धर्म–शासन कि सेक्युलर लोकतन्त्र ?

ओली संसदीय चुनावी राजनीतिका सर्वाधिक मूर्खतापूर्ण छनोट थिए । यसका लागि उनलाई प्रधानमन्त्रीका रूपमा पेस गर्ने दल र उनको ‘राष्ट्रवादी अवतार’ को वाहवाही गर्ने बुद्धिजीवी जनताभन्दा अझ बढी जिम्मेवार छन् ।
सरिता तिवारी

यो प्रसंग यतिखेर सामाजिक सञ्जालमा कतिपय ‘धर्मान्ध’ मानिसहरूको निसानामा परेको एउटा कार्टुन चित्र र त्यसले बोक्ने अर्थसँग जोडिएको छ । गएको शुक्रबार प्रकाशित कलाकार रविन सायमीको उक्त चित्रले दिने सरल अर्थ हो— प्रधानमन्त्री आफ्नो कुर्सी र यो सरकार–रक्षार्थ टसमस नभई धर्मपथ र भक्तिमार्गमा लीन छन् ! जनतामा फैलिएको यत्रो कोरोना हाहाकारबीच पनि उनको ध्यान कुर्सीबाहेक र कुर्सीभन्दा पर छँदै छैन ।

धर्म–शासन कि सेक्युलर लोकतन्त्र ?

अनुमान गर्न गाह्रो छैन, चित्रको शिवलिंग पशुपतिनाथको हो । शिवलिंगमा जडित अक्सिजन लगाएका प्रधानमन्त्री टपक्क कुर्सीमै टाँसिएर प्रार्थना मुद्रामा बसेका छन् । यसले सबै प्रकारका संकटलाई बेवास्ता गर्दै धार्मिक राजनीतिबाटै कुर्सी र करिअर दुवै जोगाउने उनको ध्याउन्नतर्फ नै संकेत गर्छ ।

यो चित्रले कतैबाट हेर्दा पनि धार्मिक संवेदनामा आघात पुर्‍याएको देखिन्न, बरु यसले अझै पनि ‘कम्युनिस्ट’ दाबी गरिरहेको पार्टीका नेता तथा प्रधानमन्त्रीको पटक्कै नसुहाउँदो धार्मिक/पन्थ राजनीतिमाथि कलात्मक व्यंग्य गरेको सजिलै बुझिन्छ । यो यथार्थमा हुँदै नभएको र कपोलकल्पित तथ्य होइन । धर्म र पन्थ उनका लागि कुर्सी र करिअरका द्यूतक्रीडाभन्दा बढी केही पनि होइनन् । सायमीको कला राजनीतिक व्यवस्थापन र शासन सञ्चालनमा पूर्णत: अक्षम भएपछि पछिल्ला दिनमा प्रधानमन्त्रीले जेजे बोल्दै र गर्दै आएका छन्, त्यसैको चित्रात्मक अभिव्यक्ति हो ।

यसभित्र हिन्दु धर्ममा आस्था राख्ने मानिसहरूले आपत्ति प्रकट गर्नुपर्ने त्यस्तो ठोस कारण छ भन्ने देखिँदैन । तर सायमीले सार्वजनिक गरेको ट्वीटमा यही चित्रमाथि व्यक्त टिप्पणीहरू र यसै प्रसंगमा विश्व हिन्दु महासंघले जारी गरेको विज्ञप्तिको भाषाले भने यस्तो सोच्ने बनाउँछ, मानौं यी कलाकारले यो कार्टुन चित्र प्रकाशित गराएर नगर्नु काम गरे ! वा, यसैका कारण हिन्दु धार्मिक आस्थामा सानो–ठूलो हलचल नै आउनेवाला छ ! बरबादै हुनेवाला छ !

स्वस्थ असहमति र आलोचना मात्रै आएको भए सृजनामाथिको आम प्रतिक्रियाका रूपमै बुझ्न कठिन थिएन तर कार्टुनिस्ट सायमीलाई लक्षित गरेर ट्वीटरमा व्यक्त कतिपय अभिव्यक्ति आलोचनाकै रूपमा पचाउन र चुप लाग्न सकिने खालका छैनन् । उक्त ट्वीटप्रति व्यक्त धम्कीपूर्ण र अत्यन्तै असहिष्णु प्रतिक्रियाहरू देखेपछि स्वस्थ दिमागको मानिसले कलाको मौलिक साध्य र व्यंग्यको स्वीकृत शैलीमाथिका आततायी हूलहुज्जत खप्न सक्दैन । आम सञ्चारका माध्यममार्फत अभिव्यक्ति स्वतन्त्रताको सामान्य हक उपयोग गर्दा आङै जिरिङ्ग हुने गरी हत्या गर्नेसम्मको चेतावनीपूर्ण भाषा प्रयोग हुनु सामान्य प्रतिक्रिया होइन । यस्ता प्रतिक्रियाका उत्प्रेरक केके हुन सक्छन् ? तिनको खोजी र छानबिन गर्न जरुरी छ ।

प्रायोजित नायकको पन्थ राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली फगत प्रायोजित नायक थिए र हुन् । यसो भन्न कुनै पनि द्विविधा बाँकी छैन । विगतको नाकाबन्दी काल होस् या निर्वाचन यताको सत्तारोहण, ओलीराजले निरन्तर लेखनाथ पौड्यालको कविता सम्झाइरहेको छ, ‘टपर्टुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित...’ ।

ओली संसदीय चुनावी राजनीतिका सर्वाधिक मूर्खतापूर्ण छनोट थिए । यसका लागि उनलाई प्रधानमन्त्रीका रूपमा पेस गर्ने दल र उनको ‘राष्ट्रवादी अवतार’ को वाहवाही गर्ने बुद्धिजीवी जनताभन्दा अझ बढी जिम्मेवार छन् । न भान्साभान्सामा ग्यासका पाइप, न नेपालका नदीमा चल्ने पानीजहाज, न काठमाडौंमा मोनोरेल, न देशभर गुड्ने द्रुत रेल । चुड्कीका भरमा र मिति लेखाएर बाजी ठोकेका बलमा पूरा हुने विषय थिएनन् यी । एउटा कुरा के चाहिँ मान्नुपर्छ भने, उनले शान्ति र सुख–समृद्धि ल्याइदिन अमुक मसिहा वा कुनै बाहुबली नायक पर्खेर बस्ने आत्मविश्वासहीन ‘यो देशमा म एउटा मानिस खोजिरहेछु...’ खाले मनोदशाको भरपूर लाभ लिन सके । तर प्रायोजित नायकी छवि र ‘समृद्ध नेपाल’ का पोलपोलमा टाँगिएका गफ समयसँगै चराका बिस्टा, धूलो र घामपानी खाँदाखाँदा खुइलिए । जनतालाई ‘समृद्धि’ त आयो तर भित्ता र पोलमा मात्रै । वास्तविक समृद्धि ककसलाई आयो, वारको पार प्वाङभ्वाङ हुने गरी प्रकट सत्ता–संरक्षित अनैतिक लेनदेन र कोभिड महामारीमै समेत मौलाएका भ्रष्टाचारका पुष्ट सूचना आफैं बोल्छन् ।

प्रधानमन्त्रीलाई सत्तामा टिकिखान कुनै अविकल र नयाँ मुद्दा चाहिएपछि अकल्पनीय रूपमा झुल्कियो— माडी–ठोरी क्षेत्रमा जन्माइएको रामकथा ! न पुरातात्त्विक तथ्य, न तिनको वैज्ञानिक खोज ! ‘रामभूमि’ मनचिन्ते झोलाबाट फुत्त निस्क्यो । जनता तीनछक परे ! तर गत वर्षको भानुजयन्तीका दिन रामजन्मभूमिबारे उनले बोलेको कुरा यत्तिकै फ्याट्ट फुरेको प्रसंग भने होइन । त्यसको पूर्वप्रकरण अघिल्लो ‘भानुजयन्ती’ मा आयोजित हिमवत्खण्ड साहित्य महोत्सवसम्मै जोडिन्छ । लोकतन्त्र र गणतन्त्रका तमाम आन्दोलनले स्थापित गरेका मुद्दालाई कमजोर पारेर सनातन सामन्ती विचारलाई पुन:स्थापित गर्न यो सोचीसम्झी थालिएको तिकडम थियो । सांस्कृतिक उत्सव, पर्व, मन्दिर र यज्ञहरूमा राष्ट्रपतिको बढ्दो सक्रियता पनि यसैको शृंखलाबद्ध अभ्यास हो । पशुपतिमा जलहरी चढाउने विषय त्यसैको पूरक हो । जनताले दशकौंसम्म लडेर आर्जित गरेको सेक्युलर लोकतन्त्रको उपहास गर्ने यी कामहरू किन गैरलोकतान्त्रिक हुन् भन्ने बुझ्न लोकतन्त्र उद्भवको इतिहास पढे पुग्छ । युरोपमा धार्मिक प्रभुत्वकारी चर्चको शासनविरुद्ध मानवीय र विज्ञानसम्मत विवेकको प्रबोधनकाल (एज अफ इनलाइटेनमेन्ट) ले जन्माएको लोकतन्त्रमा आज जातिवादी, पुलिंगकेन्द्री, नस्लभेदी, सामन्ती धर्मशासनको तर्क बिलकुलै सुहाउँदो कुरा होइन ।

सार्वजनिक जानकारीकै कुरा हो, ओलीले थालेको यो अभ्यास दक्षिणी छिमेकको चरम दक्षिणपन्थी तिकडमकारी शासनशैलीको अन्धनक्कलभन्दा बढी केही होइन । त्यहाँको सत्ताधारी पार्टी साम्प्रदायिक कट्टरपन्थ र धार्मिक अल्पसंख्यकमाथि रक्तपातको सिँढी उक्लेरै आएको तथ्य जगजाहेर छ । ‘गुजरात मोडल’ सम्झनासाथ याद आउने साम्प्रदायिक दंगा (सन् २००२) धेरै परको कुरा पनि होइन । गुजरात हुँदै केन्द्रीय सत्ताको बागडोर सम्हालेयता मोदीराजमा धार्मिक अल्पसंख्यक र दलित–जनजातिको कुन हालत भएको छ भन्ने लुकेको छैन । भारतमा आमजन र सेक्युलर लोकतन्त्रका रक्षामा उठिरहेको बौद्धिक समुदायको आवाज पनि नेपालमा नसुनिने, नपढिने कुरै भएन ।

प्रायोजित नायकत्वको प्याकेजभित्र देश–उद्धारकका रूपमा तयार पारिएको ‘मोदी–मिथ’ र कथित मोदी–लहरले दुनियाँ रनभुल्ल परेका बेला धुत्र्याइँमा कुशाग्र ओलीमा पनि त्यसैको अतिरेक जाग्नु अस्वाभाविक होइन । यसलाई इंगित गर्दै नेपाली बुद्धिजीवी वर्गले धेरै छलफल गरिसकेको छ । मोदीपन्थ भन्नु हिन्दु समुदायका ‘उच्च’ वर्ग, जाति र जातबाहेक ‘अन्य’ लाई घोषित/अघोषित ‘दुस्मन’ करार गरी निर्माण गरिएको धर्मजडित उग्र राष्ट्रवादी–घृणावादी भाष्य मात्रै हो । यसरी बहुसंख्यक कट्टर भाग्यवादी हिन्दु मानसमा प्रभाव जमाइरहेको मोदीपन्थ मन पराउने ओली–ग्रन्थि कवि विनोदविक्रम केसीको कविताले भनेजस्तै ‘अन्तत: शासकले आफ्नो (चेतनाको) औकात देखाउँछ’ भन्ने ठाउँबाट हेर्दा अझ प्रस्टसँग बुझिन्छ ।

तर दक्षिणपन्थी लोकप्रियतावादको यात्रामा निस्केका ओलीका भक्त ‘कम्युनिस्ट’ हरू भने ख्याल गर्दैनन्, राष्ट्रिय स्वयंसेवक संघ (सन् १९२५) को कोखबाट जन्मेको भारतीय सत्ताधारी भाजपा १९१५ तिरै सुरु भएको हिन्दु महासभादेखिकै धर्मकेन्द्री पन्थ राजनीतिको दलीय हाँगो हो । झन्डै सय वर्षदेखिको ‘अन्य’ हरूमाथिको घृणा र दमनको नीति, हिन्दु पुनरुत्थानवादको घोषित योजना र फासीवादी रुझानको विषाक्त परिणति नै आजको भाजपा र भाजपा–शासित भारत हो । यसरी घोषित अति दक्षिणपन्थी भाजपाको नक्कल गर्नेचाहिँ यहाँका ‘कम्युनिस्ट’ !

कलाकार रविन सायमीले बनाएको कार्टुनले वर्तमान स्थितिको यही निर्मम चित्र खिपेको छ । जनताको धार्मिक रुझानलाई उपयोग गरेर सत्ताको मियोमा टाँसिइरहने, घुमिरहने ओलीका दाउलाई सच्चा धार्मिकहरूले त विरोध पो गर्नुपर्ने ! उल्टो सायमीजस्ता कलाकारलाई यथार्थको कलात्मक प्रतिविम्ब उतारेकामा धन्यवाद पो भन्नुपर्ने !

धार्मिक राजनीतिको इन्कारी

धर्म संसारभरका मानव–पूर्वजले सभ्यताहरू निर्माण गर्ने क्रममा तिनका स्वाभाविक बुद्धि–बर्कतले पहिल्याएको जीवनका कर्म सञ्चालन र विश्वासका सूत्रबद्ध धारणाहरूको समुच्चय हो । सुरुआत कालमा धर्म भन्नु विवेकको रक्षा र प्रकृति तथा मानवताप्रतिको प्रेम नै थियो भन्ने आकलन गर्न त्यति गाह्रो छैन । किनभने हरेकजसो धर्मग्रन्थले उही कुरा सिकाउँछन्— प्रकृति र मानवको हित, अहिंसा र आपसी सद्भाव ।

भलै धर्मसम्बन्धी धारणा प्रकृतिजीवनका भय र ज्ञात–अज्ञात विघ्नहरूबाट आरक्षित हुने ‘अभौतिकवादी’ मनोदशाबाटै थालनी भएको होस्, धर्मको अर्थ गहिरो र विशाल छ । तिनको ऐतिहासिक अर्थ र सन्दर्भको सम्मान गर्नुपर्छ । तर कालक्रममा धर्मको मौलिक पक्ष ह्रास हुँदै गएर यो राजनीतिक सत्ताको अवयव बन्न थालेपछि धर्म ‘धर्म’ का रूपमा रहेन, बरु सामन्ती स्वार्थको रक्षक, नियन्त्रणकारी र अलोकतान्त्रिक राजनीतिको मूल बन्न पुग्यो; शासकअनुकूल शोषणकारी विचारको वाहक र औजार बन्न पुग्यो । यो बहुसंख्यक ‘हामी’ हरूले अल्पसंख्य ‘अन्य’ हरूमाथि दमन र रक्तपातसम्मै गर्ने अति नस्लीय चिन्तनको ‘वैधानिक’ बहाना बन्न पुग्यो । संसारका फरकफरक ठाउँमा लगभग सबैजसो मुख्य धर्मका नाममा यस्ता हिंसाको ‘वैध’ संस्कृति निर्माण गरियो । यसले मानव चेतनाको सहज र वैज्ञानिक विकासलाई सयौं वर्षसम्म अवरुद्ध गरिरह्यो, अझै गर्दै छ । यही कारण धर्मको आलोचना गर्नुपरेको हो ।

धर्मसत्ता र चर्चको जगजगीपूर्ण प्रकोपबाट युरोपेलीहरू सबैभन्दा पहिले जागृत भएर ‘प्रबोधन’ को ढोकाबाट बाहिर निस्के तर बाँकी विश्व भने अझै अर्धनिद्रामै छ । इस्लामी देशहरू अद्यापि कठोर धर्मशासनमा छन् । युरोपेली ‘प्रबोधन’ को तरंग विश्वव्यापी नबनेको भए अन्धविश्वासको पराकाष्ठा छोएका भारत या नेपालका समाजले आधुनिक लोकतन्त्रको बाटो समात्न पक्कै सजिलो थिएन । तर आज भारतीय लोकतन्त्र पनि हिन्दु कट्टरपन्थका पन्जाभित्र निसासिइरहेको छ । हुँदाहुँदा नेपालका कथित ‘द्वन्द्वात्मक भौतिकवादी’ शासकहरूसमेत पन्थ राजनीतिको डोरो समातेर वैतरणी तर्ने दाउमा छन् ।

शासनमा धर्मका आग्रह मिसिनु कुनै नौलो कुरा थिएन । नेपालको शासकीय परम्परामा यस्तो हुँदै आएको हो तर धर्म नै राजनीतिको एजेन्डा बन्नु भने लोकतन्त्रका लागि ग्राह्य होइन । धर्ममा आस्था राख्ने या नराख्ने नागरिक हकलाई सुनिश्चित र सुरक्षित गरिदिनुबाहेक ‘धर्म’ राज्य या दलहरूको टिकिखाने मुद्दा किञ्चित् बन्नु हुँदैन । यसो हुँदै जाने हो भने समाज र पूरै संसार धार्मिक आग्रहका ‘अति’ को खेलभूमि बन्ने सम्भावना बलियो हुन्छ । यस्तो सप्रमाण उदाहरण भारत नै हो । यस्तो हुन नदिन नागरिकस्तरबाट धर्म–शासन र राजनीतिको विवेकपूर्ण इन्कारी अनिवार्य छ ।

कलाकार रविन सायमीको चित्रमै फर्केर कुरा गर्दा, धार्मिक मतान्धता र हिंस्रक आग्रहको स्रोत खोज्न कहीँ जानुपर्दैन । शासक र शासित, प्रभुत्वशाली र अल्पसंख्यक समुदायबीचको शक्ति–सम्बन्धका सूत्रबाट हेर्दा देखिन्छ— आफूलाई सत्तामा टिकाउन ओलीले रोजेको बाटो जुन हो अथवा धार्मिक पुनरुत्थानवादी, संस्थापनपक्षीय बुद्धिजीवीहरूले गरेको तर्क जे हो, उक्त चित्रमा प्रकट टिप्पणी तिनैका सबैभन्दा विकृत रूप हुन् ।

वैज्ञानिक तर्क र वैकल्पिक इतिहासको खोजी गर्ने; महिला र अल्पसंख्यकका अधिकारका लागि बोल्ने, लेख्ने, गीत गाउने अनि शोषणको इतिहासलाई फड्केर मानवीय विवेक र सराबरीसहितको मौलिक हक स्थापित गर्न चाहनेलाई असहिष्णु आलोचना र ज्यानै लिने धम्की दिनेहरू धर्म र सभ्यताका रक्षक होइनन्, बरु आततायी हुन्; अपराधी हुन् । धर्म–राजनीति र सामन्ती बौद्धिकीले यस्तै विषाक्त चिन्तनका मानिसहरू उत्पादन गर्छ ।

धर्म–शासन र लोकतन्त्र परस्पर विपरीत धारणा हुन् । नि:सन्देह, हाम्रो छनोट लोकतन्त्रको पक्षपोषण हो । त्यसो गर्न धर्म–पन्थको तर्क गर्ने राजनीतिकर्मी, बुद्धिजीवी र यिनैका कारण निम्तिने सबै खाले अतिवादको ऐक्यबद्ध प्रतिकार गर्नैपर्छ ।

प्रकाशित : वैशाख २७, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?