चारैतिर चीनको त्रिशूल

गत वर्ष सिमाना विवादमा गहिरो खिचातानी भएपछि भारतले चीनबाट आयात गर्ने वस्तुहरूमा झन्डै प्रतिबन्ध नै लगाए पनि अहिलेको कोरोना महामारीमा चीनबाटै अक्सिजन मेसिनहरूसँगै अरू सामान व्यापक रूपमा ल्याउनुपर्‍यो ।
महेन्द्र पी‍. लामा

त्रिशूलका तीन तीखा काँटाहरू एउटा सिंगो फलामको डन्डामा थामिएका हुन्छन् । यी तीखा काँटाहरूलाई जस्तै अर्थ दिए पनि हुन्छ । कसैले धार्मिक, कसैले सांस्कृतिक अनि कसैले कुनै संकेत वा आआफ्नै प्रतीकचिह्नका रूपमा । अतीत–वर्तमान–भविष्यसँगसँगै, कसैले त्रिशूललाई सृष्टि–प्रयोग–ध्वंसका रूपमा अघि राख्छन् भने, कसैले यी तीन तीखा काँटाहरूलाई शरीर–मन–आत्माको प्रतीक मान्छन् ।

चारैतिर चीनको त्रिशूल

छिमेकी राष्ट्र चीनले यही त्रिशूललाई आर्थिक–राजनीतिक–सामाजिक रूपमा अपनाएर घतलाग्दो ढंगमा हाम्रै वरिपरि दक्षिण–दक्षिणपूर्व–मध्यएसियाका राष्ट्रहरूमा व्यापक एवं प्रभावशाली रूपमा प्रयोगमा ल्याएको छ । ठीक पन्ध्र वर्षअघि, सन् २००६ मा काठमाडौंबाट प्रकाशित ‘हिमाल साउथ एसिया’ पत्रिकामा हामीले प्रथम पटक चीनको त्रिशूल यन्त्र–तन्त्र–मन्त्रले कसरी दक्षिण एसियाका राष्ट्रहरूलाई प्रभावित पारेर मिच्दै लाँदै छ भन्ने सत्य–तथ्यलाई अघि राख्यौं । कतिले उत्सुकता जाहेर गर्दै अझै गहिराइमा बुझ्ने प्रयास गरे । तर भारत, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सका सरकारहरू प्रायः आँखा चिम्लिएरै बसे । हामीले चाहिँ चीनलाई किन अमेरिकी र पश्चिमी राष्ट्रहरूको चस्मा लगाएर उनीहरूकै परिप्रेक्ष्यमा मात्रै हेर्ने भन्ने कुरालाई चुनौती दिएका थियौं । छिमेकी राष्ट्र भएकाले चीनलाई हामीले आफ्नै आँखाले हेर्नुपर्छ, आफ्नै नाकले सुँघ्नुपर्छ र आफ्नै तरिकाले खेलाउनु र पेल्नुपर्छ भन्ने हाम्रो अडान थियो । नभन्दै आज चीन त्यही त्रिशूल चलाएर दक्षिण एसियाका सबै राष्ट्रमा विक्षिप्त हुँदा, सरकारहरू हस्याङफस्याङ गर्न लागे, अतालिनेसमेत भए । भारत त झन् सम्बन्ध नै तोड्ने मार्गतिर पनि अघि बढ्दै छ ।

चीनको त्रिशूल के हो त ? नेपाल, भारतसहित सबै राष्ट्र यसमा कसरी फसे त ? त्रिशूलको रापमा परेका राष्ट्रहरू निस्कन सक्लान् के ? अमेरिका–युरोप–जापानले भारतेली–बंगोपसागर (इन्डो–प्यासिफिक) को नाममा र भारत–अमेरिका–जापान–अस्ट्रेलियाले ‘क्वाड’ भन्ने व्यवस्था अन्तर्गत कसरी त्रिशूललाई बोधो–भुत्ते बनाउने भनेर संगठित प्रयास गर्दै छन् ? यी सबै प्रश्न कोरोना महामारीको प्रकोपझैं लटरम्मै फल्दै छन् ।

चीनको त्रिशूल यन्त्र–तन्त्र–मन्त्रको प्रयोगमा तीन तीखा काँटाहरू नै स्थानीय, राष्ट्रिय र क्षेत्रीय प्रवेश हुन् । अर्थात्, चीनले भारतमा झैं नेपाल, पाकिस्तान, अफगानिस्तान र दक्षिणपूर्वका राष्ट्रहरू बर्मा, लाओस, कम्बोडिया आदिमा पस्ने तीन ढोका–द्वार खोलेको छ । यी तीनै द्वारबाट चीन सर्प–मलसाँप्रो–घडियालझैं सलल प्रवेश गरेर, भित्रभित्रै खेल्न सक्ने भएको छ । यस खेलमा चीनले आर्थिक अनुदान, बाटोघाटो–रेल–सञ्चार, प्रौद्योगिकीले भरपूर पब्जी–टिकटक–वीच्याट–हुवावे–चियामी, व्यापार–वाणिज्य, पुँजी, निवेश, पर्यटन, ऋण, अध्ययन सुविधा, राजनीति र सैन्य सुविधासमेतलाई यथेष्ट मात्रा–संख्यामा चलाउँदै आएको छ ।

त्रिशूलको पहिलो काँटा स्थानीय प्रवेश हो । अफगानिस्तानको वाखान घाटी, भारतका नथुला (सिक्किम) र सिप्किला (हिमाचल प्रदेश), पाकिस्तानको खुन्जेराब घाटी अनि नेपालका तातोपानी, रसुवागढी, यारी नाका र किमाथांका आदि हुँदै अति नै स्थानीय ढंगमा चीनले यी राष्ट्रहरूमा प्रवेश गर्‍यो । व्यापार–वाणिज्य गर्दै, सस्तो दाममा सस्तै गुण भएका सामानहरू पठाउँदै स्थानीय मानिस–समुदायसँग आन्द्रा गाँस्यो । बाटाघाटा–पुल–रेलको लाइन बनायो । यस्ता ससाना घाटीमार्फत व्यापार गर्दै राष्ट्रका कुनाकुनामा पस्यो । नथुलामा मात्रै भारु ६५–७० करोडको व्यापार, तातोपानीमा अझै व्यापक र पाकिस्तानको खुन्जेराब घाटीमा त भारु ६,२०० करोडको निर्यात–आयात ।

आँखालाई यो प्रवेश स्थानीय, तर ठूूलो तस्बिर हेर्‍यौं भने अचम्मै लाग्ने कुराहरू अघि आउँछन् । यी सबै घाटीलाई वास्तवमा चीनपट्टिको खुला एवं विशाल सडक मार्ग–रेलगाडी आदिसँग जोडिँदै छ । भारत र नेपालका नथुला र तातोपानीलाई तिब्बत राजमार्ग एवं सिगात्से रेलवे लाइनसँग टाँसिदिएको छ जो सीधै बेइजिङ–सांघाई आदि पुग्छ । यसको सामरिक पक्ष केलाइनसक्नुको छ । पाकिस्तानको खुन्जेराब घाटीलाई काराकोरम राजमार्गसँग जोडेर चीनका दक्षिण–पश्चिमी प्रान्तहरू सिचियाङ, तिब्बत, सिचुवान, युनान हुँदै फेरि बेइजिङ र घाङजोङसम्म पनि पुर्‍याइएको छ । त्यति मात्रै कहाँ हो र, बर्मा–चीन सीमानाका मुसे–रुइलीमार्फत व्यापार मात्रै भारु ४३ हजार करोड पुग्यो ! चीनले यो व्यापारमा बर्मालाई अमेरिकी डलरमा विनिमय नगरेर चिनियाँ पैसा युवान चलाउन प्रोत्साहन दिँदै आएको छ । अर्थात्, अबोप्रान्त चीन सबै छिमेकी राष्ट्रमा युवानकै प्रभुत्व बढाउनपट्टि लाग्नेछ । भोलि गएर नेपाल त के, पाकिस्तानमा समेत चिनियाँ युवानको खेल बढ्नेछ । चीनले यो गर्न सक्छ किनकि अमेरिकाको डलर, जापानको येन, ब्रिटेनको पाउन्ड र युरोपको युरोझैं चीनको युवानलाई पनि सहजै विनिमय गर्न सकिने अन्तर्राष्ट्रिय मुद्राको दर्जा दिइएको छ ।

त्रिशूलको दोस्रो काँटा राष्ट्रिय स्तरको खेल हो । यसअन्तर्गत चीनले सीधै र परोक्ष रूपमा दिल्ली, काठमाडौं, कोलम्बो, ढाका र मालेसँग कुराकानी गर्छ । ठूलठूलै कुराहरू हुन्छन्; कसरी शान्ति, मैत्रीभाव एवं स्थिरता बढाउने, कहाँ–कसरी र किन आर्थिक–सामाजिक–पर्यावरण क्षेत्रमा सहयोग गर्ने र कसरी ठूलठूला परियोजनाहरूलाई सफलीभूत तुल्याउने । लौ हेर्नोस्, यसको नतिजा के भयो ! हिजोअस्ति आएको चीनले दक्षिण एसियाको बजार व्यवस्था नै कब्जा गर्‍यो । सन् १९९० मा सम्पूर्ण दक्षिण एसियासँगको चीनको व्यापार केवल ११८ करोड डलर थियो, जो सन् २००० मा ५५६ करोड डलर पुग्यो भने सन् २०१८ मा १४,०४३ करोड । अर्थात्, बंगलादेशको विश्व व्यापारको १५ प्रतिशत, माल्दिभ्सको १५ प्रतिशत, नेपालको १३ प्रतिशत, पाकिस्तानको २४ प्रतिशत, श्रीलंकाको १९ प्रतिशत र भारतको विश्व व्यापारको १५ प्रतिशत नै चीनले कब्जा गर्‍यो । यो सब सन् १९९० मा नगण्य थियो । यसको अर्थ हो— यी सबै राष्ट्र चीनमाथि अति गहिरो रूपमा निर्भर भए । हो पनि त, गत वर्ष सिमाना विवादमा गहिरो खिचातानी भएपछि भारतले चीनबाट आयात गर्ने वस्तुहरूमा झन्डै प्रतिबन्ध नै लगाए पनि अहिलेको कोरोना महामारीमा चीनबाटै अक्सिजन मेसिनहरूसँगै अरू सामान व्यापक रूपमा ल्याउनुपर्‍यो । भारतले सिचुवान–चेन्दुबाट मालवाहक हवाइजहाज आउन दिन चीनलाई विशेष बिन्तीसम्म गर्नुपर्‍यो । यसको अर्थ हो, चीनमाथिको भारतको निर्भरता समाप्त गर्ने कुरो त धेरै टाढा, कमसम्म गर्न पनि नसकिने भयो । चीनको त्रिशूल यन्त्र–तन्त्रको यो एउटा ठूलो सफलता हो ।

अर्कातिर, त्रिशूलको यही दोस्रो काँटा चलाउँदै चीनले भव्य रूपमा यी राष्ट्रहरूमा विभिन्न संरचना–ढाँचाहरूको निर्माण गर्न थाल्यो । पाकिस्तानमा ६५ बिलियन डलरको चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपेक), श्रीलंकामा हम्बनटोटा बन्दरगाह र कोलम्बो बन्दरगाह नगर, बंगलादेशमा पायरा बिजुली कारखाना र रेलवे लाइन, मालदिभ्समा मार्ग–पुल–हवाइअड्डा र नेपालमा पोखरा हवाइअड्डा, बिजुली सञ्चारका लाइन, किमाथांका–धनकुटा मार्ग आदि संरचनाहरूले चीनलाई प्रथम पटक गाउँ–समुदाय–सहर–सागर–नदी–जंगल सबै ठाउँमा भित्रै पुर्‍याइदिए । यति मात्रै होइन, चीनले राजनीतिक नेता–दल, राष्ट्रको नीति निर्धारण गर्ने तल–माथिका अधिकारीहरू, ठूला निर्णय–फैसला गर्ने संस्थाहरू, व्यापार–वाणिज्यका खेलाडीहरू र नागरिक समाजका अंग–प्रत्यंगसम्ममा आफ्नो प्रभाव–प्रभुत्व थोपर्‍यो ।

कारण, यस्ता भव्य कार्यहरू गर्दा सबैलाई खुसी नै राख्नुपर्ने भयो र भ्रष्टाचारका नयाँ मूलहरू पनि फुट्ने नै भए । चीनको एउटा खुबी के हो भने, राजनीतिक दल र नेताहरूलाई अँगालेरै काम गर्छ । भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका कैयौं भेटघाट, अति आत्मीयताको आदान–प्रदान कसले भुल्न सक्छ र ? उता पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज सरिफले आर्थिक कोरिडोरका प्रमुख परियोजनाहरू आफ्नै सिन्ध र पन्जाबमा थुपारेका थिए भने, प्रधानमन्त्री बन्नासाथ इमरान खानले आफ्नै क्षेत्र खाइबर पख्तुनख्वामा रासकाई विशेष आर्थिक क्षेत्र घिसारेरै ल्याए । हिजोसम्म हुँदैन भन्ने चीनले मुस्कुराउँदै–रमाउँदै यो परियोजना इमरानको आँगनमै पुर्‍याइदियो । तल श्रीलंकामा बन्दै गरेको कोलम्बो बन्दरगाह नगरको भयानक विरोध हुँदाहुँदै राष्ट्रपतिमा महिन्दा राजपाक्ष आउनासाथ फेरि द्रुत गतिमा काम अघि बढ्न थाल्यो ।

अर्कापट्टि, यी सबै परियोजनाले यी राष्ट्रहरूलाई चीनमाथि अग्घोरै निर्भर मात्रै नबनाएर, निर्माण गर्दा दिएको ऋण समयमा चुक्ता नगरेका खण्डमा परियोजना नै आफ्नै नियन्त्रणमा राख्दै झोला भर्ने काम पनि चीनले गर्दै आएको छ । धेरै राष्ट्र ऋणमा पनि डुबेका छन् । यी परियोजनाहरू बनाउँदा चीनले सामुद्रिक मार्गहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास अति नै खुला रूपमा अघि बढाउँछ । बंगोपसागर, हिन्द महासागर र प्रशान्त महासागरमा आफ्नो व्यापार–वाणिज्य र तेल–ग्यासका जहाजहरूलाई किञ्चित् बाधा नपुगोस् भनेर नै चीनले हम्बनटोटा, ग्वादर र अफ्रिकी राष्ट्रहरूका बन्दरगाहहरूमा भव्य रूपमा पुँजी निवेश गरेको र आर्थिक अनुदान दिएको छ ।

चीनको त्रिशूलको तेस्रो काँटा हो— क्षेत्रीय प्रवेश । अर्थात्, क्षेत्रलाई नै कसरी आफ्नो नियन्त्रणमा ल्याउने । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (दक्षेस) को सदस्यता प्राप्त गर्न चीन लागिपरेको छ । यस क्षेत्रमा आफ्नो प्रभुत्व जमाइराख्न भारत चीनलाई सदस्यता दिनै मान्दैन । अहिले जब चीन यस क्षेत्रमा दक्षेसको सदस्य नभई एउटा प्रमुख खेलाडी भएपछि भारत अन्योलमा पर्‍यो । दक्षेसमा आफू पनि केही नगर्ने, अरूलाई पनि गर्नै नदिने भारतको राजनीतिक प्रवृत्तिबाट वाक्कै भएर अरू सबै राष्ट्र चीन र बर्मालाई सदस्य बनाउन इच्छुक छन् । अर्कापट्टि यो पनि हुन सक्छ कि, चीन सदस्य भएपछि दक्षेसले विकासको नयाँ आकाश छुन्छ र भारतलाई गतिलै प्रतिस्पर्धा दिन्छ । वा, दक्षेस नै स्वाहा भएर जानेछ, यो प्रतिस्पर्धाले गर्दा । उतापट्टि चीनले जस्तो प्रकारले दक्षिणपूर्वी एसियाको यस्तै संगठन (आसियान) लाई अघि बढायो र आफ्नो भागीदारी अझै गहिरो बनायो, त्यो देख्दा लाग्छ— दक्षेसमा पनि चीन र बर्मालाई सदस्यता दिएकै फाइदा छ ।

चीनको यो त्रिशूल नीतिले चार–पाँचवटा तथ्य–तत्त्व–परिणाम अघि ल्यायो । प्रथमतः, भारतलाई आफ्ना छरछिमेकी राष्ट्रहरूसँग मिलेरै काम गर्ने स्थितिमा पुर्‍यायो । हामीले जे भन्छौं त्यही मान्नुपर्छ भन्ने एउटा पारम्परिक संस्कृति भारतमा जो हावी थियो, त्यो खर्लप्पै घटेर गयो । यसोसले आज भारत प्रतिस्पर्धा गर्नपट्टि लागेको छ, शत्रुतादेखि टाढा । छिमेकी राष्ट्रहरूमा चीनभन्दा भारत चाँडो पुग्नु नै त्रिशूल नीति कम प्रभावशाली हुनु हो ।

दोस्रो, नेपाल, श्रीलंका, भोटाङ, बंगलादेश र माल्दिभ्सले कसरी भारत र चीनलाई सन्तुलन गरेर राख्ने ? अर्को चाखलाग्दो घटनाक्रम सुरु भयो । एउटा ठुस्किँदा अर्कोलाई मुस्कुराउने कसरी बनाउनु, र भारत रिसले चूर हुँदा चीनलाई डाँडोपारि नै कसरी लुकाइराख्ने ? असाध्यै गाह्रो काम हो यो, चपाइनसक्ने गरी चाम्रो निर्णय हो यो । भारतसँग मीठो बोल्दा चीनलाई तीतो लाग्ने स्थिति हो यो । अझै, चीनले छिमेकी राष्ट्रको राजनीतिमै आफूलाई घोलेको खण्डमा के गर्ने ? दूतावास पनि राजनीतिक अभिनय गर्दै, नाटकलाई चूडान्ततिर पुर्‍याउनपट्टि लागे, कुन देशलाई कसरी सम्हाल्ने ?

तेस्रो, चीन र भारतको हानथाप र ईख–सेखी स्थितिको फाइदा उठाएर, आफूलाई नै चीनले थिच्न र मिच्न लागेको स्थितिबाट बाँच्नलाई अमेरिकाले भारतसमेत यस क्षेत्रका अन्य राष्ट्रलाई कसरी एकत्रित गर्ने ? त्यति टाढाको राष्ट्र अमेरिकाको यस क्षेत्रमा के चासो ? जब चीनले अमेरिकाभित्रै पसी अड्डा जमाउन थाल्यो र अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई नै चुनौती दिन थाल्यो, तब नै अमेरिकाले ठाउँठाउँमा, क्षेत्रक्षेत्रमा आफ्नै झुन्ड बनाउन लाग्यो, चीनलाई उसकै द्वार–ढोकामा रोक्न भनी । र नै इन्डो–प्यासिफिक र क्वाड पनि ।

चौथो, चीनले निर्भर त बनाउँछ आफूमाथि, तर निर्भरताको एउटा विशेष उचाइमा पुगेपछि त्यस राष्ट्रलाई राजनीति र सार्वभौमिकतामाथि पनि निर्भर बनाउने कोसिस गर्छ । भारत र चीनको अहिलेको विवाद यही हो । भारतले किन सहने ?

अनि पाँचौं, चीनलाई सबैभन्दा ठूलो भय मनको बाघको हो, वनको बाघभन्दा पनि । कम्युनिस्ट पार्टीको एकतन्त्री शासनलाई यदि कसैले हल्लाउन सक्छ भने चिनियाँ जनता र समुदायले नै सक्छन् । र नै चीनले बाहिर देखाउने बल र तुजुकले आफ्नै भित्रकाहरूलाई मिच्छ ।

[email protected]

प्रकाशित : जेष्ठ १८, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?