२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नमिलेको कृषि र कुर्सी

हाम्रा कृषिविज्ञहरू अन्तरसम्बन्ध जान्दैनन् । बालीको वातावरणसँग । वातावरणको कीट–पतंगसँग । यसरी हेर्दा, बाली बचाउन भँगेरा मात्रै मार्नुपर्छ भन्ने एकोहोरो सोच बोकेका माओजस्ता ।
विद्यानाथ कोइराला

फरक जमिन, एककाँधे विज्ञता
हिमाल र पहाडको जमिनमा माटो फरक छ । कतै ढुंग्यान छ । कतै दोमट । कतै फुस्रो छ । कतै चिस्यान । मधेसको माटोमा कतै भिट । कतै सिञ्चित । कतै धाप । कतै बालुवा । कतै सिमसार । यसले गर्दा एकै व्यक्तिका थरीथरी जमिन हुनु नेपालीको नियति हो । 

नमिलेको कृषि र कुर्सी

दुर्भाग्य के हो भने, नेपाली विज्ञहरू जमिनसापेक्ष छैनन् । बालीसापेक्ष छन् । मकैविज्ञ । धानविज्ञ । माटोविज्ञ । तर किसान (फार्मर) तथा साना किसान (पिजेन्ट्स) लाई माटोसँग जोडेर सिकाउने विज्ञ छैनन् । थरीथरीका विज्ञहरू गएर एकसाथ साना तथा ठूला किसानलाई सिकाउने संस्कार पनि छैन । सोच पनि छैन । परिणामतः साना तथा ठूला किसानले विज्ञको सहयोग लिन सक्तैनन् । लिए भने पनि एक टुक्रा जमिनका लागि मात्रै सहयोग पाउँछन् । चिस्यान खोल्साखोल्सी भए अलैंचीविज्ञको । भिरालो चिस्यान भए चियाविज्ञको । बालुवा भए तरबुजाविज्ञको । यस अर्थमा विज्ञ एककाँधे हुन् । किसान तथा साना किसान बहुकाँधे हुन् । यी काँधहरू नमिलाउने कृषिको कुर्सी हो । एककाँधे विज्ञ तथा बहुकाँधे साना तथा ठूला किसान मिलेका भए नेपालका तल्सिङ र मोहीका हरखाले जमिनमा कहाँ कुन बिरुवा लगाउने वा कुन खेती गर्ने भन्ने कुराको फेहरिस्त सरकारको तहमा हुन्थ्यो । चीन र भियतनामले जस्तो किसानका घरघरमा यो सन्देश लाने विज्ञहरू हुन्थे । हामीकहाँ पनि पञ्चायतको वसियतका रूपमा कार्यरत कृषिअगुवाहरू थिए । टोलटोलमा त्यस्ता स्वयंसेवी अगुवाहरू बनाउन सकिन्थ्यो । हाम्रा कृषि केन्द्रहरू थिए । तिनमा बहुकाँधे विज्ञहरू राख्न सकिन्थ्यो । स्थानीय तहमै बहुकाँधे विज्ञहरू बनाउन सकिन्थ्यो ।

फरक सिँचाइ आवश्यकता र नहरवादी विज्ञता

हामीसँग सिँचाइ कार्यालयहरू छन् । तिनका विज्ञहरू छन् । माटो नचिनेका पुङमाङे विज्ञहरू । एलआरएमपीको अध्ययनले भन्छ— नेपालको ४ लाख ५ पाँच हजार हेक्टर जमिन कुनै न कुनै हिसाबले सिञ्चित छ । त्यो भनेको खेती गरिएको जमिनको ७५ प्रतिशत हो । विश्व बैंकको सन् २०१८ को अध्ययनअनुसार, नेपालमा २८.७५ प्रतिशत जमिन खेतीयोग्य छ । यो औसत तथ्यांकलाई आधार मान्ने हो भने सिँचाइ कार्यालयहरू क्रमशः बन्द गर्नुपर्छ । नभए निश्चित क्षेत्रमा मात्र राख्नुपर्छ । तर सतही तथ्य अर्कै छ । त्यो हो— थरीथरीका सिँचाइ आवश्यकता तथा परिवेश भएका जमिन छन् । साना तथा ठूला किसानका । कहाँ गरा सिँचाइ गर्ने ? कहाँ जरा सिँचाइ गर्ने ? कहाँ थोपा सिँचाइ गर्ने ? कहाँ पोखरी सिँचाइ गर्ने ? कहाँ इजरायली किसानले जस्तो हावामा पानी उड्न नदिने ट्रे खेती गर्ने ? कुन ठाउँमा हाइड्रोपोनिक खेती गर्ने ? कुन बाली तथा बोटबिरुवाका लागि कुन खाले सिँचाइ गर्ने ? यी र यस्ता कुराबारे इजरायलले जस्तो साना तथा ठूला किसानलाई सिकाउने प्रबन्ध हुन्थ्यो । तर दुर्भाग्य, हाम्रा सिँचाइविज्ञहरू नहरविज्ञ होलान् । खगेरी सिँचाइ जान्ने । बट्टार सिँचाइ जान्ने । सिँचाइ सुरु भएको केही वर्षमै काम नलाग्ने योजना बनाउन जान्ने । तर साना तथा ठूला किसानका सिँचाइ आवश्यकता नजान्ने । इजरायलीले जस्तो माटोले चाहने सिँचाइ नजान्ने । सिँचाइ सुविधाअनुसार यो खेती गर भन्न नसक्ने ।

सहकारी बुद्धि र व्यक्तिगत खेती

जनजातिहरूले अहिलेको भाषामा सहकारी खेती गर्थे । यो उनीहरूको रैथाने संस्कृति हो । सरकारले चाहिँ सन् १९५३ मा चितवनमा औपचारिक रूपले सहकारी खेतीको सुरुआत गर्‍यो । तर अहिले जनजातिका रैथाने सहकारी खेतीहरू व्यक्तिगत बन्दै गए । औपचारिक सरकारी सहकारी खेतीहरू प्रतिस्पर्धामा पछि परे । यो कुरा कृषिविज्ञले बुझेनन् । इजरायलको किबुज हेरेर फर्कनेहरू पनि त्यही रहरमा भए । तर इजरायलकै मोसम हेरेका भए उनको चिन्तन फरक हुने थियो । अर्थात्, किबुज साझा खेती हो । माओवादीको कुनै बेलाको अजम्बरी कम्युनको जस्तो । अहिले अजम्बरी कम्युनहरू सिला लागे । एक मात्र कम्युन आधारशिला छ महोत्तरीको बर्दिबासमा । त्यो पनि तेह्र परिवारको । त्यहाँको परिवार संख्या पनि घट्तै गएको छ । कुनै बेला

अठ्चालीस जनासम्म सदस्य भएको कम्युनबाट युवाहरू बाहिरिँदै गएका छन् । खेती, सहकारी, मसला उद्योग, एफएम रेडियो तथा कम्प्युटर पसलले कमाएर धानिएको छ आधारशिला । संरक्षण र सहयोग छ पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको । कृषि सहकारी भने ७,२३० वटा छन् । तर किबुजजस्ता होइनन् ती । न त वीरेन्द्र बस्नेतका कृषि यान्त्रिकीकरण मोडलको स्वेच्छाका सहकारी हुन् ती । न त डा. मुक्तसिंह लामाले सुरु गरेको तामाङ बस्तीको जग्गामा सामूहिक लगानी र व्यक्तिगत फाइदा हुने खालका हुन् ती । व्यवस्थापनको हिसाबमा सुक्खा, पनेलो, भिरालो, सम्ममा हुने आधुनिक तथा परम्परागत कृषि तथा बागवानी मिलाइएका खेतीहरू हुन् ती ।

किबुजहरू इजरायलका रैथाने हुन् । अटोमन साम्राज्यमा प्यालेस्टिनमा बस्ने इजरायली आप्रवासीले सुरु गरेका । सरकारले किनिदिएको जमिन हो त्यो । प्यालेस्टिनीविरुद्ध अनौपचारिक संवाद गर्ने ठाउँ । हाल तीमध्ये कतिपय किबुज व्यक्तिगत फार्म बनिसकेका छन् । त्यहाँको जीवनशैली पनि फेरिएको छ । यसबाहेक इजरायलमा मोसम पनि छन् । मोसम भनेका व्यक्तिगत खेती हुने ठाउँ हुन् । उब्जनीचाहिँ साझामा बिक्री गर्न पाउने व्यवस्था छ त्यहाँ ।

नेपालको कृषि सहकारीको अनुहार के हुने ? सहकारी किबुजजस्ता ? निजी किबुजजस्ता ? मोसमजस्ता ? आधारशिलाजस्ता ? कृषि यान्त्रिकीकरण र सहकारी जोडिएका जस्ता ? जनजातिका पुर्ख्यौली खेतीका जस्ता ? वा, अन्य कुनै खाले ? सरकारले यसबारेमा गृहकार्य गरेकै छैन । व्यक्तिगत जमिन भए कुन खाले ? सरकारले जमिन दिने भए कुन खाले ? साझेदारीमा जमिन किने कुन खाले ? सगोलको जमिन भए कुन खाले ? खेती कसरी हुने ? कृषिउपज कसरी बिक्री हुने ? सहकारीविज्ञ धेरै छन् । तर नेपालको जमिनको स्वामित्व तथा संस्कारहरूसँग मिल्ने सोचचाहिँ बनेको छैन ।

मल, बीउ र माटोको दशा

किसानहरू गोबर मल प्रयोग गर्थे । जैविक विषादी प्रयोग गर्थे । रैथाने बीउ प्रयोग गर्थे । माटोअनुसारको खेती गर्थे । उनीहरूलाई रासायनिक मल, आधुनिक बीउ तथा माटोमा दबाब दिन सिकाउने कृषिविज्ञ नै हुन् । अहिले अर्ग्यानिक फार्मिङ भनेर पुरानै काममा लगाउन खोज्ने पनि तिनै विज्ञ हुन् । आधुनिक बीउ प्रयोग गर भनेर रैथाने बीउ ध्वस्त बनाउने पनि तिनै हुन् । अहिले किसानलाई रैथाने मल, रैथाने बीउ, जैविक विषादी र माटोको प्रांगारिकता बचाउनुपर्छ भन्ने पनि तिनै हुन् । कुन मुखले सिकाउने हिम्मत गरे ती विज्ञले ? उदेकलाग्दो छ । न पश्चात्ताप छ । न किसानसँग माफी माग्नु छ । उल्टै उनलाई सिकाउन जानु छ । उनीहरूसँग त सिक्नुपर्ने हो नि ! त्यसैमा जोडेर जैविक मलको आधुनिकीकरण गर्नुपर्ने हो ।

रैथाने बीउलाई आधुनिकीकरण गर्ने सीप सिकाउनुपर्ने हो । उनकै माटोमा त्यसको तागत नबिगारी बढी फलाउन सिकाउनुपर्ने हो । तर ती सब काम भएनन् । परिणामतः मलमा आत्मनिर्भर किसान रासायनिक मल कारखानाका मालिकसँग पराश्रयी हुन बाध्य भए । बीउमा आत्मनिर्भर किसान विदेशी साहूसँग पराश्रयी भए । माटो किटिएर नयाँ माटो थप्नुपर्ने बाध्यतामा किसान पुगे । विज्ञले सिफारिस गरेका बीउ लगाएर दाना नलागेपछि सरकारसँग भीख माग्न किसान बाध्य भए । यी सबै काममा विज्ञको हात थियो, छ । यही रीत रहने हो भने हुन्छ ।

विज्ञले किसानलाई अनुसन्धाता बनाउनुपर्ने थियो । मञ्जरी भाँचेर हिउँदमा आँप फलाउनेहरू नेपाली किसान थिए । असुरो र खिर्रो हालेर मल बनाउने तिनै थिए । टुप्पा र फेद छाँटेर बीउ राख्ने तिनै थिए । माटो चाखेर बालुवा, रातोमाटो आदि हालेर थप उर्वर बनाउन जान्ने उनै थिए । चिनियाँहरू ती ज्ञान खोजेर विकसित बने । हाम्रा विज्ञहरू तिनलाई मारेर किसानलाई पराश्रयी बनाउँदै छौं । यो क्रम अझै रोकिएको छैन ।

चराचुरुंगी तथा कीरा–फट्यांग्रा हटाउने तर्किब

कुनै बेला माओले चीनमा भँगेरा मार्ने अभियान चलाए । बाली बचाउने उनको रहर थियो । तर कीरा बढे । बालीनालीमा परागसेचन भएन । मकै थारो बस्यो । धानमा पोगटा बढ्यो । हाम्रा किसानले भने खेतमा बुख्याँचा बनाए । बिस्कुन सुकाउँदा चराचुरुंगीले नखाऊन् भनेर त्यसको दुईतिर चुलेसी राखे । टिन ठटाए । यस्ता अनेकन् अभ्यास छन् किसानका । कीरा हटाउने । फट्यांग्रा भगाउने । ती अभ्यासको खोजी गर्ने कुर्सी छैन । त्यसैलाई आधुनिकीकरण गर्ने विज्ञहरू छैनन् । यी पैठारीविज्ञले आधुनिकीकरण गर्छन् त ? पैठारीकरण आधुनिकीकरण हो त ? जगमा जोडिए आधुनिकीकरण हुन्छ । जग तोडिए पैठारीकरण हुन्छ । हाम्रा विज्ञले के गरे ? कृषिको इतिहासले के भन्ला तिनलाई ? कृषि शिक्षा सिकाउने ऋग्वेदी तथा अथर्ववेदी पुर्खाले के भन्लान् ती विज्ञलाई ? आजसम्म ती कृषिज्ञान बचाउने र दिगो विकास भन्ने शब्द नजपेका किसानले कसरी बुझ्लान् ती विज्ञलाई ?

इजरायलले विषादी बनाउँदा वातावरणको अध्ययन गर्‍यो । कीरा–फट्यांग्राको अध्ययन गर्‍यो । कुन कीराले कुन कीरा खान्छ भन्ने अध्ययन । तिनको सन्तुलनका लागि कीराकै उपयोग गर्‍यो । साह्रै हानिकारकलाई मात्रै जैविक विषादी प्रयोग गर्ने चिन्तन ल्यायो । कुन कीरालाई बचाउने ? कुन कीरालाई कृषकका मित्र कीराको आहारा बनाउने ? अनि कुनलाई मात्रै मार्ने ? यो चिन्तनमा औषधि बनाउन कम्पनीहरू तयार भए । मल बनाउँदा पनि इजरायलले सोही कुराको हेक्का राख्यो । पोटास तथा पोटासियम क्लोराइड बढी हुँदा वातावरणमा के हुन्छ ? कीरा–फट्यांग्रामा के हुन्छ ? माटोमा के हुन्छ ? त्यस्ता कुरामा उनीहरूको सदैव चासो रह्यो । हाम्रा विज्ञले भने यो कुरामा खासै चासो राखेनन् । पाँचखाल तथा धादिङबेसीमा विषादी प्रयोग अत्यधिक भइसकेको छ । तर पनि विषादी प्रयोग रोकिएको छैन । यो दृष्टान्तले भन्छ, हाम्रा कृषिविज्ञहरू अन्तरसम्बन्ध जान्दैनन् । बालीको वातावरणसँग । वातावरणको कीट–पतंगसँग । यसरी हेर्दा, भँगेरा मात्रै मार्नुपर्छ भन्ने एकोहोरो सोच बोकेका माओजस्ता ।

शिक्षालयको सम्बन्ध

शिक्षालयमा विद्यार्थीको भीड छ । हुन्छ । नेपालको सन्दर्भमा ती किसानका सन्तति हुन् । ठूला किसानका । साना किसानका । खेतीहर मजदुरका । ग्रामीण क्षेत्रका प्रतिनिधि हुन् ती । तिनै विद्यार्थीमार्फत किसानकोमा पुग्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर कृषिविज्ञहरू यसबारे बेखबर छन् । त्यसैले तिनले चीन, भियतनाम, क्युबाले जस्तो गरी विद्यार्थीहरूलाई व्यवस्थित ढंगले किसानका घरआँगनमा पुर्‍याउन्नन् । अमेरिका तथा क्यानाडाले जस्तो क्रेडिट आवर्स तोकेर कृषि फार्ममा विद्यार्थी जानैपर्ने व्यवस्था गर्दैनन् । एकाध अपवाद हुन् । सुर्खेतको बड्डीचौरको जनज्योति स्कुलजस्ता । यो कुराबारे कृषिविज्ञहरू कहिल्यै वकालत गर्दैनन् । कृषि मन्त्रालय तथा शिक्षा मन्त्रालय यसमा सोच्तैनन् । प्रदेश तथा संघका योजना आयोगहरू यसबारे बोल्दैनन् । कृषि विकासका लागि खुले–खुलाइएका संस्थाहरू सोच्तैनन् । यसरी हेर्दा हाम्रा विज्ञहरू समन्वयहीन पोकाहरू हुन् । हिजोको बुद्धि बोकेका । आज र भोलि दुवै नचिनेका ।

पुर्ख्यौली कृषिको सोच

कृषिमा अनेकन् पुस्ता जन्मिए । ‘मान्छेले बनाएको ओखलमा त घान पर्छ, भगवान्ले बनाएको मुखमा कसो नपर्ला त ?’ पहिलो पुस्ता यसमा विश्वस्त थियो । अझै छ । दोस्रो पुस्ताले खाद्य संकट भोग्यो । तेस्रो पुस्ताले कृषिक्रान्ति गर्‍यो । परिणामतः पेट त भर्‍यो । भरायो । तर पानीको अत्यधिक दोहन गर्‍यो । अत्यधिक रासायनिक मलको प्रयोग गर्‍यो । अहिले जैविक विविधता असन्तुलित भयो । चौथो पुस्ता त्यही असन्तुलनलाई सन्तुलित बनाउन अर्ग्यानिक फार्मिङको अभ्यास गरिरहेको छ । पाँचौं पुस्ता हेरिरहेछ पुर्खाले वसियतमा के दिन्छन् भनेर । खेती गर्ने–गराउने ठाउँमा यी पाँचवटै पुस्ता प्रकारान्तरमा जिएका छन् । नभए टोलमा हुन्छन् । जिल्लामा त पक्कै छन् । यही कुरा बुझेर अमेरिकाले कृषिलाई जोडेर प्राथमिक तहको पाठ्यक्रम बनायो । माध्यमिक तहका विद्यार्थीलाई यङ फार्मर्स एसोसिएसनमा आबद्ध गरायो । नेपालले त्यसरी केही काम गर्‍यो त ? गर्ने सोच बनायो त ? उत्तर खोज्न गाह्रो छ ।

निधो

कृषि र कुर्सी नमिलेको पक्का हो । मिलाउन सकिन्छ । यो पनि पक्का हो । यसका लागि सोच बदल्नु जरुरी छ । त्यो सोच हो— (क) प्रत्येक किसानको जमिनमा परम्परागत कुनकुन, आधुनिक कुनकुन खेती हुन सक्छन् भनी उसले थाहा पाउने व्यवस्था गर्नुपर्छ । (ख) कृषिअगुवा तथा विद्यार्थीमार्फत कृषकका ज्ञान विज्ञमा र विज्ञका ज्ञान कृषकमा लाने–ल्याउने प्रबन्ध गर्नु–गराउनुपर्छ । (ग) जरा सिँचाइ कहाँ र कसरी गर्ने, थोपा सिँचाइ कहाँ र कसरी गर्नेजस्ता कुरामा कृषकलाई जानकार बनाई इजरायलले जस्तो उसका सबै जमिनमा सिँचाइ सुविधा सुनिश्चित गर्नुपर्छ । (घ) कृषकलाई नै मल, बीउ, बिजन आदिको ज्ञाता बनाउन उसैलाई अनुसन्धाता बनाउनुपर्छ । (ङ) पालिकाका ठाउँठाउँमा कृषकका उत्पादन किन्ने बजारहरू बनाउनुपर्छ । नबिकेका उत्पादनहरू सरकारले किनी स्वदेश तथा विदेश पठाउने प्रबन्ध गर्नुपर्छ । (च) वेदमा भएका ज्ञान कृषकमा छन् । तिनमा अनुभव थपिएको छ । यी र यस्ता ज्ञानहरूमा अनुसन्धान तथा विकास गर्न–गराउन सम्बन्धित पालिकाका शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई जिम्मेवार बनाउनुपर्छ । (छ) हर पालिकालाई चाहिने बीउ, बेर्ना तथा प्रांगारिक मल बनाउने जिम्मा सम्बन्धित पालिकाकै स्कुल, कलेज तथा विश्वविद्यालयलाई दिनुपर्छ । (ज) पालिकामा भएका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन तथा अन्य सामाजिक सञ्जाललाई उपयोग गरी किसानसँग सिक्ने तथा कृषकलाई सिकाउने कुराको सुनिश्चित गरिनुपर्छ । (झ) कृषिको कुनै न कुनै विधामा विद्यार्थीले काम गरेकै हुनुपर्ने प्रबन्ध गरिनुपर्छ । अनुसन्धानबाट । पढाइबाट । भोगाइबाट । उद्यमीकरणबाट । खेती–किसानीबाट । कृषिकार्यमा उपयोगी हुने उपकरणको निर्माण तथा अनुसन्धानबाट । अन्य कुनै तरिकाबाट । अन्यथा कृषि र कुर्सीको भेट नहुने नियति भोगिरहनुपर्नेछ ।

प्रकाशित : जेष्ठ १३, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?