२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

महिला स्वास्थ्यका सामाजिक पक्ष

प्रजनन स्वास्थ्यलाई मात्र महिला स्वास्थ्य मान्नु भनेको महिला शरीरलाई केवल बच्चा जन्माउने ‘यन्त्र’ का रूपमा लिनु हो ।
अरुणा उप्रेती

केही दिनअघि ‘महिला स्वास्थ्य’ विषयक छलफलमा मलाई वक्ताका लागि आग्रह गरियो । नेपालका थुप्रै जिल्लाका विद्यार्थी, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिमाझ विचार राख्ने मौका पाउँदा म दंग थिएँ ।

महिला स्वास्थ्यका सामाजिक पक्ष

छलफलको सुरुआतमै मैले सहभागीहरूलाई सोधें, ‘महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?’ सबैको लिखित जवाफ आयो— प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी, सुत्केरी, पिसाब चुहिने, पाठेघर क्यान्सर, कुपोषण आदि । अनि ‘पुरुष स्वास्थ्य भन्नेबित्तिकै मनमा जे आउँछ, त्यही लेख्नुस्’ भनेर आग्रह गरें । सबैले लेख्नुभयो— मोटोपन, फोक्सोको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, टाउको दुख्ने, पक्षाघात आदि । त्यसपछि मैले प्रश्न गरें, ‘के महिलालाई यी समस्या हुँदैनन् ?’ सबैको एउटै जवाफ आयो, ‘हुन्छ नि, किन नहुनु ?’

महिलाका स्वास्थ्य समस्यालाई हामी प्रजनन स्वास्थ्य, त्यो पनि पाठेघरको समस्या, सुत्केरी र महिनावारीसँग मात्र जोडेर हेर्छौं । उनीहरूका शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यबारे छलफलै हुन्न । अर्कातिर, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पुरुषको पनि हुन सक्छ भन्ने विचारै गरिन्न । महिलालाई मुटुको रोग, फोक्सोको क्यान्सर, पक्षाघातजस्ता पुरुषलाई हुने सम्पूर्ण समस्या हुन्छन् । महिलाको पाठेघर एउटा विशिष्ट अंग भएकाले त्यहीसँग सम्बन्धित समस्यालाई मात्र महिला स्वास्थ्य रहेको आमबुझाइ छ ।

महिला स्वास्थ्यका अनेक पक्षबारे छलफल नहुनुको कारण खोज्न सजिलो छैन । स्वास्थ्य भन्नेबित्तिकै डाक्टर, नर्स, सुई, अस्पताल, स्वास्थ्य चौकी, उपचार कक्ष मात्र हाम्रो दिमागमा आउँछ । हामी स्वास्थ्यलाई विशुद्ध चिकित्सा विज्ञान र शरीर विज्ञानको आँखाले मात्र हेर्छौं । स्वास्थ्यको सामाजिक पक्षबारे बहस प्रायः हुँदैन ।

प्रजनन स्वास्थ्यबारे नबोली ‘महिला स्वास्थ्य’ को छलफल पूर्ण हुँदैन तर यसैलाई मात्र सम्पूर्ण महिला स्वास्थ्य ठान्दा बहस अपूर्ण हुन्छÙ प्रजनन स्वास्थ्यको बहस र बुझाइ पनि कमजोर हुन्छ । स्वास्थ्यको समाजशास्त्र नबुझी बहस गर्नु ससाना नानीहरूले आँखामा पट्टी बाँधेर पुच्छर, खुट्टा, सूँढ समाएर त्यसैलाई मात्र ‘हात्ती’ भन्नुजस्तै हो ।

३४ वर्षअघि भर्खर डाक्टर भएर प्रसूतिगृहमा काम सुरु गर्दा मलाई पनि लाग्थ्यो— महिला स्वास्थ्य भनेकै प्रजनन स्वास्थ्य हो । यो ठीक भए महिला स्वास्थ्य ठीक हुन्छ । नेपालका विभिन्न गाउँठाउँमा काम गर्ने मौका पाएपछि बल्ल मैले महिला स्वास्थ्यको परिधि धेरै फराकिलो रहेछ भन्ने बुझें । प्रजनन स्वास्थ्यलाई मात्र महिला स्वास्थ्य मान्नु भनेको महिला शरीरलाई केवल बच्चा जन्माउने ‘यन्त्र’ का रूपमा लिनु हो । यसले महिला स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि ओझेलमा पार्छ । उदाहरणका लागि, उच्च रक्तचाप र मधुमेह पुरुषको स्वास्थ्य समस्या मात्र मानिए गर्भवती हुँदा यदि महिलालाई मधुमेह भयो वा मधुमेह भएकी महिला गर्भवती भइन् भने उनको र भ्रूणको स्वास्थ्यमै समस्या आउँछ । महिलामा कुपोषण हुनुको कारण सामाजिक कुरीति, अन्धविश्वास अनि लैंगिक विभेद पनि हो, जसले महिलाको सम्पूर्ण स्वास्थ्य र प्रजनन स्वास्थ्यमै प्रभाव पार्छ ।

२० वर्षअघि सुदूरपश्चिममा ‘महिला स्वास्थ्य’ शिविर राख्दा धेरैजसो महिला प्रजनन स्वास्थ्यकै समस्या लिएर आए । धेरैमा पाठेघर खस्ने समस्या थियो तर यसो हुनुको कारण डाक्टर वा अस्पताल नहुनु मात्र थिएन; कुपोषण, कामको बोझ, छोरो पाउनैपर्ने बाध्यताले पनि ‘पाठेघर खस्ने’ समस्या विकराल भएको थियो । अफसोस, हामीमा यस्ता सामाजिक समस्या हल गर्ने तागत थिएन । हामीले उनीहरूको उपचार त गर्‍यौं, शल्यक्रिया गर्न वकालत पनि गर्‍यौं तर जथाभावी ‘पाठेघर’ काटेर फ्याँक्ने शल्यक्रियाले महिलामा अन्य स्वास्थ्य समस्या थपिए ।

त्यति बेला ५० वर्षीय एक पुरुष आफ्ना तीन श्रीमतीसँगै शिविरमा आए र भने, ‘डाक्टर साब, मेरा यी दुई श्रीमतीबाट बच्चा भएन, तेस्रो विवाह गरेपछि एउटी छोरी छ । यी दुईको किन बच्चा भएन, हेर्दिनुस् त !’ २० वर्षकी उनकी कान्छी श्रीमती २ वर्षीया छोरी काखमा च्यापेर लजाउँदै हामीनजिक उभिएकी थिइन् । हामीले ती पुरुषलाई भन्यौं, ‘यस्तो समस्या भएपछि तपाईंले पनि जाँच गराउनुपर्छ नि !’ हाम्रो कुराले ती पुरुष अलि आवेशमा आए र भने, ‘मैले किन जाँच गराउने ? हट्टाकट्टा छु, तीनवटी श्रीमती सम्हालेको छु । श्रीमतीहरू पो कमजोर छन् ।’

हामीले उनलाई सम्झाइबुझाइ जाँच गर्दा थाहा भयो— उनको शुक्रकीट त शून्य रहेछ । अनि हामीलाई धर्मसंकट पर्‍यो । यदि उनलाई सत्य कुरा भन्ने हो भने, कान्छी श्रीमतीको बिचल्ली हुने, नभन्नु पनि कसरी ? अनि हामी सबै मिलेर उनको परिवारलाई हानि नहुने जुक्ति निकाल्यौं र भन्यौं, ‘तपाईंकी छोरी दुई वर्षकी भइन् । यो बीचमा तपाईंलाई घाँटी दुखेको, हाँडे र ज्वरो आएको थियो कि, सम्झनुस् त ?’ उनले भने, ‘मलाई एक वर्षअघि हाँडे र ज्वरो आएको थियो ।’ अनि हामीले भन्यौं, ‘त्यो हाँडेका कारण तपाईंको शुक्रकीट शून्य भएको छ । अब यही छोरी मात्र हो तपाईंकी सन्तान ।’

महिलालाई बाँझोपन भयो भने अपमानित गरेर घरबाटै निकाल्ने चलन छ, उनको श्रीमान्ले पनि अर्को विवाह गर्छन् । तर, पुरुषलाई बाँझोपन भयो भने अपमानित हुनु पर्दैन । किनभने पुरुषहरूको जाँच प्रायः गरिन्न र उनीहरूलाई पनि प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हुन्छ भनेर समाजमा विचारै गरिन्न । मुटुरोगविज्ञ डा. प्रकाशराज रेग्मीले मलाई कुनै बेला भनेका थिए, ‘महिला स्वास्थ्यबारे कुरा गर्दा तपाईंहरू महिलाको प्रजनन स्वास्थ्यसँग गाँसिएका बाथ, मुटुरोग तथा उच्च रक्तचापका कुरै गर्नुहुन्न । अनि कसरी महिला मृत्यु कम हुन्छ ? पाठेघरवरिपरि मात्र घुमेर हुन्छ र ?’

डा. रेग्मीको प्रश्नले महिला स्वास्थ्यप्रतिको दृष्टिकोण फराकिलो बनाउन मलाई सघाएको थियो । महिला स्वास्थ्यबारे छलफल गर्दा प्रजनन तथा शारीरिक र मानसिक स्वास्थ्यबारे पनि ख्याल गर्नैपर्छ । अस्पतालमा सुई, औषधिजत्तिकै महत्त्वपूर्ण छ, स्वास्थ्यको छलफलमा सामाजिक पक्ष । यसमा प्रवेश नगरी महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यका समस्याहरूलाई समाधान गर्न सकिन्न ।

प्रकाशित : वैशाख २६, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?