१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अक्सिजनको व्यवस्था मिलाएर बिरामीको जीवन जोगाऊ

सम्पादकीय

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अमेरिकी टेलिभिजन च्यानल ‘सीएनएन’ लाई अन्तर्वार्ता दिँदै नेपालमा कोभिडको स्थिति नियन्त्रणमै रहेको भनेर अपत्यारिलो जिकिर गरे । उनको यस्तो दाबीलाई मुलुकका पछिल्ला परिदृश्यहरूले सोझै खण्डन गर्छन् । देशका सबैजसो अस्पतालले अक्सिजनको चरम अभाव झेलिरहेका छन् ।

अक्सिजनको व्यवस्था मिलाएर बिरामीको जीवन जोगाऊ

अक्सिजन नहुँदा कति अस्पतालले चाहेर पनि नयाँ बिरामी भर्ना गर्न सकेका छैनन् । सामान्य अस्पताल सुविधा मात्रै पाएमा पनि ज्यान जोगिन सक्ने बिरामीले पनि मृत्युवरण गर्नुपरिरहेको छ । अस्पतालमा पालो कुर्दाकुर्दै या शय्या खोज्दाखोज्दै कतिले एम्बुलेन्समै ज्यान गुमाइरहेका छन् । खासमा, कोभिडले भन्दा बढी अव्यवस्थित र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण यतिबेला संक्रमितहरूको निधन भैरहेको छ । त्यसैले सरकारले अक्सिजनलगायतका पूर्वाधारको जतिसक्दो चाँडो जोहो गर्नु अपरिहार्य छ ।

मुलुकमा पछिल्लो लहरको कोरोना भाइरस संक्रमण बढ्दै जाँदा अक्सिजनको कमी हुन सक्ने आकलन स्वयं स्वास्थ्य मन्त्रालयले गरिसकेको थियो । खासगरी सिलिन्डर अभाव हुन सक्ने अनुमान गर्दै उसले यससम्बन्धी सहयोगका निम्ति दुई साताअघि नै अर्थ र परराष्ट्र मन्त्रालयसित आग्रह गरेको थियो । अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि भनेको थियो । अहिले यही प्राण वायुको अभावमा मुलुकको स्थिति भयावह बनिरहेको छ । तर, न त स्वास्थ्य मन्त्रालयले देशभित्रै विद्यमान अक्सिजनलगायतका पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्न सकेको छ, न मित्रराष्ट तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिएरै यसको अभाव टार्न सरकार कटिबद्ध देखिन्छ ।

कोभिड–१९ महामारीको यो लहरमा संक्रमित मात्र होइन, सिकिस्त बिरामी हुने पनि बढिरहेका छन् । अस्पताल पुग्नेमध्ये धेरैलाई अक्सिजन चाहिएको छ । यही कारण यसको चरम अभाव भएको हो । एउटा अस्पतालमा अक्सिजन सकिँदा अर्को अस्पतालबाट ल्याएर उपचाररत बिरामीको ज्यान जोगाउनुपर्ने अवस्थासमेत निम्तिएको छ । कति अस्पतालहरूले दिनहुँ बिरामीहरूलाई अक्सिजन अभावमा फिर्ता पठाइरहेका छन् । यस्तो अवस्था विद्यमान रहनु हाम्रो स्वास्थ्य सेवा प्रणालीमाथि आइपरेको ठूलो संकट हो । जति छिटो सरकारले अक्सिजनलगायतका पूर्वाधारको जोहो गरी बिरामीलाई उपचार सेवा पुर्‍याउन मद्दत गर्छ, त्यति नै छिटो मुलुकले यो संकटबाट पार पाउन सक्छ । त्यसैले सम्बन्धित अधिकारीहरूको एउटा अर्जुनदृष्टि यतिबेला अक्सिजनको व्यवस्था गर्नेतर्फ हुनुपर्छ ।

भारतबाट आयात रोकिएपछि आफ्नै तरल अक्सिजन ट्यांक भएका अस्पतालहरू पनि संकटमा छन् । अहिले भारत आफैंले अक्सिजनको संकट झेलिरहेको छ । तसर्थ, तरल अक्सिजनका निम्ति सरकारले अरू मित्रराष्ट्रहरूलाई पनि सहयोगको आग्रह गर्नुपर्छ । यस्तै, सरकारले चीन सरकारबाट २० हजार खाली अक्सिजन सिलिन्डर ल्याउने भनिए पनि यो प्रक्रिया अत्यन्त सुस्त छ । बल्ल सोमबार ४ सय सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदै छ । नेपालमा प्रयोग हुने र चीनको बजारमा पाइने सिलिन्डरको भल्भ नमिलेकाले यसको समाधान खोज्दा ढिलो भएको बताइएको छ । जे भए पनि, नेपालको अवस्थालाई मध्यनजर गर्दै यी सिलिन्डरहरू समयमै ल्याउने चाँजो मिलाइनुपर्छ । यी सिलिन्डर नेपाललाई सधैंका लागि काम लाग्छन् तर यिनको अति धेरै आवश्यकता अहिले नै छ । तसर्थ, भोलि आगो निभेपछिको दमकलजस्तो नहोस् भन्नका खातिर सकेसम्म छिटो यो सहयोगलाई नेपाल ल्याइनुपर्छ ।

सरकारले अक्सिजनको उत्पादन, वितरण र व्यवस्थापनमा पनि उचित ध्यान दिनुपर्छ । अस्पतालबाट गएका खाली सिलिन्डर तुरुन्त भरिने व्यवस्था मिलाइनुपर्छ । अहिले काठमाडौं उपत्यकाका उत्पादकहरूमा दैनिक ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको बताइन्छ । उपत्यकाका अक्सिजन उद्योगहरू गत बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन भए पनि बाहिरका उत्पादकले क्षमताको ५५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । थप सिलिन्डरको जोहोका साथ सरकारले सबै उद्योगलाई सम्पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न आग्रह गर्नुपर्छ । साथै, यस्तो बेला यसको कालोबजारी र विदेश निकासी पनि हुन दिनु हुन्न । अभाव बढ्दै गएपछि हालै स्वास्थ्य मन्त्रालयले ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । यो सिफारिसको टन्टोले फेरि पहुँचविहीनले अक्सिजन नपाउने स्थिति आउनु हुँदैन । त्यसैले नियमनका अरू पक्षमा विचार पुर्‍याएर सरकारले अक्सिजनको निर्बाध आपूर्ति सुनिश्चित गर्नुपर्छ ।

अहिले बिरामी र आफन्त मात्र होइन, आवश्यक स्रोतसाधन अभावमा अस्पताल व्यवस्थापक र स्वास्थ्यकर्मी पनि निरीह देखिन्छन् । खासमा सरकारको लाचारी यसमा बढी जिम्मेवार छ । त्यसैले, नागरिकको जीवन बचाउन सरकारले सबै सम्भावनाको ढोका खोली सम्पूर्ण प्रयास युद्धस्तरमा गर्नुपर्छ । अक्सिजनको उपलब्धता र आवश्यकता उचित आकलन गरी त्यहीअनुसारको व्यवस्था मिलाउन सबै उपाय अपनाउनुपर्छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?