२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कसले पुछिदेला आँसु !

जाऊ, ती अस्पतालहरूमा; भेट ती निरीह जनतालाई; हात देऊ ती असहायहरुलाई अनि हौसलाका दुई शब्द बाँडिदेऊ । एकचोटि नेता बनिदेऊ !
कुशुम क्षेत्री

हरेक शनिबारझैं त्यो दिन पनि म ढिलो उठें । भान्छाको काम सकें । महामारीले फुर्सदिलो र एक्लो बनाएकी म, अलिकति लेख्ने काम सकेपछि फेसबुकको भित्तातिर हेर्न थालें । एकपछि अर्को श्रद्धाञ्जलीका तस्बिर थिए भित्तैभरि ! मनै कुँडियो, आफ्नै साथीका श्रीमान्को तस्बिर पनि त्यहीँ देख्दा ।

कसले पुछिदेला आँसु !

हुन त पछिल्लो हप्तादेखि यही दिनचर्या बनेको थियो मेरो । धेरै चिनजानका व्यक्तिहरू गुमाएकी थिएँ । विचलित मनलाई थोरै खिच्ने कोसिस गरें मैले अन्य समाचारतर्फ । अनि भेटियो एउटा भिडियो, चर्चित कलाकार सन्दीप क्षेत्रीको । त्यसलगत्तै ‘अक्सिजन नहुँदा आँसु’ अनि एकपछि अर्को थुप्रै निराशाका गह्रौं शीर्षक बोकेका समाचारहरू ! कुनै बिरामीका, कुनै स्वास्थ्यकर्मीका त कुनै अस्पताल प्रशासनका । यी सबै समाचारमा एउटा कुरा भने साझा थियो— अक्सिजन, जुन नहुँदा साँच्चिकै आँसु थियो जताततै ।

मलाई भने यी सब देखेर पोलिरहेको थियो । त्यसो त म आजका दिनसम्म आरामले नै बाँचिरहेकी छु । म यो सबै भोगिरहेका मानिसहरूको पीडा कल्पना पनि गर्न सक्दिनँ । अफसोस, त्यो पोलाइ निभाउन सजिलो छैन, आँसु पुछ्न सजिलो छैन । म पनि हरेक सर्वसाधारणजस्तै लाचार छु, विवश छु । अब बस, हात जोडेर बिन्ती गर्दै छु; प्रार्थना गर्दै छु; केही सहयोगी हातहरूलाई साथ दिँदै छु । भनिन्छ, सास रहुन्जेल आस हुन्छ; त्यही आस गर्दै छु ।

मध्याह्नतिर फोनको घण्टी बज्यो, उठाएँ । सँगै कार्यरत एउटा साथीका आफन्तलाई सास लिन गाह्रो भएछ । उसको आवाज निकै मलिन थियो । सानो सहयोग माग्यो उसले, ‘एम्बुलेन्स खोज्न सहयोग गरिदेऊ न ।’ मैले ‘ए हुन्छ, म कोसिस गर्छु’ भनें । कोसिस गरें पनि, अन्य साथीलाई समेत भनें । तर, स्थिति साह्रै जटिल बनिसकेको रहेछ । यसअघि म यो जटिलताप्रति त्यति सचेत थिइनँ । धेरै प्रयास गरियो । अस्पतालको सिफारिस नआएसम्म एउटा एम्बुलेन्स पनि नपाइने अवस्था रहेछ ! मलाई दुई–चार दिनअघि यस्तै क्रममा ज्यान गुमाउनुहुने आफन्तको याद आइरहेको थियो । फेरि फोन गरें । मैले कुरा गरेर भएन, आखिरमा घण्टौंको प्रयासपछि बिरामीकै परिवार सदस्यले कुनै अस्पतालको स्टाफ/डाक्टरसँग सिफारिस मागेपछि एम्बुलेन्स सेवाप्रदायकले सेवा उपलब्ध गराएछन् । सोच्नुस्, यति समयमा बिरामीको अवस्था निकै नाजुक भएको भए के गर्न सक्थ्यौं होला हामी ? अस्पतालमा यसपश्चात्‌का आवश्यक स्वास्थ्य सुविधा पाउनु पनि सोचेजत्तिकै सजिलो रहेनछ । यो त एक राजधानीभित्रकै घटना हो, देशका अन्य ठाउँको अवस्था त अझ विकराल छ ।

दुर्भाग्यवश, यस्तो विषम परिस्थितिमा मूकदर्शक बनिरहेका, हामीले नै बनाएका, नेताहरूलाई आज प्रश्न सोध्न चाहन्नँ र आलोचना पनि गर्न चाहन्नँ; मात्र बिन्ती गर्न चाहन्छु म । नेतागण, परिस्थितिको संवेदनशीलता बुझिदेओ । यो कुनै आर्थिक, राजनीतिक वा वित्तीय संकट होइन; सामाजिक संकट हो, मानवीय संकट हो । हामी विकासको कुनै परियोजना बनाइरहेका छैनौं, कुनै चुनावको तयारी गरिरहेका पनि होइनौं, हामी जीवनरक्षाको लडाइँमा छौं । हामीसँग समयको विलासिता छैन आज ।

कसैको जीवनको समय बचाउन यति धेरै समय नलिइदेऊ तिमी । जाऊ, ती अस्पतालहरूमा; भेट ती निरीह जनतालाई; हात देऊ ती असहायहरूलाई अनि हौसलाका दुई शब्द बाँडिदेऊ । एकचोटि आँसु पुछिदेऊ, एकचोटि नेता बनिदेऊ !

प्रकाशित : जेष्ठ ७, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?