कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

देखिने भाइरस झन् जोखिमपूर्ण !

राजनीतिक स्वार्थपूर्तिका लागि जुनसुकै तवरले, जुनसुकै तहमा पनि सेटिङ गर्न खप्पिस हाम्रा राजनीतिज्ञहरूले व्यापारिक समूहसँग पनि साँठगाँठ गरेरै भए पनि केही थान भेन्टिलेटर, अक्सिजन सिलिन्डर र खोपको जोहो गरे जनता जोगिन्थे ।

तिम्रा घरअगाडि चिल्ला गाडीको लस्कर हुँदा, 
मैले बिरामी बोक्न एम्बुलेन्स पाइनँ
मैले पेटभरि अन्न पाइनँ
सास फेर्न एक मुठी अक्सिजन पाइनँ
आफूलाई चटक्क मिलेको दौरा–सुरुवाल सिलायौ रे, 
मैले लास ढाक्ने कात्रो पाइनँ ।
– मीना ढुंगाना 

देखिने भाइरस झन् जोखिमपूर्ण !

उपर्युक्त पंक्तिले नेपालको अहिलेको यथार्थलाई चित्रण गर्छ । अक्सिजन र एम्बुलेन्स नपाएर नागरिकहरूको अकाल मृत्यु भइरहेको छ । यस्तोमा जनप्रतिनिधि संस्था भंग गरेर अर्बौं खर्च गरी असमयमै निर्वाचनमा जान सरकार तयार भएको छ । जसरी, जे गरेर भए पनि कुर्सी बचाउन प्रयत्नशील केही मुख्यमन्त्री तथा प्रधानमन्त्रीका कामले आमनागरिक चरम निराशामा छन् । ‘समृद्ध नेपाल, सुखी नेपली’ को नारा लगाउने सरकारले घरघरमा सिंहदरबार पुर्‍याउने वाचा गरेको थियो तर अहिले कोरोना भाइरस पुर्‍याएको छ । अदृश्य भाइरसलाई नियन्त्रण गर्न सकिन्छ, तर महामारीका बारे जानेबुझेका नेताहरू (देखिने भाइरस) लाई नियन्त्रण गर्न सकिन्न रहेछ, यसैका कारण कोरोनाले झनै फैलिने वातावरण पायो । कोरोना भाइरसभन्दा राजनीतिक भाइरस हाम्रा लागि बढी खतरनाक छ । स्वास्थ्य सामग्री तथा खोप खरिदमा समेत कमिसन खोज्ने पात्र र प्रवृत्तिबाट जनहितका काम हुने अपेक्षा राख्नु निरर्थक छ ।

नागरिकहरू शासकका लागि फगत भोट दिने यन्त्र हुन् । कोभिडको उच्च जोखिमका बीच उनीहरू आफ्नो जीवन दाउमा राखेर भारत गइरहेका छन् अनि शरीरमा भाइरस बोकेर हूलका हूल फर्किरहेका पनि । उनीहरूका लागि पेट भर्न ज्यानकै जोखिम उठाउनुबाहेक विकल्प थिएन, छैन । भनिन्छ— धनी पैसाको भरोसामा, मध्यम वर्ग भगवान् भरोसामा र निम्न वर्ग सरकारको भरोसामा बाँचेको हुन्छ । तर, हाम्रा निम्न वर्ग सरकार भएको भ्रममा बाँच्न बाध्य छन् । विकास र समृद्धिसँग टाढाको नाता र सरोकारै नभएका सरकारी र प्रतिपक्षी दल आफ्नै संरक्षणका लागि चारैतिर भौंतारिरहेका छन् । आफैं भरोसा खोजिरहेका नेताहरूले हामीलाई भरोसा देलान् भन्ने भ्रम अब टुटिसकेको छ । सर्वसाधारणलाई कोभिडले सिकाएको यो एउटा महत्त्वपूर्ण पाठ हो ।

सत्ता जोगाउन सरकारले गरेका रणनीतिक प्रयास र प्रतिपक्षले मौकामा चौका हान्न बनाएका योजनाहरूलाई नियाल्ने हो भने, हाम्रा राजनेता रणनीतिक चातुर्यमा उम्दा देखिन्छन् । त्यस्तो चातुर्यको पाँच प्रतिशत मात्रै कोभिड नियन्त्रणका लागि प्रयोग गरेको भए अहिले कम्तीमा सीमामा होल्डिङ सेन्टर, सुविधायुक्त अस्पताल अनि अक्सिजन आपूर्तिमा यति विघ्न व्यवधान देखिने थिएन । हामीले महामारी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण पछिल्लो एक वर्ष राजनीतिक दाउपेचमै खर्च गर्‍यौं । कोरोना रोकथामका लागि सरकारले ‘प्रोएक्टिभ’ निर्णय लिन नसकेकाले महामारी व्यवस्थापनका काम लथालिंग भएका छन् । हामीले गुमाएको ‘प्रोएक्टिभ’ समयमा कोरोना भाइरस ‘रिएक्टिभ’ हुन भ्यायो, जसका कारण हामी सहज मृत्युबाट पनि वञ्चित हुनुपर्‍यो ।

यस्तो त्रासदीपूर्ण अवस्थामा विद्यमान चुनौतीको आकलन र मूल्यांकन गरी सम्भव भएसम्मका नियन्त्रणात्मक रणनीति कार्यान्वयन गर्न हामी कत्तिको सफल हुन्छौं, त्यसैमा हाम्रो भविष्य निर्भर छ । हामी सम्भावित परिणामको अनुमानमा कति नजिक छौं भन्ने विषयले नै प्रकोप नियन्त्रणको रणनीति बनाउन सहज हुन्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असरका आधारमा जोखिमलाई वर्गीकरण गरी तदनुरूप छुट्टाछुट्टै रणनीति तयार परेर लागू गर्न निकै ढिलो भैसक्यो ।

प्रधानमन्त्री पदमा आसीन व्यक्तिले नै ‘कोरोना भाइरस केही होइन, बेसार–पानी पिएर, हाच्छ्युँ गरेर भगाइदिनुपर्छ’ भनेर हावादारी गफ दिएका थिए । उनको यस्तो कुराले सर्वसाधारणमा भ्रम सृजना गरेको थियो । अहिले तिनै प्रधानमन्त्री भन्न थालेका छन्— भाइरस त सोचेको भन्दा निकै कडा रहेछ । यस्ता गैरजिम्मेवार अभिव्यक्तिका कारण पनि महामारी फैलन निकै भूमिका खेलेको थियो । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले महामारीका बीच हजारौंको भीड सडकमा उतारेका थिए, यसले कोरोना रोकथाममा उनीहरू कति संवेदनशील थिए/छन् भन्ने देखाउँछ ।

कोरोना रोकथामको रणनीतिको तयारीमा विज्ञलाई समावेश गराउनुपर्छ, साथै यसविरुद्धको लडाइँमा अग्रभागमा रहने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पर्याप्त सुविधासहित काममा खटाउने नीति लागू गर्नुपर्छ । सम्भावित परिणामको फराकिलो अनुमान र सुरक्षा निकायको अधिकतम परिचालन गर्न–गराउन राज्यका सबै संयन्त्र, साधनस्रोतसहित तम्तयार राख्नु आवश्यक छ । सुरक्षा निकायको कमान्ड सेन्टरलाई संघ, प्रदेश र स्थानीयमा वर्गीकरण गरी उक्त सेन्टरको रेखदेख तथा नियन्त्रणमा रहने गरी स्थानीय जनप्रतिनिधि र स्वयंसेवक समूहलाई अधिकतम रूपमा परिचालन गर्ने रणनीति लागू गर्नुपर्छ । प्रकोप व्यवस्थापनको निहुँमा कैयौं स्वार्थ समूह सक्रिय हुन सक्ने भएकाले उनीहरूको अनर्गल प्रचार र गैरकानुनी कार्यलाई प्रभावकारी र कठोर ढंगले समयमै नियन्त्रण गर्नुपर्छ । साथै निषेधाज्ञा लामो समय तन्किए निम्न आय भएका र दैनिक श्रम गरेर जीविकोपार्जन गर्नेहरूबाट प्रतिरोध हुन सक्छ, त्यसैले उनीहरूको आवश्यकता व्यवस्थापनका लागि समयमै ध्यान दिनुपर्छ । यो समस्या विशेष गरी सहरी क्षेत्रमा देखा पर्ने भएकाले सामूहिक रूपमा खानपिन र बसोबासका लागि छुट्टै स्थान निर्धारण गरी सोको व्यवस्थापनमा सुरक्षा निकायलाई खटाउनुपर्छ ।

हालैको अध्ययनअनुसार, चीनमा लामो समयसम्म आइसोलेसनमा रहेका व्यक्तिहरूको सम्बन्धविच्छेद भइरहेको छ । जीवनशैलीमा आएको अनपेक्षित अवरोधले मनोविज्ञानमा कतिसम्म नकारात्मक असर पुर्‍याउँदो रहेछ भन्ने उदाहरण हुन् यी सम्बन्धविच्छेदहरू । हुन त, हामी नेपालीमा धैर्य र संयम छ भनिन्छ, सामाजिक र परिवारिक बनोटका आधारमा; घटनाविशेषलाई परिस्थितिअनुरूप ढाल्न सक्ने प्रचुर क्षमता रहेको पुष्टि गोरखा भूकम्पमै पनि देखिएको हो, तैपनि महामारीको दीर्घकालीन प्रभाव रोकथाम रणनीतिअन्तर्गत मनोवैज्ञानिक सेवाको व्यवस्थापनमा समेत ध्यान दिनु आवश्यक छ । आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि जुनसुकै तबरले, जुनसुकै तहमा पनि सेटिङ गर्न खप्पिस हाम्रा राजनीतिज्ञहरूले कोरोना नियन्त्रणका लागि पनि व्यापारिक समूहसँग साँठगाँठ गरेरै भए पनि केही थान भेन्टिलेटर, अक्सिजन सिलिन्डर र खोपको जोहो गरे जनताको जीवन जोगिन्थ्यो ।

लोकतान्त्रिक सरकारको जवाफदेहीमै भाइरस प्रवेश गरेपछि उसले ‘फन्डा’ को राजनीति गर्न थाल्छ । सरकारले आमनागरिकको ध्यानलाई अन्यत्रै मोड्न समयसमयमा मिथ्या र अनर्गल सन्दर्भ जोडेर जवाफदेहीबाट भाग्ने रणनीति अख्तियार गरेको हुन्छ । अहिले हामीकहाँ पनि जवाफदेहीविहीन राजनीतिले प्रश्रय पाइरहेको छ । आमनागरिकलाई झुक्याउन, अलमल्याउन विभिन्न ‘फन्डा’ भइरहेको छ; तीमध्ये धार्मिक र भावनात्मक ‘फन्डा’ मा सरकारले निकै ऊर्जा खर्च गरिरहेको छ । आमनागरिकलाई आत्मनिर्भर बनाउन पूर्ण रूपमा असफल भएपछि सरकारले परमात्मा–निर्भरको कार्ड खेल्ने रणनीतिअनुरूप हाम्रा भावनात्मक प्रतीक र आस्थाका धरोहरहरूलाई पनि राजनीतिक ‘फन्डा’ का रूपमा उपयोग गर्दै छ । भगवान्ले कोरोना संक्रमणको विषम परिस्थितिमा करोडौंको सुनको जलप ‘मलाई लगाइदेऊ’ भने होलान् र ?

यो त केवल धार्मिक आस्थासँग राजनीतिक लाभका लागि गरिएको अर्को सेटिङ हो; आफ्नो अस्तित्वका लागि एन्टिबडीका रूपमा प्रयोग गरिएको कुटिल चाल मात्र हो । यस्ता राजनीतिक भाइरस उन्मूलन नगरुन्जेल महामारी कुनै न कुनै स्वरूपमा हाम्रो समाजमा देखा परी नै रहनेछन् । ढिलोचाँडो कुटिल राजनीतिक चालबाट मुलुकलाई जोगाउन राजनीति आफैंले आफ्नो कोर्स तय गर्ने नै छ, यो आमनागरिकको चेतनास्तरमा पनि निर्भर हुने विषय हो । कोरोना कहरमा छटपटाइरहेकाहरूलाई अहिले सबैभन्दा महत्त्वपूर्ण आफ्नो सुरक्षा लागेको छ । उनीहरूले राजनीतिबाट आफ्नो सयस्या समाधान हुन्छ भनेर कुनै अपेक्षा राखेका छैनन् । सर्वाधिक भरोसा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?