेको छ । स्वास्थ्यबाहेकका मन्त्रालयका गतिविधिबारे कसैलाई जानकारी छैन । नेतृत्व सत्ताको सुरक्षा र अवसरको प्रतीक्षामा केन्द्रित छ । पत्रकारहरूलाई प्रोत्साहन गर्ने योजना बनाउनु राज्यको प्राथमिकतामा देखिँदैन । ‘फ्रन्टलाइनर’ नै नभनिरहेको अवस्थामा केही विशेष योजनाको अपेक्षा गर्न पनि गाह्रो छ । अर्कातर्फ सञ्चारमाध्यमहरू आफैं बन्द हुने, बन्द नभएकाले पनि पत्रकारहरूलाई निष्कासन गर्ने अवस्था आउने खतरा छ । यद्यपि पत्रकार महासंघले पटकपटक आग्रह गरिरहेको छ— यो संकटको समयमा कोही सञ्चारकर्मीे निष्कासन नहोऊन्, सेवा सुविधामा कटौती नहोस् र उनीहरूको स्वास्थ्यप्रति सञ्चारगृहहरू संवेदनशील बनून् । यस्तो आग्रह सुनिएन भने नागरिकसम्म सूचना प्रवाह गर्ने प्रक्रिया कमजोर बन्दै जान्छ, राज्यलाई गम्भीर बन्नका लागि निरन्तर खबरदारी गर्ने एउटा अभियान कमजोर बन्दै जान्छ ।

यो भनेको सूचना संकटको अवस्था हो । यस्तो अवस्था नआओस् र आवश्यक सूचनाको निरन्तर प्रवाहका लागि सूचना उत्पादन हुनेदेखि नागरिकसम्म पुर्‍याउने प्रक्रियाको सुनिश्चितता होस् भन्नेसम्ममा यति बेला गम्भीर चिन्तन र बहस जरुरी छ । यसका लागि राज्यको हरेक संरचनाले कोरोनाकाल र योभन्दा पछिको अवस्थाको विश्लेषण गरेर नीति/रणनीति बनाउनु आवश्यक हुन्छ । पत्रकारको सुरक्षा र उत्साहपूर्ण सक्रियताका लागि सञ्चारगृह गम्भीर बन्नुपर्छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?