कोरोना–पाठ सिक्न नसक्नेहरू- विचार - कान्तिपुर समाचार

कोरोना–पाठ सिक्न नसक्नेहरू

‘धन, जन, बल, बैंस आदिको सेखी गर्नु व्यर्थै रहेछ । लिएर जाने त केही पनि होइन रहेछ, सबै बाँचुन्जेलसम्मका लागि मात्रै ।’
साधना प्रतीक्षा

उनका श्रीमान् सरकारी सेवाको उच्च तहमा पुगेर निवृत्त भएका, उनी स्वयम् सामाजिक जीवनमा परिचित, तीनवटै सन्तान विदेश गएर उतै आ–आफ्नो राम्रो व्यवस्था गरेर बसेका । धनसम्पत्ति, इज्जत–प्रतिष्ठा केहीको कमी थिएन ।

काठमाडौंमा फराकिलो कम्पाउन्ड भएको भव्य घर, दुइटा त गाडी मात्रै ! ड्राइभर, सुरक्षागार्ड तथा सर्भेन्ट क्वार्टर पनि घरैमा । तर बोल्दा पनि पैसा पर्लाजस्तो गर्ने तिनले केही दिनअघि भने मलाई टाढैबाट देखेर बोलाइन् । अलि पर रोकिएको चम्किलो गाडी देखाउँदै आफूकहाँ जाने प्रस्ताव राखिन् । मलाई सपनाझैं लाग्यो । कामविशेषले निस्केकी म उनको आग्रहलाई अस्वीकार गर्न नसकी साथ लागें ।

साँच्चिकै अनौठो लाग्यो, उनले यस पटक ड्राइभरलाई रूखो स्वरमा आदेश दिइनन् र साथकी सुसारेलाई पनि मायालु व्यवहार गरिन् । घर पुगेपछि गेट खोल्न ढिला गरेको भन्दै सुरक्षागार्डलाई झपारिनन् । भित्र पसेपछि अझै अचम्म लाग्यो । सामान्य मानिससँग प्रायः घुलमिल नहुने अनि पाहुना आउँदा पनि आफ्नै स्तर मिल्नेसँग मात्र कुराकानी गर्ने उनका श्रीमान् मलाई देखेर कुर्सीबाट उठे । भान्सेलाई पनि केही खानेकुराका लागि नरम आदेश दिएर दुवै जना मसँग कुराकानी गर्न लागे ।

उनीहरूमा आएको असामान्य परिवर्तन त कोरोना महामारीको पाठ पो रहेछ ! ‘के गर्नु नानी ! धन, जन, बल, बैंस आदिको सेखी गर्नु व्यर्थै रहेछ । नाथे कोरोनाले यी सबैलाई एकैसाथ पछारिदियो नि ! लिएर जाने त केही पनि होइन रहेछ, सबै बाँचुन्जेलसम्मका लागि मात्रै । झन्डै सिद्ध्याएको नि कोरोनाले ! आफ्ना सबै विदेश, आफन्तहरू पनि कहाँ आए र !’ श्रीमान्चाहिँले भान्से र सुसारेतर्फ औंल्याउँदै थपे, ‘धन्न, यी दुइटीले साथ छोडेनन् र पो बाँचियो !’

महामारीको पहिलो लहरमा ‘उच्च वर्गको पार्टी कसरी असुरक्षित होला र’ भनेर भोज खान गएका बेला उनीहरू दुवै संक्रमित भएछन् । उनीहरूको अहंवादी प्रवृत्तिका कारण परिचितहरू असन्तुष्ट थिए नै, झन् कोरोना लाग्यो भनेपछि त कोही फर्केनछन् । ती दुई महिलाले भने आफ्नो धर्म नछाडी सेवा गरेकाले उनीहरू कोरोनालाई परास्त गर्न सफल भएछन् । महिनादिनको आइसोलेसनमा उनीहरूले जीवनजगत्को शाश्वतता बुझेछन् । उनीहरूकै शब्दमा, ‘अमूल्य पाठ’ सिकेछन् र त यस्तो परिवर्तन आएछ ! आश्चर्यमा पर्दै केही समय बिताएर फर्कने बेलामा म झनै चकित भएँ । ‘आउँदै गरे है नानी, हाम्रो पो को छ र ? केही पर्‍यो भने भन्न अप्ठ्यारो नमान्नु नि’ भन्दै, असहायहरूको सेवाका लागि खोलिएको मेरो संस्थालाई केही रकम थमाउँदै मलाई घरसम्म पुर्‍याउन ड्राइभरलाई अह्राए !

यस्तै, अर्का एक परिचितको पनि सम्झना भइरहेको छ जसले पैसालाई नै सर्वोपरि ठान्थे । सहरमा दुइटा घर भाडामा लगाएका उनले भाडावाललाई मान्छे नै गन्दैनथे । वर्षैपिच्छे भाडा बढाएर हैरान पार्नु, महिना मर्न नपाउँदै भाडा चाहियो भन्दै ढोका ढकढकाउनु उनको धर्म नै थियो । हरेक फ्ल्याट तथा कोठाबाहिर बेलाबेला जुत्ता–चप्पल निरीक्षण गर्नु पनि उनको अर्को विशेषता थियो । कसैकहाँ पाहुना आएको उनलाई मन पर्दैनथ्यो । धन भए सब थोक पाइन्छ भन्ने उनको सोचले त्यति बेला हावा खायो जब परिवारका सबै जना एकसाथ कोरोना भाइरसको सिकार भए । त्यत्रो सम्पत्तिका मालिक, सास फेर्ने हावाका लागि छटपटाउनुपर्‍यो ! भाडामा बस्ने एक जनाले अनवरत प्रयास नगरेका भए त उनकी पत्नीको ज्यानै जाने ! महामारीलाई जितेपछि उनीहरूमा पनि नवीन चेतना जागेछ, ‘भौतिक सुखसुविधा केही पनि होइन रहेछ; विपत्तिले ठूलो–सानो, सम्पन्न–विपन्न भनी भेदभाव गर्दो रहेनछ ।’ आँखासामु कैयौं लास देखेका उनले पैसाले मात्र जीवन किन्न नसकिने भन्दै आफ्ना सबै भाडावालालाई छ माहिनाको घरभाडा मिनाहा गरी सो रकमबाट सबैलाई भविष्यमा आउन सक्ने विपत्तिको सामनाका लागि तयारी गर्न आग्रह गरेछन् ।

यी त केही उदाहरण मात्र हुन् । उनीहरूजस्ता असंख्य मानिसले हालको परिस्थितिबाट पाठ सिकिसके तर केही यस्ता पनि छन्, जसले अनगिन्ती विषमता र कठिनाइ झेलेर पनि कुनै पाठ सिकेनन् र सिक्न पनि चाहन्नन् । उनीहरूसँग सिक्ने र सिकाउने समय नै कहाँ छ र ? उनीहरू त केवल ‘ढलाउने’ र ‘बनाउने’ खेलमै व्यस्त छन् । ‘के काम गर्छेस् बुहारी ? पोख्छु, उकेर्छु’ भनेझैं छ उनीहरूको दैनिकी । बहुमत र अल्पमतको जोडघटाउ गर्दागर्दै उनीहरूले आफ्नो कर्तव्य, नैतिकता, मर्यादा र इमानदारीसम्म बिर्सिसकेका छन् । लामो समयदेखिको महामारीका कारण सर्वसाधारण त्राहिमाम् भइसक्दा, दैनिक सयौं लासको लस्कर देख्दा पनि उनीहरूलाई कुनै असर परेन र त सत्ताको नाटक बडो कुशलतापूर्वक मञ्चन गर्न सफल बने ।

तिनै कलाकारमध्ये अहिले एक थरी सिंहदरबारको गद्दी पाएकामा गमक्क परिरहेका छन् भने, अर्का थरी सोही कुर्सीबाट हुत्तिनुपरेकामा पुर्पुरो समाउँदै रन्थनिएका छन् र त्यो कुर्सी पुनः कसरी हासिल गर्ने भन्दै जोखाना पनि हेर्दै छन् । तिनै कलाकारलाई हामीले आफ्नो र मुलुकको भविष्यको जिम्मा लाएका थियौंÙ आफ्नो आस्था र विश्वासको अमूल्य मत दिएर पठाएका थियौंÙ आपत्विपत्सँग जुध्दै हाम्रो सुरक्षा गर्ने योद्धा ठानेका थियौं । धिक्कार छ, त्यो आस्था र विश्वासलाई ! अहिले हामी इतिहासकै कठिन मोडमा छौं तर अगुवाहरूले भने हामीलाई फर्केर हेर्नसम्म भ्याएनन् । सत्तापक्ष, प्रतिपक्ष, साना दल, ठूला दल, एकीकृत तथा विखण्डित आदि–इत्यादि पहिचान बोकेकाहरू केवल सत्तामै आसीन हुने दाउमा देखिएÙ कोही अग्रसर भएनन् हाम्रो घाउमा मल्हमपट्टी गर्न ।

ओहो, सत्ताको स्वाद कति विघ्न गाढा हुँदो रहेछ ! त्यसैले होला, आम नागरिक महामारीले आक्रान्त भइरहँदा, सास फेर्ने अक्सिजन नपाएर छटपटाइरहेका बेला, सरकारी अस्पतालले बेड अभावको लाचारी देखाइरहँदा, स्वास्थ्यकर्मीहरू अनेक जोखिम झेल्दै बिरामीको उपचारमा खटिइरहँदा पनि सत्ताको गणितीय खेलमा लागेका हाम्रा नेताहरूको ध्यान यता पटक्कै गएन । विगतमा विश्वले महामारीको नराम्रो प्रहार खेपिसकेको र विज्ञहरूले पुनः महामारी दोहोरिने चेतावनी दिइरहेको अवस्थामा पनि यिनीहरूले सम्भावित विपत्तिको सामनाका लागि कुनै दिन संवाद गरेनन् । के सत्ता, के प्रतिपक्ष सबै महामारीबाट ध्यान हटाई एकअर्कालाई हिलो छ्यापेरै बसिरहे । उनीहरूले गरे त केवल सत्ताप्राप्तिको लिगलिगे दौड ! आम जनाता एक मुठी सासका लागि याचना गरिरहेछन्, आफ्नो झिटिमिटी सक्दा पनि उपचार नपाएर मरिरहेछन्, नेताहरू भने नयाँ सरकारको समीकरणमा उही जोड, घटाउ, गुणन र भाग गरिरहेछन् ।

मानिसले आफ्नै कमजोरीबाट पाठ सिक्नुपर्छ र यसो गर्न नसक्नेहरूको कहिल्यै प्रगति हुँदैन । हाम्रा नेता र सरकारले आसन्न विपत्तिबाट पनि कुनै पाठ नसिक्ने हो भने, अब पनि जनताको जीवनरक्षाका लागि सामदामले कदम चालिएन भने इतिहासले उनीहरूलाई क्षमा गर्नेछैन । रोम जलिरहँदा बाँसुरी बजाउने निरोलाई बिर्सेर भविष्यले देश मृत्युको हलाहलमा छटपटिइरहेका बेला पनि सत्ताको खेलमा तँछाडमछाड गरिरहने नेपालका नेताहरूलाई सम्झिनेछ । उनीहरूले त्यतिको मिहिनेत, त्यति दौडधुप र त्यति विघ्न हारगुहार महामारीका विरुद्ध गरेका भए आज हामी यसरी आक्रान्त हुने थिएनौं अनि अन्तिम संस्कारका लागि आर्यघाट पनि अपुग हुने थिएन होला ।

प्रकाशित : जेष्ठ ५, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालय संवेदनशील कहिले हुने ?

सरकारलाई कर नउठ्ने चिन्ता होला, विद्यालयहरूलाई शुल्क नउठ्ने र घाटामा जाने डर होला । तर आम अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यको चिन्ता छ ।
साधना प्रतीक्षा

कारोना महामारीका कारण लामो समय बन्द भएका शिक्षण संस्थाहरू खुलेपछि विद्यार्थी तथा अभिभावकमा छाएको खुसियाली फेरि सेलाउन थालेको छ । कोरोनाको दोस्रो लहरका कारण दैनिक जीवनका विविध पक्षसँगै शैक्षिक क्षेत्र अझ बढी प्रभावित हुने देखिन्छ ।

विगतमा सरकारको भूमिका खासै प्रभावकारी नदेखिएपछि आम नागरिकले परीक्षणमा खासै चासो राख्न छाडेकाले संक्रमितको संख्यामा कमी आएको देखियो । संक्रमितप्रति अन्य व्यक्तिको दृष्टिकोण सकारात्मक नहुनाले संक्रमण भए पनि जटिल अवस्था नआएसम्म गोप्य राख्ने प्रवृत्ति बढ्नाले महामारी मत्थरजस्तै देखियो । आर्थिक जटिलताको सम्भावनाका कारण व्यापार–व्यवसाय आदिसहित जनजीवन सामान्य रूपमा चल्न थालेपछि घरमा दिनभर इन्टरनेटमा भुलिरहेका बालबालिकालाई विद्यालय पठाउन अभिभावक नै आतुर देखिए । केही समय अनलाइन कक्षालाई नै निरन्तरता दिने धैर्य अभिभावकमा नदेखिनु तथा शिक्षालाई व्यापारका रूपमा सञ्चालन गर्दै आएका निजी विद्यालयहरूको घाटा असुली गर्ने स्वार्थ पनि त्यसैमा जोडिनुले ती पुनः खुले । यी दुवै पक्षको अदूरदर्शी सोचका कारण असंख्य बालबालिका संक्रमणको जोखिममा परिरहेका छन् ।

अहिले सरकारले गरेको पीसीआर परीक्षणका आधारमा दैनिक पाँच–सात सय मानिसमा संक्रमण देखिएको छ । यो संख्या कुल परीक्षणको दस प्रतिशत हो । मृत्यु हुनेको संख्या पनि दैनिक सरदर पाँचदेखि सातसम्म देखिन्छ । यसबाहेक अहिले देखिएको कोरोना भाइरस अघिल्लोभन्दा भिन्न प्रकृतिको हुनाका साथै यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्षमता पनि निकै बढी भएको जानकारी विज्ञहरूले गराइरहेका छन् । पश्चिमी मुलुकहरूसहित भारत नै यतिखेर संक्रमणको चपेटामा छन् । हामीकहाँ चरणबद्ध रूपमा केही मात्रामा भ्याक्सिन लगाइएको भए पनि जनसंख्याका आधारमा त्यो नगण्य देखिन्छ । अर्को कुरा, भ्याक्सिनकै प्रभावकारिता पनि परीक्षणमा छ । प्राथमिकताका आधारमा केहीले पहिलो मात्रा लगाए पनि अठार वर्षमुनिको उमेर समूहका लागि भ्याक्सिन नबनेको सन्दर्भमा हालको परिस्थितिमा विद्यालय सञ्चालन गरिनुले निकट भविष्यमा स्थिति भयावह नहोला भन्न सकिन्न ।

सम्भाव्य जोखिम टार्न सरकारले अनलाइन कक्षा सुरु गर्न निर्देशन दिए पनि सञ्चालकहरू विद्यालय बन्द गर्न तयार छैनन् । महामारीको अन्त्य भइनसकेको अवस्थामा अनावश्यक रूपमा शैक्षिक सत्र लम्ब्याउने सरकारी निर्णय नै अव्यावहारिक छ । शैक्षिक सत्र लम्ब्याउनुभन्दा निर्धारित पाठ्यक्रमलाई केही संकुचन गरेर साबिककै क्यालेन्डरअनुसार परीक्षा सञ्चालन गरिएको भए अहिले असंख्य विद्यार्थी र अभिभावक सन्त्रस्त हुनुपर्ने थिएन । शिक्षा मन्त्रालयले केही दिनभित्रै आपत्कालीन रूपमा परीक्षा सञ्चालन गरेर शैक्षिक सत्र समाप्त गर्न र उपयुक्त वैकल्पिक व्यवस्था नहुँदासम्म विद्यालय बन्द गर्न कडा निर्देशन दिइहाल्नुपर्छ ।

हाल निजी विद्यालयहरूले सरकारको निर्देशन पालना गर्न नचाहेको देख्दा प्रश्न उब्जिएको छ, जनस्वास्थ्यको सवालमा निर्णय गर्ने आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय हो कि शिक्षण संस्था ? कतै सरकार पनि शिक्षामा भइरहेको व्यापारीकरणको परोक्ष समर्थक भएको त होइन भन्ने आशंका पनि जनमानसमा देखिएको छ । विगतमा अनलाइन कक्षा सञ्चालन गर्दा अपेक्षित रकम असुली गर्न नपाएका निजी शिक्षण संस्थाहरूले अनावश्यक रूपमा पटकपटक परीक्षा सञ्चालन गरेर त्यसको भर्पाई गरिसकेका छन् । शैक्षिक सत्र लम्ब्याउनुमा पनि उनीहरूको यही नाफामुखी प्रवृत्ति नै कारक देखिन्छ । कर असुलीका लागि सरकारले पनि निजी शिक्षण संस्थाहरूलाई साथ दिइरहेकामा दुई मत छैन । अहिले आर्थिक पक्षलाई सर्वोपरि ठानेर शैक्षिक क्षेत्रलाई जनस्वास्थ्यको सरोकार अन्तर्गत नराख्ने हो भने सरकारले भविष्यमा ठूलै मूल्य चुकाउनुपर्नेछ ।

विगतमा भौतिक रूपमा कक्षा सञ्चालनका लागि निश्चित तयारी गर्नुपर्ने सरकारी निर्देशनमा विद्यालयहरूले प्रतिबद्धता जनाएका थिए, जुन व्यवहारमा भने देखिएन । भौतिक दूरी कायम गर्नका लागि कक्षाकोठा तथा शिक्षकको अतिरिक्त व्यवस्था गरिनुपर्ने थियो, तर त्यसो पनि गरिएन । स्कुल बसमा कोचाकोच गरी विद्यार्थी ओसार्ने क्रम पनि यथावतै देखियो । शौचालय तथा चमेनागृहको अस्तव्यस्तता पनि उस्तै रह्यो । कतिपय विद्यालय प्रशासनले बारम्बार ‘अब कोरोना सकियो’ भन्ने गरेकाले पनि विद्यार्थीहरूले मास्क लगाउनसमेत छाडे । हात धुने तथा स्यानिटाइजरको व्यवस्था पनि नगण्य विद्यालयहरूमा मात्र सीमित देखियो । विद्यार्थी मात्र होइन, शिक्षकहरूले नै मास्क तथा भौतिक दूरीलाई अनावश्यक ठाने । ससाना बालबालिकाहरू त कोरोनापूर्वकै अवस्थामा देखिएका छन् । उनीहरूलाई भौतिक दूरी एवम् सुरक्षा अपनाएर पठनपाठनमा सहभागी गराउनु कठिन मात्र होइन, असम्भव नै देखिन्छ । उपर्युक्त सबै आधारमा बालबालिकालाई आसन्न महामारीबाट जोगाउने एक मात्र विकल्प विद्यालय बन्द गरिनु नै हो । अतः यसमा विलम्ब गरिनु हुँदैन ।

उच्च शिक्षाका सन्दर्भमा भने तत्कालै आत्तिनुपर्ने अवस्था देखिँदैन, किनभने अहिले कलेजहरूमा विद्यार्थी संख्या धेरै नभएको हुँदा त्यहाँ भौतिक दूरी कायम गर्न सकिन्छ । परिपक्व अवस्थाका विद्यार्थीहरू स्वयम् सुरक्षाप्रति सचेत देखिन्छन् । परिस्थिति तथा प्रभावकारिता हेरेर पहिलाजस्तै अनलाइन कक्षा सञ्चालन गर्न पनि सकिन्छ । यसमा विश्वविद्यालयहरू स्वयम् निर्णय गर्न सक्छन् । त्यसैले हालको जटिलता भनेको विद्यालय तहको हो ।

सरकारलाई कर नउठ्ने चिन्ता होला, विद्यालयहरूलाई शुल्क नउठ्ने र घाटामा जाने डर होला । तर आमअभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यको चिन्ता छ । यसतर्फ विद्यालय संवेदनशील हुनैपर्छ । हालको प्राथमिकता भनेको नागरिकको जीवनरक्षा नै हो । जीवन नै नरहे शैक्षिक उन्नयनको अर्थ रहँदैन । विद्यालयका नाममा गरिने व्यापारकै प्रसंगमा पनि, व्यापारले आफ्नो फाइदाका लागि मानव जीवनलाई नै संकटमा पार्न मिल्छ र ? कि व्यापारिक क्षेत्रको सामाजिक उत्तरदायित्व नै हुँदैन ? सरकार पनि नागरिकको जीवनरक्षाभन्दा व्यापारीहरूको मुनाफा वृद्धिका लागि सहजीकरण गर्ने लाचार छाया मात्र भएको त होइन ? यी प्रश्नहरू एउटा नागरिकको मात्र नभएर समग्र अभिभावकका हुन् । यदि विद्यालय बन्द नगरेकै कारण परिस्थिति जटिल बन्दै गयो भने यसको उत्तरदायी को ? त्यसैले अब सरकार तथा विद्यालय दुवै पक्ष संवेदनशील भएर तत्कालका लागि विद्यालय बन्द गराइनुपर्छ । आम अभिभावकले पनि आफ्ना नानीहरूलाई घरैमा सकारात्मक गतिविधिमा संलग्न गराउन योगदान गर्नुपर्छ र विद्यालय जान नपाए उनीहरू बिग्रिहाल्छन् भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×