प्रकृतिमैत्री कोभिड सहायता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकृतिमैत्री कोभिड सहायता

नेपालमा आर्थिक विकास र वातावरण संरक्षणलाई एकअर्काको विरोधी ठान्ने मानसिकता बदलेर वातावरण संरक्षणलाई अर्थतन्त्रको इन्जिनका रूपमा आत्मबोध गर्न जरुरी छ ।
वसुधा
उत्तमबाबु श्रेष्ठ

सन् १९३३ मा अमेरिका इतिहासकै ठूलो आर्थिक मन्दीबाट गुज्रिरहेको थियो । त्यसै वर्ष लामो खडेरी, डढेलो, जमिनको बढ्दो लघुकरणले समस्यामाथि समस्या थपियो, जसका कारण लगभग २५ प्रतिशत अमेरिकी बेरोजगार बने । रोजगारी नगुमाएका आधाभन्दा बढी कम तलबमा काम गर्न बाध्य भए ।

संकटहरूबाट पार लगाउन फ्र्यान्कलिन रुजवेल्टको सरकारले ‘न्यु डिल’ नामको राहत प्याकेजको घोषणा गर्‍यो, जसअन्तर्गतको एउटा कार्यक्रम थियो— नागरिक संरक्षण दल (सिभिलिएन कन्जर्भेसन कोर) को गठन । त्यो सहायता कार्यक्रमअन्तर्गत १७–२८ वर्ष उमेर समूहका पुरुषहरूलाई उक्त दलमार्फत रोजगारी दिन थालियो । कामदारलाई खाना, लत्ताकपडा र बस्नको अलावा मासिक वेतन ३० डलर दिइन्थ्यो । उनीहरूलाई नामअनुसार नै वातावरण संरक्षणको काममा लगाइन्थ्यो । संरक्षित क्षेत्रहरूमा सडक, पुलपुलेसा, बाटो बनाउने; खेर गएको जमिनमा रूखबिरुवा रोप्ने, वनमा डढेलो नियन्त्रणका संरचनाहरू बनाउने; नदीमा माछाको उत्पादकत्व बढाउने, ससाना बाँध निर्माण गर्ने; कृषियोग्य जमिनमा सिँचाइका कुलो र नहरहरू बनाउने, मर्मत गर्नेजस्ता सयौं काम उक्त दस्ताले गथ्र्याे । नौ वर्षपछि उक्त कार्यक्रम दोस्रो विश्वयुद्घका कारण बन्द भयो । भनिन्छ, नागरिक संरक्षण दलमार्फत लगभग ३० लाख अमेरिकी युवाहरूले प्रत्यक्ष रोजगारी पाए । रोजगारीसँगै कार्यक्रमले वातावरण संरक्षणको चेतनालाई उकास्यो र संरक्षणको जग मजबुत बनायो । नौ वर्षभित्रै त्यहाँका संरक्षित क्षेत्रहरूमा घुम्न जानेहरूको संख्या छ गुणाले वृद्घि भयो । यतिखेर अमेरिकी वन्यजन्तु आरक्षहरू भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक ३२ करोड हाराहारी छ, जसले लाखौंको रोजगारी सिर्जना गर्नुका साथै त्यहाँको अर्थतन्त्रमा वार्षिक ४२ अर्ब डलरको योगदान दिएका छन् ।

प्रकृतिमा आधारित अर्थतन्त्र

संकटपछि प्रकृति संरक्षणमा चालिने कदमले रोजगारी सिर्जना गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । विश्व वन्यजन्तु कोषले गरेको अध्ययनअनुसार, प्रकृतिले विश्व अर्थतन्त्रमा दिने योगदानको मूल्य १२५ ट्रिलियन डलरभन्दा बढी छ । त्यसै गरी वल्र्ड इकोनोमिक फोरमको ‘न्यु नेचर इकोनोमी’ रिपोर्टका अनुसार, अहिले पनि विश्वको आधाभन्दा बढी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रकृतिमै आश्रित छ । जैविक ऊर्जा, औषधि, स्वच्छ हावा, सफा पिउने पानी, जमिनको क्षयीकरणको रोकथाम, जलवायुको नियमन, रोगव्याधिको नियन्त्रण, पराग सेचनजस्ता वातावरणीय सेवामा मानव अर्थतन्त्र निर्भर छ । यद्यपि तिनलाई हामी सित्तैंमा पाएको जस्तो ठान्छौं । नेपालको अर्थतन्त्रमा पनि प्रकृतिसँग सम्बन्धित क्षेत्रहरूको योगदान ठूलो छ । यहाँको अर्थतन्त्रमा कृषि र वन क्षेत्रले लगभग २९ प्रतिशत र सेवा क्षेत्र मानिने पर्यटनले ७ प्रतिशत योगदान पुर्‍याएको छ । पर्यटन क्षेत्रले नेपालमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।

यतिखेर नेपाल आउने आधाभन्दा बढी विदेशी पर्यटकले कम्तीमा एउटा संरक्षण क्षेत्रको भ्रमण गर्ने गर्छन् । चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्जमा मात्रै प्रत्येक वर्ष लाखौंको संख्यामा स्वदेशी–विदेशी पर्यटक घुम्न जान्छन् । केही सय किलोमिटरकै दूरीमा उष्णप्रदेशीय जंगलदेखि उच्च पर्वतीयसम्मको जलवायु विविधता अनि त्योसँगै जोडिएको जैविक र सांस्कृतिक विविधता पाइने यस्तो मुलुक विश्वमै विरलै छन् । पर्यटनलाई चाहिने प्राकृतिक र सांस्कृतिक पुँजीको प्रचुरता भएकै कारण पर्यटनलाई नेपालको विकासको एउटा मुख्य आधार मानिन्छ । प्रकृतिमा आधारित पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादन र रोजगारीमा मात्र होइन, स्थानीय समुदायको आयआर्जन र संरक्षित क्षेत्र सञ्चालनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रकृति संरक्षणमा कोभिडको असर

कोभिडका कारण विश्वको पर्यटन व्यवसाय लगभग शून्यमा झरेपछि देशका पर्यटन केन्द्रहरू मात्रै होइन, संरक्षित क्षेत्रहरू पनि पर्यटकविहीन बन्न पुगे । पर्यटन क्षेत्रमा आएको भारी गिरावटले ट्रेकिङ, ट्राभल, होटल लगायतका पर्यटन व्यवसायहरूबाट थुपै्र मानिसले रोजगारी गुमाए । स्थानीय समुदायले सञ्चालन गरेका होमस्टेहरू बन्द भए । पर्यटनमा आएको ह्रासको प्रत्यक्ष मार नेपालका प्रकृति संरक्षण कार्यक्रमहरूमा पर्न गयो । संरक्षण क्षेत्रमा नियमित रूपमा गरिने अनुगमन मूल्यांकन, चोरी–सिकार नियन्त्रण, वृक्षरोपण, पारिस्थितिकीय प्रणालीको व्यवस्थापनजस्ता दैनन्दिन कार्यहरू पछाडि धकेलिए वा रोकिए । उदाहरणका लागि, कोभिडकै कारण गैंडा गणना एक वर्ष पछि सरेर यस वर्ष सम्पन्न गरियो । त्यसै गरी कतिपय संरक्षित क्षेत्रहरूको सञ्चालन खर्च पर्यटनको आम्दानीबाट चल्ने हुनाले पर्यटनको शिथिलताले ती क्षेत्रहरूको व्यवस्थापनमा पनि समस्या पैदा भयो । फलस्वरूप संरक्षण क्षेत्रका संस्थाहरूले कर्मचारी कटौती गर्न थालेका छन् ।

कोभिडका कारण एकातिर संरक्षित क्षेत्रमा गरिने जैविक विविधता संरक्षणका नियमित कार्यहरू सञ्चालनमा हम्मेहम्मे परिरहेको छ भने, अर्कातिर चोरी–सिकार र वनजन्य सामग्रीहरूको अवैध संकलन÷उत्खनन बढ्दो छ । उदाहरणका लागि, गत भदौमा चितवन राष्ट्रिय निकुञ्जमा चोरी–सिकारीले लकडाउनको मौकामा गैंडा मारे । त्यसअघि तीन वर्षसम्म लगातार नेपालमा शून्य चोरी–सिकार वर्ष मनाइएको थियो । पहिलो गैंडा मारिएको केही समयपछि उक्त निकुञ्जभित्रै थप तीन गैंडा मृत फेला परे । त्यसै गरी गत वैशाखमा सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा मृत कस्तूरी भेटिए । त्यसले चोरी–सिकार नेपालका संरक्षित क्षेत्रहरूमा फैलिएको देखाउँछ ।

कोभिडको अवधिमा चोरी–सिकार र वन्य सामग्रीको अवैध संकलनमा पक्राउ परेकाहरूको संख्या पनि बढेको छ । कोभिडले संरक्षणमा पारेको असर यकिन नभए पनि यी प्रतिनिधि घटनाहरूले अन्य मुलुकमा जस्तै नेपालको जैविक विविधता संरक्षणमा पनि कोभिडले चुनौती थपेको प्रस्ट छ । कोभिडका कारण रोजगारी गुमेको, सहरबाट मानिसहरू गाउँ फर्किएका र लकडाउनको समयमा सुरक्षाकर्मी र संरक्षणकर्मीहरूको ध्यान अन्यत्र मोडिएका कारण वन्यजन्तुको चोरी–सिकार बढेको अनुमान गर्न सकिन्छ । कारण जेसुकै भए पनि आम्दानी घटेर संरक्षणका नियमित कार्यक्रमसमेत गर्न कठिनाइ परेका बेला चोरी–सिकार लगायतका अवैध क्रियाकलाप बढेकाले नेपालका संरक्षण क्षेत्र यतिखेर दोहोरो मारमा परेका छन् । त्यसले नेपालले केही दशकयता संरक्षणका क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरू गुम्ने खतरा बढाएको छ ।

प्रकृति विनाशको शृंखला

नेपालका संरक्षित क्षेत्र मात्रै होइन, वन र वातावरणसँग सम्बन्धित अन्य क्षेत्रले पनि यो वर्ष थप विपत्तिको सिकार हुनुपर्‍यो । यो वर्ष देशभर डढेलो मापन गर्न थालेयताकै सबैभन्दा धेरै डढेलो लाग्यो, जसले गर्दा दसौं हजार हेक्टर वन विनाश भयो । डढेलोकै कारण देशभर वायु प्रदूषण उच्च भयो र काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहरमा दरिन पुग्यो । कोभिडको समयमा थपिएका यी वातावरणीय चुनौतीसँगै देशमा विद्यमान प्रकृतिजन्य स्थायी चुनौतीहरू यथास्थानै थिए । जस्तै ः जलवायु परिवर्तनको असरका कारण हुने जलवायुजन्य बाढी, पहिरोजस्ता प्रकोप जसका कारण गत वर्ष सयौं मान्छेको ज्यान गयो । त्यसका साथै नेपालमा जमिनको लघुकरण (ल्यान्ड डिग्रेडेसन) र माटोको क्षयीकरण बढ्दो छ । उदाहरणका लागि, वातावरण विज्ञान र प्रविधि मन्त्रालयले गरेको अध्ययनअनुसार, नेपालमा हाल ३१ लाख हेक्टर भूमि लघुकरणको चपेटामा छ, जसमध्ये ३८ प्रतिशत वन, ३७ प्रतिशत चरन र १० प्रतिशत खेतीयोग्य जमिन छ । भूमिको क्षयीकरणसँगै प्लास्टिक प्रदूषण चुलिएको छ । देशको जुनसुकै मानव बसोबासका क्षेत्रमा पनि प्लास्टिकजन्य फोहोरको थुप्रो यत्रतत्र देख्न सकिन्छ । खोलानदीहरू थप प्रदूषित हुँदै छन् । यी सबै प्रकृति विनाशका शृंखलाहरूले मानव स्वास्थ्य र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पारेका छन् ।

नेपालले हाल भोगिरहेको वातावरणीय चुनौतीलाई अवसरमा बदल्न झन्डै ९० वर्षअघिको, माथि उल्लिखित अमेरिकी रणनीति उपयोगी हुन सक्छ । त्यसका लागि कोभिडपछि अर्थतन्त्रलाई उकास्ने र रोजगारी बढाउने राहत योजनामा वातावरणीय चुनौतीलाई न्यूनीकरण गर्ने योजना बनाउनुपर्छ, जसका लागि सर्वप्रथम नेपालमा विद्यमान आर्थिक विकास र वातावरण संरक्षणलाई एकअर्काको विरोधी ठान्ने मानसिकता बदलेर त्यसको ठाउँमा वातावरण संरक्षणलाई अर्थतन्त्रको इन्जिनका रूपमा आत्मबोध गर्न जरुरी छ ।

दोस्रो, निश्चिय नै कोभिडपछि स्वास्थ्य क्षेत्रको सबलीकरण प्रमुख प्राथमिकतामा पर्नेछ । तर स्वास्थ्य प्रणाली भनेको रोगको उपचार गर्ने पूर्वाधार मात्रै होइन, रोकथाममा गरिने लगानी पनि हो । त्यसैले अस्पतालहरू बनाउनुजत्तिकै महत्वपूर्ण छन्— वातावरणीय प्रदूषण, फोहोर, अस्वास्थ्यकर पिउने पानी आदिका कारण लाग्ने रोगहरूको रोकथामका लागि प्रदूषण घटाउने, फोहोरमैलाको व्यवस्थापन गर्ने र स्वच्छ पिउने पानीको प्रबन्ध गर्नेजस्ता कामहरू । त्यसकारण स्वास्थ्य क्षेत्रको सबलीकरणमा रोग रोकथामका पूर्वाधार निर्माणलाई पनि केन्द्रमा राख्न जरुरी छ ।

तेस्रो, देशव्यापी रूपमा लघुकरण भएका र त्यागिएका जमिनहरूमा बृहत् रूपमा वृक्षरोपण अभियान चलाउने, जसले माटोको क्षयीकरण रोक्नुका साथै वनजन्य सामग्री संकलन र कार्बनको व्यापारमार्फत थप आय आर्जन गर्न मद्दत पुर्‍याउँछ । चौथो, गाउँसहरमा भएका सिमसार, पोखरी, तालतलैया, नदीनालाको संरक्षण अभियान सञ्चालन गर्ने, जसले गर्दा भविष्यमा जलवायु परिवर्तनले गर्दा हुने सुक्खा, खडेरी र बाढीबाट कृषि र जनजीविकालाई जोगाउँछ । पाँचौं, कृषिमा विद्यमान उत्पादकत्वकेन्द्रित मोडलको ठाउँमा पोषणयुक्त बालीनालीको खेतीपातीलाई प्रोत्साहन गर्ने, जसले पोषण सुरक्षालाई मजबुत तुल्याउँदै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्न सक्ने असरबाट सुरक्षित तुल्याउँछ । छैटौं, देशव्यापी रूपमा फैलिएको प्लास्टिक लगायतका फोहोरहरू संकलन गर्न र मिचाहा प्रजातिका झारलाई नियन्त्रण गर्न बृहत् सरसफाइ अभियान चलाउने, जसले गर्दा कृषिको ह्रास घटाउँछ र जैविक विविधता संरक्षणमा फाइदा पुग्छ ।

तीनै तहका सरकार मिलेर यस्ता कामहरूलाई योजनाबद्घ ढंगले लागू गर्ने हो भने कोभिडपछि तत्कालै लाखौंको संख्यामा रोजगारी सिर्जना गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । थप, यसले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न, माटोको क्षयीकरण रोक्न, वायु प्रदूषणलाई कम गर्न, गाउँबस्तीहरूलाई सफा राखेर रोगमुक्त बनाउन र जैविक विविधता ह्रासलाई कम गर्न सघाउँछ । अर्जेन्टिना, पाकिस्तान र भारतले कोभिड राहतलाई हरित बनाउने भन्दै वृक्षरोपणदेखि सरसफाइको बृहत् अभियान चलाउने भएका छन् । हामीले पनि कोभिडपछिको सरकारी योजना र कार्यक्रमलाई बहुआयामिक बनाउने सोचाइ राख्नैपर्छ ।

अन्त्यमा, प्रकृतिमैत्री लगानी संरक्षणको हिसाबले मात्रै होइन, आर्थिक हिसाबले पनि फाइदाजनक हुन्छ भन्ने बुझ्न राजधानीकै शिवपुरीलाई हेरे पुग्छ । शिवपुरी निकुञ्जको हालको जंगल मासेर त्यहाँ खेती गर्ने हो भने खेतीबाट आउने आम्दानी साबिकको भन्दा वार्षिक १ करोड १० लाख डलरले कम हुन्छ, यदि उक्त वनले दिने कार्बन सञ्चिति र पानीको गुणस्तर सुधारको योगदानलाई पनि आर्थिक मूल्यमा मूल्यांकन गर्ने हो भने । त्यसकारण, प्रकृतिको पुनःस्थापना र संरक्षणमा गरेको लगानी भविष्यका पुस्ताहरूका लागि ठूलो उपहार मात्रै होइन, आर्थिक हिसाबले पनि तत्कालै उच्च प्रतिफल दिने लगानी हो । त्यसैले, कोभिड सहायता र उत्प्रेरणालाई प्रकृतिमैत्री बनाऔं ।

प्रकाशित : जेष्ठ ५, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्

भ्रम उत्पादनका कारखाना

राष्ट्र हाँक्ने मान्छेहरूले उत्पादन गर्ने भ्रमको मूल्य कति घातक हुँदो रहेछ भन्ने कुरा ट्रम्पकालीन अमेरिका एवं हालको ब्राजिल, भारत र नेपालको कोभिड संकटले देखाएको छ ।
उत्तमबाबु श्रेष्ठ

१९१८ को मार्च । अमेरिकाको क्यान्सस राज्यको ह्यास्कल काउन्टीस्थित एउटा सैनिक क्याम्पमा नयाँ रोग देखा पर्‍यो । उक्त रोग केही महिनाभित्रै अन्य अमेरिकी सहर हुँदै युरोप, एसियालगायत संसारका छवटै महादेशमा डढेलोझैं फैलियो । स्पेनिस फ्लु भनिने उक्त महामारीले दुई वर्षभित्रमा लगभग ५ करोड मान्छेको ज्यान लियो ।

मानव इतिहासमै अहिलेसम्मकै सबैभन्दा घातक भनिने स्पेनिस फ्लुको महामारीताका अमेरिकी पत्रपत्रिका फ्लुको औषधिका विज्ञापनहरूले भरिएका हुन्थे । डाक्टरहरूबाट प्रमाणित भन्दै विज्ञापन गरिने त्यस्ता ‘औषधि’ हरूमा ‘नुनपानीको गार्गल’, ‘भिक्सको बाफ’, ‘गाईको मासुको बाक्लो सुप’, ‘कपूरको धूप’ देखि ‘सर्पको तेल’ सम्म हुन्थे । तीमध्ये सबैभन्दा चर्चित विज्ञापन सर्पको बोसोबाट बनाइएको भनिएको सर्पको तेलको थियो, जसलाई बनाएका थिए— व्यापारी क्लार्क स्ट्यान्लीले । पानी परोस् भनी जीवित सर्पलाई मुखमा राखेर नाच्ने अमेरिकी होपी आदिवासीबाट सर्पको तेलका बारेमा जानेका क्लार्क आफूलाई सर्पको बादशाह भनेर चिनाउँथे । स्ट्यान्लीको व्यापार बढ्न थालेपछि उनले भनेको सर्पको तेललाई अमेरिकी सरकारले परीक्षण गर्‍यो, जसमा सर्पको तेलको साटो अर्थोकै मिसाएको पाइयो ।

उनी कारबाहीमा परे, उनको गोरखधन्दा सदाका लागि बन्द भयो । तथापि ‘सर्पको तेल’ अंग्रेजी शब्दकोशमा अझै जीवित छ । औषधीय गुण नभएको अप्रमाणित (क्वाक) औषधिलाई ‘सर्पको तेल’ र त्यसलाई बेच्ने मखन्डीहरूलाई ‘सर्पको तेल बेचुवा’ भनिएको छ, शब्दकोशमा । स्पेनिस फ्लु महामारीको १०३ वर्षपछि विश्व यतिखेर कोभिड–१९ ले आक्रान्त छ । स्पेनिस फ्लुको समयमा जस्तै अचेल पत्रपत्रिकामा अप्रमाणित औषधिहरूको विज्ञापन त देखिँदैन तर ‘सर्पको तेल’ को जसरी भ्रम उत्पादन गर्नेहरू प्रशस्त भेटिन्छन् ।

सत्ता–उत्पादित भ्रम

कोरोनाकालमा ‘सर्पको तेल’ अर्थात् अप्रमाणित औषधि/विधिको सर्वाधिक प्रचारप्रसार पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जाइर बोल्सेनेरो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीजस्ता सत्तासीनहरूले गरे, गरिरहेका छन् । उनीहरूले कोरोना भाइरस, यसको फैलावट, उपचार तथा भ्याक्सिनका सन्दर्भमा पटकपटक भ्रामक दाबीहरू दोहोर्‍याएका छन् । जतिखेर अमेरिकामा भाइरस संक्रमण उच्च हुँदै थियो, ट्रम्पले मलेरियाको उपचारमा प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विन कोभिडको उपचारमा प्रभावकारी हुने दाबी गरेका थिए, जुन आधारहीन थियो । अनौठो र उदेकलाग्दो कुरा— ट्रम्पले मानिसको शरीरभित्रको भाइरसलाई मार्न भुइँ पुछ्न प्रयोग हुने रसायन (डिसइन्फेन्टेन्स्) लाई शरीरमा पसाउने उपाय सुझाएका थिए ।

अमेरिकाजस्तै जति बेला भारतमा कोरोना फैलँदै थियो, मोदी जनतालाई दीपावली गर्न र थाल ठटाउन उर्दी जारी गर्दै थिए । उनको भाजपाका केन्द्रीय सदस्यहरू गौमूत्रले कोरोना रोक्छ भन्दै त्यसबारे ‘जनचेतना जगाउने’ अभियान सुरु गर्दै थिए । उनकै पालामा बनाइएको आयुर्वेद–योग–न्याचुरोप्याथी–युनानी–सिद्घ (आयुष) मन्त्रालयले भारतमै निर्मित होमियोप्याथी औषधि ‘आर्सेनिकम एल्बम’ लाई प्रयोग गर्न सल्लाह दिएको थियो । जबकि अहिले होमियोप्याथीलाई छद्म विज्ञान मानिन्छ । भारतीय आयुष मन्त्रालयको भ्रामक हर्कतलाई त्यहाँको मेडिकल एसोसिएसनले भत्र्सना गर्दासमेत उक्त मन्त्रालयले रामदेवको कम्पनी पतञ्जलीले बनाएको ‘कोरोनाप्रतिरोधी कोरोनिल किट’ लाई प्रयोग गर्ने अनुमति दिएको थियो । उक्त किटलाई विश्व स्वास्थ्य संगठनले अप्रमाणित भनेको छ ।

ब्राजिलका राष्ट्रपति बोल्सेनेरोले त कोभिड–१९ ‘सामान्य रुघाखोकीजस्तै भएको’ भन्दै आफूले मास्क नलगाउने खुला घोषणा नै गरे । कोभिडका सन्दर्भमा प्रधानमन्त्री ओलीले पनि ट्रम्प, मोदी र बोल्सेनेरोको जस्तै भ्रम उत्पादन गरिरहेका छन् । उनले कहिले ‘नेपालीको उच्च प्रतिरोधी क्षमता छ’ भनेर त कहिले बेसारको महिमागान गाएर त कहिले ‘अम्बाका दुई पात उमालेर बेस्सरी गालगुल गरिदिँदा घाँटीमा बसेको कोरोना चट हुन्छ’ भन्दै भ्रामक कुरा गर्दै आइरहेका छन् । राष्ट्र हाँक्ने मान्छेहरूले उत्पादन गर्ने भ्रमको मूल्य कति घातक हुँदो रहेछ भन्ने कुरा ट्रम्पकालीन अमेरिका एवं हालको ब्राजिल, भारत र नेपालको कोभिड संकटले देखाएको छ । तथापि नाम चलेका सेलेब्रिटी, नामका अगाडि ‘डाक्टर’ झुन्ड्याएका ‘विज्ञ’ हरूले अझै पनि ‘सर्पको तेल’ लाई सामाजिक सञ्जालमा बेचिरहेका छन् । उनीहरूले कोरोना जित्न खानुपर्ने जडीबुटी गुर्जो, मरीच, बेसार, अदुवा, ज्वानो, असुरो, दालचिनी, तुलसी, अमला, लसुन, पिप्ला, जेठीमधुको फोटो राखेर ‘सक्दो सेयर गरौं’ को आग्रहयुक्त पर्चाहरू वितरण गरिरहेका छन् । सञ्जालमा ‘बुस्ट’ गरिएका त्यस्ता ‘मसला’ हरूले कोभिड नियन्त्रण गर्छन् भनी न त विश्वसनीय अनुसन्धान भएका छन् न ती ‘घरघरमा पाक्ने औषधि’ ले मानिसको प्रतिरोधी क्षमता बढाउँछन् भन्ने प्रमाणित नै भएको छ ।

प्रतिरोधी क्षमता बढाउने भ्रम

मानव रोगप्रतिरोधी क्षमतामा अनुसन्धान गर्ने वैज्ञानिकहरू भन्छन्— मानव प्रतिरोध प्रणाली शरीरकै सबैभन्दा रोचक, जटिल र बृहत् प्रणाली हो जसका बारेमा अझै धेरै कुरा अज्ञात नै छन् । यस प्रणालीभित्र कानेगुजी र छालादेखि आँसु र पसिनासम्म पर्छन्, जसले कीटाणुलगायत बाह्य वस्तुलाई शरीरभित्र छिर्न सकेसम्म रोक्छन् । जब कीटाणुहरू यस्ता बाह्य रक्षाकवचहरू छिचोलेर शरीरभित्र पस्छन् तब शरीरको वास्तविक प्रतिरोध प्रणाली सक्रिय हुन्छ, जसमा श्वेत रक्तकोषजस्ता विशिष्ट कोष, एन्टिबडीजस्ता नियामक प्रोटिन, लिम्फ्याटिक प्रणाली र विभिन्न जिन इत्यादि पर्छन् । वैज्ञानिकहरूले मानव शरीरमा ३०० भन्दा बढी प्रकारका विशिष्ट प्रतिरोधी कोष हुने र १० खर्बजति एन्टिबडी हुने अनुमान गरेका छन् । त्यही अनन्त विविधताका कारण मानिसको कहिल्यै सम्पर्कमा नआएको नयाँ जीवाणुसँग पनि मानव प्रतिरोध प्रणालीले तत्काल लड्न सक्छ भनेका छन् ‘द ब्युटिफुल केयर’ का लेखक वैज्ञानिक ड्यानियल डेभिसले । त्यसो त प्रतिरोधी कोषहरूले जीवाणु मात्र होइन, औषधि, विषाक्त तत्त्व, क्यान्सर कोषसँग पनि लड्नुपर्ने हुन्छ । साथै प्रतिरोधी क्षमता व्यक्तिपिच्छे भिन्न हुने भएकाले यसको सामान्यीकरण गर्न लगभग असम्भव छ ।

मानव शरीरभित्र निरन्तर बाह्य वस्तु प्रवेश हुन सक्ने भएकाले प्रतिरोध प्रणाली सदैव सक्रिय रहन्छ । तर जुनै पनि बाह्य तत्त्वसँग लड्दा शरीरको ऊर्जा खर्चिरहनु किफायती नहुने भएकाले प्रतिरोधी कोषहरूले शरीरलाई हानि पुर्‍याउने तत्त्वहरूको छनोट गरेर त्यसैलाई मात्रै कारबाही गर्छन् । एक अर्थमा, जसरी थानकोट नाकाका प्रहरीले सबै यात्रुको झोला खानतलासी गर्न सम्भव हुँदैन र शंकास्पदको मात्रै गर्छन्, त्यसरी नै प्रतिरोधी कोषहरूले शरीरलाई हानि पुर्‍याउने शंकास्पद बाह्य तत्त्वमाथि मात्रै बमबारी गर्ने गर्छन् । त्यसका लागि शरीरको लिम्फोसाइटले जासुसी गरेर सघाउँछ र शंका लाग्नासाथ अन्य कोषलाई यसले निमेषमै परिचालन गरिहाल्छ । प्रतिरोधी कोषहरूले बाह्य तत्त्वसँग लड्ने मात्रै होइन, कतिपयसँग मिलेर पनि काम गर्छन्, जसले गर्दा मानव शरीरभित्र मानव कोषको संख्या बराबरकै ब्याक्टेरियाहरूको कोष हुन सम्भव भयो ।

शरीरका प्रतिरोधी कोषहरूको कारबाहीमा यदाकदा शरीरलाई चाहिने कोषहरू पनि ‘मिस फायर’ मा परेर मर्छन् । कहिलेकाहीँ मानिसको प्रतिरोधी क्षमता यस्तो उत्कर्षमा पुग्छ, उसले आफूसँग भएका सबै हतियार एकैपल्ट परिचालित गर्छ । ‘साइटोकिन स्ट्रोम’ भनिने उक्त शारीरिक प्रतिक्रियाले गर्दा शरीरका अन्य अंग विफल भई मान्छे मर्न पनि सक्छ । पछिल्ला अनुसन्धानहरूले कोभिडका सिकिस्त बिरामीहरूको मृत्युको कारक ‘साइटोकिन स्ट्रोम’ लाई ठहर्‍याएका छन्, जसका कारण त्यस्ता बिरामीहरूका सबै अंगले एकैचोटि काम गर्न छोडेर (मल्टी–अर्गान फेलिएर) मृत्यु हुने गरेको छ ।

यति धेरै जटिल मानव प्रतिरोध प्रणाली र डेढ वर्षअघिसम्म न्वारन नै नभएको कोरोना भाइरसलाई सामान्यीकरण गर्दै ‘सर्पको तेल व्यापारी’ हरूले कोरोनाप्रतिरोधी क्षमता बढाउने भ्रम फैलाइरहेका छन् । पंक्तिकारले इन्स्टाग्राममा ‘इम्युनिटीबुस्टर’ र ‘इम्युनिटीबुस्ट’ ह्यासट्याग खोज्दा क्रमश: २ लाख र ४ लाखभन्दा बढी पोस्टहरू भेटेको थियो, जसलाई अक्सर त्यस्ता सामग्रीका उत्पादक र पैरवीकर्ताहरूले पोस्ट गरेका थिए । यसबाट प्रस्ट हुन्छ, उत्पादकहरूले सामाजिक सञ्जालमा आफ्ना उत्पादनहरूको विज्ञापन गरिरहेका छन् तर मानिसहरूले तिनलाई सूचना ठानेर सेयर गरिरहेका छन् । बीबीसीका अनुसार, त्यस्ता कथित रोगप्रतिरोधी क्षमता बढाउने खानेकुरा, वैकल्पिक औषधि, भिटामिन इत्यादिको वार्षिक बजार १०० बिलियन डलरभन्दा बढी छ । भारतमै पतञ्जलीले भारु ५४५ पर्ने ‘इम्युनिटी बुस्टर कोरोनिल किट’ प्रतिदिन १० लाख बेचेको दाबी गरेको थियो । त्यसैले महामारीमा भ्रम उत्पादनभित्र राजनीतिक अभीष्ट मात्रै होइन, व्यापारिक स्वार्थ पनि लुकेको छ ।

बजारमा पाइने भाइरल बाबाहरूले सिफारिस गरेका कथित ‘इम्युनिटी बुस्टर’ हरूले विराट् मानव प्रतिरोध क्षमताको कुन अवयवलाई बुस्ट गर्छ भन्ने कुरा बताउन सक्दैनन् । प्रख्यात अमेरिकी संक्रमण रोग विज्ञ डाक्टर एन्थोनी फाउसी भन्छन्, ‘जब इम्युन बुस्टरको विज्ञापन देख्छु, मलाई हाँसो उठ्छ ।’ उनका अनुसार, हाम्रो प्रतिरोधी क्षमतालाई बुस्ट गर्न आवश्यक छैन । यो अपत्यारिलो, अविवेकी र अवैज्ञानिक कुरा हो ।

१०३ वर्षअघि स्पेनिस फ्लु महामारीको समयमा मानिसलाई त्यसको कारक भाइरस नै हो भन्नेसम्म थाहा थिएन । अहिले कोभिडको पहिलो बिरामी पत्ता लागेको केही हप्तामै त्यसको कारक कोरोना भाइरसको शरीर बनाउने जिनोमका सम्पूर्ण २९,९०३ अक्षर (न्युक्लियोटाइड) पढिसकिएका थिए । त्यति मात्र होइन, कोरोना भाइरस शरीरभित्र कसरी पस्छ, त्योसँग हाम्रो प्रतिरोधी कोषले कसरी लड्छ, सबै बुझिसकिएको थियो । यसैका कारण कोभिड रोग देखा परेको एक वर्षभित्रै त्यसको खोप बनेर आपत्कालीन प्रयोग सम्भव भयो । र, पहिलो खोप लगाएको चार महिनाभित्रै विश्वका थप १ अर्ब मान्छेलाई खोप लगाइयो । खोपको नतिजा चीन र अमेरिकालगायतमा देखिन थालिसकेको छ । मानव इतिहासमै कुनै महामारीविरुद्ध आधुनिक विज्ञानले यति ठूलो र द्रुत प्रगति यसअघि कहिल्यै गरेको थिएन ।

अन्त्यमा, यत्रो चामत्कारिक प्रगतिका बावजुद वैज्ञानिकहरूले भनिरहेका छन्— कोभिड र कोरोना भाइरससम्बन्धी थुप्रै अस्पष्टता छन् । विज्ञानको सुन्दरता भनेकै यसले ठोकुवा गर्दैन बरु प्रश्नहरू गर्दै आफूलाई सच्याउन हमेसा तत्पर राख्छ । कोभिडका सन्दर्भमै पनि सुरुमा उपयोगी हुने ठानिएको प्लाज्माथेरापीलाई, नयाँनयाँ प्रमाण आएसँगै, वैज्ञानिक प्रमाणमा आधारित निर्णय गर्ने देशहरूले बन्द गरिसकेका छन् । तर हामी २००० वर्षअघि — जुन बेला भाइरस र ब्याक्टेरियाको अस्तित्व पत्ता लगाउने विधि थिएन, रोगको कारक र मानव शरीरका बारेमा खासै जानकारी थिएन — लेखिएका किताबहरूको हवाला दिँदै त्यसमा प्रश्न होइन, आफ्नो संज्ञानात्मक पूर्वाग्रह (कग्नेटिभ बायस) लाई पुष्टि गर्न प्रयासरत छौं । ती किताबमा भनिएका कतिपय कुरा आधुनिक विज्ञानको कसीमा आधारभूत लाग्छन् । तिनमा भनिएका कुरालाई वैज्ञानिक विधिद्वारा परीक्षण गर्न यतिखेर हामीसँग अत्याधुनिक प्रविधि छ, जुन तिनका लेखकहरूसँग थिएन । तर पनि हामी ‘आफ्नै घरेलु विधि’, ‘भान्सामा पाक्ने जडीबुटी’, ‘हाम्रा पुर्खाको ज्ञान’ भन्दै रोगलाई धर्म, परम्परा र राष्ट्रसँग जोडेर ‘सक्दो सेयर गरौं’ भन्दै भ्रम उत्पादन गरिरहेका छौं, जसका पछाडि राजनीतिक र व्यापारिक स्वार्थ र अज्ञानता लुकेको छ । त्यसकारण, महामारीमा भाइरसबाट बच्नुजतिकै महत्त्वपूर्ण छ भ्रमहरूबाट बच्नु ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×