महामारी नियन्त्रणमा चुक्दै राजनीतिक दल- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारी नियन्त्रणमा चुक्दै राजनीतिक दल

दैनिक हजारौं संक्रमित र दर्जनौंको मृत्यु भइरहेका बेला राजनीतिक दलहरूको मुख्य चासो एकअर्कालाई पछार्नमा छ, कोरोनालाई कसरी पछार्ने भन्नेभन्दा पनि । 
गंगा बीसी

देशलाई कोरोना संक्रमणले जसरी गाँजेको छ, राजनीतिले पनि त्यसरी लपेटेको छ । यति बेला कोरोना कहर र राजनीतिक खिचातानीको सिकार भइरहेको छ देश । कोरोनाको दोस्रो सुनामी चल्नुभन्दा अघि राजनीतिक दलहरूले देशभर कार्यक्रम गरे, सभा गरे ।

त्यो बेला उनीहरूले कोरोनाको दोस्रो लहरको जोखिमबारे कुरा गरेनन् । आफू सक्कली, अर्को नक्कली भन्दै आरोप–प्रत्यारोपमा उत्रिए । सत्तापक्ष र प्रतिपक्ष राजनीतिक स्वार्थका लागि डम्फु बजाउन व्यस्त रहे ।

सरकार आफैं विद्रोहीजस्तो छ, प्रधानमन्त्री केपी शर्मा ओली विद्रोही नेताजस्ता छन् । सडकका दलहरू झन् विद्रोही हुने नै भए । यो सब देख्दा लाग्छ— सत्तापक्ष र प्रतिपक्ष दुवै विद्रोही हुन्, त्यसका साक्षी जनता । कोरोनाले दैनिक हजारौं संक्रमित भइरहेका बेला, दर्जनौंको मृत्यु भइरहेका बेला प्रमुख राजनीतिक दलहरूको मुख्य चासो के छ ? उनीहरू सरकार जोगाउने, सरकार ढाल्ने रणनीतिमा छन् । कोरोना संक्रमण नियन्त्रणका कुरा महत्त्वका विषय बन्दैनन् । दलहरूको दाउ एकअर्कालाई पछार्नतिर छ, कोरोनालाई कसरी पछार्ने भन्नेभन्दा पनि ।

कोरोना फैलिनुमा दोषी को ?

कोरोना फैलिनुमा स्वाभाविक रूपमा स्वास्थ्य असावधानी, भीडभाड मुख्य कारण हो । एक पटक आएको कोरोना गयो भन्ने भ्रम धेरैलाई पर्‍यो । सबभन्दा धेरै भ्रम राजनीतिक दलहरूलाई पर्‍यो । उनीहरूले कोरोनाको कुनै परबाह नगरी सभा–सम्मेलन गरे, भीड जम्मा गरे । त्यो भीड सरकार र सडकमा भएका दलहरूले पनि निरन्तर गरे । उनीहरूले जनस्वास्थ्यलाई भन्दा राजनीतिक स्वार्थलाई केन्द्रविन्दुमा राखे । कोरोना संक्रमण सुषुप्त भइरहेका बेला राजनीतिक दलहरूका चर्का भाषण जारी रहे । कोरोनाको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्यविज्ञहरूका भनाइलाई न सरकारले चासो दियो, न प्रतिपक्षी दलहरूले ।

जनस्वास्थ्यविज्ञहरूका सुझावलाई हामीले पनि बेवास्ता गर्‍यौं । कोरोना फैलिनुमा केही दोष हामी जनताको पनि छ । तर सत्ता र सडक ओगटेका राजनीतिक दलहरूले जनस्वास्थ्यमाथि खेलबाड गरे । उनीहरूले ठूला भेला र सम्मेलनहरू गरे, स्वास्थ्य मापदण्डलाई बेवास्ता गरे । राजनीतिक दलहरूको देखासिकी सर्वसाधारणले पनि कोरोना रोकथामका लागि न्यूनतम मापदण्ड मास्क लगाउने कुरालाई भुले, जसको परिणाम हामी भोग्दै छौं । राजनीतिक दलहरूले संक्रमण फैलाएको जिम्मा लिनुपर्छ ।

‘असफल’ खोप कूटनीति

भारतले कोरोनाविरुद्ध पहिलो खेप १० लाख डोज खोप दिँदा हामी खुसी भएका थियौं । विश्वमा खोपले भर्खर मान्यता पाएको अवस्थामा हामीले उपहारस्वरूप पाएका थियौं । सीमा विवादको तिक्तताबीच खोप दिएकामा भारतविरोधी स्वर मत्थर भएको सुनियो । पहिलो खेपमा आएको खोपले कोरोनाविरुद्ध लड्न ठूलो मनोबल दिएको सत्य हो । त्यसपछि सरकारले सिरम कम्पनीसँग २० लाख खोप किन्ने समझदारी गर्‍यो, १० लाख डोज खोप आएर पनि प्रयोग भइसकेको छ । अर्को १० लाख खोप आउन ढिलाइ भइरहेको छ र यति नै बेला नेपालमा कोरोना संक्रमणले पुरानो रेकर्ड तोडेको छ । अग्रिम भुक्तानी दिइसकिएको खोप ल्याउन ढिलाइ हुनुमा निजी कम्पनीले सरकारलाई दिएको दबाब मुख्य कारक भएको सरकारी स्रोतको भनाइ छ । सरकारले जीटुजीमार्फत किने पनि निजी क्षेत्रको प्रभावका कारण खोप आउन सकेन ।

चीन सरकारले हालसम्म जम्मा ८ लाख डोज खोप अनुदान दिएको छ । अरू स्वास्थ्य सहयोग दिने प्रतिबद्धता जनाए पनि थप खोप दिनेबारे ऊ बोलेको छैन । अब सरकारले निजी कम्पनीलाई खोप ल्याउन अनुमति दिने तयारी गरेको छ । हालसम्म निःशुल्क खोप लगाउन पाउनेहरूलाई भाग्यमानी मान्नुपर्छ । अब निजी कम्पनीले खोप ल्याएपछि सशुल्क लगाउनुपर्नेछ । निजी क्षेत्रले खोप ल्याएर बेच्नेछन्, जुन सबै नागरिकलाई निःशुल्क खोप दिने सरकारी प्रतिबद्धताविरुद्ध छ । पहिलो खेपको खोप आएको समयमा कोरोना संक्रमण निकै तल झरेको थियो । हाम्रा दुई छिमेकीसँग त्यही बेला गम्भीर कूटनीतिक पहल गरेको भए हालसम्म धेरै नेपालीले खोप लगाइसक्ने थिए ।

कोरोना महामारीका रूपमा फैलिइरहेका बेला सरकार बल्ल खोप ल्याउन तातेको छ । नेपाललाई खोप दिने मामिलामा चीन त्यति सकारात्मक भएको पाइँदैन । नेपाल सरकार र चीनबीच ‘मन की बात’ हुन सकेको छैन । जबकि चीनले टाढाका मुलुकहरूलाई नेपाललाई भन्दा धेरै लाख डोजको सहयोग गरिसकेको छ । नजिकको छिमेकीको हिसाबले नेपाललाई चीनले धेरै गुणा बढी खोप सहयोगस्वरूप दिन सक्थ्यो । त्यो चीनका लागि सामान्य कुरा हो । तर यस मामिलामा नेपाल सरकारले न चीनलाई विश्वासमा लिन सक्यो, न भारतलाई । हुन त कोरोना महामारीका रूपमा फैलिएको भारतले अरू देशलाई खोप दिन बन्द गरेको छ तर नेपालका लागि चाहिने खोप उत्पादन गर्न उसलाई धेरै समय नै लाग्दैन । नेपाल सरकार खोप कूटनीतिमा सफल नभएको यति बेला झन् पुष्टि भएको छ ।

जसजति आफैं ?

असल राजनीतिक संस्कारको खडेरी परेको मुलुकको एउटा विशेषता हो— जसजति आफैं लिने, अपजसजति अरूलाई दिने । नेपालका राजनीतिक दलहरूको व्यवहार हेर्‍यो भने ठ्याक्कै त्यस्तै छ । मुलुकमा स्वास्थ्य संकट चुलिएका बेला केन्द्र, प्रदेश सरकार जोगाउने र भत्काउने हर्कत जारी छ । सत्तापक्ष जसरी पनि सरकार जोगाउने, विपक्षीहरू जसरी पनि सरकार ढलाउने रणनीतिक दाउपेचमा भुल्नाले कोरोना नियन्त्रणमा ठूलो असर परिरहेको छ ।

दलहरूको असफलताका कारण राजनीतिक संकट आएकै थियो, स्वास्थ्य संकट पनि डरलाग्दो गरी फैलिएको छ । दलहरूमा असल राजनीतिक संस्कार भइदिएको भए, कोरोना महामारीलाई नियन्त्रण गर्न ‘सर्वदलीय संयत्र’ बन्न सक्थ्यो, जसले आवश्यक खोप ल्याउनेदेखि जनस्वास्थ्यको सुरक्षाका लागि धेरै काम गर्न सक्थ्यो । कोरोनाबाट दैनिक संक्रमित र मृत्यु भइरहेकाहरूप्रति सरकार संवेदनशील भएको भए दोस्रो संक्रमणको लहर आउनुअघि स्वास्थ्य निकायमा धेरै काम भइसक्ने थियो ।

अझै पनि दलहरू कोरोना–क्षतिको अपजस अर्कोलाई दिने र राम्रो भएका कामको जस आफैं लिने होडबाजीमा छन् । कुनै पनि महामारी या विपत्तिमा सरकार बढी जिम्मेवार हुनुपर्छ, विपक्षीले राजनीतिक स्वार्थ नहेरी सरकारलाई आलोचनात्मक सहयोग गर्नुपर्छ । यति बेला सरकार निषेधाज्ञा लगाउन व्यस्त छ भने विपक्षी दलहरू विज्ञप्ति निकालेर सरकारमाथि कोरोना कहरको दोष थुपार्दै छन् ।

अबको बाटो

कोरोना संक्रमणले उग्र रूप लिँदै गएको यो बेला भइरहेको राजनीतिक खिचातानीले संकट थप्नेबाहेक अर्को काम गर्दैन । २०७२ को भूकम्पले राजनीतिक दलहरूलाई राम्रो शिक्षा दिएको छ, महासंकटको सामना एकजुट गर्नुपर्छ भनेर । त्यस बेला भूकम्पले पुर्‍याएको क्षतिको सामना गर्न राजनीतिक दलहरू एकजुट मात्र भएनन्, लगत्तै नेपालको संविधान जारी गर्न सहमतसमेत भएका थिए ।

मुलुकमा जसको सबभन्दा ठूलो भूमिका हुन्छ, आलोचना पनि त्यसकै बढी हुन्छ । नेपालका राजनीतिक दलहरूको जति आलोचना भए पनि सत्ता र सडकबाट काम गर्ने ठूलो सामर्थ्य उनीहरूसँगै छ । त्यसैले कोरोना महामारी रोकथाम गर्न मुलुकका सबै राजनीतिक दलले दृढ संकल्प गर्नुपर्ने अवस्था आइसकेको छ । यसका लागि मुख्य काम सत्ता सञ्चालन गर्ने राजनीतिक दल एमालेको हो भने विपक्षी दलले पनि सरकारलाई कोरोना महामारी नियन्त्रणमा सघाउने प्रतिबद्धता जनाउनुपर्छ । यति बेला कुनै पनि राजनीतिक दललाई पानीमाथिको ओभानो हुने छुट छैन । आखिर संक्रमण फैलाउन राजनीतिक दलहरूका गतिविधि पनि जिम्मेवार छन् ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

बाघको पाइला पछ्याउँदै निकुञ्जमा...

बाघको ‘राजधानी’ बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिम मोलेर भए पनि बाघ हेर्ने रहर पूरा गर्न आन्तरिक र बाह्य पर्यटक जान्छन् ।
गंगा बीसी

काठमाडौँ — फेरि बर्दियामा बाघले मान्छे खायो । पछिल्ले समय बर्दियाबाट आउने तातो खबर हो । यही साता पनि एक गैंडा गणकलाई बाघले मार्‍यो । त्यो बाघलाई नियन्त्रणमा लिएर ललितपुर चिडियाखानामा सारिएको छ ।

चार साताअघि निकुञ्जको किङ्गफिस क्षेत्रमा तीन डमरुसँगै देखिएको बाघ । तस्बिर : भवानी कँडेल

यो खबरले स्थानीयलाई त्रास थप्छ भने बाहिरका मान्छेलाई तात्तातो सूचना र सन्देश । जंगली बाघ हेर्ने रहर भए अन्त कतै नजानू । बर्दिया राष्ट्रिय निकुञ्ज जानू । यो कुरा सामाजिक सञ्जाल, सञ्चार माध्यामबाट ‘भाइरल’ भइसकेको छ ।

‘तपाईं हरु बर्दिया किन आउनु भएको हो ?’

त्यहाँ घुम्न जाने जो कोहीको मुखबाट फ्याट्ट निस्कन्छ, ‘बाघ हेर्न ।’ तर बाघ हेर्न भनेजस्तो सहज भने छैन ।

निकुञ्का कर्मचारी, निकुञ्ज घुमाउने गाइडले शुभकामना दिन्छन्, बाघ देख्ने अवसर मिलोस् । शुभकामना थोरैलाई पुरा हुन्छ, धेरैलाई हुँदैन । अब त थेगो नै भइक्यो– बर्दियाको बाघ, चितवनको गैंडा ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने आन्तरिक र बाह्य पर्यटकले बाघ देख्ने अवसर कमैले मात्र पाउँछन् । त्यहाँ बाघ देख्‍न पाएका पर्यटक दंग हुँदै बाघको डरलाग्दो तर सु्न्दर बखान गर्दै फर्कन्छन् । बाघ देख्‍न नपाएकाहरु बाघको पाइला हेरेर फर्कन्छन् । बाघको आकर्षणले मान्छेलाई तानिरहेको छ । निकुञ्जभित्र र वरिपरि बाघले मान्छेलाई आक्रमण गरिरहेको छ । यो त्रासदीबीच पनि मान्छे बाघको ‘दर्शन’ गर्न बर्दियातिर लागेका छन् । बाघले बर्दिया चिनाएको छ, बर्दियाले बाघ होइन । बाघ बर्दियाभन्दा शक्तिशाली भएर होला । बाघ अघिअघि बर्दिया पछिपछि ।

बाघ हेर्ने रहर कसको हुँदैन र ? हामी त्यो रहर पुरा गर्न फागुन तेस्रो साता बर्दिया राष्ट्रिय निकुञ्जतिर लागेका थियौं । बाघलाई गर्व, बहादुरी, डर, शक्ति, रक्षा र तपस्याको प्रतिक मानिन्छ । निकुञ्जका कर्मचारी भन्थे, बाघ हेर्न भाग्य पनि चाहिन्छ । धर्य पनि । हामीसँग धेरै दिन धैर्य गर्ने अवस्था थिएन । भाग्य त कसलाई थाहा हुन्छ र ?

हाम्रो टोलीमा बाघ हेर्न डर र रहर दुवै थियो । निकुञ्ज जंगलमा पैदल हिँड्दा डर र रहरसँगै बोकेर हिँड्नु परेको थियो । कतिबेला डरले जित्थ्यो भने कतिबेला रहरले । डर र रहर मिसिएको यात्रा अहिले सम्झदा खुब रमाइलो लाग्छ ।

बाघ हेर्ने रहर पुरा गर्न हामीले पुरा चार दिन खर्च गर्‍यौं । तीन दिन बर्दिया निकुञ्ज जंगल र एक दिन निकुञ्ज क्षेत्रमा पर्ने महेन्द्र राजमार्गमा ।

एक साताअघि देखिएको बाघ । तस्बिर : भवानी कँडेल

०००

करिब एक वर्ष कोरोनाका कारण सहर छोड्न पाइएको थिएनौं । लकडाउन खुलेपछि पनि काठमाडौं छोड्न सहज थिएन । मान्छेदेखि मान्छे डराउने अवस्था हुँदासम्म यात्रा गर्न त्रासले यात्रा गर्न गाह्रो भयो । बर्दियाको बाघ हेर्ने योजना कोरोना महामारी आउनु अघि नै बनेको हो । शहरमा बस्ने मान्छेलाई वनजंगल, वन्यजन्तुले आकर्षित नगर्ने कुरै भएन । बरु मान्छेले वन्यजन्तुलाई विकर्षण गराउँछ । किनकी मान्छे भर्सेज वन्यजन्तु जस्तो भएको छ । मान्छे वन्यजन्तु खोज्दै जाने, वन्यजन्तु भाग्दै रहने अवस्था मान्छेले सृजना गरेको हो ।

फागुन तेस्रो साता (२२ गते) पहिलो दिन । बर्दिया राष्ट्रिय निकुञ्ज पसेपछि चित्तलको बथान देखिनु सामान्य कुरा हो । चित्तलको बथानले साइत दियो । हाम्रो ध्यानचाहिँ केवल बाघतिरै थियो । बाघ जति डरलाग्दो, त्यतिनै आकर्षक पनि ।

बाघ हेर्नेको लागि मुख्य गन्तव्य निकुञ्जको तीनकुने क्षेत्र रहेछ । तीनकुने क्षेत्रमा बाघ आउनुको एउटै कारण हो सफा पानीको स्रोत । तीनकुने क्षेत्रमा विदेशी पर्यटकलाई आक्रमण गरेपछि झन् आकर्षणको केन्द्र बन्यो । सहरका कंक्रिटको जंगलमा वाक्क भएका मान्छेको लागि रुखको जंगल रमाइलै रमाइलो । जता हेरे पनि आँखालाई शीतल बनाउने दृश्यले शरीरमा रिजार्ज भएको मससुस हुन्छ ।

पहिलो दिन बाघ हेर्ने चाहना पुरा भएन । जंगल चाहारेर फकिैयौं । हामी मात्र होइन, त्यसदिन निकुञ्ज छिरेका पर्यटकले बाघलाई दर्शन गर्ने मौका पाएनन् । शुक्रबार र शनिबार बाघ हेर्न जंगल छिर्ने पर्यटक धेरै भएको हुनाले बाघ बिच्किने निकुञ्जका कर्मचारीले जानकारी दिए । त्यसकारण बाघ हेर्ने हो भने केही दिन कुर्न सुझाव हामीलाई दिए ।

निकुञ्जु छिर्ने बेला निकञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीले भन्छन्,‘गुडलक, बाघ हेर्ने मौका मिलोस् ।’ हामीलाई पनि त्यसै भनिएको थियो । निकुञ्जमा बाघ नदेखिएपछि हामी त्यही दिन बेलुका बर्दियाकै कोठियाघाटतिर लाग्यौं । नेपालको लामो सडक पुल कोठियाघाटबाट देखिने सूर्योस्त नदीमा डुबुल्की मारेजस्तो देखिदो रहेछ । सूर्य आफै कर्णालीमा हाम फालेर अस्ताउन लागेजस्तो दृश्य टिकटक बनाउनेका लागि अवसर थियो ।

गुलरिया टीकापुर हुलाकी सडक कोठियाघाट नजिक सामुदायिक जंगल पनि बाघका लागि बासस्थान भएकाले साथी कमल पन्थीले घाम डुब्दै गर्दा नेपाल भारत सीमा क्षेत्रको जंगलमा घुमाए । बाघ र हाम्रो लुकामारी भयो । देखादेख भएन । मधुवन नगरपालिका भग्रैया क्षेत्रमा बाघको आक्रमणबाट बाँचेर जीवन सुरु गरेका व्यक्ति बस्छन् । एक महिना अघि मात्र त्यही जंगलमा बाघले आक्रमण गरेर एक महिलालाई मा्ररेको खबर थियो ।

०००

बर्दिया मधुवन नगरपालिका १ को डल्ला होमस्टे लोकप्रिय मानिन्छ । त्यो लोकप्रिय यसकारण कि बेलायतका राजकुमार (पूर्व) ह्यारी बर्दिया निकुञ्ज भ्रमण गर्ने बेला त्यही होमस्टेमा बसेका थिए । थारु संस्कृति, थारु परिकार, न्यानो आतिथ्यका लागि यो होमस्टे लोकप्रिय मानिन्छ । यस्तो लोकप्रिय होमस्टेमा एकछान नछाइ हिड्नु मजा हुँदैनथ्यो । त्यो यात्रा खल्लो हुन्थ्यो । फागनु २३ गते बेलुकाको खाना त्यही तय भएको थियो । वडा अध्यक्ष प्रशु चौधरीको प्रयासले सबै समुदायले लाभ लिएको यो क्षेत्र बाघ वैभवसँगै जोडिएको छ ।

प्रकृति, वन्यजन्तु र थारु कलासंस्कृति, परिकारको संगम डल्ला होमस्टेमा आउने पाहुना मनभरि छाप बोकेर फर्किदा रहेछन् । वडाअध्यक्ष चौधरी भन्छन्, ‘आउने पाहुना घरको क्षमता अनुसार बाँडेर राख्छौ । खाने, पिउने, बस्ने आफ्नै शैलीले व्यवस्था गर्छौं ।’

०००

अर्को गन्तव्य कर्णाली चिसापानी । चिसापानी दुई कुराले बढी चिनिन्छ । पहिलो पुल र दोस्रो कर्णाली नदीको माछा । यी दुवै कुराको स्वाद लिन केही क्षण चिसापानीमा यात्रु अडिन्छन् । ठाकुरद्वारा चिसापानी पर्यटकीय हिसाबले पनि जोडिएको छ ।

चिसापानीमा पाइने सबै माछा कर्णाली नदीका होइनन् । तर कणालीकै भनेर पोखरीका माछा बेचिन्छन् । खास माछाका पारखीले मात्र कर्णालीका असली माछा चिन्न सक्छ । कर्णाली पुलमा सेल्फी, टिकटक बनाउनेहरुको हरेक दिन भिड लाग्छ, त्यत्तिकै कर्णालीको माछा खानेहरु पनि । सेल्फी, टिकटक रमाउनेसँगै माछाको स्वाद लिनेहरु पनि उत्तिकै भेटिन्छन् ।

स्थानीय ब्राण्ड अलि चलेपछि बिगार्ने चलन नै बसिसकेको छ भने पनि हुन्छ । कुनै बेला कर्णाली चिसापानीमा नदीको माछाले प्रख्यात भयो, देशभर चिनियो । व्यापार व्यवसाय फस्टाएपछि कर्णालीको भन्दै पोखरीको माछा खुवाउन थालियो । यसरी नै गयो भयो चिसापानीको माछामाथि मान्छेको विश्वास कति दिन रहला र ?

त्यहाँ नदीकै माछा पाउने ठाउँ पनि छ । कर्णालीको तिरैतिर उत्तर अछाम जाने कच्ची सडक हुँदै अघि बढेपछि असली कर्णालीको माछा भेटिन्छ । कर्णालीको तिरमा चर्चित मास्की दाइको होटल पुग्न सके नदीकै माछाको स्वाद भेट्न सकिन्छ । नदीको स्वादिलो माछा, वर्षाबाहेक अरुबेला देखिने निलो कर्णाली, कलात्मक पुल र पुलबाटै पश्चिमतिर सुरु हुने बर्दिया निकुञ्ज यात्राको संयोजनले घुमफिरमा निखार ल्याउँछ । हामीले त्यसै नगरेको भए यी सम्झनाहरु आउने नै थिएनन् ।

कर्णाली पुलबाट पूर्व लाग्ने बित्तिकै लुम्बिनी प्रदेश र पश्चिम लाग्ने बित्तिकै सुदूरपश्चिम प्रदेशमा स्वागत द्वारले मुलुकमा संघीयता लागू भइसकेको झल्को दिन्छ । सामाजिक सञ्जालमा यी कुरा राखेपछि थाहा हुन्छ कि यात्रा कर्णाली चिसापानीतिर पुगेछ । कर्णालीको किनाराको बालुवाको साइनो कहाँ कहाँ गाँसिएको होला ? हामी नदी किनारामा पुगेपछि त्यसमा के के कोर्छौं, खुट्टाले उडाउँछौं । बालुवा बन्नु अघि ठोस ढुंगा कता कताबाट बज्रिंदै अस्तित्व समाप्त भएको होला, अनि बालुवामा परिणत भएको होला । त्यस दिन हामी बेपर्वाहा बालुवामा खेलेर ठाकुरद्वारा फर्कियौं ।

बाघ हेर्न हिँडेको हाम्रो टोली ।

००००

फागुन २४ को बिहान ठाकुद्वारामा अलिअलि चिसो थियो । सिमल फूलेपछि जाडो सकिने संकेत हुन्छ । जाडो बिदा हुने बेलामा तराईमा घुम्नुको मजा बेग्लै हुन्छ । न जाडो, न गर्मी । जोखिमै मोलेर भए पनि बाघ हेर्ने रहर बोकेर हामी निकञ्जभित्र हिड्यौ ।

हामीसँग अनुभवी युवा गाइड हेमन्त आचार्य थिए । उनी आफैं वन्यजस्तु पीडित हुन् । तर उनी ती वन्यजन्तुको संरक्षणमा लागेका छन् । जंगली हात्तीको आक्रमणबाट बुवाको निधन भएको उनले सुनाए । प्रकृति, वन्यजन्तु, वातावरणप्रति अगाध मोह बोकेका उनी त्यसकै संरक्षणमा लागेका छन् । निकञ्ज प्रमुख विष्णुप्रसाद श्रेष्ठको सहयोगमा बाघ देख्न सकिने सम्भावित क्षेत्रको पहिचान गरी हिड्यौं । निकुञ्जभित्र विभिन्‍न ठाउँमा मचान बनाइएको छ, पर्यटकहरु मचानमा चढेर वन्यजस्तु अवलोकन गर्छन् । मचानमा चढेपछि जंगली जनावरबाट सुरक्षित पनि हुने र टाढाका जनावर देख्न सकिन्छ ।

त्यस दिन सुरुमा हामी हात्ती मचान क्षेत्रमा पुग्यौं । करिब दुई घण्टा कुरेपछि बाघ देखिने कुनै संकेत मिलेन । नजिक बाघ भए, नभएको संकेत नेचर गाइडलाई थाहा हुन्छ, हाम्रा गाइड हेमन्तले भने, ‘यतातिर बाघ भएको कुनै संकेत छैन, ढेडु, बाँदर, चित्तल, चराचुरुङ्गीले पनि संकेत गरेनन् । अब हिडौं ।’

निकुञ्ज र त्यस वरिपरि क्षेत्रमा बाघले मान्छे खाइरहेको थियो । पछिल्ला दिनमा हरेक महिना बाघले मान्छेमाथि आक्रमण गरिरहेको छ । मान्छे खाने बाघ भएको जंगलमा पैदल हिड्ने भनेपछि साथीहरु हच्किए । गाइड हेमन्तले आश्वस्त पार्दै भने, ‘म छु, नडराउनुस् सर । हिँडेरै जान रमाइलो हुन्छ ।’ अनि लाग्यौ जंगली जनावरको बाटो पछ्याउँदै । अझ मान्छे खाने बाघको पाइला पछ्याउँदै । कहिले खोला, कहिले काँस घारी हुँदै हाम्रो टोली हिँड्यो । सानो लट्ठी बोकेर बाघबाट सुरक्षित हुन सकिन्छ भन्ने मनमा लागेकै थिएन । तर पनि हामीलाई गाइडले लट्ठीले सुरक्षा गर्छ भने पछि समातेका थियौँ । हुन पनि कतिपय अवस्थामा लट्ठीको सहायताले बाघको आक्रमणबाट बचेका घटना पनि रहेछन् ।

हामी हात्ती मचान, गेरुवा नदी (कर्णालीको भंगालो) किनारैकिनार अघि बढ्दै गर्दा बाघ, गैंडाका आलो पाइला देखिन्थ्यो । गेरुवा नदीको पश्चिमपट्टिीको बस्तीमा बाघले बेलाबेला मान्छे, घरपालुवा जनावरलाई आक्रमण गरिरहेको थियो । हामी त्यही क्षेत्रमा लौरोको भरमा पैदल हिड्दै थियौं । तर ती जंगली जनावर मध्यान्ह कतै आराम गरेको हुनुपर्छ, हाम्रो नजरमा परेनन् । बाहिर उत्साह, मनमा त्रास बोकेर किङफिसर क्षेत्र हुँदै तीनकुने मचान पुग्दा करिब १० किलोमिटर पैदल हिँड्यौ ।

करिब १२० पाटे बाघ भएको निकुञ्जमा १० किलोमिटर पैदल हिँड्नु जोखमपूर्ण यात्रा थियो । जोखिमबीच दिनभर यात्रा गर्दा पनि बाघको दर्शन पाउन नसकेपछि खिन्न लाग्नु स्वभाविक थियो । बाघ देखिने मुख्य सम्भावित ठाउँबाट बाघ अन्तै सरेछ । किनकी निकुञ्जमा पानीको स्रोत सुक्दै गएकाले बस्तीतिर जनावर निस्कने क्रम बढेको स्थानीयको भनाइ छ । त्यसदिन बाघ देख्ने चाहना पुरा नभई बेलुका रातपरेपछि ठाकुरद्वारा फर्कियौं ।

अन्तिम प्रयास

बाघको आक्रमणबाट बाँच्न सफल रामजी थापा (स्थानीय व्यवसायी, प्रकृति संरक्षण कोषका कर्मचारी) ले एउटा उपाय सुझाए, बर्दिया निकुञ्जको अम्रेनीदेखि चिसापानीपूर्व १४ किलोमिटर क्षेत्रमा राति १० बजेपछि गाडी लिएर घुम्ने । राति ११ बजेपछि सवारीसाधनको चाप घटेपछि बाघ पक्का देखिने छ ।

निकुञ्ज सुरक्षा निकायसँग अनुमति लिएर हामी फागुन २४ गते १० बजेपछि महेन्द्र राजमार्ग (निकुञ्ज क्षेत्र) तिर लाग्यौं । जुन क्षेत्रमा गत पुसतिर मोटरसाइकलमा आमा र छोरा गइरहेको बेला बाघले आमालाई तानेर लगेको थियो । घुम्ना भनिने त्यो क्षेत्रमा खासगरी मध्यराति निस्कने थापाको भनाइ थियो । हामी राति १० बजे ठाकुरद्वाराबाट निकुञ्जको राजमार्गतिर लाग्यौं, जहाँ बाघ ओहोरदोहोर गरेको सूचना बेलाबेला मिल्छ । निकुञ्ज क्षेत्रको अम्रेनी चिसापानी क्षेत्रको १४ किलोमिटर सडकमा चार चक्कर लगाउँदा पनि बाघ देखिएन । त्यतिबेला राति १२ बज्नै लागेको थियो ।

हामी ठाकुरद्वारा फर्कने तयारीमा थियौं । त्यही बेला थापाले भने, ‘हामी एक दुई चक्कर अझै लगायौ भने बाघ देखिन सक्छ ।’ हामीले त्यसै गर्‍यौं । अर्को चक्कर लगाउन हामी चिसापानी पुगरे फर्कदै थियौं । त्यतिबेला राति १२ बजेको थियो, सडक किनारामा अजंगको बाघ देखियो । बाघ केही क्षण अडियो । हाम्रो गाडी नियालेर हेर्‍यो । अनि बिस्तारै उत्तरतर्फ आफ्नो बाटो लाग्यो । मध्यरातमा बाघ हेर्ने मिसन पुरा भयो । अनि हामी आफ्नो गन्तव्यतिर लाग्यौं । राति साढे १२ बजेतिर ठाकुरद्वारा पुगेपछि थापाजीले भने, होटल छेउमा गैडा आएको छ । हेर्न आउनुस् ।’

०००

बाघ यति शक्तिशाली छ कि योमाथि धेरै शक्तिशाली सृजना भएका छन् ।

अंग्रेजी कवि विलियम ब्लेकले बाघमाथि लेखेको शक्तिशाली कविताको नेपाली अनुवादले बाघको शक्ति चित्रित गरेको छ ।

बाघ ! बाघ ! अध्यारो जंगलमा

उज्यालो गरी चम्किरहेको छ ।

कुन अमर हात वा आँखाहरुले

तिम्रो त्यो भयंकर एवम सन्तुलित आकृति बनाउन सक्यो होला ?

तिम्रा आँखा समुन्द्र अथवा आकाशका दुरीसम्म चम्कन्छन् होला ?

कस्ता पखेटामा उड्ने हिम्मत गर्‍यो होला ?

कस्ता हातले आगो समात्न सक्यो होला ?

अनि कुन पाखुरा र कुन कलाले

तिम्रो मुटुको स्नायुलाई बटार्न सक्यो होला ?

र जब तिम्रो मुटु धड्कन सुरु गर्यो,

आहा क्या डर लाग्दा हात, क्या डरलाग्दा खुट्टा ?

मार तोल कस्तो थियो होला ?

अनि तिमीलाई बाँध्ने सिक्री कस्तो थियो होला ?

कस्तो भट्टीमा तिम्रो दिमाग राखिएको थियो ?

कस्तो अचानो थियो होला ?

कसरी यस्तो भयंकर डरलाग्दो जीवलाई

समात्यो होला ?

जब ताराहरुले आफना भालाहरु

उँधोतिर फाले र स्वर्गलाई आफ्ना आँशुहरुले सिञ्चन गरे,

के ऊ (ईश्वर) आफ्नो काम देखेर रमायो होला ?

भेडाको पाठो बनाउनेले नै तिमीलाई बनाएको हो त ?

नेपालीमा पनि बाघमाथि कविता लेखिएका छन् । पञ्चायती शासकको विरोधमा कवि विमल निभाले बाघको विम्ब प्रयोग गरेर प्रहार गरेका थिए ।

कालो अँध्यारो देखिन्छ

उसको शरीरको पहेँलो बुट्टा

र फैलदै–फैलदै जान्छ

पहाड, उपत्यका र तराई

(कस्तो चमत्कार हो यो ।

विस्तारै विस्तारै एउटा देश

परिणत हुन्छ जंगलमा)

रगतको स्वाद सम्झेर

जब जब निस्कन्छ ऊ

आफ्नो बासस्थानबाट कसैले चिन्दैन उसलाई

किनभने उसले आफ्नो अनुहारमा

भिरेको हुन्छ ।

प्रकाशित : चैत्र २६, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×