कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कोरोना भाइरसको संरचना र उत्परिवर्तन

भेरिएन्टहरूमा भएको आनुवंशिक परिवर्तनको पहिचानले भाइरसको संक्रमण दर, रोग पैदा गर्न सक्ने क्षमताका साथै खोपले प्रतिरोध वृद्धि गर्न सक्छ वा सक्दैन भन्ने अनुमान लगाउन सकिन्छ । 
अस्मिता खनिया

जसरी हाम्रो मानव शरीर बनेको हुन्छ, त्यसरी नै हामीले देख्ने कीरा–फट्यांग्रा अथवा नदेख्ने भाइरस/ब्याक्टेरियाको संरचना पनि जैविक अणुहरू मिलेर बनेको हुन्छ । हरेक जीवित कोषिकाका लागि प्रोटिन अति आवश्यक जैविक अणु हो, जसले शरीरको विकास गर्न निकै ठूलो भूमिका खेलेको हुन्छ ।

कोरोना भाइरसको संरचना र उत्परिवर्तन

शरीरको हरेक भाग (जस्तो– छाला, कपाल, नङ, कोष) इत्यादि प्रोटिनबाट बनेको हुन्छ । शरीरको विकास मात्र नभई हरेक जैविक कार्यहरू गर्न प्रोटिन अति आवश्यक छ । उदाहरणका लागि, हामीले खाएको खाना पाचन प्रणालीमा पुगिसकेपछि पचाउने काम यिनै प्रोटिनले विभिन्न केमिकल्स बनाएर गर्छन् । जसरी एउटा घर बनाउन इँटाहरूको आवश्यकता पर्छ, त्यसरी नै जीवित कोषिका बन्न प्रोटिन चाहिन्छ ।

इँटालाई पूर्ण रूपमा तयार पार्न माटो आवश्यक परेझैं एउटा प्रोटिन बन्न एमिनो एसिड नामक अणुहरूको जरुरत पर्छ । प्रकृतिमा लगभग पाँच सयवटा एमिनो एसिडको पहिचान गरिएको छ, तीमध्ये बीसवटाले मात्र मानव शरीरमा पाइने प्रोटिनहरू बनाउँछन् । यी एमिनो एसिडहरू भएको स्थान र प्रकारले शरीरमा कुन प्रोटिन बनाउने, कति बेला बनाउने वा नबनाउने भन्ने तय गर्छन् । कुनै कारणवश यी एमिनो एसिडहरूको स्थान र प्रकारमा परिवर्तन भयो भने यसले आनुवंशिक अराजकता (जेनेटिक डिसअर्डर) र स्वतः प्रतिरक्षा अराजकता (अटो इम्युन डिसअर्डर) हुन अथवा क्यान्सरजस्ता रोग लग्न सक्छन् । यस प्रक्रियालाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ । शरीरका कोषहरू विभाजन हुनमा हाम्रो हात हुँदैन, यस क्रममा केही त्रुटि पनि हुन सक्छन् जसलाई प्राकृतिक उत्परिवर्तन भनिन्छ । विकिरण, रसायन वा कुनै भाइरसको संक्रमणबाट पनि उत्परिवर्तन हुन सक्छ, जसलाई वातावरणीय उत्परिवर्तन भनिन्छ । एमिनो एसिडभित्र गहिरियौं भने अर्को तत्त्व भेटिन्छ– जिन । यो वंशानुगतको आधारभूत शारीरिक र कार्यात्मक एकाइ हो । जिनहरू डीएनएबाट बनेका हुन्छन् भने डीएनए न्युक्लियोटाइडहरूबाट । प्रोटिनभित्र प्रत्येक अमिनो एसिडका लागि सन्देश तीन डीएनएको अनुक्रमद्वारा निर्धारित गरिन्छ ।

विश्वभरि फैलिरहेको कोभिड–१९ ले नेपालमा पनि सबैलाई त्रस्त पारेको छ, कतिले त ज्यानै गुमाउनु परिरहेको छ । अहिलेको भाइरस सार्स–कोरोनाभाइरस–२ नै भए पनि कतिपय व्यक्तिले यो नयाँ भाइरस हो भन्ने गरेको सुनिन्छ । के कारण यस्तो भाइरस उत्पत्ति भयो र यसको बनोट कस्तो हुन्छ भन्नेबारे धेरैलाई जिज्ञासा हुन सक्छ । म यस विषयको विज्ञ नभए पनि अध्ययनका क्रममा थाहा पाएका केही जानकारी यहाँ प्रस्तुत गरेकी छु ।

भाइरस : प्रकार र उत्परिवर्तन

भाइरस संक्रामक परजीवी हो, जो कुनै पनि जीवको जीवित कोषिकाभित्र मात्र बच्न सक्छ । सामान्यतः भाइरसहरूलाई दुई समूहमा विभाजन गरिएको छ– आरएनए र डीएनए । सार्स–कोरोनाभाइरस–२ आरएनए भाइरस समूहमा पर्छ । यी दुई समूहका भाइरसलाई तुलना गर्ने हो भने आरएनए समूहका भाइरससँग उत्परिवर्तन दर उच्च हुन्छ, जसले गर्दा नै भाइरसमा उच्च आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी) आउँछ । हरेक उत्परिवर्तनले भाइरसलाई शक्तिशाली बनाउँछ भन्ने छैन, कतिपय उत्परिवर्तन मौन हुन सक्छन् र जीवको ‘फेनोटाइप’ परिवर्तन गर्दैनन् । तर मौन उत्परिवर्तनले नयाँ प्रोटिनमा परिवर्तन गर्न सक्छन् । कोषीय प्रक्रियामा परिणाम दिन सक्छन्, जसका कारण जीवले ‘फेनोटाइप’ बदलिन्छ ।

भाइरसमा उत्परिवर्तन हुँदैमा यसले धेरै क्षति गर्छ भन्ने पक्कै होइन । त्यो उत्परिवर्तन भाइरसको कुन भागमा भएको छ र त्यसले उसको होस्ट अथवा हामीलाई रोग लगाउन कस्तो भूमिका खेल्छ, त्यसमा भर पर्छ । भाइरसलाई चाहिने महत्त्वपूर्ण जिनमा उत्परिवर्तन भएमा अझ बढी संक्रामक बनाउनुका साथै खोपसँग आफूलाई प्रतिरोधी पनि बनाउँछ, जसले गर्दा यसको नियन्त्रण गर्न कठिनाइ पर्न जान्छ ।

कोरोना भाइरसले रोग लगाउने प्रक्रिया

कोरोना भाइरस हाच्छिउँ गर्दा वा खोक्दा बनेका श्वास–प्रवाहका कणहरूबाट सर्छ, जुन दोस्रो व्यक्तिको नाक हुँदै भित्र जान्छ र केही समय माथिल्लो श्वासनलीमा बस्छ । फलस्वरूप रुघा–खोकी लाग्ने, टाउको दुख्ने, जरो आउने, स्वाद र गन्ध हराउनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि भाइरस श्वासपथ हुँदै फोक्सोमा पुग्छ । कोरोना भाइरसको बाहिरी सतहका स्पाइक प्रोटिनहरू मानव शरीरको फोक्सोका कोषहरूमा हुने एन्जियोटेन्सिन कन्भर्टी एन्जाइम–२ रिसेप्टरहरूसँग टाँसिन्छन् र थप फैलिन्छन् । फोक्सोमा छिरेको भाइरसलाई मार्नका लागि हाम्रो शरीरमा भएका प्रतिरक्षा कोषहरूले धेरै मात्रामा केमिकलहरू निकाल्छन्, जसले गर्दा फोक्सो सुन्निन्छ र सास फेर्न लिन गाह्रो हुन्छ ।

रिसेप्टर बाइन्डी डोमेनले सार्स–कोरोनाभाइरस–२ लाई मानव कोषहरूसँग टाँसिन मदत गर्छ । यो भाग सार्स–कोरोनाभाइरस–२ को स्पाइक प्रोटिनभित्रको एउटा अंश हो । सार्स–कोरोनाभाइरस–२ को यो आरबीडीलाई विशेष ध्यान दिइन्छ किनकि खोपहरू बनाउँदा भाइरसको यो भागलाई समेटिन्छ । कोरोनाको खोप लगाएपछि हाम्रो शरीरले एन्टिबडीहरू बनाउँछ र ती एन्टिबडीहरू भाइरसको स्पाइक प्रोटिनमा गएर टाँसिन्छन्, जसले भाइरसलाई हाम्रो शरीरमा बस्न दिँदैनन् । हामीलाई संक्रमणबाट बचाउँछन् । यदि भाइरसको स्पाइक प्रोटिन विशेष गरेर आरबीडीमा उत्परिवर्तन भयो भने खोप लगाएपछि बनेका एन्टिबडीहरूले भाइरसलाई मार्न नसक्ने वा मार्न सक्ने क्षमता कम हुने हुन सक्छ । धेरैजसो उत्परिवर्तन भाइरसका लागि हानिकारक हुन्छन् भने केहीले भाइरसलाई बाँच्न सजिलो बनाउँछन् ।

भाइरसका भेरिएन्टहरू

कोभिड–१९ लगाउने भाइरस बन्दै जाने क्रममा त्रुटिहरू हुन सक्छन् र ती त्रुटिबाट बनेका भाइरसहरू आनुवंशिक रूपमा मुख्य सार्स–कोरोनाभाइरस–२ भन्दा केही भिन्न हुन जान्छन् । तिनलाई नै यसको भेरिएन्ट भनिन्छ । सार्स–कोरोनाभाइरस–२ का मुख्य गरेर पाँच भेरिएन्ट पाइएका छन् । ती हुन्— बी १.१.७ (यूके), बी १.३५१ (दक्षिण अफ्रिका), बी १.४२९ (यूएस), बी १.६१७ (भारत), पी १ (ब्राजिल) । बी १.१.७ , बी १.३५१, बी १.४२९, बी १.६१७ र पी १ यिनीहरूको वैज्ञानिक नाम हो । भौगोलिक हिसाबमा यी भेरिएन्टहरूको लेबलिङ गर्नु गलत मानिएको छ । जस्तै ः सार्स–कोरोनाभाइरस–२ को बी १.१.७ भेरिएन्ट पहिचान गर्ने पहिलो देश बेलायत थियो, जसको मतलब यो भेरिएन्टको उत्पत्ति बेलायतमा भएको हो भन्ने होइन ।

भेरिएन्टहरूको पहिचान गर्नु आवश्यक छ । भेरिएन्टहरूमा भएको आनुवंशिक परिवर्तनको पहिचानबाट यिनीहरूको संक्रमण दर, रोग पैदा गर्न सक्ने क्षमताका साथै खोपले प्रतिरोध वृद्धि गर्न सक्छ वा सक्दैन भन्ने अनुमान लगाउन सकिन्छ । उदाहरणका लागि, बी १.१.७, बी १.३५१, पी १ भेरिएन्टहरूमा आरबीडी डोमेनको ५०१ औं स्थानमा भएको एमिनो एसिडको परिवर्तनले सार्स–कोरोनाभाइरस–२ लाई मानव कोषहरूमा अझ बढी टाँसिने क्षमता बढाएको पाइएको छ ।

अन्तमा, सार्स–कोरोनाभाइरस–२ को उत्परिवर्तन रोक्न सक्नु त हाम्रो हातमा हुँदैन तर समयमै सावधानी अपनाउन सकियो भने यसबाट जोगिन सक्छौं । मास्कको निरन्तर प्रयोग गर्ने, भीडभाडमा नजाने, कम्तीमा आपसमा ६ फिटको दूरी कायम गर्ने, समयसमयमा साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, पोसिला खानेकुराहरू खानेजस्ता गरे पनि हामीलाई यस भाइरसबाट बच्न निकै मदत गर्छ । खोप उपलब्ध भएपछि सबैले लगाउनुपर्छ । यस्ता सुरक्षाका गतिविधि र खोपले हामीलाई कोरोना महामारीबाट बचाउँछ ।

(खनिया थाइल्यान्डको चुलालोङकन विश्वविद्यालयमा पीएचडी गर्दै छिन् ।)

प्रकाशित : जेष्ठ ३, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?