अझ सान्दर्भिक हुँदै संस्कृत

नमिता पौडेल

काकचेष्टा, बको ध्यानं,
स्वाननिद्रा तथैव च ।
अल्पाहारी, गृहत्यागी,
विद्यार्थी पञ्चलक्षणम् ।।

अझ सान्दर्भिक हुँदै संस्कृत

कुनै पनि विद्यार्थीमा उपर्युक्त पाँचवटा लक्षण हुनुपर्छ भनिन्थ्यो, सानामा हामीलाई । अर्थात्, कागको जस्तो जान्ने कोसिस, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, आवश्यकताअनुसार थोरै खाना र ज्ञानार्जनका लागि घरको त्याग । मलाई लाग्छ, चार कक्षादेखि अनिवार्य रहेको संस्कृत पाठ्यक्रमले हामीलाई आफ्नो परम्परा र संस्कृति बुझ्न धेरै सहयोग गरेको थियो । केही वर्षयता भने पाठ्यक्रममा परिवर्तनसँगै संस्कृत भाषाको पहिचान धरमर हुँदै गएको छ । खाना खानुअगाडिको भन्नुपर्ने मन्त्र ‘हरिर्दाता हरिर्भोक्ता हरिरन्नं प्रजापतिः / हरिः सर्वशरीरस्थो भुङ्क्ते भोजयते हरिः’ आज परिवर्तन भएर ‘ओह गड, थ्यांकयु फर द फुड’ भएको छ ।

बाँकी विश्वले, विशेषतः पश्चिमले भने संस्कृत भाषाको महत्तालाई धेरै समयअघिदेखि नै बुझ्दै आइरहेको छ । युरोप–अमेरिकाका अनेक विद्यालय र विश्वविद्यालयहरूमा संस्कृत पढाउने गरिन्छ । कम्प्युटरको आम प्रचलन सुरु भएसँगै यो भाषाको उपादेयता अझ सिद्ध हुँदै आएको छ । त्यो पनि सम्बद्ध वैज्ञानिकहरूकै प्रचारका कारण । ‘द एआई म्यागजिन’ मा सन् १९८५ मा प्रकाशित ‘संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स–नासा : नलेज रिप्रिजेन्टेसन इन संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षक लेखमा नासाका वैज्ञानिक रिक ब्रिग्सले अंग्रेजीमा झैं लेखिने एक थरी र बोलिने अर्को थरी (जस्तो– लेख्दा ‘डीओ’ तर बोल्दा ‘डु’; लेख्दा ‘जीओ’ तर बोल्दा ‘गो’) नभई जे लेखिन्छ त्यही बोलिने (जस्तो— बाल पठति) भएकाले कम्प्युटर प्रोग्रामिङका लागि अंग्रेजीसहित अन्य भाषाभन्दा संस्कृत बढी प्रभावकारी हुने उल्लेख गरेका छन् । अंग्रेजीको साटो संस्कृतलाई कम्प्युटरमा सेट गर्दा (अल्गोरिदममा संस्कृत प्रयोग गर्दा) निकै सजिलो हुने उनको विश्लेषण छ ।

संस्कृतमा भएजति शब्दहरू अरू भाषामा भेट्न सकिँदैन । वर्तमान समयमा संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्द छन् । पर्यायवाची शब्दहरूको अथाह भण्डार छ । त्यही भएर अमेरिकाले छैटौं–सातौं पुस्ताका सुपर कम्प्युटरलाई संस्कृतमा आधारित बनाउने भएको छ (‘नाइन लेसर नोन फ्याक्ट्स अबाउट संस्कृत,’ इन्डियन एक्सप्रेस, २५ अगस्ट २०१८) ।

न्युरो साइन्टिस्ट जेम्स हार्टजेलका अनुसार, कठिन शब्द बोल्दा जिब्रोको प्रशस्त व्यायाम हुने भएकाले संस्कृत बोल्दा दिमागका सबै मांसपेशीको अभ्यास हुन्छ (‘अ न्युरो साइन्टिस्ट एक्सप्लोर्स द संस्कृत इफेक्ट’, साइन्टिफिक अमेरिकन, २ जनवरी २०१८) । सायद यही कारण, संस्कृत पढ्ने प्रायः विद्यार्थीहरूको बुद्धि अरू भाषाका विद्यार्थीको भन्दा दुई–तीन गुणा बढी हुने उनले उल्लेख गरेका छन् । यसका लागि उनले संस्कृतका एक्काइस विद्यार्थी र अरू भाषाका विद्यार्थीहरूबीच तुलनात्मक अध्ययन गरेका थिए ।

संस्कृत भाषाको महिमा विश्वले गम्भीरतापूर्वक बुझिरहेका बेला नेपालमा भने अझ मन्टेसोरीदेखि नै अंग्रेजी मात्र होइन, चिनियाँ र जापानी भाषा पनि पढाइन्छ भनेर हामी दंग पर्छौं । विद्यालयहरूमा विद्यार्थीले अंग्रेजीको साटो नेपाली बोले भने दण्डित गर्ने गरिन्छ । संसारले महत्त्व बुझेको भाषा संस्कृत हामीचाहिँ भावी सन्तानलाई हस्तान्तरण गर्नबाट चुकिरहेका छौं । धेरै अभिभावकले अनौपचारिक रूपमा संस्कृत मन्त्रहरू बालबालिकालाई सिकाउँदै आए पनि विद्यालयमा प्रयोगमा आउन छाडेकाले अभ्यास भइरहन पाउँदैन । अभ्यासको अभावले अनौपचारिक रूपमा सिकाइएका मन्त्रहरूको शुद्ध वाचनमा कठिनाइ पर्ने गरेको छ ।

नेपालमा संस्कृत भाषालाई जातविशेषसँग जोड्ने गरिएकाले, ब्राह्मण जातिको मात्र पेवा मानिँदै आएकाले समस्या बढ्दै गएको हो । कुनै पनि भाषा एक जातिको मात्र हुन सक्दैन । कुनै पनि भाषामा सबै जाति–समुदायले अपनत्व बोध गर्न सक्नुपर्छ । विश्वसँग प्रतिस्पर्धा गर्न हाल अंग्रेजीको महत्त्व बढ्दै गएको सत्य हो, तर अंग्रेजी जान्ने मानिसले संस्कृत पनि जानेको छ भने सुनमा सुगन्ध हुनेमा दुई मत नहोला । त्यसैले शिक्षालयहरूमा संस्कृतलाई पनि अंग्रेजीलाई जस्तै महत्त्व दिने गरे केही वर्षमै त्यसको सुखद परिणाम देख्न सकिन्छ ।

नेपालमा संस्कृत विद्यालयहरू नभएका होइनन्, आमजनले यसको महत्त्वबोध गर्न नसकेका हुन् । त्यही भएर त्यस्ता शिक्षालयमा विद्यार्थीहरू कम हुँदै गएका छन् । राज्य पनि यसप्रति अपेक्षित चनाखो हुन सकेको छैन । संयुक्त राष्ट्र संघका अनुसार, विश्वभरि बोलिनेमध्ये ९७ प्रतिशत भाषा संस्कृतबाट प्रभावित छन् । धेरैजसो भाषाको मुहान संस्कृतलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मुहान भनेको जरो हो, स्रोत हो । जरो नै कमजोर भए हाम्रो अस्तित्व पनि सबल रहन सक्दैन । त्यसैले संस्कृतप्रति हामीमा पहिलेझैं ‘काक चेष्टा’ रहनु सान्दर्भिक हुन्छ ।

(पौडेल सरस्वती बहुमुखी क्याम्पसकी लेक्चरर हुन् ।)

[email protected]

प्रकाशित : जेष्ठ ६, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?