किन लेखिँदैन मुद्दाकेन्द्रित बजेट ?- विचार - कान्तिपुर समाचार

किन लेखिँदैन मुद्दाकेन्द्रित बजेट ?

वैध अर्थतन्त्रलाई निल्नै आँटेको अवैध छाया अर्थतन्त्र, सार्वजनिक खरिदमा हावी ‘क्रोनिइजम’ र भ्रष्टाचार, भयावह बनिसकेको व्यापार घाटा, पूर्णतः मेटिएको दलाली–राजनीति लक्ष्मणरेखालाई देखेको नदेख्यै गरेर लेखिने बजेटले मुलुकलाई अगाडि बढाउन सक्दैन ।
अच्युत वाग्ले

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि अध्यादेशमार्फत ल्याइएको पट्यारलाग्दो बजेट वाचन गरे । चालु आर्थिक वर्ष समाप्त हुन जम्मा डेढ महिना मात्र बाँकी हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित ३ सय ५२ अर्ब रुपैयाँको पुँजीगत बजेटमध्ये जम्मा ३७.७४ प्रतिशत मात्र खर्च भएको छ ।

यसभित्र पनि संघीय सरकारले प्रादेशिक र स्थानीय सरकारहरूलाई विभिन्न शीर्षकमा हस्तान्तरण गरेको तर खर्च नभएर त्यहाँको सञ्चित कोषमा थन्किएर बसेको रकम समावेश छ । यसरी हेर्दा, विगत दस महिनामा संघीय सरकारको वास्तविक पुँजीगत खर्च करिब २५ प्रतिशत मात्र भएको देखिन्छ । कोभिड–१९ का कारण गर्नुपरेको लामो लकडाउन अदिलाई देखाएर स्रोत प्रशोचनको यो दुर्दशालाई स्वाभाविक देखाउनका लागि कुनै राजनीतिक तर्क गर्न सकिएला, तर यथार्थ के हो भने, वास्तविक पुँजीगत खर्च लामो समयदेखि ३५ प्रतिशत विरलै नाघेको छ । खर्चको लक्ष्य भेट्टाउन र त्यही बहानामा सार्वजनिक ओहदामा बस्नेहरूले ठेकेदारहरूको मिलेमतोमा भ्रष्टाचार नै गर्ने उद्देश्यका साथ आर्थिक वर्षको अन्त्यमा विकास बजेट ‘असारे विकास’ मा असीमित हुरेलधुरेल हुन्छ । यो प्रस्ट अनियमितताको आँकडासमेत जोड्दा पनि विगत दस वर्षको औसत पुँजीगत खर्च मुस्किलले विनियोजनको ६७.५ प्रतिशत पुगेको अर्थ मन्त्रालयद्वारा प्रकाशित ‘आर्थिक सर्वेक्षण’ हरूले नै देखाएका छन् ।

पुरानैको चाङ

अर्थमन्त्री पौडेलले वाचन गरेको तीन घण्टा लामो बजेट भाषणमा करिब ८० प्रतिशत अंश हालैका वर्षहरूका बजेटबाट ठ्याक्कै ‘कपी–पेस्ट’ गरिएको छ । अरू त अरू, काठमाडौंमा तीन सय बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल (प्रदेशहरूमा पनि त्यस्तै पचास शय्याका अस्पताल) बनाउने प्रस्ताव शब्दशः पोहोर प्रस्तुत बजेटबाट झिकेर ल्याइएको छ । तर, विगत एक वर्षमा यसको कुनै काम अघि बढेको छैन । यो कसको कमजोरीले भयो ? कतै समीक्षा भएको छैन । यो हाम्रो बजेट लेखनमा झाँगिएको कुसंस्कारको एउटा प्रतिनिधि उदाहरण हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, भौतिक पूर्वाधार आदि सबै क्षेत्रमा यस्तै वर्षौं पुराना सयौं योजना हरेक नयाँ बजेटमा पुनः सारिन्छन् । यस पटक पनि उनै कतिपय दशक पुरना कार्यक्रमहरूसमेत जस्ताको तस्तै वा केही शब्द फेरेर चाङ लगाइएका छन् ।

मूल प्रश्न के हो भने, एक पटक प्रस्तावित आयोजनाहरू कार्यान्वयन हुन नसकेपछि फेरि किन बजेटमा समावेश हुन्छन् ? एक वा दुई वर्षको अनुभवपछि, तिनै कार्यक्रममा विनियोजित रकम खर्च हुन र आयोजना कार्यान्वयन हुन नसक्नुका कारण पत्ता लगाएर नयाँ आर्थिक वर्षका लागि ताजा र क्रियान्वयन सम्भव प्रस्तावना बजेटमा किन लेखिँदैन ? अथवा, अर्थतन्त्रका वास्तविक र ताजा आर्थिक मुद्दा वा समस्यालाई सीधै सम्बोधन गर्ने गरी हरेक वर्ष ताजा र अर्थतन्त्रको वास्तविकताअनुरूपको बजेट लेख्न सुरु गर्ने अभ्यास किन उद्घाटन नै हुन सकेको छैन ? उनै पुराना कुराहरूको फेहरिस्त दोहोर्‍याएर अर्थहीन लामो बजेट बनाउने र पढ्ने दीर्घरोगबाट नेपाल किन मुक्त हुन सकिरहेको छैन ? (अर्को प्रश्न पनि सोध्न सकिन्छ— यदि भारत, चीन वा अमेरिकाजस्ता ठूला मुलुकका अर्थमन्त्रीहरूले पनि नेपालकै अर्थमन्त्रीको शैलीमा बजेट लेखेर प्रस्तुत गरे भने त्यसलाई वाचन गरिसक्न तिनहरूलाई कति दिन लाग्ला ?)

बजेट मूलभूत रूपले राजनीतिक दस्तावेज नै हो । राजनीतिले नै मुलुकले भोगेका गम्भीरतम आर्थिक–सामाजिक प्राथमिकताहरूलाई इमानदारीपूर्वक सम्बोधन गर्ने चेष्टा गर्नुपर्छ । र, त्यो राजनीतिक चेत मुलुकले अवलम्बन गरेको संवैधानिक प्रणालीसम्मत र त्यसलाई सुदृढ गर्ने अभिप्रायप्रेरित हुनुपर्छ । यसरी हेर्दा प्रस्तुत बजेटले कोभिड–१९ को महामारीले आक्रान्त मुलुकका नागरिकको जीवनरक्षा एवम् सीमान्तीकृतहरूको जीविकोपार्जनको रक्षा पहिलो प्राथमिकता राख्नु अपरिहार्य थियो । त्यस्तै, मुलुकले अवलम्बन गरेको संघीय शासन प्रणालीलाई क्रियाशील र सकेसम्म सुदृढ बनाएर अहिले मुलुकले भोगेका आकस्मिक र बल्झिएका दुवै प्रकृतिका आर्थिक समस्याहरूको समाधानको मार्ग अवलम्बन गर्नु आवश्यक थियो ।

तत्कालीन प्राथमिकताको हकमा, कोभिड–१९ विरुद्धको खोप खरिदका लागि साढे २६ अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने एउटा निर्णयबाहेक महामारीकेन्द्रित योजनाहरू बजेटमा परेनन् । महामारीका कारण पूर्णतः बन्द भएका करिब ४ लाख साना, घरेलु तथा स्वरोजगारमूलक उद्योगहरू खोल्ने; दैनिक आम्दानी गुमाएर सडकमै भोकले पिल्सिएकाहरूलाई बचाउने; मरणासन्न भएका पर्यटन, शिक्षा क्षेत्र आदिलाई पुनर्जीवन दिने कुनै कार्यक्रम बजेटमा परेनन् । जति परेका छन्, तिनको पनि कार्यान्वयन गर्ने सार्वजनिक संस्थागत संयन्त्र र तिनको प्रभावकारिताको सर्वत्र अभाव छ । त्यसलाई सम्बोधन गर्ने चासो पछिल्ला बजेट वक्तव्यहरूले नदिएका कारण हरेक वर्ष घोषणा हुने राहत, सहुलियत र सुविधाका अनेकौं कार्यक्रमहरू यथार्थमा प्रायः उपलब्धिशून्य हुने गरेका छन् । कोभिड–१९ पीडितका हकमा पनि त्यही भएको छ ।

राजनीतिक बेइमानी

वर्तमान राजनीतिक परिस्थितिका प्रकाशमा, संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको चुनावको योजना उल्ट्याएन भने पनि यो बजेटको अधिकतम आयु पाँच महिना हो । अदालतले संसद् पुनःस्थापना गर्‍यो भने दुई–तीन महिनामै अर्को सरकार बन्ने सम्भावना जिउँदो छ । जुन बाटोबाट अर्को सरकार बने पनि त्यसले अर्को बजेट ल्याउँछ नै । यति सामान्य यथार्थमाथि पनि बलमिच्याइँ गरेर सरकारले पूरै एक वर्षका लागि अनगिन्ती कार्यक्रम राखेर ‘पपुलिस्ट’ बजेट ल्याउने निरर्थक कसरत गर्‍यो । धेरैले यसलाई चुनावकेन्द्रित बजेट भनेका छन्, तर यसले त प्रस्तावित संघीय संसद्को चुनाव, आगामी आर्थिक वर्षमा गर्नुपर्ने स्थानीय तहको चुनाव र त्यसपछि हुने सरकार परिवर्तनलाई वास्तै नगरी ओलीकै अकण्टक शासनको परिकल्पनामा पूर्ण बजेट प्रस्तुत गरेको छ । यसतर्फ सायद कमैको ध्यान गएको छ ।

राज्यले सोझै सम्बोधन गर्नुपर्ने मुलुकका तात्कालिक आर्थिक प्राथमिकताहरू प्रस्ट छन् । कोभिड–१९ महामारीबाट मुलुकको सामाजिक–आर्थिक जीवन थला परेको छ । खोपका लागि बजेट छुट्याएर मात्र त्यो सहजै र शीघ्रै नेपाललाई प्राप्त हुने अवस्था छैन । त्यसले विश्वमञ्चमा नेपालको हैसियत र राज्यको कूटनीतिक क्षमताको थप परीक्षण गर्नेछ । तेस्रो लहरको भय कायम रहेका बेला स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र शासकीय प्रभावकारिता विस्तार गर्न यस पटक पनि विशेष ध्यान दिनबाट बजेट चुकेको छ ।

विदेशी र स्वदेशी दुवै रोजगारीका अवसरहरू गुमेका नेपालीहरूलाई दिगो र जीवन धान्न पुग्ने आयमूलक रोजगारी राज्यले व्यवस्था गर्नुपर्ने हो । सबै तहका विद्यार्थीले मूलतः डिजिटल पूर्वाधार र वैकल्पिक अध्ययन–अध्यापन पद्धतिको अभावमा दुई शैक्षिक सत्र खेर फालिसकेका छन् । कृषिको स्वदेशी आपूर्ति सञ्जाल भत्किएको छ । नेपाली कृषकका उत्पादन बारी र सडकमा कुहिएका छन् । तर विगत दस महिनामा ३ खर्ब रुपैयाँ बराबरका कृषि, पशु र दुग्धजन्य खाद्यवस्तुहरूको आयात भएको छ । साढे १२ खर्बको आयात हुँदा साढे ११ खर्बको व्यापार घाटा छ । विभिन्न मुलुकमा नेपाली जनताको करबाट चलिरहेका ३६ वटा दूतावासहरूको आर्थिक कूटनीति सञ्चालनको क्षमतालाई खोप कूटनीतिमा मुलुकले भोगेको चरम असफलताले नांगेझार पारेको छ ।

सारमा, नेपालको बजेट लेखनमा अर्थशास्त्रीय व्यावसायिक (प्रोफेसनल) क्षमता र इमानदारीको खासै सार्थक भूमिका देखिने गरेको छैन । परिणाम, अहिले प्रस्तुत बजेट मात्रै होइन, दशकौं अघिदेखिका बजेटको नियत र नियति समान रूपले जनचासोविमुख, कर्मकाण्डी र अपेक्षित परिणामविहीन रहँदै आएको छ । यस पटक यस्तो अव्यावसायिकताले अलि बढी नै सीमा नाघेको छ । यसरी राजनीतिक र व्यावसायिक इमानदारी दुवै अवयव शून्य रहेका बजेटका लक्ष्य, अंक र आँकडाहरूमाथि टिप्पणी वा समीक्षा गर्नु पनि निरर्थक हुन्छ । किनभने ती अंकहरू शासकले मनोमानी ढंगले तोडमरोड गरेर प्रस्तुत गर्छन् । त्यसमाथि केही चाटुकार अर्थशास्त्रीहरूले बौद्धिक छाप लगाइदिन्छन् ।

गिजोलिएका तथ्यांक

यस वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४२ खर्ब ६६ अर्ब रुपैयाँ अर्थात् पुग–नपुग ४० अर्ब अमेरिकी डलर पुगेको अनुमान अर्थ मन्त्रालयले गरेछ (हेर्नुस्, आर्थिक सर्वेक्षण २०७७/७८, कार्यकारी सारांश, बुँदा नं. ८) । विश्व बैंकको तथ्यांकले नेपालको जीडीपी सन् २०१७ मा २५.१८ अर्ब डलर, २०१८ मा २९.१७ अर्ब डलर र २०१९ मा ३०.६४ अर्ब डलर पुगेको देखाएको छ । तर अर्थमन्त्री पोडेलले एकै वर्षमा ९ अर्ब डलरभन्दा धेरैको बढोत्तरी भएको एकातर्फ देखाएका छन् भने, अर्कातर्फ उनकै तथ्यांकले अर्थतन्त्र सोही अवधिमा २ प्रतिशतभन्दा बढीले संकुचनमा गएको उल्लेख गरेको छ । कोभिड महामारी र यसको चुनौती विद्यमान रहेका बेला गत वर्ष ७ प्रतिशत र यस वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिको प्रचारमुखी लक्ष्य यो सरकारका बजेटले राखे । गत वर्ष साढे १४ खर्ब रुपैयाँको बजेटको आकार मध्यावधि समीक्षामा पौने २ खर्बले घटाएको आफ्नै अनुभव हुँदाहुँदै अहिले साढे १६ खर्ब रुपैयाँको बजेट अर्थमन्त्रीले प्रस्तुत गरेका छन् । त्यसमा एकतिहाइ स्रोत ऋणबाट पुर्ताल गर्ने प्रस्ताव छ । यसका लागि आवश्यक खर्च प्रभावकारिता, सार्वजनिक खरिदको पारदर्शिता र स्रोत प्रशोचन क्षमता अभिवृद्धिका कुनै पनि कार्ययोजना समावेश गर्ने आवश्यकताको बोध अहिले पनि यो बजेट नामक निबन्ध लेखकहरूले गरेका छैनन् ।

मुख्य कुरा, अहिले नेपाली अर्थतन्त्रलाई उम्कनै नसक्ने गरी गाँज्दै लगेका गम्भीर पक्षहर — वैध अर्थतन्त्रलाई निल्नै आँटेको अवैध छाया अर्थतन्त्र, न्यून सार्वजनिक खर्च क्षमता, सार्वजनिक खरिदमा हावी ‘क्रोनिइजम’ र भ्रष्टाचार, भयावह बनिसकेको व्यापार घाटा, युवा जनशक्तिको अनियन्त्रित पलायन, शून्यको नजिक पुग्न लागेको स्वदेशी औद्योगिक उत्पादकत्व र पूर्णतः मेटिएको दलाली एवं राजनीतिबीचको लक्ष्मणरेखा — लाई देखेको नदेख्यै गरेर लेखिने बजेटले मुलुकलाई अगाडि बढाउन सकेन । सक्दैन । यसमा अर्थमन्त्रीका रूपमा विष्णु पौडेल मात्र अपवाद छैनन् । अव्यावसायिक, समस्याविमुख र कोठे अनुमानमा आधारित पुराना ‘टेम्प्लेट’ माथि बजेट लेखनको यो संस्कारले गम्भीर राष्ट्रिय रोगको रूप धारण गरिसकेको छ । सरकारमा बस्दा त्यही गर्ने र विपक्षमा बस्दा त्यसकै चरम विरोध गर्ने प्रतिक्रियात्मक शैलीभन्दा माथि उठेर वस्तुपरक बजेट लेखनको अभ्यास आरम्भ गर्न सार्थक राष्ट्रिय बहसको आवश्यकता भइसकेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण लुकाउँदा मृत्युको मुखमा

स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगे, गाउँले मान्दैनन्, सामान्य रूघाखोकी भनेर हेलचक्‍य्राइँ गर्दा जोखिम
माधव अर्याल, वीरेन्द्र केसी, हरि गौतम

पाल्पा, अर्घाखाँची, रुकुम पूर्व — केही दिनदेखि ज्वरो आउने, ज्यान दुख्ने भएर उनी घरमै आराम गरिरहेका थिए । पाल्पाको रैनादेवी छहरा–२ सोमादीका ५५ वर्षीय उनलाई कोरोनाको शंकाको परिवार र आफन्तले जचाउन गाउँमै स्वाब दिन आग्रह गरे । तर उनले मानेनन् । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई लुम्बिनी मेडिकल कलेज लगियो ।

पाल्पाको तानसेन–१४, अर्गलीमा आइतबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : माधव/कान्तिपुर

एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ भयो । उपचारले उनको अवस्थामा सुधार नआएपछि परिवारले उनलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए । त्यहाँ लगेको २४ घण्टा नबित्दै उनको मृत्यु भयो ।

‘हामीले समयमै पीसीआर गरेर जे हुन्छ सोहीअनुसार अघि बढ्ने भनेका थियौं,’ सोमादीका वडाध्यक्ष जीवनाथ पोखरेलले भने, ‘हामीले धेरै अनुरोध गर्दा पनि जाँच गर्न मान्नुभएन । अन्ततः रोगले च्याप्यो र मृत्यु नै भयो ।’ सोमादीकै ४९ वर्षीय पुरुषको पनि समयमै उपचार नगर्दा मृत्यु भयो । उनलाई एक सातादेखि ज्वरो र रुघाखोकी थियो । मेडिकलबाट औषधि मगाएर खाँदै घरमै बसेका उनलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मात्र अस्पताल लगिएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्वाब परीक्षण गर्न नमान्ने, सामान्य रुघाखोकी, ज्वरो भन्दै घरमा बस्दा अहिले मृत्युको मुखमा पुग्ने बढेका छन् । होम आइसोलेसनमा भन्दा बढी यसैगरी अन्तिम अवस्थामा अस्पताल जाँदा मृत्यु हुनेको संख्या बढेको छ । ‘गाउँमा गएर मिल्दोजुल्दो लक्षण भएकालाई स्वाब परीक्षण गर्न अनुरोध गरेका हुन्छौं,’ वडाध्यक्ष पोखरेलले भने, ‘तर, अटेरी गर्दा झन् दुःखद घटना भएका छन् ।’ संक्रमित भएपछि घरपरिवार, छिमेकमा राम्रो नठान्ने, प्रभावकारी उपचार नमिल्ने आशंका गर्दै जाँच नै गर्न नमान्ने उनले बताए ।

रम्भा गाउँपालिका–३ पीपलडाँडा झेस्काङमा ५३ वर्षीय पुरुषको पनि अन्तिम अवस्थामा स्वास्थ्यकर्मीलाई खबर गर्दा मृत्यु हुन पुग्यो । एक सातादेखि घरमै मेडिकलबाट लगेको औषधि खाएर बसेका उनको अस्पताल लैजाँदा बाटोमै मृत्यु भयो । ‘धेरै दिनदेखि बिरामी भए पनि हामीलाई जानकारी भएन,’ स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले भने, ‘अन्तिम अवस्थामा खबर आयो । उपचारका लागि लग्दै गर्दा बाटोमै मृत्यु भयो ।’ उनका अनुसार बिरामी भए पनि जानकारी नदिँदा मृत्युको मुखमा पुग्ने क्रम बढेको छ । जानकारी पाएका स्थानमा आफूहरू औषधि, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी लिएर पुग्ने गरेको शाखा प्रमुख अर्यालले बताए । थप उपचार गर्नुपरेका कोभिड अस्पताल हुँगी र ताहुँमा पठाउने गरेको उनले बताए । ‘हामीले एम्बुलेन्स पनि पठाउँछौं भनेकै छौं,’ उनले भने, ‘तर जानकारी नै नदिएर मृत्युको मुखमा पुग्ने समस्या बढेको छ ।’

हुँगी कोभिड अस्पताल (स्वास्थ्य चौकी) का मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले सामान्य रुघाखोकीजस्तो लक्षण हुने तर छिट्टै शरीरमा असर गर्ने देखिएको बताए । ‘समयमा लक्षण जानकारी दिने र कोरोना जाँच गर्ने हो भने समुदायमा फैलिने थिएन,’ उनले भने, ‘तर, त्यस्तो गरेको कमै मात्र पाइएको छ । सकेसम्म रोग लुकाएर बस्ने प्रचलन बढी देखिएको छ ।’

रैनादेवी छहराको भुवनपोखरीमा पनि अवस्था उस्तै छ । भुवनपोखरीका वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार निषेधाज्ञाको पालना नगर्ने, स्वास्थ्य मापदण्डको पालना गराउन नसकिएको, संक्रमित नै गाउँ डुल्ने समस्या र अटेरीपनले गर्दा संक्रमण भुसको आगोझै फैलिएको छ । ‘हामीले निषेधाज्ञाको पालना गर्न र उच्च सतर्कता अपनाएर घरपरिवार मात्र घुलमिल हुन भनेका छौं,’ रैनादेवी छहरा–३ का वडाध्यक्ष दर्लामीले भने, ‘तर, अटेरीपना धेरै हुँदा मृत्युको मुखमा पुग्ने पनि बढे ।’ उनका अनुसार वडामा मात्र सात जनाले ज्यान गुमाइसकेका छन् । पाल्पा, बुटवल, काठमाडौंमा उनीहरूको मृत्यु भएको छ । अन्तिम अवस्था भएपछि मात्र जानकारी दिने र समयमा स्वाब परीक्षणतर्फ ध्यान नदिएकाले यस्तो भएको उनले बताए ।

रैनादेवी छहरा–१ सिद्देश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले वडाका सबै टोलमा सचेतना फैलाएको बताए । ‘हामीले सबै टोलमा लक्षण देखिएकालाई परीक्षण गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘स्वाब दिनै मान्दैनन्, चासो नदिएकाले पनि समस्या छ ।’

परीक्षण अभावमा संक्रमित बढ्दै

अर्घाखाँचीमा किट अभावले कोरोना परीक्षण नहुँदा समुदायमा संक्रमित हुनेको संख्या बढ्दो छ । रुघाखोकी र ज्वरोका बिरामी प्रायः घरैपिच्छे छन् । सदरमुकाम पुगेर परीक्षण गर्न सम्भव नहुँदा संक्रमण दर बढ्दो छ । सन्धिखर्क–१० धरमपानीमा चार दिनअघि ३९ जनामा एन्टिजेन परीक्षण गर्दा १२ जनामा पोजिटिभ देखियो ।

स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा केही गाउँमा परीक्षण गर्दा संक्रमित भेटिएका छन् । ‘ज्वरो र रुघाखोकीका बिरामी नभएको गाउँ छैन, जहाँ परीक्षण गर्दा पनि पोजिटिभ भेटिन्छन्,’ जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले भने, ‘धेरैपटक म आफैं बुटवल मन्त्रालय धाउँदा पनि एन्टिजेन किट र भीटीएम चाहिएजति पाइँदैन । जिल्लाका ६ वटै स्थानीय तहमा अभाव छ ।’

ज्वरोका बिरामी डराएका पनि छन् । त्रासमा बढी छन्, चेक गराएपछि पोजिटिभ आउँछ त्यसभन्दा घरमै बसेर गाउँका स्वास्थ्यकर्मी र मेडिकलको औषधि एवं जडीबुटी खाएर बस्ने गरेको उनले बताए । स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवाको प्रयोगशाला पठाएको एक सातादेखि १५ दिनसम्म रिपोर्ट नआउने उनले बताए । ‘एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिभिट आएकाको पीसीआर गर्दा पनि पोजिटिभ रिपोर्ट हुन्छ,’ उनले भने, ‘एन्टिजेनसहित स्वास्थ्य सामग्री अभाव हुनु संक्रमण दर फैलिएको छ ।’

एन्टिजेन गाउँ–गाउँमा लगेर परीक्षण गर्न पाए संक्रमित भए/नभएका छुट्याउन पाए संक्रमण फैलिने थिएन । परीक्षण नगर्दा ज्वरो, रुघाखोकीका बिरामी घरपरिवार, छिमेकी र साथीभाइसँग सम्पर्कमा रहँदा सर्नेको संख्या गाउँमा बढी भएको पौडेलले बताए । ‘एन्टिजेन लिएर स्वास्थ्यकर्मी गाउँमा पुगेर प्रत्येक व्यक्तिलाई परीक्षण गर्ने र पोजिभिट आएकालाई छुट्याएर होम क्वारेन्टाइन र अस्पतालमा उपचार गर्न पाए फैलिने थिएन,’ उनले भने । ज्वरो, रुघाखोकीका बिरामीलाई एन्टिजेन परीक्षण गर्दा धेरैलाई पोजिटिभ देखिन्छ ।

‘स्थानीय तहले भारत र बाहिरबाट आउनेको संख्या यकिन नगर्नु, उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि बल्ल घर पठाउने गरेको भए, यसरी समुदायस्तरमा फैलिने थिएन,’ प्रमुख जिल्ला अधिकारी विजयी पौडेलले भने । एन्टिजेनलगायतका औषधि खरिद गरेर परीक्षण गर्न पनि स्थानीय तहले ढिलाइ गरेको उनले बताए ।

घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी गाउँ–गाउँमा भएको पाणिनि गाउँपालिकाको मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले बताए ।

एन्टिजेनसहित स्वास्थ्य सामग्री अभावमा धेरैको परीक्षण नै भएको छैन । स्वास्थ्य सामग्री अभाव भएपछि स्वास्थ्यकर्मी परीक्षणका लागि गाउँ टोलमा जान नसकिएको उनले बताए । ‘ज्वरो, रुघाखोकीका बिरामी दैनिक थपिँदैछन्,’ उनले भने । स्थानीय तहको ध्यान कोभिड अस्थायी अस्पताल बनाउनेतर्फ छ ।

परीक्षण गर्न आनाकानी

गत जेठ २ गते रुकुमपूर्वको सिस्ने गाउँपालिकाको स्वास्थ्य शाखा तथा जिल्ला अस्पतालको टोली ३ नम्बर वडाको स्वास्थ्य चौकी पोखरामा पुग्यो । हरेक घरमा बिरामी रहेको उक्त वडाका बिरामीको कोरोना परीक्षणका लागि उक्त टोली त्यहाँ पुगेको थियो । तर, दिनभरमा ४३ जनाभन्दा बढीले परीक्षण गराउन मानेनन् । जसमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

बिरामी हुँदा पनि ४३ भन्दा अरूले कोरोना परीक्षण गर्न मानेनन् । कति त स्वास्थ्य चौकीसम्म पनि गएनन् । गाउँपालिकाले अघिल्लो दिनमा नै कोरोना परीक्षण हुने भएकाले स्वास्थ्य चौकी आउन सूचना गरेको थियो । जेठ ४ गते २ नम्बर वडाको नायगाडमा कोरोना परीक्षण गरियो । ४४ जना परीक्षणका लागि आए । जसमा १४ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य चौकीले डाकेकामध्ये आधा मात्रै परीक्षणका लागि तयार भए ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×