इतिहासले माफी दिनेछैन

कोरोनासँगको लडाइँ लम्बिँदै गए भोकले मान्छे मर्ने स्थिति आउन धेरै समय लाग्नेछैन । बजेटमा राख्ने र साउनदेखि लागू गर्ने घोषणाले अहिलेको पीडा कम हुनेछैन ।

कोरोना भाइरस हाम्रो दुस्मन हो, यसलाई जित्नुपर्छ र जित्न सकिन्छ । मैले बुझेसम्म कोरोना भाइरसको तार्किक मगज हुँदैन तर प्रकृतिले मानिसलाई तार्किक मगज दिएको छ । यो लडाइँमा जुनजुन राष्ट्रले विज्ञानको सहारामा यो मानव मगजको प्रयोग गर्छन्, ती विजयी हुनेछन्, अन्यथा अकल्पनीय पीडा भोग्नुपर्नेछ ।

इतिहासले माफी दिनेछैन

लडाइँमा जित्ने कलाबारे चीनका महान् रणनीतिकार सुन जुले लेखेको ‘युद्धकला’ भन्ने सानो किताब अविस्मरणीय छ । सन् १७७२ मा भारत आएका फ्रान्सका पादरीले यो किताब चिनियाँबाट फ्रान्सेली भाषामा उल्था गरे । भनिन्छ, नेपोलियनले यो किताब पनि पढेका थिए र यसैमा उल्लिखित रणनीति उनको सफलताको एउटा कारक थियो । सुन जुका अर्का चेला निश्चित रूपमा माओ त्सेतुङ थिए जुन उनको युद्ध रणनीतिसम्बन्धी पुस्तकबाट प्रस्ट हुन्छ ।

सुन जुको युद्धकला मानिसहरूका बीचमा मात्र नभएर कोरोनासँगको लडाइँमा पनि उपयोगी छ । सुन जुको भनाइमा, कुनै पनि लडाइँमा सफलताका लागि आफ्नो दुस्मनलाई चिन्नुपर्छ र साथै आफूले आफूलाई पनि चिन्नुपर्छ । आफूलाई चिन्ने तर दुस्मनलाई नचिन्ने हो भने हरेक विजयपछि हार हुनेछ । तर दुस्मन पनि नचिन्ने र आफूलाई पनि नचिन्ने हो भने हरेक लडाइँमा हार पक्का छ । यो किताबको सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण सूत्र यही हो । कोरोनाको लडाइँमा सबभन्दा ध्यान दिनुपर्ने सूत्र पनि यही हो ।

कोरोनासँगको लडाइँ

हामीले कोरोनालाई कति चिनेका छौं ? यो एक वर्षभित्र विज्ञानले कोरोनाको यथार्थबारे धेरै कुरा थाहा पाइसकेको छ— यसले मानिसलाई कसरी हमला गर्छ, कसरी ज्यान लिन्छ... । कोरोनाले आफ्नो गतिबारे केही लुकाएको पनि छैन । अब यसलाई रोक्ने र लखेट्ने हो भने यसबारे हामी आफ्नो बुझाइअनुरूप अघि बढ्नु जरुरी छ । यसको अर्थ कोरोनासँग लड्दा हामीले आफूलाई पनि बुझ्नुपर्‍यो । अर्थात्, यो लडाइँ लड्न हाम्रो केन्द्रीय र स्थानीय संस्थागत संरचना कस्तो हुने ? रणनीति र कार्यनीति कस्तो हुने ? हामीबीच कस्तो अनुशासन कायम गर्ने ? लडाइँका लागि खटेका योद्धाहरूको मनोबल कसरी उच्च राख्ने ? कस्तो खालका खरखजाना वा स्रोतसाधन उपलब्ध गर्ने ? कोरोना दुस्मनलाई लखेट्न कहाँ कसरी हमला गर्ने ?

अब प्रश्न आउँछ, दुस्मनका रूपमा कोरोनासँग हामीले झन्डै एक वर्षदेखि संघर्ष सुरु गरेका हौं । यो अवधिमा कोरोनालाई बुझ्ने प्रयास गर्‍यौं या गरेनौं ? बुझ्ने प्रयास गरेको भए त्यो बुझाइअनुरूप आफ्नो यथार्थको कति विश्लेषण गरेर रणनीति/कार्यनीति बनायौं र लागू गर्‍यौं ? लडाइँको जर्नेलका लागि मात्र नभएर देश हाँक्ने जर्नेलका रूपमा रहेका सत्ताधारीहरूले यी प्रश्नहरूको जब उपेक्षा गर्छन्, त्यस बखत कोरोनालाई स्वागत गरे बराबर हुन्छ; जनताप्रति अपराध गरेसरह हुन्छ । तर आजको वास्तविकता यस्तै छ ।

हाम्रो एक वर्षको अनुभवले देखाएको छ— हामीले कोरोनालाई चिन्न अस्वीकार गर्‍यौं । यो मानवशत्रुले कसरी यात्रा गर्छ, कसरी हाम्रो शरीरमा हमला गर्छ भन्ने कुरो विज्ञानले स्पष्ट गरे पनि त्यसलाई मनले स्वीकार गरेनौं । नेपाली भनेका ‘विशेष जाति’ हौं, यो पशुपतिनाथको देशमा कोरोनाले केही गर्न सक्तैन भन्ने चिन्तन अवचेतन मनको एउटा कुनामा राम्रोसँग पालेर राख्यौं । यसले हमला गरिसकेपछि यसलाई नियन्त्रण गर्ने विधिबारे वास्ता गरेनौं । हुन त नेपालका यस विषयका विशेषज्ञ डा. शेरबहादुर पुनसहित थुप्रै डाक्टरहरूले बेलैमा सतर्क गराएका हुन् तर नेपालका सत्तासीनहरूले यो बुझ्न चाहेनन् । उल्टो कोरोना केही होइन, बेसार–पानी खाएर ठीक हुन्छ भनेर बेतुक गफ गरे; रोगको यथार्थ, यसको चरित्र र यसको घातक क्षमताबारे आफूले बुझ्ने कोसिस गरेनन् । दुस्मनलाई बुझ्न नचाहनु कुनै पनि लडाइँमा हारको फर्मुला नै हो । यही फर्मुला नेपालका सत्तासीनले अपनाए । उल्टो कोरोनाको नाममा पैसा कमाउने नयाँ खेती सुरु गरियो । जब दुस्मनसितको लडाइँमा जाँदा जर्नेलहरू लडाइँको नाममा भ्रष्टाचार गरेर पैसा कमाउन लाग्छन् र त्यसलाई ढाकछोप गर्छन्, त्यो संगीन अपराध हुन जान्छ । हामीकहाँ यसलाई स्वाभाविक रूपमा राजनीति भनेर पन्छाइयो ।

कोरोनाको दोस्रो लहर आउँछ र यो झन् घातक हुन्छ भनेर विशेषज्ञहरूले सतर्क गराइरहे पनि सत्तासीनहरूले यसको उपेक्षा गरिरहे । उल्टो राजनीतिक दाउपेचले प्राथमिकता पायो । देशमा कोरोनाको घातक दोस्रो हमला हुन्छ भनेर विशेषज्ञहरूले चेताउँदा–चेताउँदै चुनावको घोषणा गरियो । स्वभावतः सरकारी ध्यान र प्राथमिकतामा कोरोना गौण भयो र कोरोनाको घातक चरित्रबारे बुझ्ने प्रयासमा झन्डै पूर्णविराम लाग्यो । ठूलठूला राजनीतिक प्रतिस्पर्धा, मिटिङ हुन थाले । हजारौंको सहभागितामा आध्यात्मिक सम्मेलन हुन थाले र कोरोनारूपी दुस्मनलाई फेरि फस्टाउन दिने वातावरण बनाइयो । यो कोरोनाबारे ज्ञानको कमी नभई कोरोनालाई बुझ्न नचाहने र हामीले सबै जानेका छौं भन्ने अहंकारको मनस्थिति थियो ।

दुस्मनलाई नबुझ्ने, आफूलाई नचिन्ने

दुस्मनलाई बुझ्न नचाहेपछि त्यसविरुद्ध तयारी गर्ने प्रयास भएन । कोरोनाविरुद्ध अब फेरि लड्नुपर्‍यो भने त्यो लडाइँ कस्तो प्रकारको हुने र त्यसमा विजय प्राप्त गर्न हाम्रो तयारी के हुनुपर्ने भन्नेबारे कुनै सोच गएन । अनुभवबाट कुनै कुरा सिक्ने प्रयास भएन । राष्ट्रलाई नेतृत्व दिनु भनेको जसरी भए पनि सत्तामा टिकिरहनु मात्र होइन । यसको अर्थ देश र जनतामाथि पर्न सक्ने सम्भावित खतरा र सङ्कटको अन्दाज गर्नु पनि हो; भविष्यमा राष्ट्रनिर्माणका सम्भावना कहाँ छन् भनी खोज्नु र त्यसका लागि जनतालाई उत्प्रेरित गर्ने संरचना र व्यवहारको निर्माण गर्नु पनि हो । तर हामीकहाँ यो नेतृत्व क्षमताको निरन्तर अभाव रह्यो । त्यसकारण हामीले कोरोनालाई बुझ्न सकेनौं र वुझ्न चाहेनौं । यही संकटको स्पष्ट फर्मुला हो जसलाई सुन जुले २ हजार वर्षअगाडि पेस गरेका थिए ।

कोरोनाको पहिलो पटकको संक्रमण १५ फेब्रुअरी २०२० मा थियो । त्यसपछि १५ अगस्ट २०२० सम्म आइपुग्दा कुल संक्रमण १ बाट २६,०१९ पुग्यो । त्यसपछि अर्को छ महिनामा २,६६,८१६ पुग्यो र त्यसपछिका चार महिनामा कुल संक्रमण ४,३९,६५८ पुग्यो । दैनिक संक्रमणको हिसाबले कोरोनाको पहिलो लहरको उच्चतम विन्दु २१ अक्टोबर २०२० मा पुगेको थियो; ५,७४३ मानिस एकै दिन संक्रमित भएका थिए । त्यसपछि यो घट्न थाल्यो । तर विशेषज्ञहरूले यो लहर गए पनि दोस्रो लहर आउँछ र त्योसँग मुकाबिला गर्न अस्पताल बेडको संख्या, सिमानामा चेकजाँचको विस्तार, अक्सिजनको आपूर्ति, आइसोलेसन सेन्टर, कन्ट्याक्ट ट्रेसिङ गर्ने संरचना लगायतबारे तयारी गर्नुपर्ने आवश्यकता रहेको बारम्बार औंल्याएका हुन् । केही योजना पनि बनेका हुन् । तर सुन जुले भनेजस्तो, दुस्मनलाई नबुझ्ने र आफूलाई पनि नबुझ्ने प्रवृत्ति कायम रह्यो । उल्टो बेसार–पानीकै सिद्धान्त कायम गरियो । कोरोनाविरुद्धका योजनाहरू थन्किए । यसका लागि कोही जिम्मेवार भएन । त्यसैकारण कोरोना नियन्त्रण गर्ने विभिन्न उपकरणका लागि छुट्याइएको थुप्रै रकम अहिलेसम्म खर्च पनि हुन सकेको छैन । किनभने कोरोनासँगको दोस्रो लडाइँबारे बुझ्ने फुर्सद कसैलाई छैन । उल्टो ज्यान बचाउने अन्तिम अस्त्र भ्याक्सिन आयातमा समेत कमिसनको चक्करमा ढिलाइ भएर हामी लाखौं नागरिक खोपबाट वञ्चित भएका छौं । स्थानीय निकाय परिचालनको कुनै कार्यक्रम आउन सकेन । स्थानीय सरकारलाई कोरोनाको पहिलो लहरमा जति पनि सक्रिय बनाउने प्रयास भएन ।

यस्तो अनुकूल वातावरणमा कोरोना नेपालभित्र बलियो भएर प्रवेश गर्‍यो र ११ मे २०२१ मा एक दिनको संक्रमण संख्या ९,३१७ पुग्यो । महामारीमा नेपालीको दुर्दशा हृदयविदारक हुन पुगेको छ । अक्सिजन नभएर मान्छेहरू मर्दै छन् तर सहाराको ठाउँ छैन । डाक्टरहरूले आफ्नो जिन्दगी जोखिममा राखेर उदाहरणीय काम गरेका छन् तर कतिपय अवस्थामा उनीहरूको अवस्था गोली सकिँदै गएको लडाकुको जस्तो हुन पुगेको छ । लडाइँ गर्न खटिएका छन् तर गोली सकिँदै छ !

कोरोनाको पहिलो लहरसँग लड्न राष्ट्रबैंकलगायत वित्तीय संस्थाहरूको पनि केही सक्रियता देखिएको हो । तर दोस्रो लडाइँमा आम जनता र विशेषतः मजदुरी गरेर खानुपर्ने गरिब जनताको अवस्थाबारे सरकार बेखबर छ, स्थानीय एकाइहरू परिचालित छैनन् र वास्तवमा पूरा राज्य संरचना अन्योलमा छ । आफ्नो शक्ति र साधन के हो, त्यसलाई कसरी परिचालन गर्ने भन्नेबारे ठालुहरू कसैको ध्यान छैन । दुई दिनअगाडि प्रधानमन्त्री ‘स्थिति नियन्त्रणमा छ’ भनी गर्जन्छन्, दुई दिनपछि ‘हामी सङ्कटमा छौं, सहयोग गर्नुस्’ भनी भिक्षा माग्छन् । आफ्नो देश र आफ्नो सरकार कोरोनासँगको लडाइँमा कुन धरातलमा छ भन्नेबारे सरकार नै अनभिज्ञ छ । त्यसैले निरीहता र हताशा कायम छ । केही दिनअगाडि उपप्रधानमन्त्रीको कोरोना नियन्त्रण व्यवस्थापन गर्ने समितिले गरेको अक्सिजनको कुपन बाँड्ने काम पनि हताश मनस्थितिकै स्पष्ट उदाहरण हो ।

कोरोनासँगको अबको युद्ध सजिलो छैन । दोस्रो लहर कम भयो भने पनि तेस्रो लहर आउने सम्भावना रहेको विशेषज्ञहरूले बताउँदै छन् । प्रतिरोधात्मक र उपचारात्मक दुवै क्षेत्रमा हाम्रो कमजोरी कहाँ छ, विश्लेषण गरी अगाडि बढ्नु जरुरी छ । यो लडाइँ जित्न राज्यले आफ्नो कमजोरी र शक्ति दुवै राम्रोसँग बुझ्नु अनिवार्य छ ।

प्रतिरोधात्मक तहमा सिमानामा चेक–जाँचको व्यवस्था, स्थानीय तहमा आइसोलेसन सुविधाको निर्माण र जति सकिन्छ स्थानीय सरकारको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नुपर्छ । स्थानीय सरकारहरूलाई केन्द्रसँग समन्वय गरी सक्रिय गराउने काम हुन सकेको छैन । तर यो तहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । लडाइँको महत्त्वपूर्ण मोर्चा यही हो, जसका लागि स्थानीय सरकार र केन्द्र सरकारबीच सहयोग र प्रतिबद्धता अनिवार्य छ । यसका लागि स्थानीय तहले आफूसँगको साधनस्रोत लगाउने र केन्द्रबाट थप सहयोग दिई निश्चित मापदण्डअनुरूप काम अगाडि बढाउनु अनिवार्य छ । रोगको स्रोतमै नियन्त्रणका प्रयास नगर्ने हो भने उपचार व्यवस्थाले मात्रै धान्दैन ।

उपचारात्मक तहमा मुख्य कुरो, पहिलो लहरमा देखिएको जस्तो जनताको यो दुःखलाई पैसा कमाउने मौकाका रूपमा लिने घृणित मनस्थिति छोड्नुपर्‍यो । २०४५ सालमा भारतले नाकाबन्दी गरेपछि काठमाडौंमा इन्धन अभाव हुन नदिन त्यस बखतका प्रधानमन्त्री मरीचमान सिंहले नेपालको बोइङ जेटमा सिंगापुरबाट इन्धन ल्याउने आँट गरेका थिए । अक्सिजन र यसका उपकरणको कमी भए हवाईजहाजबाटै पनि त्यसलाई चाहिने उपकरण उद्योग–वाणिज्य महासंघ, नेपाल मेडिकल काउन्सिलसँगको समन्वय र सहकार्यमा ल्याउनुपर्‍यो । यो काममा थुप्रै देशमा रहेका हाम्रा राजदूतावासहरू सक्रिय हुन सकेका छैनन् भने जनताले किन कर तिर्ने ? निजी र सरकारी क्षेत्रको सहकार्यमा जसरी भए पनि अन्तर्राष्ट्रिय बजारबाट खोप किनेर ल्याउनैपर्‍यो ।

कोभिडको भारबाट रोजगारी गुमाएका गरिबहरूलाई केही समयका लागि खाद्यान्न सहयोग आवश्यक भएको छ । यो लडाइँ अलि लम्बिएर गयो भने भोकले मान्छे मर्ने स्थिति आउन धेरै समय लाग्नेछैन । साथै राष्ट्रबैंक, अर्थ मन्त्रालयले साना उद्योगलाई टिकाउन पहिले लिइएका केही सकारात्मक कदमहरूलाई निरन्तरता दिने मात्र नभई अरू सुविधा के दिन सकिन्छ भन्नेबारे सोच्न अबेर भइसकेको छ । बजेटमा राख्ने र साउनदेखि लागू गर्ने घोषणाले अहिलेको पीडा कम हुनेछैन ।

अन्तमा, यो सरकारले कोरोनासँगको लडाइँमा न दुस्मनलाई बुझ्न चाह्यो न आफूलाई बुझ्न सक्यो । सत्ता टिकाउने राजनीतिक खेल नै राजनीतिको केन्द्रविन्दुमा रहनुले आम जनताका पीडा र दुःखलाई उपेक्षा गरिएको स्पष्ट छ । संविधानमा निहित राज्य–जनता समझदारीको उपेक्षा भएको छ र जनताको धैर्यलाई अप्रत्यक्ष रूपमा चुनौती दिइएको छ । आज नेपालीले आफूलाई बेसहारा महसुस गर्दै छन् । अझ खतरनाक कुरो, हाम्रै अक्षमता र हीन मनस्थितिका कारण हाम्रो देश ठूला देशहरूको क्रीडास्थलमा परिणत हुँदै छ । प्रजातन्त्र र जनताको शक्तिबारे लामा सैद्धान्तिक भाषण गर्ने क्षमतावान् व्यक्तिहरूको कमी देशमा छैन । तर व्यवहारमा प्रजातन्त्रले माग्ने व्यावहारिक संयम, मर्यादा र अनुशासनको ठाडो उल्लंघन गर्ने, देशको शासन एउटा सानो भुइँफुट्टा वर्गलाई अकुत रूपमा धनी वनाउन प्रयोग गर्ने र आम जनता एक मुठी अक्सिजनका लागि भौंतारिन र मृत्युवरण गर्न बाध्य भइरहनुपर्ने हो भने यो देशप्रतिको ठूलो बेइमानी हुनेछ र जनताले माफ गर्नेछैनन् । यसबारे समयमै विचार गर्नु बुद्धिमानी हुनेछ ।

(लोहनी राप्रपाका अध्यक्ष हुन् ।)

प्रकाशित : जेष्ठ ७, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?