कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

‘वी कान्ट ब्रिथ !’

मृत्युमुखी राजनीतिमा रमाउने शासकहरूलाई आम मानिसको जीवनको माया हुँदैन, प्रेम हुन्छ त केवल आफैंसँग मात्र ।
राजेन्द्र महर्जन

कोही त भने जहाजमा हरर 
कोही त भने पसिना तरर, हाम्रो नेपालमा,
कोहीको घरमा डाक्टरको चाकरी 
कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ।

‘वी कान्ट ब्रिथ !’

रामेश र मञ्जुलजस्ता राल्फालीले गाएको यो त्यही गीत हो, जसले बनाएको मानसिक भावभूमिमा टेकेर नेकपा एमाले सत्तासीन भएको हो । एमाले र त्यसका दलपति खड्गप्रसाद शर्मा ओली सुख, समृद्धि र समाजवादको महान् यात्रामा ओली–दृष्टिका साथ युद्धस्तरमा लागिरहेकाले कुनै पनि अभाव, विभेद र उत्पीडन मात्रै होइन, महाव्याधि पनि देख्दैनन् । आफ्ना आसपासे पुँजीपतिहरूका लागि अहिलेको अहिल्यै समाजवाद लागू गर्न सफल भएका कारण ओली–दृष्टिमा अक्सिजन, आईसीयू, भेन्टिलेटर, बेड र अस्पतालको अभावको परिणामस्वरूप दैनिक दुई सयभन्दा बेसी मानिसको मृत्यु पनि पर्दैन । दिव्य ओली–दृष्टिमा समेत नपरेको भयावह दृश्य पनि देख्ने फर्सी बुद्धिजीवी र मुसा मानवहरूको अवसानमा श्रद्धाञ्जली दिनुपर्दैन ।

इम्युनिटी कडा भएका शासकका नजरमा

खासखास मानिसका लागि बेड र अक्सिजनको कुनै कमी नभएको ओलीराजमा देशवासीका नाममा आफ्नो गाँस कटाई–कटाई अक्सिजनको सिलिन्डर पठाउने मूर्खता गर्ने वा सरकारलाई बदनाम गर्ने खाडीवासी नेपालीहरूलाई स्वदेश छिर्न दिनु हुँदैन ! ओली सरकारले आवश्यकै नठानेका ६० हजार सिलिन्डर अक्सिजनसँगै क्यानुला, टेस्टिङ किट, पीपीई, सघन उपचार शय्या र अस्थायी अस्पतालसँगै जीवन बचाउने वस्तु नेपाललाई तत्कालै अत्यावश्यक ठान्ने संयुक्त राष्ट्र संघका पदाधिकारीहरूलाई पनि यस्तो पवित्र भूमिमा राखिछाड्नु हुँदैन !

‘खास–खास अस्पतालमा बिरामी केन्द्रित हुने र अरू ठाउँमा बेडहरू रिक्त रहने स्थिति’ रहँदारहँदै कोभिडकेन्द्रित बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर, बेड र अस्पताल जरुरी नै छैन ! अतः ओली–दृष्टिमा आम मानिसको मृत्यु अक्सिजन, आईसीयू, भेन्टिलेटर, बेडको अभावले भएकै होइन; ती त विशिष्ट सेवा र अत्याधुनिक सुविधाको खोजीमा भौंतारिँदै मृत्यु रोज्नेहरू मात्रै हुन् । ओली सरकारलाई बेइज्जत गर्ने कुनियतका साथ मृत्यु रोज्नेहरूको सामयिक देहान्तमा कसैले आँसु खसाल्नुपर्दैन !

ओलीले अक्सिजन र बेडको अभाव छैन भन्दै ढाँटेका होइनन्, बरु खासखास अस्पताल धाउने, महामारीमा पनि विशिष्ट सेवा खोज्ने, आफू मात्रै बाँच्न खोज्नेहरूले नै झुट बोलेका हुन् र सरकारविरोधी मिडियाले त्यही झुटलाई सयौंले गुणन गरेर भयावह बनाएका हुन् ! अस्पताल चहार्दाचहार्दै लासमा फेरिनेहरूको भयावह आँकडा, आफन्तजनको अन्तहीन आँसु र घाटवरपर जलिरहेको आगो र आँसुजस्तै पुतपुताइरहेको धूवाँ पनि ओलीराजलाई बदख्वाइँ गर्न रचिएको षड्यन्त्र हो ! कसै–कसैले चिहानघारीतिर हामफाल्दै, शरीरमा महामारी सल्काएर व्यक्तिगत र सामूहिक रूपमा आत्महत्या नै गर्छन् भने त्यसलाई राज्यले हत्याको वातावरण फैलाइरहेको र सरकारले जनतालाई मृत्युको मुखमा धकेलिरहेको भन्नु सार्वजनिक अपराध हो ! त्यस्ता ढँटुवा, षड्यन्त्रकारी र अपराधीहरूको अति सान्दर्भिक आत्महत्यामा समवेदना दिनुपर्दैन !

हाम्रा सर्वज्ञाता, सर्वशक्तिशाली र सर्वसत्तावादी प्रधानमन्त्रीका लागि न कोरोनाको कुनै अस्तित्व छ, न महाव्याधिकै त्रासको कुनै अनुभूति छ, न त त्राहित्राहि भएका देशवासीमा आस र मनोबल जगाउनुपर्छ भन्ने बोध नै छ । यी सबै तुच्छ सांसारिक समस्याभन्दा माथि रहेर अनुसन्धान गर्ने क्रममा कोभिड–१९ भनेको रुघाखोकीजस्तै हो, यसलाई तातो पानी र बेसार–पानी खाएर, अम्बाको पात उमालेर गार्गल गर्दै, हाच्छ्युँ–साच्छ्युँ गरेरै भगाउने, आँखाबाट भाइरस सर्न नदिन चस्मा लगाउने उपचार–विधि आविष्कार गरेका ओलीको जोडा विश्वमै पाउन मुस्किल छ । कोरोनाकालमा नोबेल पुरस्कारका लागि डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीजस्ता महारथीलाई पनि माथ गर्ने यस्ता महान् आविष्कारक प्रधानमन्त्रीभन्दा प्रबल दाबेदार अर्को हुन सक्दैन ।

ओलीका चम्चे, हुक्के र बैठके अरिंगालहरूले सीके राउत र नेत्रविक्रम चन्द विप्लवहरूलाई ‘शान्ति–प्रक्रिया’ मा ल्याउन सफल भएबापत उनका नाममा नोबेल शान्ति पुरस्कारको दाबी गरिसकेकै छन्, अब यी महान् आविष्कारका लागि चिकित्सा विज्ञानमा पनि त्यस्तै माग गर्न सक्छन् । त्यसो त अडोल्फ हिटलरदेखि डोनाल्ड ट्रम्पसम्म नोबेल शान्ति पुरस्कारका लागि मनोनीत भएको इतिहासले धेरै शासक र शासक–भक्तजनलाई प्रेरित गरेको हुनुपर्छ । त्यसमाथि अरू देशमा संहारकारी युद्ध थोपर्ने थियोडोर रुजवेल्टदेखि बाराक ओबामासम्मका अमेरिकी राष्ट्रपतिहरूसमेत नोबेलबाट पुरस्कृत भइसकेको स्थितिमा स्वदेशमा मानव संहारका लागि पनि ओलीलाई सम्मानित गरिने सम्भावना कम छैन ।

देशभित्र हुने प्रत्यक्ष हमला, युद्धजन्य हत्या, संरचनागत हिंसा मात्रै हिंसा होइनन्, राज्यबाट अत्यावश्यक स्रोत, साधन र सुविधाबाट वञ्चित गर्दै आम मानिसलाई जीवनबाट विमुख बनाउनु पनि हिंस्रक राजकीय व्यवहार हो । आम जनतालाई मृत्युको मुखमा धकेल्ने खालको आन्तरिक हिंसामा ख्याति कमाएका व्यक्तिका लागि नोबेल पुरस्कारको व्यवस्था गरिएको छैन भने आफैंले पनि नयाँ पुरस्कार स्थापना गर्न सकिन्छ, नोबेल पुरस्कारलाई टक्कर दिने गरी हिटलरले स्थापना गरेको ‘जर्मन नेसनल अर्डर फर आर्ट एन्ड साइन्स’ जस्तै ।

जनता निसासिएर मर्दै

ओली–दृष्टिभ्रमबाट मुक्त भएर हेर्दा भने, महामारीको चरम बेवास्ता गर्दै र भ्रष्टाचारको सुनौलो मौकामा फेर्दै कोरोनापीडित आम मानिसलाई अप्रत्यक्ष हिंसाबाट मृत्युको मुखमा पुर्‍याउने सरकारी अभियानको अवदानस्वरूप पाँच हजार नेपालीको जीवन समाप्त भइसकेको भयावह दृश्य देखिन्छ । देश चिहान र घाटमा फेरिँदा पनि कुनै शासक कसरी रोमको सम्राट् निरोजस्तै अप्रामाणिक, अवैज्ञानिक पूर्वीय प्रज्ञाको रागसँगै हवाई विकासे आलाप र एकल राष्ट्रवादी धुन अलाप्दै बस्न सक्छ, यो धेरैका लागि सोच्नै नसकिने प्रश्न हुन सक्छ । तर निरो नयाँ सुन्दर सहर बनाउने लक्ष्यसहित रोम जलाएर मस्तसँग बाँसुरी बजाएर रमाएको क्रूर र कुरूप इतिहासले देखाउँछ— आम मानिसलाई विकासका हवाई कल्पना पस्कँदै मृत्युको मुखमा धकेल्न सकिन्छ ।

यस्तो मृत्युमुखी वा शवमुखी राजनीति (सिजोफ्रेनिक पोलिटिक्स) मा रमाउने शासकहरूलाई आम मानिसको जीवनको माया हुँदैन; प्रेम हुन्छ त केवल आफैंसँग मात्र, आफ्नै जीवनसँग मात्रै, आफ्नै विश्वसँग मात्रै । आफ्नै जीवनलाई सबैभन्दा बढी माया गर्ने शासकले अरू मानिसको जीवनलाई भुसुनाको जिन्दगीजस्तो नठान्नु अनौठो होइन । ओली–भ्रमबाट मुक्त भएर विचार गर्दा प्रश्न उठ्छ— जसले प्रधानमन्त्री निवासलाई नै अत्याधुनिक सुविधायुक्त अस्पताल बनाएर, चौबीसै घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधोपचार गरेर, खिस्रिक्क केही भइहालेमा देश–विदेशका राम्रा मानिने अस्पताल चहारेर, एक से एक विशेषज्ञ डाक्टरबाट उपचार गराएर, राज्यको ढुकुटीको दोहन र व्यापारीहरूको आश्रय पाएर आफ्नै समकक्षीलाई पनि चक्मा दिँदै छन्, उनले नै अरूको जीवन त्याज्य ठान्नु कुन आश्चर्यको विषय भयो र ?

आफ्नो जीवन र ज्यानप्रतिको अति मोह एवं सुविधाको असीमित भोगलाई छोपछाप गर्न नै अरूलाई विशिष्ट सेवा–सुविधाका लागि भौंतारिएकाले मात्रै बेड नपाएको आक्षेप लगाउनु पनि उदेकलाग्दो पक्कै होइन । धरहरा उदघाटनदेखि सीतारामको मेला लगाएर राजकीय स्तरमा विकासे जमात र धार्मिक भीड जुटाउने शासकले नै आम जनतालाई भीडभाड गरेकै कारण व्यापक संक्रमित भएको आरोप लगाउनु पनि शासकीय सहुलियतभित्र पर्छ ।

जर्मन मनोविश्लेषक एरिक फ्रमका अनुसार, यस्तो स्वप्रेम (नार्सिसिजम) को रोगको सिकार भएका व्यक्तिहरूका लागि यथार्थ भनेकै आफ्नै विचार, अनुभूति र आवश्यकताको संसार मात्रै हो । उनीहरूको संसार भनेकै उनीहरूले चाहेको विश्व हो, वास्तविक जीवनसँग जसको कुनै सम्बन्ध हुँदैन । आत्ममुग्ध ओलीराजमा अक्सिजनसम्म नपाएर आम मानिस लासमा परिणत हुनुको कुनै अर्थ छैन । आफ्नै नागरिकको हत्यालाई आँप झरेको अर्थमा वस्तुकरण र निर्जीवीकरण गर्ने शासक मण्डलीका लागि अत्यासलाग्दो महामारीमा मानिसको मृत्युलाई जायज वा स्वाभाविक ठान्नका लागि तर्कको कुनै खडेरी छैन, निसासिएर मर्न लागेको आम मानिसका लागि अक्सिजनको अभाव भए पनि ।

नागरिकसँगै राज्य पनि मर्दै

निरो शासकीय प्रवृत्ति र आत्ममोहित ओली रुझान हेर्दा, भ्याक्सिन–शाली शक्तिराष्ट्रसँग भ्याक्सिन र स्वास्थ्य उपचारका सामग्री माग्नुको साटो अक्सिजनबिना मरणलाई नै राष्ट्रवादको उत्कृष्ट नमुना ठानिने खतरा छ । सक्दो जीवन बचाउन राज्य, गैरराज्य र नागरिकका सबै साधन, शक्ति, बुद्धि र जुक्ति महाव्याधिविरुद्ध जुटाउनुको सट्टा घाटहरूमा काठ जुटाउनु र काजकिरियालाई सुगम बनाउनुलाई सरकारी पराक्रम मान्ने जोखिम पनि छ । र, ‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने गीत गाउँदै राष्ट्रिय आत्महत्यालाई प्रेरित गरिने आशंका पनि छ ।

जनताको जीवन बचाउन आफूलाई दाउमा हालिरहेका चिकित्सकहरूको जिकिरअनुसार, उपचार सामग्रीको अभावमा स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भइसक्यो र जीवनबाट मृत्युको यात्रा कहालीलाग्दो भइसक्यो भने आम नागरिक अति नै असहाय भइसके । सामान्य उपचारको समेत अभावमा आम मानिस निसासिएरै मर्ने र स्वास्थ्य प्रणाली नै कोल्याप्स हुने क्रमसँगै राज्य पनि मर्दै छ ।

यस्तो बिजोगमा ओलीले आफूलाई निरो प्रवृत्तिबाट अलग्याउन चाहन्छन् भने आफ्नो सरकार र समग्र राज्यबाट महाव्याधिकालमा भएका कमीकमजोरी, गल्ती र अपराधका लागि देशवासीसमक्ष क्षमा माग्न सक्छन् ? जनताका पक्षमा, जनताको जीवन र स्वास्थ्यका पक्षमा, कोरोना र कोरोनाकालीन भ्रष्टाचारका विपक्षमा युद्धस्तरमा लाग्न आफ्नै निकम्मापन त्याग्दै सबै दलसँग हातेमालो गर्न सक्छन् ? गैरराज्यका सबै समुदायसँग सहकार्य गर्न सक्छन् ? सक्दैनन् भने उनी र उनको प्राइभेट सरकार स्वयं राज्यलाई असफल बनाउने महाव्याधिका रूपमा, जनताको जीवनलाई तहसनहस गर्ने भाइरसमा छाउने खतरा केही समय अझै रहनेछ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?