१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

शासक बहकिने, कार्यकर्ता उक्साउने

‘एक पटक अन्तरिक्ष यात्रामा सोच्दै छु, कति खर्च लाग्ला ?’ 
‘कत्ति पनि लाग्दैन । सोच्न पनि खर्च लाग्छ र ?’

शासक बहकिने, कार्यकर्ता उक्साउने

यो परिहासजस्तै बन्यो प्रधानमन्त्रीको ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता’ सम्बन्धी भनाइ । संसद्मा प्रश्नकर्तालाई बडो अभिमानपूर्वक ‘मैले भनेको हो नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ’ भन्दै कुर्लने प्रधानमन्त्रीले झन्डै एक वर्षपछि आफ्नै दाबीलाई ठट्टाका रूपमा स्विकारे । यो फरक कुरा हो कि, जतिखेर उनी गम्भीर भएर गर्जंदै थिए त्यतिखेर श्रोताहरू ताली बजाएर हाँस्दै थिए अनि यति बेला उनैले त्यो भनाइ ठट्टा स्विकार्दै छन् र सुन्नेहरू गम्भीर बनेका छन् । यो मात्र होइन, प्रधानमन्त्रीले समयसमयमा गरेका यस्तै अप्रमाणित कुराहरू घोषित–अघोषित ठट्टा बनिरहेका छन् । र, यो महामारीमा आम मान्छेलाई ठट्टाले धेरै पीडा दिने रहेछ ।

त्यसो त नेपाली राजनीति तथ्य र उपलब्धिका आधारमा होइन, भाषण र प्रचारबाजीमा केन्द्रित छ । यो नेपाली राजनीतिको ऐतिहासिक विरासत हो । मवीवि शाह उर्फ राजा महेन्द्रको ‘कोही धनी असाध्यै, कोही गरिब माग्ने... सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका’ कवितांश होस् वा वर्तमान प्रधानमन्त्री केपी ओलीको ‘अब आँसु खसाउनु पर्दैन’ जस्ता कविता, यथार्थको धरातलमा रचिएका होइनन्; हुन् त केवल शासकीय बोली । यो त समयले प्रमाणित गरिसकेको छ । यस बीचमा धेरै शासकले नेपाललाई ‘एसियाली मापदण्डमा पुर्‍याउने’ देखि स्विट्जरल्यान्ड, सिंगापुर वा नयाँ नेपाल बनाउनेजस्ता अमूर्त ठट्टा नगरेका होइनन् ।

यसरी बोलीमा बहकिने शासकहरूलाई उक्साउने काम भने कार्यकर्ता तथा पूजकहरूले गर्ने रहेछन् । नेताहरूका योजना वा भाषण सम्भावना, तथ्य र सामर्थ्यको तुलोमा परख गरेर होइन, पक्षधरताका आधारमा परर्र ताली बजाउने कार्यकर्ता र जनता होउन्जेल नेताहरूले आफ्नो सामर्थ्यको धरातल बिर्सने रहेछन् । कार्यकर्ताहरूले अति देवत्वकरण गरिदिएपछि नेताहरू काम गर्न होइन, ‘लीला गर्न’ उद्यत हुने रहेछन् । परिणामस्वरूप, सम्भावना भएको एउटा नेतृत्व चटकेमा रूपान्तरण भैसकेको हुने रहेछ । यो कुनै नेतामा नभई आम रूपमा देखिएको प्रवृत्ति हो । एउटा उदाहरण हेरौं, २०७३ जेठमा केपी ओलीले प्रशान्त तथा हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चल्ने उद्घोष गरेका थिए । देशले चाहेमा यो असम्भव पनि त थिएन र यसले वैदेशिक व्यापार तथा सामान ढुवानीमा केही सहजता अवश्य ल्याउँथ्यो । तर बहस यति विषयान्तर भयो, प्रधानमन्त्री स्वयंले कोशी र गण्डकीमा पानीजहाजको सम्भाव्यता खोज्न थाले । विज्ञका रूपमा छानिएका कार्यकर्ताहरूले होमा हो मिलाए । अति राजनीतीकरणले आम मान्छेका बीचमा पानीजहाज ठट्टाको विषय बन्यो भने सरकारले कोशी र गण्डकीमा चलेका स्टिमरलाई सफलताको सूचकका रूपमा प्रस्तुत गर्‍यो ।

अहिले फेसबुक, ट्वीटर तथा टिकटक आदिजस्ता सामाजिक सञ्जालहरू भर्चुअल रणभूमिजस्ता लाग्छन् । र, यस्ता भर्चुअल लडाइँमा नेता, कार्यकर्ता, सार्वजनिक ओहोदामा बसेका व्यक्तिदेखि आम मानिससम्म संलग्न हुन्छन् । यस्ता झगडाहरू कुनै मुद्दा वा त्यसको गुण–दोषका आधारमा नभई आफूपक्षीय नेताहरूको देवत्वकरण र विपक्षीको दानवीकरणमा केन्द्रित हुन्छन् । र, यस्तो विवादमा विश्वविद्यालयका प्राध्यापक, बुद्धिजीवी, अन्य प्रोफेसनललगायत सामान्य मानिसहरू पनि भिडिरहेका देखिन्छन् । यसले देशमा अति राजनीतीकरण कति व्यापक भएको छ भन्ने देखाउँछ । परिणामस्वरूप देशका विभिन्न भूमिकामा विज्ञहरूको परिचालनदेखि राज्यले जनतामा दिनुपर्ने सेवामा समेत गलत राजनीतिक अभ्यास देखिन्छ । प्राज्ञहरू प्राज्ञिक कर्म छोडेर ‘गणेश दौड’ मा लागिरहेका छन्, लाग्न अभिशप्त छन् । काठमाडौं विश्वविद्यालय, इन्टरडिसिप्लिनरी एनालिस्ट्स तथा द एसिया फाउन्डेसनले गरेको नेपाली जनमत सर्वेक्षण–२०२० को हालै सार्वजनिक प्रतिवेदनमा पनि ५२.० प्रतिशत उत्तरदाताले नेपाली राजनीतिका सन्दर्भमा मुलुक गलत दिशातर्फ गएको बताएका उल्लेख छ ।

महामारीले निम्त्याएको संकट आम मानिसका लागि ज्यादै धारिलो र भयावह बनेको छ । कविशिरोमणी लेखनाथ पौड्याल ‘काल महिमा’ शीर्षक कवितामा लेख्छन्— ‘राजा रंक सबै समान उसका, वैषम्य गर्दैन त्यो...’ । तर राजनीतिको यो विद्रूप अवस्थाले काललाई पनि विभेद गर्न बाध्य पारेको छ । राज्यको राजनीतिक पक्षधरताकै कारण स्वास्थ्य सुविधाहरू निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित छन् । वर्गीय पक्षधरताले स्वास्थ्य सेवामा समान पहुँचलाई असम्भव तुल्याएको छ । त्यसैले त प्रधानमन्त्रीले महामारी राज्यको नियन्त्रणभित्रै छ, अस्पतालमा बेड र अक्सिजन आदिको अभाव छैन भन्दै गरेका दिनहरूमा पनि अस्पताल र अक्सिजनको खोजीमा हजारौं बिरामी भौंतारिँदै गरेका र यिनकै अभावमा दैनिक सयौं बिरामीहरू मरिरहेका छन् । यस्तो समयमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता निःसंकोच भन्छन्, ‘महामारीमा सबैले सुविधा पाउने भन्ने हुँदैन ।’ विकृत राजनीतिले नै सिर्जना गरेको भाष्य हो यो ।

असायमिक मृत्यु व्यक्तिका लागि भीषण दुर्घटना मात्र होइन, परिवारका निम्ति अपूरणीय क्षति पनि हो । कोभिड महामारीले नेपालमा अहिलेसम्म छ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने, हजारौं परिवारको जीवनलय तहसनहस बनाएको छ । यस्तो समयमा पनि सामाजिक सञ्जालहरूमा राजनीतिको विद्रूपता दिक्कलाग्दोसँग छरपस्ट हुने गरेको छ । कुनै दलको नेता वा कार्यकर्ताको मृत्यु हुँदा ‘देशका लागि अपूरणीय क्षति’ भन्दै सामाजिक सञ्जालका भित्ताहरू रंग्याउने राज्यको जिम्मेवार पदमा रहेको नेता आफ्नै मतदाता वा आम जनताको मृत्युमा भने मृतक संख्या गनेर बस्छ । सार्वजनिक ओहोदामा बसेकाले कम से कम सामाजिक सञ्जालमा त समभाव देखाउन सक्नु नि !

महामारीजस्तो समयमा पनि आमजनताको समस्यासँग निरपेक्ष रहेर सत्ताको छिनाझपटीमा लिप्त राजनीतिक दलहरूसँग आममानिस निराश त छँदै छन्, त्यसमाथि नेताहरूले सार्वजनिक मञ्चहरूमा एकअर्काप्रति लक्षित गरी प्रयोग गरेका भाषाहरू कार्यकर्तामार्फत सामाजिक सञ्जाल हुँदै आम मानिसका दैनिकीमा पुग्छन् । अनि त्यसले समाजमा विग्रह ल्याइसकेको हुन्छ । नेता–कार्यकर्ताहरूको त स्वार्थ मिलेपछि सबै कुरा मिल्छ तर आम मानिसमा गढेर रहेको यो द्वेष ऐनमौकामा विस्फोट हुन्छ र समाज विशृंखल बनाउन द्योतक बन्छ जसको सामाजिक मूल्य ज्यादै महँगो पर्छ । यसप्रति जिम्मेवार को बन्ने ?

आम मान्छेका दृष्टिबाट हेर्दा त वर्तमान राजनीतिको मूल मन्त्र अझै पनि भैरव अर्यालको तलको उक्तिजस्तै लाग्छ, जसलाई पछिल्ला राजनीतिक घटनाक्रमले पनि पुष्टि गर्छन्—

चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न

दंगा फसाद नगरे इज्जतै रहन्न ।

सोझा र सज्जन कबै नलिनु दलैमा

पार्टी चलाउनु सधैं छल औ बलैमा ।

अन्त्यमा, राजनीतिक चालबाजीमा आफूलाई उत्कृष्ट साबित गरेका प्रधानमन्त्रीले आफ्नो क्षमता महामारी नियन्त्रणमा लगाइदिए आम मान्छेले दुःखको भवसागरबाट अलि चाँडै मुक्ति पाउँथे कि ! यति गर्न सके अति राजनीतीकरणले अस्तव्यस्त समाज विकृतिको दलदलबाट केही भए पनि बाहिर निस्कन सक्थ्यो कि !

[email protected]

प्रकाशित : जेष्ठ ९, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?