निरो बाँसुरी बजाइरहेछ- विचार - कान्तिपुर समाचार

निरो बाँसुरी बजाइरहेछ

रोमको निरो क्रूर र निर्लज्ज थियो, हाम्रा निरोहरू लालची र अहंकारी छन् । उस बेलाको निरो हठी थियो, आजका निरोहरू षड्यन्त्रकारी छन् ।
केशव दाहाल

इतिहासको प्रसंग 
रोम जल्दा निरो बाँसुरी बजाउँदै थियो । त्यस्तो पनि हुन सक्छ ? आफ्नै नगरमा आगोका हिंस्रक लप्काहरू उठ्दा कोही कसरी संगीतमा झुम्न सक्छ ? तर इतिहासले भन्छ— यस्तो हुन्छ र भई नै रहेको छ । किनभने, तानाशाहहरू मानवीय संवेदनामाथि खेलबाड गर्नुलाई मनोरञ्जन ठान्छन् ।

त्यसैको ऐतिहासिक विम्ब हो— निरो । सन्दर्भ निकै रोचक छ । इतिहासकारहरू भन्छन्– सन् ५४ अक्टोबर १३ मा एउटा सत्रवर्षे किशोर रोमन साम्राज्यको सम्राट् बन्यो । उसको वास्तविक नाम थियो— क्लाउदिअस सिजर अगस्तस, जसलाई निरो पनि भनिन्थ्यो । केटो निकै चञ्चल र रसिक थियो । त्यसैले सानै उमेरमा दासीपुत्री क्लाउदियासँग उसको प्रेम भयो । तर तत्कालीन रोमन साम्राज्यमा जातीय कट्टरता र संकीर्णता चरम थियो । परिणाम, उसको प्रेम कसैले स्विकारेन । बरु उल्टो निरोको विवाह भयो अक्टोलियासँग । तर, निरोले क्लाउदियालाई भुल्न सकेन । र, सबै कुरा त्यसपछि गडबड हुँदै गयो ।

निरोका जीवनीकार गाइअस कोर्नेलिअस ट्यासिटसका अनुसार, निरो आफ्नी रानी अक्टोलियासँग पटक्कै खुसी थिएन । त्यसैले ऊ चिढचिढो र हठी हुँदै गयो । अवश्य नै उसमा शक्तिको उन्माद थियो । र, थियो राजकाजमा चरम लापरबाह । खासमा आफ्नो प्रेमलाई असफल बनाउने भारदार, मन्त्री, नाताकुटुम्बहरू सबैसँग निरो बदला लिन चाहन्थ्यो । त्यसैताका एक दिन उसलाई परापूर्वकालमा भएको टाय युद्धको सम्झना आयो । त्यो भीषण युद्धमा पुरानो टायनगर पूरापूर जलेको थियो । त्यही सम्झनाले रोमाञ्चित निरोमा एउटा सनक चढ्यो । त्यो के भने, उसलाई टायनगर जल्दाको दृश्य हेर्न मन लाग्यो । उसले तत्काल सैनिकहरूलाई बोलाएर आदेश दियो— रोम नगरमा आगो लगाओ । आदेश तामेल भयो । एकै छिनमा नगर हुरहुरी बल्न थाल्यो । र, निरोले बाँसुरी बजाउँदै दरबारको अट्टालिकामा बसेर त्यो दृश्य हेरिरह्यो ।

त्यस घटनाबारे अनेक टिप्पणी छन् । कोही भन्छन्— सन् ६४ मा आगो लागेकै हो । र, त्यो आगो रोम सहरको दक्षिणपूर्वी भागबाट उठेको थियो, जसले सहरका तेह्रमध्ये सात भागलाई लपेट्यो, जसमा तीन भाग पूरापूर खरानी बने । भनिन्छ, त्यो आगो कैयौं दिनसम्म दनदनाइरह्यो । कोही भन्छन्— आगो पाँच दिनसम्म लागेको थियो । कोही भन्छन्— नौ दिनसम्म । आगो जुन क्षेत्रबाट उठ्यो, त्यहाँ दासहरूको बस्ती थियो । कसैकसैले त्यो आगो रोमका कट्टरपन्थीहरूले लगाएको आरोप पनि लगाउँछन् । उनीहरूको झिनो तर्क छ— निरोलाई फसाइएको हो ।

निरोको प्रेम त विवादास्पद भयो नै, ऊ स्वयं पनि सनकी थियो, जसले गर्दा भारदारहरूबीच शंका, टकराव र तनावहरू बढ्दै गए । निरोको हठ, अहंकार, लापरबाही र पागलपनबाट सबै दिक्क थिए । यतिसम्म कि, विवादमा निरोकी आफ्नी आमा, धर्मगुरु र अनेक भारदारको समेत हत्या भयो, जुन हत्या स्वयं निरोले गराएको मानिन्छ । अन्ततः दिक्क भएका भारदारहरू उसलाई अपदस्थ गर्नुपर्ने निष्कर्षमा पुगे । निरो क्रमशः एक्लो र निरीह बन्दै गयो ।

निरोको मृत्युमाथि अनेक टिप्पणी गरिन्छन् । कोही भन्छन्— रोम जुन आगोमा जल्यो, त्यसैमा हामफालेर उसले आत्महत्या गर्‍यो । अर्को भनाइ छ— पागलपन र सनकको हदमा पुगेर निरो सिकिस्त बिरामी भयो र मर्‍यो । तर निरोको जीवनी लेख्ने इतिहासकार ट्यासिटसको बयान अर्कै छ । उनको कथन छ— जब निरोलाई अपदस्थ गर्ने पक्कापक्की भयो, तब ऊ निकै उत्तेजित र निराश भयो । उसलाई लाग्यो— षड्यन्त्रको सिकार भएर मारिनुभन्दा आफैं मर्नु बेस । अतः सन् ६८ को एक दिन ऊ दरबारबाट निस्कियो र टिइबर नदीको किनारमा गयो । उसले आफ्नी प्रेमिकालाई पनि बोलायो । प्रियतमासँगको अन्तिम मिलनपछि उसले हातको नसा काट्यो र मर्‍यो । इतिहासकार सुटोनिअसका अनुसार, आत्महत्यापूर्व निरोले भनेको थियो, ‘न मेरा मित्र छन्, न शत्रु नै ।’ त्यो एक तानाशाहको कठोर आत्मस्वीकृति थियो ।

निरोले बजाएको बाँसुरी खासमा एक विम्ब हो । रोम जल्दा उसले बजाएको असली बाजा थियो— लायर । लायर रोमन साम्राज्यको सर्वाधिक प्रिय बाजा थियो । यद्यपि उसले के बजाएको थियो, त्यो मुख्य कुरा होइन । मुख्य कुरा हो— उसको अहंकार, लापरबाही र सनक । मानवीय संवेदना र उत्तरदायित्व शासकहरूको न्यूनतम चरित्र हो । तर जब सत्ता र शक्तिको उन्मादमा शासकहरू मानवीय संवेदना र उत्तरदायित्व गुमाउँछन्, त्यहीँबाट निरोको जन्म हुन्छ । त्यसपछि नगरहरू जल्छन् । जनताले दुःख पाउँछन् । इतिहास कलंकित हुन्छ । र, अन्ततः निरो स्वयं आफ्नै दुष्कर्मको रापमा जल्न पुग्छ । यो सन्दर्भबाट निर्माण भएको विशाल सत्य यही नै हो ।

वर्तमानको सन्दर्भ

निरोको मृत्यु आजभन्दा लगभग दुई हजार वर्षअगाडि नै भएको थियो । तर मृत्युपछि पनि निरो पटकपटक सत्तामा पुनरावृत्त हुन आइपुग्छ, किन ? सायद, यो आजको राजनीतिक दुर्भाग्य हो । सायद, यो आजको राजनीतिक असफलता हो । परिणाम, निरो कहिले अमेरिकामा ट्रम्पको वेशमा आउँछ, कहिले भारतमा मोदीको वेशमा । कहिले निरो नेपाली राजनीतिको सत्तामा आउँछ, कहिले सडकमा । विम्बमा भनौं— सायद यो इतिहासको पुनर्जन्म हो । उता रोम जल्दै गर्दा निरो बाँसुरी बजाउँथ्यो, यताका निरोहरू देशमा रोग र भोकको आगो बल्दै गर्दा सत्ताको गीत गाउँछन् । रोमको निरो क्रूर र निर्लज्ज थियो, हाम्रा निरोहरू लालची र अहंकारी छन् । उस बेलाको निरो हठी थियो, आजका निरोहरू षड्यन्त्रकारी छन् । यो कटु सत्य हो, जसलाई पुष्टि गर्न रोमन साम्राज्यका तथ्यहरू हेर्नुपर्दैन; हाम्रै आँगनका भोक, रोग र अपमानहरू काफी छन् ।

जस्तो हेरौं त, बितेको एक वर्ष ओली, प्रचण्ड र माधवहरूको लडाइँमै बित्यो । के त्यसको कुनै वैचारिक र राजनीतिक कारण थियो ? उनीहरूको साँढेजुधाइबाट देशको एक वर्ष सत्यानाश भयो । के त्यसको कुनै क्षतिपूर्ति हुन सक्छ ? हाम्रा आशा, अपेक्षा र सपनाहरूमाथि ओली र माधवहरूले जसरी खेलबाड गरे, के त्यो निरोको नयाँ संस्करण होइन ? देश कोरोनाले आक्रान्त हुँदा कांग्रेस, कम्युनिस्ट र राजपाका मठाधीशहरू सत्ताको जुन गीत गाउँदै थिए, के त्यसको कुनै गम्भीर अर्थराजनीतिक महत्त्व थियो ? थियो भने के थियो र थिएन भने हाम्रो अमूल्य एक वर्ष किन नाश गरियो ?

कोरोना संकटकै कुरा गरौं । विज्ञहरू भन्छन्— कोरोना पछिल्लो सय वर्षकै सबैभन्दा ठूलो आर्थिक, सामाजिक र राजनीतिक संकट हो । यो स्वास्थ्य संकट मात्र होइन । यो त प्रचलित राज्यप्रणाली, चिन्तनपद्धति, विकास ढाँचा र सभ्यताकै संकट हो, जसका प्रभावहरू भविष्यमा अझ व्यापक हुँदै जानेछन्, जो यति प्रबल हुनेछन् कि प्रचलित विश्वको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उथलपुथल आउनेछ । यति ठूलो संकट सामुन्ने छ, हाम्रा निरोहरू के गर्दै छन् ? के समस्यासँग जुध्न कुनै गम्भीर विमर्श र साझा पहल हुँदै छ ? छैन । बरु उनीहरू स्वयं स्वास्थ्य मापदण्ड लत्त्याउँदै भेला, सभा र जुलुसहरू गर्दै छन् । आरोप–प्रत्यारोप चल्दै छ । संकटमा जनता फसेका छन् तर उनीहरूको रामराज्य अकण्टक छ । के यो निरोको पुनरावृत्ति हैन ?

आज सरकारले गर्नुपर्ने कामहरू अनेक छन् । अस्पताल, अक्सिजन, राहत आदि । किनभने मान्छेलाई सरकार चाहिने नै संकटमा हो । साधारण अवस्थामा त उड्न अनन्त आकाश छँदै छ । भयंकर आँधीमा न मान्छेलाई ओत चाहिन्छ ! त्यसैले नै हामी सरकार बनाउँछौं । निर्वाचन हुन्छ । जनताले कर तिर्छन् । मन्त्रीहरूलाई गाडी, तलब, भत्ता, सम्मान र सुविधा दिइन्छ । अन्यथा सरकार किन चाहियो ? तर कोरोनाको संकटमा सरकारले जनतालाई के दियो ? लापरबाही । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौंमा मान्छेहरू सास फेर्न अक्सिजन खोजिरहेका थिए तर सत्ताका निरोहरू सांसदहरू किन्न र लुकाउनमा व्यस्त देखिन्थे । जति बेला निर्धा मान्छेहरूका आँखाबाट पीडाका आँसुहरू झर्दै थिए, सरकार शपथग्रहणमा मग्न थियो । जति बेला मान्छेहरू रोगले थाकेर लगलग काम्दै थिए, सरकार विजयको उत्सव मनाउँदै थियो । जनता भक्कानिएर रुन पनि नसकिरहेका बेला सरकार अट्टहास गर्दै थियो । र, आसेपासेहरू पुनः सत्ताप्राप्तिको शुभकामना साटासाट गरिरहेका थिए । के यी सब परिदृश्य हाम्रा शासकहरूको पतनका ताजा उदाहरण हैनन् ?

कुरा रोगको मात्र छैन । कुरा भोकको पनि छ । निषेधाज्ञाले मान्छेको जीविका खोसेको छ । सहरमा दैनिक श्रम गरी गुजारा चलाउनेहरूसँग काम छैन । यातायात मजदुरहरू खाली छन् । ट्याक्सी चालकहरू खाली छन् । उद्योगहरू चलेका छैनन् । पछिल्ला तथ्यांकहरूले भन्छन्— नेपालमा लगभग २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । अर्थात्, ७५ लाख नेपालीसँग बचत छैन । दैनिक सरदर २०० रुपैयाँभन्दा कम कमाउने नेपाली ७ प्रतिशत छन् । यी २१ लाख मान्छे अहिले कसरी खाँदै होलान् ? सरकार बेफिक्री छ ।

निरोको कथाले भन्छ— मुलुक अधोगतितिर गइरहेका बेला, जनता संकटले त्राहित्राहि भइरहेका बेला र मान्छेको अनुहारमा सम्पूर्ण खुसी सकिएका बेला जब एउटा शासक आफ्नै मस्तीमा बाँसुरी बजाउँछ, त्यो इतिहासकै भ्रष्ट, पतित र नालायक शासक हो । त्यो निरो हो । विगतमा निरोले झोसेको आगोले रोम जलेको थियो, यता आजका निरोहरू मान्छेका सपना जलाइरहेका छन् । उता निरोले लगाएको आगोले सहर जलेको थियो, यताका निरोहरू लोकतन्त्र सल्काउँदै छन् । यो आगोले कतै हाम्रो सम्पूर्ण समयलाई नष्ट नगरोस्, यो नै आजको चिन्ता हो । अन्यथा निरोहरू कति बेला कसरी सन्किन्छन्, के थाहा ? भोलि आफ्नै सपनाहरू जल्दा निभाउन हाम्रो भागमा पानी पनि नहोला । आजका निरोहरू धेरै खतरनाक छन्, अतः बेलैमा प्रश्न गरौं ।

dahal.keshab@gmail.com

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

के दलहरू मात्र दोषी छन् ?

मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?
केशव दाहाल

चैत अन्तिम हप्तातिर म प्रदेश १ को यात्रामा थिएँ । इटहरी चोकमा स्कुले यारसँग एक्कासि भेट भयो । ऊ पच्चीस वर्ष विदेशमा काम गरेर गत वर्ष मात्र फर्किएको थियो । उसको सपना थियो— नेपालमै बस्ने र जमिनमा पसिना बगाउने ।

साथी भाडाको जमिनमा इजरायली पाराले तरकारी रोप्न चाहन्थ्यो । कसैले उसलाई सल्लाह दियो, ‘कम्पनी बनाऊ र बैंकमा जाऊ । सस्तो ब्याजमा ऋण पनि पाइन्छ, प्रविधि पनि ।’ बस, उसले सप्तरंगी सपनाहरू बुन्यो र मनमनै गदगद भयो । मेरो मित्र स्वाभिमानसाथ देशमै बाँच्न चाहन्थ्यो । तर जब ऊ घरबाहिरको राजनीति, समाज र सरकारसँग ठोक्किन पुग्यो, कष्टका दिनहरू सुरु भए । कम्पनी दर्ताको प्रक्रियादेखि ठगिन थालेको मेरो यार पाइलैपिच्छे ठगिँदै गयो । छ महिना अनेक गौंडा र गल्छेडामा ठगिएपछि उसले निष्कर्ष निकाल्यो— यताका ठगहरूलाई पोस्नुभन्दा त मुगलान भासिनु नै बेस ।

इटहरीको धूलोसँग चिया घोलेर पिउँदै गर्दा उसले सोधेको पहिलो प्रश्न थियो, ‘हाम्रो देश ठगहरूको स्वर्ग हो, साथी ? स्कुल गयो, पढाइ छैन । अस्पताल गयो, उपचार छैन । सरकारी कार्यालय गयो, घूस नखुवाई काम हुँदैन । बैंक गयो, ब्याज चर्को । बजार गयो, महँगी चर्को । दूध किन्यो, ठगिएकै छ । चामल किन्यो, ठगिएकै छ । सहरमा काम छैन, गाउँमा श्रम छैन । खेत बाँझै छन्, तर जोत्न पाइँदैन । न मल, न बीउ । नेताले ठग्छ । पुलिसले ठग्छ । हाकिमले ठग्छ । ठेकेदारले ठग्छ ।’ आफू ठगिएको सम्पूर्ण कथा बेलीविस्तार लगाएपछि उसले थप्यो, ‘सकिँदैन यार ! यो देश साना मान्छेका सपनाहरूको मसानघाट भैसक्यो ।’

मेरो साथी यो देशका लाखौं आम मान्छेको प्रतिनिधि पात्र हो । उसले भन्यो, ‘थाहा छ तिमीलाई ? यो देशमा एउटा साधारण मान्छे दैनिक सरदर दसचोटि ठगिन्छ ।’ मान्छेका कोमल सपनाहरू ढुंगाजस्ता तीखा र कठोर सत्यसँग ठोक्किएर कसरी छियाछिया बन्छन्, त्यसको जिउँदो साक्षी हो ऊ । पछिल्लो समय भेट्दा उसको अनुहार सुक्खा र उजाड थियो । ‘किन यति धेरै निराश छौ, यार ?’ मेरो प्रश्नमा उसले भन्यो, ‘यो देशमा आशाको उज्यालो निभिसक्यो, साथी ! हाम्रो पुस्ताका लागि अब कुनै सम्भावना बाँकी छैन ।’

किन यति धेरै लाचार छ मेरो साथी ? किन आम मान्छेका लागि नेपालमा आशाको उज्यालो कतै देखिँदैन ? एकातिर मान्छेहरू भन्छन्— यो लोकतन्त्रको असफलता हो; यो संघीयताको असफलता हो । अर्का थरी मान्छेहरू भन्छन्— यो व्यवस्थाको हैन, राजनीतिको असफलता हो । खासमा यो केको असफलता हो ? राजनीतिको कि व्यवस्थाको ? विचार गरौं ।

राजनीति : आकाशको कुरा

राजनीति भन्नु र राज्यव्यवस्था भन्नु एउटै कुरा होइन । राजनीति, सरकार र सत्ता भन्नु पनि फरकफरक कुरा हुन् । राजनीति आफैंमा व्यापक र गहिरो विषय हो । जस्तो कि, आकाश । आकाशको विशालता र गहिराइ अनन्त हुन्छ । आकाशभित्र ताराहरू हुन्छन्, चन्द्रमा हुन्छ, ग्रहहरू हुन्छन् । तर चन्द्रमा भन्नु र आकाश भन्नु एउटै कुरा होइन । यसरी हेर्दा राजनीति भन्नु र पार्टी भन्नु पनि एउटै कुरा होइन । राजनीतिभित्र पार्टीहरू हुन्छन् । सत्ता हुन्छ । र, सरकार हुन्छ । तर त्यति मात्र हुँदैनन्, किनभने राजनीति व्यापक र गहिरो विषय हो ।

राजनीतिको आकाशभित्र मुख्यतः तीन कुरा हुन्छन् । पहिलो— चेतना, दर्शन, ज्ञान, विज्ञान र विचारहरू । दोस्रो— जनता, देश, राज्य, सरकार, पार्टी र प्रणालीहरू । तेस्रो— संकल्प, प्रतिबद्धता र मूल्यमान्यताहरू । यी सम्पूर्णको योगफल हो— राजनीति । अतः राजनीति भनेको व्यवस्था, प्रणाली र सरकार मात्र होइन । राजनीति भनेको जीवन र जगत्लाई हेर्ने, बुझ्ने, उत्प्रेरित गर्ने र बदल्ने अभियान हो । राजनीति व्यक्ति, समाज र संसारको बनोट र चाललाई बुझ्ने अनि बदल्ने कुरा हो । राजनीतिले संसारलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर चिन्तन गर्छ । यसर्थ यो ज्ञान पनि हो र साधना पनि । र, राजनीति जीवन र जगत्लाई समृद्ध गर्ने अनुष्ठान हो ।

भनिन्छ, मान्छे स्वयं राजनीतिक प्राणी हो । प्रत्येक सचेत मान्छेले राजनीति गरिरहेको हुन्छ । जस्तो कि, लेख्नु राजनीति हो । अनुसन्धान गर्नु राजनीति हो । विज्ञान राजनीति हो । गीत, संगीत र नाटक गर्नु पनि राजनीति हो । त्यस्तो प्रत्येक चीज राजनीति हो जसले जीवन र जगत्का बारेमा विचार गर्छ । र, सँगै जीवन र जगत्‌लाई अझ सुन्दर बनाउन उत्प्रेरित गर्छ । संसारलाई अझ सुन्दर, कलापूर्ण, उन्मुक्त र भव्य बनाउन लेखकले, कलाकारले, गायकले, कृषकले, व्यापारीहरूले योगदान गरिरहेका हुन्छन् । यसको अर्थ, सबैले राजनीति नै गरिरहेका हुन्छन् ।

आंगिक संरचनाहरू

राजनीति एक्लो हुँदैन । यो अनेक आंगिक वा सहयोगी संरचनाहरूसँग एकता र संघर्षको नियममा मिलेर बसेको हुन्छ । जस्तो, राजनीतिमा दलहरू हुन्छन् । नागरिक समाज हुन्छ । लेखक, कलाकारहरू हुन्छन् । उद्योगी, व्यापारीहरू हुन्छन् । सामाजिक अभियन्ताहरू हुन्छन् । यी सबै राजनीतिका आंगिक वा सहयोगी संरचना हुन् । आकाशमा ताराहरूजस्तै । अतः राजनीतिमा दलहरू मात्र महत्त्वपूर्ण हुँदैनन् । बरु त्यति नै महत्त्वपूर्ण हुन्छन् नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि । यी सबैको सामूहिक योगदान हो राजनीति । अतः राजनीतिको सफलता र असफलता दलहरूको सफलता र असफलतामा मात्र निर्भर हुँदैन । वस्तुतः कस्तो राजनीति गर्ने ? खासमा यो दलहरूलाई मात्र सोध्नुपर्ने प्रश्न हैन । यो नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरूलाई पनि उसरी नै सोध्नुपर्ने एउटा महत्त्वपूर्ण राजनीतिक प्रश्न हो ।

त्यसो भए व्यवस्था के हो ? देशदुनियाँका अनेक स्वार्थ र सपनाहरूलाई नियमन गर्ने एउटा साधन हो राज्य । राज्यलाई सञ्चालन गर्ने पद्धति वा प्रणाली हो— व्यवस्था, जसलाई दिशानिर्देश गर्छ राजनीतिले । र, पार्टीहरूले त्यसलाई कार्यान्वयन गर्छन् । यो सम्पूर्ण चक्रमा राजनीतिका आंगिक संरचनाहरूले मिलेर काम गरे भने राजनीति सफल हुन्छ । अन्यथा राजनीति असफल हुन्छ । राजनीति असफल हुनु भनेको दलहरू मात्र असफल हुनु होइन; दलहरूसँगै नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि असफल हुनु हो ।

असफलताको दुश्चक्र

राजनीतिक असफलता सामूहिक दुश्चक्रको एउटा कठिन सिलसिला हो, जसलाई बुझ्न केही प्रश्न हेरौं । जस्तो, राजनीतिक असफलताहरूको स्रोत कहाँ छ ? मान्छेहरू भन्छन्— हाम्रा समस्याहरू दलहरूमा निहित छन्; नेताहरूमा निहित छन्; सरकार लम्फु छ । निश्चय नै, हाम्रो गरिबी, कुशासन र अविकासका लागि दल, नेता र सरकारहरू जिम्मेवार होलान्, तर दलहरूलाई सरकारमा पुर्‍याउँछ कसले ? मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?

जब समाजमा आलोचनात्मक चेतना सकिन्छ र भाटगिरी सुरु हुन्छ, तब राजनीति राजनीतिजस्तो हुँदैन । जव राजनीतिका आंगिक संरचनाहरू सड्दै र गल्दै जान्छन्, तब राजनीतिले जीवन र जगत्लाई बदल्ने सामर्थ्य गुमाउँछ । जब लेखकले ठीक कुरा लेख्न छोड्छ, जब कलाकारले जीवनमुखी सृजना गर्दैन, जब व्यापारीले लुट्न थाल्छ, जब बुद्धिजीवी सत्ताको दास बन्छ, तब यस्तो हुँदै जान्छ । राजनीतिका सम्पूर्ण अंग बिग्रँदा दलहरू मात्र राम्रा हुन्छन् भनेर अपेक्षा गर्नु आफैंमा मूर्खता हो । किनभने राजनीतिका आंगिक संरचनाहरू एकअर्कासँग अविभाज्य र अन्तर्निहित हुन्छन् ।

यसरी हेर्दा स्पष्ट हुन्छ, अहिलेको मुख्य समस्या न व्यवस्था वा प्रणाली मात्र हो न त दलहरू मात्र । अहिलेको मुख्य समस्या राजनीति हो । र, यसका सम्पूर्ण आंगिक संरचनाहरूमा अहिले समस्या छ । जस्तो कि, अहिले लेखकहरूमा समस्या छ । कलाकारहरूमा समस्या छ । बुद्धिजीवीहरूमा समस्या छ । कार्यकर्ताहरूमा समस्या छ । मतदाताहरूमा समस्या छ । नागरिक समाजमा समस्या छ । प्राध्यापकहरूमा समस्या छ । यो आरोप तिनलाई हैन, जसले राजनीतिलाई ठीक दिशा दिन सक्दो प्रयत्न गरी नै रहेका छन् । यो आरोप तिनलाई हो, जसले बिग्रिएको राजनीतिलाई अझ सत्यानाश गर्न योगदान गरिरहेका छन् ।

के हामी आम निराशाको सिकार हुँदै छौं ? होइन । तर राजनीतिका आंगिक संरचनाहरूले स्वयं राजनीतिमाथि निर्णायक हस्तक्षेप गर्ने बेला भने अब भयो । अन्यथा आम निराशा हाम्रो नियति बन्नेछ । अन्यथा दल र नेताहरूलाई गाली गरेर मात्र अवस्था फेरिनेछैन । सत्य हो, अहिलेको बिग्रँदो अवस्थामा बदलाव ल्याउन निश्चय नै पार्टीहरू त फेरिनैपर्छ, तर त्यतिले मात्र पुग्दैन । कार्यकर्ताहरू पनि फेरिनुपर्छ । मतदाताहरू पनि फेरिनुपर्छ । नागरिक समाज पनि फेरिनुपर्छ । कर्मचारी, प्राध्यापक र शिक्षकहरू पनि फेरिनुपर्छ । लेखकहरू फेरिनुपर्छ र कलाकारहरू पनि फेरिनुपर्छ । अरू पनि सबैसबै फेरिनुपर्छ ।

अन्त्यमा यति भनौं, राजनीतिक सफलता सामूहिक सफलताको एउटा उज्यालो अवस्था हो । असफलता हाम्रो आफ्नै सामूहिक दासता र दुष्कर्मको परिणाम । हामीले के रोज्ने ? दासताको अँध्यारो कि स्वतन्त्रताको उज्यालो ? व्यवस्थालाई दोष दिएर मात्र कतै पुगिँदैन । यो सम्पूर्ण परिवर्तनको समय हो । यो स्वयं हाम्रो राजनीति बदल्ने समय हो । अन्यथा दल, नेता र सरकार मात्र कसै गरी फेरिनेछैनन् । स्पष्ट छ, राजनीतिलाई यथावत् राखेर नयाँ परिणाम आउँदैन ।

dahal.keshab@gmail.com

प्रकाशित : वैशाख १५, २०७८ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×