कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सार्थक वैदेशिक सहयोग खोज

सम्पादकीय

गत वर्ष जतिबेला इटाली कोभिड संकटबाट अतालिइरहेको थियो र स्थिति सरकारको काबुबाहिर थियो, त्यही बेला चीनले ८ हजार किलोमिटरभन्दा टाढाको रोममा कैयौं टन स्वास्थ्य सामग्रीसहितको विशेषज्ञ चिकित्सक टोलीलाई विमान चार्टर गरेरै पठायो, त्यो पनि पटक–पटक ।

सार्थक वैदेशिक सहयोग खोज

यस्तै सहयोग बेइजिङले अफ्रिकी र सुदूरका दक्षिण अमेरिकी मुलुकहरूलाई पनि गर्‍यो । यतिबेला नेपालको पनि स्वास्थ्य संकट कहालीलाग्दो क्षणमा पुगिसकेको छ ।

आज जुन हालत भारतले सामना गर्दै छ, नेपालको अवस्था पनि त्यस्तै छ; कत्ति पनि तैबिसेक छैन, बरु अझ डरलाग्दो बन्दै छ । तापनि आफूसित डेढ हजार किलोमिटर सीमा जोडिएको उही उत्तरी मुलुक चीनबाट नेपालले भने उल्लेखनीय स्वास्थ्य सहयोग लिन खोजेकै देखिँदैन । यसमा चीनको अरुचिभन्दा पनि नेपाल स्वयंले आवश्यक कूटनीतिक पहल नगरेको बुझिन्छ । जबकि, आफ्नो एकल प्रयत्नले अहिलेको अवस्थाबाट सजिलै मुक्ति नपाउने देखिइसकेको छ । त्यसैले, यो महासंकटको घडीमा सरकारले चीनसहित अरू मित्र मुलुक र अन्तर्राष्ट्रिय समुदायसित सार्थक सहयोगको अपिल गर्नैपर्छ ।

हामीलाई थाहै छ– यतिबेला अक्सिजन अर्थात् प्राण वायुको झन्झन् हाहाकार हुँदै छ । ठूला भनिएकै अस्पतालहरू बिरामी भर्ना गर्न नसकिने अवस्थामा पुगिसकेका छन् । अस्पताल सेवाको सामान्य भर पाउँदा मात्रै बाँच्न सक्ने बिरामी पनि शय्या खोज्दाखोज्दै ज्यान गुमाउन विवश छन् । सिकिस्त बिरामीले शय्या भेट्न कि उपचाररत कोही निको भएर घर फर्कनुपर्छ कि कसैको निधन हुनुपर्छ । मृत्युदर ‘दिन दुईगुना रात चौगुना’ अकासिँदो छ । परिस्थिति सरकारी संयन्त्रको बुताबाहिर गैसकेको छ । स्रोतसाधनको कमीले मात्र यो अवस्था आएको पक्कै होइन, सरकारसित व्यवस्थापन कौशल नहुनु पनि यसमा जिम्मेवार छ । यो संकटबाट मुक्ति पाउन युद्धस्तरमा प्रतिकार्य गर्नुको विकल्प छैन । यसका निम्ति सरकारले आफ्नो बर्कतले भ्याएसम्म व्यवस्थापन त गर्नैपर्छ; अन्तर्राष्ट्रिय समुदायबाट पनि सम्भव भएजति सहयोग खोज्न अब विलम्ब गर्नु हुँदैन ।

कोभिडसित जुध्न सरकारले मूलतः दुई कार्य गर्नुपरेको छ । एउटा, सिकिस्त संक्रमितहरूको ज्यान जोगाउन यथोचित उपचारको बन्दोबस्त युद्धस्तरमा गर्नुपरेको छ भने अर्को संक्रमणको अवस्था अझै भयावह नबनोस् भनेर सकेसम्म धेरै नागरिकलाई खोप पनि लगाउँदै जानुपर्नेछ । यी दुवै कार्यका लागि नेपालले सम्भावना बोकेका सबै मुलुकसित हात फैलाइहाल्नुपर्ने अवस्था छ । किन–किन सरकारको ध्यान भने भारतभन्दा अन्त खासै नगएको प्रतीत हुन्छ । खोपको मामिलामा मुख्य गरी भारतकै भर परेको जस्तो बुझिन्छ । निश्चय पनि भारतले सहयोग गर्न सक्दा अर्थात् त्यहाँको सिरम इन्स्टिच्युट अफ इन्डियाले खोप बेच्दा हाम्रा निम्ति धेरै सहज हुन सक्छ । तर, अहिले भारत आफैं ठूलो संकटबाट गुज्रिरहेका बेला यथासमयमै यो कार्य कति सम्भव हुन्छ, त्यो पनि नेपालले विचार पुर्‍याउनुपर्छ ।

फेरि यतिबेला हामीलाई उपचार सामग्रीलगायतका तत्कालीन सहयोगको पनि ठूलो खाँचो छ । तसर्थ, सरकारले सम्भव सबै मुलुक र अन्तर्राष्ट्रिय निकायबाट सहयोग बटुल्ने आतुरी देखाइहाल्नुपर्छ । स्वास्थ्यजस्तो विशुद्ध मानवीय सहयोगका निम्ति हारगुहार गर्नु भनेको आन्तरिक राजनीतिमा हस्तक्षेपको निम्तो दिनु होइन । त्यसैले, हामीलाई आपत् परिसकेको यो घडीमा जुनसुकै मित्रराष्ट्र गुहार्न कुनै लाज मानिराख्नु पर्दैन । एउटा सार्वभौम मुलुकले मानवीय सहयोग माग्ने मामिलालाई भूराजनीतिको विषय बनाउनु पनि हुँदैन । यो महाव्याधिमा आफ्ना नागरिकको ज्यान जोगाउनका निमित्त सकेसम्म सबैको सहयोग लिनुपर्छ । र, यस्तो सहयोगलाई वैदेशिक मामिला र विश्व बजारमा प्रतिस्पर्धारत मुलुकहरूले पनि अन्यथा दृष्टिले हेर्नु हुँदैन, कथं उनीहरूले त्यसरी हेर्छन् कि भनेर नेपालले सार्थक सहयोग माग्नै हच्किने अवस्था त झनै हुनु हुँदैन । अभरमा परेको सरकारले यसमा उदार सोच राखेरै अघि बढ्नुपर्छ । विदेशस्थित नेपाली नियोगहरूले पनि उचित सक्रियता देखाउनुपर्छ । आखिर विश्व कूटनीतिक मञ्चमा नेपालको छवि अहिलेसम्म त्यति नराम्रो पनि छैन, न त कुनै मित्र मुलुकसित तिक्त सम्बन्ध छ ।

त्यसैले यसबखत मुलुकको राजनीतिक नेतृत्व र कूटनीतिक संयन्त्रहरूले उचित सुझबुझ देखाउन सकेमा हामीलाई चाहिएको सहयोग नआउने पक्कै हुँदैन । जस्तो, नेपालको कार्यकारी प्रमुखबाटै आग्रह हुन सकेमा कोभिड नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छिमेककै चीनबाटै पनि धेरै सहयोग हुन सक्छ । चीनका विदेशमन्त्री वाङ यीले महामारी नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका पनि छन् । त्यसैले, अहिले ल्याउने भनिएको २० हजार खाली अक्सिजन–सिलिन्डरका अलावा चीनबाट अरू पनि सहायताको ढोका खोलाउन सकिने अवस्था छ । केही दिनमै हजारौंका लागि अस्थायी अस्पताल बनाएको उसको सीपबाट पनि हामी लाभान्वित हुन सक्छौं । यसका निम्ति सहयोग चाहिएको मुलुक नेपालले यथोचित प्रयत्न भने अवश्य थाल्नुपर्छ । रुसबाट खोप ल्याउने मामिलामा पनि यही नियम लागू हुन्छ ।

अत्यन्त मानवीय संकट झेलिरहेको एउटा मुलुकलाई सहयोग गर्नु विश्व समुदायको आफ्नै दायित्व पनि हो । काठमाडौंस्थित विदेशी दूतावासहरूलाई प्रस्टै थाहा छ— यतिबेला नेपाल कति वित्यासलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । यहाँका एकएक राजनीतिक–सामाजिक तरंग टिपेर आफ्नो विदेश मन्त्रालयमा प्रतिवेदन बुझाउने उनीहरूले यो बिजोगबारे पनि पक्कै बताएकै होलान् । त्यही भएर हामीले आफ्नो आवश्यकता दर्साउन धेरै मिहिनेत पनि गरिरहनु नपर्ला, केवल हामीलाई तपाईंहरूको सहयोगको खाँचो परिसकेको छ भनेर मुख्य मान्छेहरूले नै आग्रह गर्नुचाहिँ पक्कै पर्ला ।

त्यसो त, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन’ सित स्थिति नियन्त्रणमा छ भनेर अन्तर्वार्ता दिएको केहीपछि बेलायती पत्रिका ‘गार्डियन’ मा लेख लेख्दै सहयोगको याचना गरेका छन् । प्रधानमन्त्रीले विश्व समुदायलाई मुलुकको अवस्थाबारे सत्यतथ्य बताउनु राम्रै कुरा हो, तर यतिले मात्र खासै सहयोग जुट्दैन । यस्तो अपिलले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नेपालका नाममा चन्दा उठाउन त सघाउला, तर झट्टै विदेशी मुलुक तथा बहुराष्ट्रिय संस्थाबाट सहायता दिलाउन भने मद्दत गर्दैन । त्यसका निम्ति नेपालका प्रधानमन्त्रीलगायतका उच्च नेतृत्वले नै उचित कूटनीतिक पहल लिनुपर्छ । तसर्थ, अब भने कत्ति पनि ढिलाइ नगरी यस्तो अग्रसरता देखाइहाल्नुपर्छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?