कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हारबर्ट सरकार र नेकपा एमाले

समता र प्रगतिका सपनालाई अर्थहीन तुल्याउने खेलका क्रूर र अकलगुम विदूषकहरू अखबारी व्यंग्यका लायक पनि छैनन् ।
उज्ज्वल प्रसाई

कोरोना–त्रासदीमा उत्पन्न विषाद, भय र सन्तापबीच उही चिरपरिचित नेकपा एमाले पार्टी फेरि एक पटक ‘थिएटर अफ एब्सर्ड’ बन्यो । पात्रहरू नयाँ होइनन्, प्रवृत्तिमा नूतनता केही थिएन, कथानकमा अर्थहीनताकै पनि कुनै नवीन पत्र खोज्नुपर्ने थिएन ।

हारबर्ट सरकार र नेकपा एमाले

विषाणुले शरीरमा घर गरेर सासको जोहो गर्न अप्ठ्यारो परिनसकेर संयोगले बाँचेकाहरूलाई एउटा तमासा भने पक्कै थियो ताजा एमाले प्रकरण । जीवन क्षणभंगुर छ भन्ने भावलाई व्यवस्था स्वयंले जबर्जस्त उकेरा लगाइरहेका बेला, राजनीतिक दल तमासे बन्नु सायद अनौठो होइन । विदीर्ण एउटा धुन नेपथ्यमा बजेको थियो, मञ्चमा विदूषकहरू नक्कली कपाल हल्लाउँदै लेग्रो तानेर कम्युनिस्ट आन्दोलन, जबज, क्रान्ति, परिवर्तन, संसारकै उत्कृष्ट पार्टी केके केके भनिरहेका थिए । अकस्मात् हारबर्ट सरकारको झल्को आयो ।

मुक्तिको मृतात्मा

अंग्रेज उपनिवेशको प्रभावमिश्रित बंगाली समाजमा पढे–बढेका बाबुआमाको छोरो थियो— हारबर्ट सरकार । ती उम्दा बाबुआमा असमयमै मरिगए । जसले हुर्काए, ती परचक्रीझैं थिए । कवितामा आफ्नो मेधा परीक्षण गर्न खोज्ने हारबर्ट सरकार हेपिँदै र पेलिँदै हुर्किएर वयस्क बन्यो । गाउँबाट सहर पढ्न आएको भतिजो थियो बिनु, परित्यक्त यो काकालाई ऊ माया गर्थ्यो । हारबर्टको उदास कोठामा ऊ आइरहन्थ्यो, आफ्ना डायरी र अरू जिन्सी लुकाउँथ्यो । नक्सलवादी आन्दोलनमा लागेको बिनुलाई आफ्ना सामान लुकाउने सुरक्षित ठाउँ चाहिन्थ्यो, हारबर्टलाई साथी । छटाएको झैं मानिने हारबर्टका कोठामा अरू कोही हम्मेसी आउँदैनथे, ऊ भूतप्रेतबारे पढिबस्थ्यो । काका–भतिज गफ गर्थे; बिनुले मान्छेको मुक्तिको समाजवादी बाटोबारे उसलाई सुनाउँथ्यो, माओ पढ् भन्थ्यो । एक दिन अकस्मात् बिनु प्रहरीको निसाना भयो, क्रान्तिका नाममा जीवन बलिदान गर्‍यो । उसको डायरी हारबर्टसँगै रह्यो, लुकाएका सामान त्यत्तिकै रहे ।

हारबर्ट जादुटुनाबारे पढ्न थाल्यो । बिनुका डायरी पनि पढ्यो, उसका सपना र कल्पना पढ्यो । ती सबै बिनुसँगै करिब मरिसकेका थिए । हारबर्ट मरिसकेको ‘अस्तित्व’ सँग बात मार्ने विधि खोज्न थाल्यो । प्रेत विद्या सिक्न उसले केही मौलिक ग्रन्थको खोजी गर्‍यो । मृणाल कान्ति घोष भक्तिभूषणको ‘अकाउन्ट्स अफ द आफ्टरलाइफ’ र कालीबार वेदान्तबागिसको ‘मिस्टेरिज अफ द आफ्टरलाइफ’ जस्ता ग्रन्थबाट उसले सांसारिक अस्तित्वमा नरहेका आत्मासँग कुराकानी गर्ने विधि सिक्यो । सम्भवतः ऊ बिनुसँग उसका पूरा नभएका मुक्तिका सपनाबारे कुरा गर्न चाहन्थ्यो । यो प्रयत्नबारे उसले आफ्ना जँड्याहा साथीहरूलाई बतायो । बिस्तारै स्वर्गीय पितृहरूसँग सम्पर्क गराइदिन सक्ने हारबर्टको तिलस्मी खुबीबारे चर्चा चल्न थाल्यो । उसकहाँ मानिसहरू मरिसकेका आफन्तसँग सम्पर्क गराइमाग्न आउन थाले । मृतात्मासँग संवाद गराउने उसको पसल नै सुरु भयो, उसका ग्राहकहरू क्रमशः बढ्न थाले । यसबारे पत्तो पाएको एक कर्पोरेट व्यापारी सुरापति मारिकले एउटा उदास कुनोमा चलेको पसललाई ‘देवता व्यवसाय’ का रूपमा सबै ठूला सहरमा फैल्याएर कुस्त पैसा कमाउने योजना बुन्यो ।

अन्तिममा हारबर्ट सरकारको उद्यम भ्रम मात्र हो भन्ने ‘सत्य’ प्रचारित भयो । अनि साथीहरूसँग लस्त हुने गरी मातेको एक रात उसले आत्महत्या गर्‍यो । सम्भवतः हारबर्टले बिनु र उसका मरेका सपनासँग सोझै बात मार्न आफैं मर्ने निधो गरेको थियो । उसलाई जलाउन विद्युत् शवदाहगृहमा लगियो । अघिल्लो रात सँगै रक्सी खाएका साथीहरूले उसका सबै सामान पनि लाससँगै जलाउन लगे । बिनुले लुकाएर राखेका डाइनामाइट र विस्फोटक पदार्थ पनि सिरक–डसनासँग पोको परेर शवदाहगृह पुगे । जसै लास जल्न थाल्यो, शवदाहगृहमा एकपछि अर्को विस्फोट हुन थाल्यो । वरपरका सबैको भागाभाग चल्यो । मृत हारबर्टलाई जलाउँदा किन त्यति विघ्न विस्फोट भयो ? यसको रहस्य के हो ? कसैले पत्तो पाएन ।

नेकपा एमाले र नेकपा माओवादीजस्ता कम्युनिस्ट पार्टीहरू आफैंमा त्यस्ता पर्यावरण भएका छन् जहाँ आन्दोलन, परिवर्तन, समता र मुक्तिका सपनाहरूलाई नै हारबर्ट सरकारझैं बनाइएको छ । उदास, परित्यक्त र अर्थहीन !

ओली–ओतमा हारबर्ट उत्पादन

प्रख्यात बंगाली साहित्यकार नवरुण भट्टाचार्यले सन् १९९३ मा लेखेका थिए— ‘हारबर्ट’ उपन्यास । सोभियत संघको पतन भइसकेको थियो । मजदुर र किसान आन्दोलनले दुर्दान्त व्यथा भोग्न थालेका थिए । बंगालको सत्ताधारी भाकपा मार्क्सवादीले एकपछि अर्को निर्णयमा प्रदर्शन गरिरहेको ‘एब्सर्डिटी’ उत्सवमयी थिएन । कतिपय आलोचकका शब्दमा भन्ने हो भने, ‘मनु–मार्क्सवाद’ को अनौठो प्रयोग भइरहेको थियो बंगालमा । नक्सलवादले सयौं जटिलता भोग्न थालिसकेको थियो । बिनुजस्ता पात्र र तिनका सपना सबै मृतप्रायः थिए । यसैबीच दुनियाँ भूमण्डलीकृत भएको संकथन बलिया बन्यो, उपभोगको स्वर्ग सृजना हुँदै छ भन्ने उद्घोष सबैभन्दा पत्यारिलो बन्यो ।

यी सबै अर्थ–सामाजिक एवं सांस्कृतिक उतारचढावलाई नजिकबाट परख गरिरहेका भट्टाचार्यले क्रान्तिका नाममा बलिदान दिएको बिनुलाई होइन, हारबर्टलाई उपन्यासको नायक बनाए । त्यस्तो सबाल्टर्न पात्र उनको नायक भयो जसले जिउँदा क्रान्तिकारीसँग अर्थपूर्ण संवाद गर्न सक्दैन र खासै अवसर पनि पाउँदैन, बरु मुक्तिका मृतात्मासँग संवाद गर्न खोज्दाखोज्दै आत्महत्या गर्न पुग्छ । उसको लघु–उद्यमको भाउ बढेको सुइँको पाउनासाथ बजार प्रभावी बन्न खोज्छ तर भूमण्डलीकरणको लाभ पनि उठाउन नपाउँदै, हारबर्ट उदांगिन्छ । नायक मर्दा विस्फोट त हुन्छ तर त्यो विस्फोटको रहस्य कसैले बुझ्दैन, त्यसले कसैलाई निद्राबाट ब्युँझाउँदैन । न सत्तालाई, न सत्ताले किनारा लगाएका परित्यक्तहरूलाई !

अहिले केपी ओलीको नेतृत्वमा नेकपा एमालेले समता र प्रगतिको सपनालाई हारबर्ट सरकारझैं बनाएको छ । ओलीको उदय हुने पर्यावरण निर्माण गर्नमा उल्लेख्य योगदान गरेका माधव नेपाल हारबर्टको निरीह मलामी बनेका छन् । अलि पर बसेर उति नै निरीहतासाथ यो बरबादीमा आफ्नो योगदान बिर्सिएको स्वाङ पार्दै हेरिरहने पात्र हुन् पुष्पकमल दाहाल । हारबर्टको शव जल्न थाल्दा उहिल्यै साँचिएका क्रान्तिका डाइनामाइटहरू पड्किए ।

विस्फोट सुनेर चिल्लबिल्ल भएका मानिसका अनुहारमा जस्ता अलमल, भय र निरीहता देखिए होलान्, त्यो थाहा पाउन घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र ठाकुर गैरेहरूका भावभंगिमा हेर्नुपर्छ । विस्फोटबाट उछिट्टिएर आएका छर्राले आफूलाई चोट पुर्‍याउलान् भनेर भुसाल र गैरेहरू तर्किन खोजेका छन्, तर जोगिन सकेका छैनन् । विस्फोटले तर्सेका जरुर छन्, ब्युँझेका छैनन् ! ब्युँझेर नयाँ सम्भावनाको खोजी गर्ने हिम्मत गरेका छैनन् ! बरु आफैं नायक बन्न सकिँदैन भन्ने ठहर गरेर दर्जनौं हारबर्ट सरकारहरू बनाउने उद्यममा सामेल भइसकेका छन् । विषाक्त पर्यावरणमा कुनै बदलाव ल्याउन सकिँदैन भन्ने थाहा पाएरै उनीहरू त्यहाँ सामेल छन् । त्यही विषाक्त राजनीतिको दुष्प्रभावका कारण वर्तमान त्रासदी निम्तिएको हो भन्ने बुझेर पनि आफ्नै अग्रसरतामा खुल्न सक्ने नयाँ सम्भावनाको ढोका बन्द गरेका छन् । थोरै आशा राखेर प्रगतिपथमा लाग्न खोज्ने जीवित बिनुहरू जति थिए, तिनलाई झुक्याएर यी ओली–ओतमा फर्केका छन् । ती बिनुहरूलाई हारबर्टमा परिणत गराउन यी सबै संलग्न हुनेछन् ।

अब कस्तो हारबर्ट ?

समता र प्रगतिका सपनालाई अर्थहीन तुल्याउने खेलका यी क्रूर र अकलगुम विदूषकहरू अखबारी व्यंग्यका लायक पनि छैनन् । सत्तामा एमाले छ र ऊ अर्थहीन तमासा मञ्चन गर्न निमग्न छ । एमाले प्रकरण जारी रहेकै बेला विषाणुको आक्रमणबाट बचाउन सकिने सयौं मान्छे मरे । कस्ता शब्दमा व्यंग्य लेख्नु ? खोप लगाएर जोगाउन सकिने लाखौं नागरिकलाई जानाजान धरापमा धकेलियो । विरोधको स्वर कति उँचो बनाउनु ? एउटा खोप लगाइसकेर अर्को खोपको पर्खाइमा बसेका ज्येष्ठ नागरिकहरू प्रत्येक दिन खोपसँग जोडिएका रहस्यमयी लेनदेनका खबर पढेर निराश हुन थालेका छन् । बालबालिका जोगाउन नसकेर निसासिएका छन् अभिभावक । भोकै मर्दै छन् मजदुर । रुँदै कति कराउनु ? कराउँदै कति रुनु ? यी हजारौं मान्छेका सुस्केरा, आँसु, आर्तनाद केपी ओली प्रवृत्तिले परिभाषित गर्ने नेपाली राजनीतिको असफलताको दसीका रूपमा रहलान् ।

बंगालको कम्युनिस्ट आन्दोलनको असफलता हारबर्ट बन्यो । नवरुणले हारबर्टलाई नायक बनाएर नायक बन्न नसकेका कम्युनिस्टहरूलाई व्यंग्य गरेका हुन् । नेपाली कम्युनिस्ट आन्दोलन स्वयंलाई हारबर्ट बनाइरहेका एमाले र माओवादीका कथा के बन्लान् ? चिन्तन, मूल्य र इमानदारीको दारिद्र्यको विदारक कथालाई आख्यानको रोचकता प्रदान गर्न असाध्यै मुस्किल पर्न सक्छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?