हारबर्ट सरकार र नेकपा एमाले- विचार - कान्तिपुर समाचार

हारबर्ट सरकार र नेकपा एमाले

समता र प्रगतिका सपनालाई अर्थहीन तुल्याउने खेलका क्रूर र अकलगुम विदूषकहरू अखबारी व्यंग्यका लायक पनि छैनन् ।
उज्ज्वल प्रसाई

कोरोना–त्रासदीमा उत्पन्न विषाद, भय र सन्तापबीच उही चिरपरिचित नेकपा एमाले पार्टी फेरि एक पटक ‘थिएटर अफ एब्सर्ड’ बन्यो । पात्रहरू नयाँ होइनन्, प्रवृत्तिमा नूतनता केही थिएन, कथानकमा अर्थहीनताकै पनि कुनै नवीन पत्र खोज्नुपर्ने थिएन ।

विषाणुले शरीरमा घर गरेर सासको जोहो गर्न अप्ठ्यारो परिनसकेर संयोगले बाँचेकाहरूलाई एउटा तमासा भने पक्कै थियो ताजा एमाले प्रकरण । जीवन क्षणभंगुर छ भन्ने भावलाई व्यवस्था स्वयंले जबर्जस्त उकेरा लगाइरहेका बेला, राजनीतिक दल तमासे बन्नु सायद अनौठो होइन । विदीर्ण एउटा धुन नेपथ्यमा बजेको थियो, मञ्चमा विदूषकहरू नक्कली कपाल हल्लाउँदै लेग्रो तानेर कम्युनिस्ट आन्दोलन, जबज, क्रान्ति, परिवर्तन, संसारकै उत्कृष्ट पार्टी केके केके भनिरहेका थिए । अकस्मात् हारबर्ट सरकारको झल्को आयो ।

मुक्तिको मृतात्मा

अंग्रेज उपनिवेशको प्रभावमिश्रित बंगाली समाजमा पढे–बढेका बाबुआमाको छोरो थियो— हारबर्ट सरकार । ती उम्दा बाबुआमा असमयमै मरिगए । जसले हुर्काए, ती परचक्रीझैं थिए । कवितामा आफ्नो मेधा परीक्षण गर्न खोज्ने हारबर्ट सरकार हेपिँदै र पेलिँदै हुर्किएर वयस्क बन्यो । गाउँबाट सहर पढ्न आएको भतिजो थियो बिनु, परित्यक्त यो काकालाई ऊ माया गर्थ्यो । हारबर्टको उदास कोठामा ऊ आइरहन्थ्यो, आफ्ना डायरी र अरू जिन्सी लुकाउँथ्यो । नक्सलवादी आन्दोलनमा लागेको बिनुलाई आफ्ना सामान लुकाउने सुरक्षित ठाउँ चाहिन्थ्यो, हारबर्टलाई साथी । छटाएको झैं मानिने हारबर्टका कोठामा अरू कोही हम्मेसी आउँदैनथे, ऊ भूतप्रेतबारे पढिबस्थ्यो । काका–भतिज गफ गर्थे; बिनुले मान्छेको मुक्तिको समाजवादी बाटोबारे उसलाई सुनाउँथ्यो, माओ पढ् भन्थ्यो । एक दिन अकस्मात् बिनु प्रहरीको निसाना भयो, क्रान्तिका नाममा जीवन बलिदान गर्‍यो । उसको डायरी हारबर्टसँगै रह्यो, लुकाएका सामान त्यत्तिकै रहे ।

हारबर्ट जादुटुनाबारे पढ्न थाल्यो । बिनुका डायरी पनि पढ्यो, उसका सपना र कल्पना पढ्यो । ती सबै बिनुसँगै करिब मरिसकेका थिए । हारबर्ट मरिसकेको ‘अस्तित्व’ सँग बात मार्ने विधि खोज्न थाल्यो । प्रेत विद्या सिक्न उसले केही मौलिक ग्रन्थको खोजी गर्‍यो । मृणाल कान्ति घोष भक्तिभूषणको ‘अकाउन्ट्स अफ द आफ्टरलाइफ’ र कालीबार वेदान्तबागिसको ‘मिस्टेरिज अफ द आफ्टरलाइफ’ जस्ता ग्रन्थबाट उसले सांसारिक अस्तित्वमा नरहेका आत्मासँग कुराकानी गर्ने विधि सिक्यो । सम्भवतः ऊ बिनुसँग उसका पूरा नभएका मुक्तिका सपनाबारे कुरा गर्न चाहन्थ्यो । यो प्रयत्नबारे उसले आफ्ना जँड्याहा साथीहरूलाई बतायो । बिस्तारै स्वर्गीय पितृहरूसँग सम्पर्क गराइदिन सक्ने हारबर्टको तिलस्मी खुबीबारे चर्चा चल्न थाल्यो । उसकहाँ मानिसहरू मरिसकेका आफन्तसँग सम्पर्क गराइमाग्न आउन थाले । मृतात्मासँग संवाद गराउने उसको पसल नै सुरु भयो, उसका ग्राहकहरू क्रमशः बढ्न थाले । यसबारे पत्तो पाएको एक कर्पोरेट व्यापारी सुरापति मारिकले एउटा उदास कुनोमा चलेको पसललाई ‘देवता व्यवसाय’ का रूपमा सबै ठूला सहरमा फैल्याएर कुस्त पैसा कमाउने योजना बुन्यो ।

अन्तिममा हारबर्ट सरकारको उद्यम भ्रम मात्र हो भन्ने ‘सत्य’ प्रचारित भयो । अनि साथीहरूसँग लस्त हुने गरी मातेको एक रात उसले आत्महत्या गर्‍यो । सम्भवतः हारबर्टले बिनु र उसका मरेका सपनासँग सोझै बात मार्न आफैं मर्ने निधो गरेको थियो । उसलाई जलाउन विद्युत् शवदाहगृहमा लगियो । अघिल्लो रात सँगै रक्सी खाएका साथीहरूले उसका सबै सामान पनि लाससँगै जलाउन लगे । बिनुले लुकाएर राखेका डाइनामाइट र विस्फोटक पदार्थ पनि सिरक–डसनासँग पोको परेर शवदाहगृह पुगे । जसै लास जल्न थाल्यो, शवदाहगृहमा एकपछि अर्को विस्फोट हुन थाल्यो । वरपरका सबैको भागाभाग चल्यो । मृत हारबर्टलाई जलाउँदा किन त्यति विघ्न विस्फोट भयो ? यसको रहस्य के हो ? कसैले पत्तो पाएन ।

नेकपा एमाले र नेकपा माओवादीजस्ता कम्युनिस्ट पार्टीहरू आफैंमा त्यस्ता पर्यावरण भएका छन् जहाँ आन्दोलन, परिवर्तन, समता र मुक्तिका सपनाहरूलाई नै हारबर्ट सरकारझैं बनाइएको छ । उदास, परित्यक्त र अर्थहीन !

ओली–ओतमा हारबर्ट उत्पादन

प्रख्यात बंगाली साहित्यकार नवरुण भट्टाचार्यले सन् १९९३ मा लेखेका थिए— ‘हारबर्ट’ उपन्यास । सोभियत संघको पतन भइसकेको थियो । मजदुर र किसान आन्दोलनले दुर्दान्त व्यथा भोग्न थालेका थिए । बंगालको सत्ताधारी भाकपा मार्क्सवादीले एकपछि अर्को निर्णयमा प्रदर्शन गरिरहेको ‘एब्सर्डिटी’ उत्सवमयी थिएन । कतिपय आलोचकका शब्दमा भन्ने हो भने, ‘मनु–मार्क्सवाद’ को अनौठो प्रयोग भइरहेको थियो बंगालमा । नक्सलवादले सयौं जटिलता भोग्न थालिसकेको थियो । बिनुजस्ता पात्र र तिनका सपना सबै मृतप्रायः थिए । यसैबीच दुनियाँ भूमण्डलीकृत भएको संकथन बलिया बन्यो, उपभोगको स्वर्ग सृजना हुँदै छ भन्ने उद्घोष सबैभन्दा पत्यारिलो बन्यो ।

यी सबै अर्थ–सामाजिक एवं सांस्कृतिक उतारचढावलाई नजिकबाट परख गरिरहेका भट्टाचार्यले क्रान्तिका नाममा बलिदान दिएको बिनुलाई होइन, हारबर्टलाई उपन्यासको नायक बनाए । त्यस्तो सबाल्टर्न पात्र उनको नायक भयो जसले जिउँदा क्रान्तिकारीसँग अर्थपूर्ण संवाद गर्न सक्दैन र खासै अवसर पनि पाउँदैन, बरु मुक्तिका मृतात्मासँग संवाद गर्न खोज्दाखोज्दै आत्महत्या गर्न पुग्छ । उसको लघु–उद्यमको भाउ बढेको सुइँको पाउनासाथ बजार प्रभावी बन्न खोज्छ तर भूमण्डलीकरणको लाभ पनि उठाउन नपाउँदै, हारबर्ट उदांगिन्छ । नायक मर्दा विस्फोट त हुन्छ तर त्यो विस्फोटको रहस्य कसैले बुझ्दैन, त्यसले कसैलाई निद्राबाट ब्युँझाउँदैन । न सत्तालाई, न सत्ताले किनारा लगाएका परित्यक्तहरूलाई !

अहिले केपी ओलीको नेतृत्वमा नेकपा एमालेले समता र प्रगतिको सपनालाई हारबर्ट सरकारझैं बनाएको छ । ओलीको उदय हुने पर्यावरण निर्माण गर्नमा उल्लेख्य योगदान गरेका माधव नेपाल हारबर्टको निरीह मलामी बनेका छन् । अलि पर बसेर उति नै निरीहतासाथ यो बरबादीमा आफ्नो योगदान बिर्सिएको स्वाङ पार्दै हेरिरहने पात्र हुन् पुष्पकमल दाहाल । हारबर्टको शव जल्न थाल्दा उहिल्यै साँचिएका क्रान्तिका डाइनामाइटहरू पड्किए ।

विस्फोट सुनेर चिल्लबिल्ल भएका मानिसका अनुहारमा जस्ता अलमल, भय र निरीहता देखिए होलान्, त्यो थाहा पाउन घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र ठाकुर गैरेहरूका भावभंगिमा हेर्नुपर्छ । विस्फोटबाट उछिट्टिएर आएका छर्राले आफूलाई चोट पुर्‍याउलान् भनेर भुसाल र गैरेहरू तर्किन खोजेका छन्, तर जोगिन सकेका छैनन् । विस्फोटले तर्सेका जरुर छन्, ब्युँझेका छैनन् ! ब्युँझेर नयाँ सम्भावनाको खोजी गर्ने हिम्मत गरेका छैनन् ! बरु आफैं नायक बन्न सकिँदैन भन्ने ठहर गरेर दर्जनौं हारबर्ट सरकारहरू बनाउने उद्यममा सामेल भइसकेका छन् । विषाक्त पर्यावरणमा कुनै बदलाव ल्याउन सकिँदैन भन्ने थाहा पाएरै उनीहरू त्यहाँ सामेल छन् । त्यही विषाक्त राजनीतिको दुष्प्रभावका कारण वर्तमान त्रासदी निम्तिएको हो भन्ने बुझेर पनि आफ्नै अग्रसरतामा खुल्न सक्ने नयाँ सम्भावनाको ढोका बन्द गरेका छन् । थोरै आशा राखेर प्रगतिपथमा लाग्न खोज्ने जीवित बिनुहरू जति थिए, तिनलाई झुक्याएर यी ओली–ओतमा फर्केका छन् । ती बिनुहरूलाई हारबर्टमा परिणत गराउन यी सबै संलग्न हुनेछन् ।

अब कस्तो हारबर्ट ?

समता र प्रगतिका सपनालाई अर्थहीन तुल्याउने खेलका यी क्रूर र अकलगुम विदूषकहरू अखबारी व्यंग्यका लायक पनि छैनन् । सत्तामा एमाले छ र ऊ अर्थहीन तमासा मञ्चन गर्न निमग्न छ । एमाले प्रकरण जारी रहेकै बेला विषाणुको आक्रमणबाट बचाउन सकिने सयौं मान्छे मरे । कस्ता शब्दमा व्यंग्य लेख्नु ? खोप लगाएर जोगाउन सकिने लाखौं नागरिकलाई जानाजान धरापमा धकेलियो । विरोधको स्वर कति उँचो बनाउनु ? एउटा खोप लगाइसकेर अर्को खोपको पर्खाइमा बसेका ज्येष्ठ नागरिकहरू प्रत्येक दिन खोपसँग जोडिएका रहस्यमयी लेनदेनका खबर पढेर निराश हुन थालेका छन् । बालबालिका जोगाउन नसकेर निसासिएका छन् अभिभावक । भोकै मर्दै छन् मजदुर । रुँदै कति कराउनु ? कराउँदै कति रुनु ? यी हजारौं मान्छेका सुस्केरा, आँसु, आर्तनाद केपी ओली प्रवृत्तिले परिभाषित गर्ने नेपाली राजनीतिको असफलताको दसीका रूपमा रहलान् ।

बंगालको कम्युनिस्ट आन्दोलनको असफलता हारबर्ट बन्यो । नवरुणले हारबर्टलाई नायक बनाएर नायक बन्न नसकेका कम्युनिस्टहरूलाई व्यंग्य गरेका हुन् । नेपाली कम्युनिस्ट आन्दोलन स्वयंलाई हारबर्ट बनाइरहेका एमाले र माओवादीका कथा के बन्लान् ? चिन्तन, मूल्य र इमानदारीको दारिद्र्यको विदारक कथालाई आख्यानको रोचकता प्रदान गर्न असाध्यै मुस्किल पर्न सक्छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

अघोषित राजनीतिक संकटकाल

बालुवाटार दाहिना हुनेका लागि ठीकै होला, अरूलाई मौजुदा संस्था र संयन्त्र टेक्ने–समाउने ठाउँ भएनन् ।
कोरोनासम्बद्ध स्वास्थ्य संकटलाई यो विकराल अवस्थामा ल्याइपुर्‍याउनमा तिनै जिम्मेवार छन्, जसले समग्र समाजका नाममा आफ्ना लागि मात्र निर्णयहरू गरिरहे, कमिसनका लागि सबैभन्दा ज्यादा गैरजिम्मेवार बनिरहे ।
उज्ज्वल प्रसाई

विषयविज्ञता नभएका सर्वसाधारणले उपलब्ध सूचना र विश्लेषण पढेर बुझेको सत्य एउटै छ— कोरोनाबाट खेर जान सक्ने लाखौं मान्छेको एक बारको जुनी बचाउने सबैभन्दा भरपर्दो उपाय खोप लगाउनु हो । कोरोनाविरुद्धको खोप लगाएकामध्ये धेरैलाई रोगले गाँज्न सक्छ तर ठूलो क्षतिबाट जोगाउने सम्भावना अधिक हुन्छ ।

वैज्ञानिकहरूले तोकेको अन्तरालमा सबै मानिसले दुई डोज खोप लगाउन पाए भने यो महासंकटबाट समग्र समाज जोगिन सक्छ । तर विडम्बना कस्तो छ भने, सिंगो समाजको वर्तमान र भविष्य जोगाइदिन सक्ने त्यही खोपमा भयानक षड्यन्त्र रचिएको छ ।

महासंकटबाट पार पाउने एक मात्र बाटो अवरुद्ध गराउने त्यस्तो षड्यन्त्र कहाँ हुँदै छ र कसले गर्दै छ ? खबरहरू भन्छन्, स्वयं बालुवाटार त्यो षड्यन्त्र रच्ने र कार्यान्वयन गराउने केन्द्र हो । कमिसनबाट आउने करोडौं रुपैयाँको खेल सुरु भएपछि खोप आउन नसकेको हो । खबरका सहजै बुझिने संकेत छन्— बालुवाटारकै हातमा त्यो लट्टाई छ जसमा गुजुल्टो परेर बेरिएको छ कमिसनको मुद्दा । कमिसनको त्यो लट्टाईमा फसेको लाखौं डोज खोपले आज बितिरहेका दर्जनौं मान्छेका ज्यान जोगाउन सक्ने प्रचुर सम्भावना थियो । अहो, सम्झँदा मात्र पनि शरीर फतक्क गलेर आउँछ ! कोरोनाको सिकार भएका ती चिनारुका अनुहारहरू झलझली आँखामा आउँछन् ! दुःख, आक्रोश र क्षोभले छाती ढक्क फुल्छ; गला अवरुद्ध हुन्छ !

आजका दिनमा बालुवाटार ठाउँविशेष, भवनविशेष र कोही पदासीनको बासस्थानविशेषको नाम मात्रै होइन । बालुवाटार स्वयं मौजुदा सबै संस्थालाई आफ्नो काबुमा राख्न सफल एक शक्तिपुञ्ज हो । शक्ति पृथकीकरणको सिद्धान्त मान्ने व्यवस्थाको त्यस्तो केन्द्र हो जसले सारा व्यवस्थाकै नियति निर्धारण गरिदिन थालेको छ । त्यही सर्वशक्तिमान बालुवाटार सिंगो समाजको उद्धार हेतु ल्याइने जीवनबुटीको राजमार्गमा सबैभन्दा ठूलो तगारो बनेको खबर सार्वजनिक छ । अझै कति दिन र साता बालुवाटार त्यस्तै तगारो बनिरहन्छ, ठेगान छैन । अनि जोगिन सक्ने ज्यानहरू कति दिनसम्म यसै शून्यमा बिलाइरहन्छन्, यकिन छैन ।

के अहिलेको त्रासदी खोप नआएका कारण मात्र उत्पन्न भएको हो ? होइन । खोप ल्याउने र वितरण गर्नेबाहेक गर्नुपर्ने अरू थुप्रै काम थिए । पहिलेको अनुभवले कार्यसूची तयार गरिदिएको थियो, विषयका जानकार विज्ञहरूले गर्नैपर्ने कामबारे सुझाउने कुनै मौका चुकाएका थिएनन् । ती कामका सूची यहाँ दोहोर्‍याउन आवश्यक छैन । सामान्य सूचनामा पहुँच हुने जोसुकै सर्वसाधारणले पनि ती नभएका काम केके थिए, मुखाग्र भन्न सक्छन् । क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, औषधि, प्राविधिक जनशक्ति इत्यादिको विस्तार र चुस्त व्यवस्थापन । भारत र अन्यत्रका घटना र तीबारेका सूचनाका आधारमा समयमा लिनुपर्ने निर्णय । ती निर्णयबारे जनतालाई बुझाउनुपर्ने दायित्व । र, आम नागरिकको साथ लिएर गर्नुपर्ने तयारीबारे कसैले नसुझाएको पनि होइन । यद्यपि हिजोअस्तिसम्म ‘कोरोना परास्त गरेर नेपालीले आफ्नो पराक्रम सिद्ध गरेको’ जस्ता प्रचारमै व्यस्त थियो सत्ता । त्यही प्रचारले सर्वसाधारणलाई पनि आसन्न संकटको सही आकलन गर्न दिएन, अन्यत्रका आँकडासँग दाँजेर पहिले भएका क्षतिलाई कम आँक्न उसै गरी हौस्याइरह्यो ।

वर्तमान भयग्रस्त छ । जो जहिल्यै सत्ता र स्रोतभन्दा पर छ, उसका दुःख तेब्बर भएका छन् । को कति बेला कसरी फुत्त चुँडिन्छ, थाहा छैन । भोकको कैरन सुरु भए मुक्ति कहिले र कसरी होला, भन्न सकिन्न । बाँचेकाको भविष्य स्वयं अनिश्चयको डरलाग्दो भुमरी भएर उनीहरूकै आँखामा मडारिरहन्छ । प्रत्येक क्षण सुन्नुपरेका चट्याङजस्ता खबरले बलजफ्ती जुटाउन खोजेको शान्ति नराम्ररी बिथोल्छ । दुःखमा भएका साथी र आफन्तलाई सहयोग गर्न सकिन्न, आफैंले संकट भोग्दा कसैको दह्रो आड पाइएला भनेर आशा गर्ने ठाउँ छैन । भरोसा बन्नुपर्ने संस्था सबै बालुवाटारको कब्जामा छन् । बालुवाटार दाहिना हुनेका लागि ठीकै होला, अरूलाई मौजुदा संस्था र संयन्त्र टेक्ने–समाउने ठाउँ भएनन् ।

यो एकसरो व्याख्याले भनिसक्यो— समस्या स्वयं विषाणु होइन । यो त्रासद वर्तमानमा हामीलाई ल्याइपुर्‍याउने मुख्य कारण कोरोना र यसका अनेक भेरियन्टहरू होइनन् । सूचना र संवेदनशीलताको कमीका कारण आम मानिसबाट कमजोरीहरू भएका होलान् तर समस्याको जड कारण ती ‘गल्ती’ गर्ने सर्वसाधारण पनि होइनन् । यो अवस्थामा ल्याउनमा खास व्यक्ति, खास समूहहरू दोषी छन्; तिनको पहिचान गर्नु आवश्यक छ ।

कोरोनासम्बद्ध स्वास्थ्य संकटलाई यो विकराल अवस्थामा ल्याइपुर्‍याउने ती निर्णायक मान्छेहरू हुन्, जसले समग्र समाजका नाममा आफ्ना लागि मात्र निर्णयहरू गरिरहे । तिनै जिम्मेवारहरू हुन् जो कमिसनका लागि सबैभन्दा ज्यादा गैरजिम्मेवार बनिरहे । तिनका लागि आफ्नो सत्ता, आफ्नो सुरक्षा, आफ्नो पदीय भविष्य, आफ्नो बजार र आफ्नै बडप्पन मात्र केन्द्रीय चिन्ता भयो । तिनका प्राथमिकताको सूचीमा आम मानिस कहिल्यै परेनन् । यो महासंकट निम्त्याउने तिनै निर्णायकहरू हुन् जसले लोकतन्त्र भनिएको यो व्यवस्थालाई आम मान्छेका संकट पार लगाउने ऊर्जा बन्न कहिल्यै दिएनन् । तिनले निम्त्याएको यो संकट केवल स्वास्थ्यको संकट होइन । यो डरलाग्दो राजनीतिक संकट हो, यो स्वयंमा अघोषित संकटकाल हो । ती निर्णायक मान्छेहरूले जानीबुझी, थाहा पाईपाई, योजना बनाएर तर घोषणा नगरेर आम मानिसमाथि लादेको संकटकाल हो यो ।

सूचनामा पहुँच हुनेले दुनियाँमा त्यस्ता उदाहरणहरू पनि देखेका छन्, जहाँ आम नागरिकका चिन्तालाई केन्द्रीय बनाएर निर्णय गरियो । त्यस्ता जिम्मेवार निर्णायकका काममा भरोसा थियो, नागरिकले बलियो साथ दिए । त्यहाँ खडा गरिएका संस्थाहरूले पनि आम मान्छेकै चिन्तालाई मुख्य बनाए, हुन सक्ने ठूला क्षति जोगाए । यो सफलता केवल औषधि, अस्पताल र खोपको मात्रै सफलता होइन । निश्चय नै, विज्ञान र स्वास्थ्य क्षेत्रका सराहनीय काम हुन् यी । समयमा खोप लगाएर, सही निर्णय लिएर, उपचार दिलाएर, चुस्त व्यवस्थापन गरेर धेरैको ज्यान जोगाएको सही राजनीतिक निर्णयले हो । आम मानिसको सरोकारप्रति चिन्तित भएर यतिको सफलता हासिल भएको हो । त्यसैले यो राजनीतिक सफलता हो ।

जसले राजनीतिलाई तिकडमहरूको निर्मम खेलका रूपमा खेले, तिनले केवल प्रोपगान्डा रचे । सर्वसाधारण झुक्याउने विधि खोजिरहे, भ्रमका बाक्ला पर्दा हालेर सत्य छोप्ने दुष्प्रयत्न गरिरहे । तिनले सही सूचना लुकाए, तथ्यांक तोडमरोड गरे र आसन्न संकटप्रति आम मान्छेलाई चनाखो बन्न दिएनन् । अन्दाज नै नगरेको संकटको दलदलमा फस्न थालेका नागरिकलाई पदीय अहंकारको धरहरा देखाइरहे, नक्कली शानका कुम्भ भेला आयोजना गरिरहे । नेपालसँग मिल्दोजुल्दो खबर भारतको छ, त्यसो त केपी ओलीलाई मोदीकै देखासिकी गरेको आरोप लागेको आजदेखि होइन ।

सबैभन्दा बढी कोरोना संक्रमण फैल्याउने गरी लाखौं मान्छेको भेला हुने कुम्भमेला एक वर्षअघि नै सारेर धुनधानका साथ आयोजना गर्ने योजनाकार स्वयं जिम्मेवार सत्ताधारी हुन् । पछिल्ला खबर अझै याद राख्न लायक छन् । उत्तरप्रदेशका सबै जिल्लामा हिन्दुहरूले पवित्र मान्ने घरपालुवा जन्तु गाईलाई कोरोनाबाट जोगाउन हेल्प डेस्क स्थापना गरिएको छ । यही प्रदेशमा मर्दै गरेका हजारौं मान्छेले न शय्या पाएका छन्, न औषधि, न अक्सिजन । अर्को खबरले भन्छ— गायत्री मन्त्रोच्चारणले कोरोना निको पार्न कति भूमिका खेल्छ भनेर थाहा पाउन सरकारी अनुदानमा अहिले अनुसन्धान चलिरहेको छ । यी सबै राजनीतिक निर्णय हुन्, सरकारी कदम हुन् ।

चालु राजनीतिक संकटकाल निमुखा, सुकुमबासी, मजदुर र सत्ताको सेरोफेरोमा नभएका आम मानिसका लागि सबैभन्दा बढी घातक छ । यी बहुसंख्यक मान्छेले यो राजनीतिक संकटकालको अन्तर्य आजै थाहा नपाउलान् र आजै यी सबै ती सत्तासीनलाई सबक सिकाउन नउठ्लान् । तर जति संकट झेलेर जिउँदो रहन्छन् र जतिले बुझ्छन्, तिनले हिसाब राख्लान् । कम्तीमा विस्मृतिमा नपुर्‍याई यी दुर्दिनहरूलाई सम्झेलान् र मुख्य दोषीहरूका अनुहार पनि खिपेर राख्लान्, मस्तिष्कमा । इतिहास कसरी लेखिन्छ, भन्न सकिन्न । सत्ताको सुमेरु घुमिरहने शिला–लेखकहरूले बुनेका कथा नै इतिहास भइरहे, सनकका धरहरा र अहंकारका कुम्भ भेलाहरू प्रशंसित होलान् । आम मान्छेले लेखेको इतिहासमा भने यी सबै विद्रूप असफलता र ढोङका स्मृतिस्तम्भका रूपमा अभिलिखित हुनेछन् । केपी ओली, नरेन्द्र मोदीजस्ता शासकहरू जनलिखित इतिहासमा कस्ता पात्रका रूपमा चित्रित हुनेछन् ? यिनलाई दिइने विशेषणहरू उच्चारण गर्नसमेत कति सकसपूर्ण, अहो !

प्रकाशित : वैशाख २४, २०७८ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×