महामारी नियन्त्रणमा चुक्दै राजनीतिक दल- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारी नियन्त्रणमा चुक्दै राजनीतिक दल

दैनिक हजारौं संक्रमित र दर्जनौंको मृत्यु भइरहेका बेला राजनीतिक दलहरूको मुख्य चासो एकअर्कालाई पछार्नमा छ, कोरोनालाई कसरी पछार्ने भन्नेभन्दा पनि । 
गंगा बीसी

देशलाई कोरोना संक्रमणले जसरी गाँजेको छ, राजनीतिले पनि त्यसरी लपेटेको छ । यति बेला कोरोना कहर र राजनीतिक खिचातानीको सिकार भइरहेको छ देश । कोरोनाको दोस्रो सुनामी चल्नुभन्दा अघि राजनीतिक दलहरूले देशभर कार्यक्रम गरे, सभा गरे ।

त्यो बेला उनीहरूले कोरोनाको दोस्रो लहरको जोखिमबारे कुरा गरेनन् । आफू सक्कली, अर्को नक्कली भन्दै आरोप–प्रत्यारोपमा उत्रिए । सत्तापक्ष र प्रतिपक्ष राजनीतिक स्वार्थका लागि डम्फु बजाउन व्यस्त रहे ।

सरकार आफैं विद्रोहीजस्तो छ, प्रधानमन्त्री केपी शर्मा ओली विद्रोही नेताजस्ता छन् । सडकका दलहरू झन् विद्रोही हुने नै भए । यो सब देख्दा लाग्छ— सत्तापक्ष र प्रतिपक्ष दुवै विद्रोही हुन्, त्यसका साक्षी जनता । कोरोनाले दैनिक हजारौं संक्रमित भइरहेका बेला, दर्जनौंको मृत्यु भइरहेका बेला प्रमुख राजनीतिक दलहरूको मुख्य चासो के छ ? उनीहरू सरकार जोगाउने, सरकार ढाल्ने रणनीतिमा छन् । कोरोना संक्रमण नियन्त्रणका कुरा महत्त्वका विषय बन्दैनन् । दलहरूको दाउ एकअर्कालाई पछार्नतिर छ, कोरोनालाई कसरी पछार्ने भन्नेभन्दा पनि ।

कोरोना फैलिनुमा दोषी को ?

कोरोना फैलिनुमा स्वाभाविक रूपमा स्वास्थ्य असावधानी, भीडभाड मुख्य कारण हो । एक पटक आएको कोरोना गयो भन्ने भ्रम धेरैलाई पर्‍यो । सबभन्दा धेरै भ्रम राजनीतिक दलहरूलाई पर्‍यो । उनीहरूले कोरोनाको कुनै परबाह नगरी सभा–सम्मेलन गरे, भीड जम्मा गरे । त्यो भीड सरकार र सडकमा भएका दलहरूले पनि निरन्तर गरे । उनीहरूले जनस्वास्थ्यलाई भन्दा राजनीतिक स्वार्थलाई केन्द्रविन्दुमा राखे । कोरोना संक्रमण सुषुप्त भइरहेका बेला राजनीतिक दलहरूका चर्का भाषण जारी रहे । कोरोनाको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्यविज्ञहरूका भनाइलाई न सरकारले चासो दियो, न प्रतिपक्षी दलहरूले ।

जनस्वास्थ्यविज्ञहरूका सुझावलाई हामीले पनि बेवास्ता गर्‍यौं । कोरोना फैलिनुमा केही दोष हामी जनताको पनि छ । तर सत्ता र सडक ओगटेका राजनीतिक दलहरूले जनस्वास्थ्यमाथि खेलबाड गरे । उनीहरूले ठूला भेला र सम्मेलनहरू गरे, स्वास्थ्य मापदण्डलाई बेवास्ता गरे । राजनीतिक दलहरूको देखासिकी सर्वसाधारणले पनि कोरोना रोकथामका लागि न्यूनतम मापदण्ड मास्क लगाउने कुरालाई भुले, जसको परिणाम हामी भोग्दै छौं । राजनीतिक दलहरूले संक्रमण फैलाएको जिम्मा लिनुपर्छ ।

‘असफल’ खोप कूटनीति

भारतले कोरोनाविरुद्ध पहिलो खेप १० लाख डोज खोप दिँदा हामी खुसी भएका थियौं । विश्वमा खोपले भर्खर मान्यता पाएको अवस्थामा हामीले उपहारस्वरूप पाएका थियौं । सीमा विवादको तिक्तताबीच खोप दिएकामा भारतविरोधी स्वर मत्थर भएको सुनियो । पहिलो खेपमा आएको खोपले कोरोनाविरुद्ध लड्न ठूलो मनोबल दिएको सत्य हो । त्यसपछि सरकारले सिरम कम्पनीसँग २० लाख खोप किन्ने समझदारी गर्‍यो, १० लाख डोज खोप आएर पनि प्रयोग भइसकेको छ । अर्को १० लाख खोप आउन ढिलाइ भइरहेको छ र यति नै बेला नेपालमा कोरोना संक्रमणले पुरानो रेकर्ड तोडेको छ । अग्रिम भुक्तानी दिइसकिएको खोप ल्याउन ढिलाइ हुनुमा निजी कम्पनीले सरकारलाई दिएको दबाब मुख्य कारक भएको सरकारी स्रोतको भनाइ छ । सरकारले जीटुजीमार्फत किने पनि निजी क्षेत्रको प्रभावका कारण खोप आउन सकेन ।

चीन सरकारले हालसम्म जम्मा ८ लाख डोज खोप अनुदान दिएको छ । अरू स्वास्थ्य सहयोग दिने प्रतिबद्धता जनाए पनि थप खोप दिनेबारे ऊ बोलेको छैन । अब सरकारले निजी कम्पनीलाई खोप ल्याउन अनुमति दिने तयारी गरेको छ । हालसम्म निःशुल्क खोप लगाउन पाउनेहरूलाई भाग्यमानी मान्नुपर्छ । अब निजी कम्पनीले खोप ल्याएपछि सशुल्क लगाउनुपर्नेछ । निजी क्षेत्रले खोप ल्याएर बेच्नेछन्, जुन सबै नागरिकलाई निःशुल्क खोप दिने सरकारी प्रतिबद्धताविरुद्ध छ । पहिलो खेपको खोप आएको समयमा कोरोना संक्रमण निकै तल झरेको थियो । हाम्रा दुई छिमेकीसँग त्यही बेला गम्भीर कूटनीतिक पहल गरेको भए हालसम्म धेरै नेपालीले खोप लगाइसक्ने थिए ।

कोरोना महामारीका रूपमा फैलिइरहेका बेला सरकार बल्ल खोप ल्याउन तातेको छ । नेपाललाई खोप दिने मामिलामा चीन त्यति सकारात्मक भएको पाइँदैन । नेपाल सरकार र चीनबीच ‘मन की बात’ हुन सकेको छैन । जबकि चीनले टाढाका मुलुकहरूलाई नेपाललाई भन्दा धेरै लाख डोजको सहयोग गरिसकेको छ । नजिकको छिमेकीको हिसाबले नेपाललाई चीनले धेरै गुणा बढी खोप सहयोगस्वरूप दिन सक्थ्यो । त्यो चीनका लागि सामान्य कुरा हो । तर यस मामिलामा नेपाल सरकारले न चीनलाई विश्वासमा लिन सक्यो, न भारतलाई । हुन त कोरोना महामारीका रूपमा फैलिएको भारतले अरू देशलाई खोप दिन बन्द गरेको छ तर नेपालका लागि चाहिने खोप उत्पादन गर्न उसलाई धेरै समय नै लाग्दैन । नेपाल सरकार खोप कूटनीतिमा सफल नभएको यति बेला झन् पुष्टि भएको छ ।

जसजति आफैं ?

असल राजनीतिक संस्कारको खडेरी परेको मुलुकको एउटा विशेषता हो— जसजति आफैं लिने, अपजसजति अरूलाई दिने । नेपालका राजनीतिक दलहरूको व्यवहार हेर्‍यो भने ठ्याक्कै त्यस्तै छ । मुलुकमा स्वास्थ्य संकट चुलिएका बेला केन्द्र, प्रदेश सरकार जोगाउने र भत्काउने हर्कत जारी छ । सत्तापक्ष जसरी पनि सरकार जोगाउने, विपक्षीहरू जसरी पनि सरकार ढलाउने रणनीतिक दाउपेचमा भुल्नाले कोरोना नियन्त्रणमा ठूलो असर परिरहेको छ ।

दलहरूको असफलताका कारण राजनीतिक संकट आएकै थियो, स्वास्थ्य संकट पनि डरलाग्दो गरी फैलिएको छ । दलहरूमा असल राजनीतिक संस्कार भइदिएको भए, कोरोना महामारीलाई नियन्त्रण गर्न ‘सर्वदलीय संयत्र’ बन्न सक्थ्यो, जसले आवश्यक खोप ल्याउनेदेखि जनस्वास्थ्यको सुरक्षाका लागि धेरै काम गर्न सक्थ्यो । कोरोनाबाट दैनिक संक्रमित र मृत्यु भइरहेकाहरूप्रति सरकार संवेदनशील भएको भए दोस्रो संक्रमणको लहर आउनुअघि स्वास्थ्य निकायमा धेरै काम भइसक्ने थियो ।

अझै पनि दलहरू कोरोना–क्षतिको अपजस अर्कोलाई दिने र राम्रो भएका कामको जस आफैं लिने होडबाजीमा छन् । कुनै पनि महामारी या विपत्तिमा सरकार बढी जिम्मेवार हुनुपर्छ, विपक्षीले राजनीतिक स्वार्थ नहेरी सरकारलाई आलोचनात्मक सहयोग गर्नुपर्छ । यति बेला सरकार निषेधाज्ञा लगाउन व्यस्त छ भने विपक्षी दलहरू विज्ञप्ति निकालेर सरकारमाथि कोरोना कहरको दोष थुपार्दै छन् ।

अबको बाटो

कोरोना संक्रमणले उग्र रूप लिँदै गएको यो बेला भइरहेको राजनीतिक खिचातानीले संकट थप्नेबाहेक अर्को काम गर्दैन । २०७२ को भूकम्पले राजनीतिक दलहरूलाई राम्रो शिक्षा दिएको छ, महासंकटको सामना एकजुट गर्नुपर्छ भनेर । त्यस बेला भूकम्पले पुर्‍याएको क्षतिको सामना गर्न राजनीतिक दलहरू एकजुट मात्र भएनन्, लगत्तै नेपालको संविधान जारी गर्न सहमतसमेत भएका थिए ।

मुलुकमा जसको सबभन्दा ठूलो भूमिका हुन्छ, आलोचना पनि त्यसकै बढी हुन्छ । नेपालका राजनीतिक दलहरूको जति आलोचना भए पनि सत्ता र सडकबाट काम गर्ने ठूलो सामर्थ्य उनीहरूसँगै छ । त्यसैले कोरोना महामारी रोकथाम गर्न मुलुकका सबै राजनीतिक दलले दृढ संकल्प गर्नुपर्ने अवस्था आइसकेको छ । यसका लागि मुख्य काम सत्ता सञ्चालन गर्ने राजनीतिक दल एमालेको हो भने विपक्षी दलले पनि सरकारलाई कोरोना महामारी नियन्त्रणमा सघाउने प्रतिबद्धता जनाउनुपर्छ । यति बेला कुनै पनि राजनीतिक दललाई पानीमाथिको ओभानो हुने छुट छैन । आखिर संक्रमण फैलाउन राजनीतिक दलहरूका गतिविधि पनि जिम्मेवार छन् ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

जनता भुल्ने राजनीति

सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन ।
दुर्गा कँडेल छत्कुली

राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो । राजनीतिकर्मीहरू सक्षम र योग्य भए जनताको मुहार फेरिँदै जान्छ । राजनीतिकर्मीहरूको आचरण शुद्ध रहे देश प्रगतितर्फ लम्किन्छ भने विकृत भए देश न जनता, कसैले पनि चैनको, शान्तिको सास फेर्न पाउँदैनन् ।

हाम्रो राजनीति धेरै समयदेखि यही बाटामा हिँडिरहेको छ, उल्टो बाटामा । भीरतिरको त्यो गति अहिले त झन् बढिरहेझैं लाग्छ । आफ्नो स्वार्थको परिपूर्तिलाई जनसेवा र राष्ट्रसेवा सम्झिनेहरूका हातमा गएको छ देशको लगाम । हाम्रो देशको राजनीति यति विकृत हुनुको कारणलाई बुँदागत रूपमा यसरी बुझ्न सकिन्छ ।

आजीवन व्यवसाय : राजनीतिलाई पेसा–व्यवसायका रूपमा लिने गरिएको छ । कमाउने धन्दा बनिसकेको छ राजनीति । कुनै पनि पेसा–व्यवसायमा उमेरको हद हुन्छ, निश्चित समयपछि मानिसले अवकाश लिन्छ, त्यसअघि उसले आफ्नो उत्तराधिकारी बनाइसकेको हुन्छ । तर हाम्रा राजनीतिकर्मीहरूमा यो कुरा लागू हुँदैन । आफू मृत्युशय्यामा पुग्दा पनि पदलोलुपता तिनले छाड्न सकेको देखिन्न । राजनीति एकातिर निवृत्त हुनुपर्ने पेसा रहेन, अर्कातिर सात पुस्तालाई पुग्ने कमाउने भाँडोका रूपमा स्थापित हुँदै गयो । नयाँ सोच, जोस–जाँगर भएकाहरूलाई अगाडि ल्याऔं र हामी पछाडिबाट सहयोग गरौं भन्ने भावना राजनीतिकर्मीहरूमा पाइँदैन । हरेक क्षेत्रमा परिवर्तन भयो, काम गर्ने तौरतरिका बदलिए, प्रणालीमा परिवर्तन भयो, सबैभन्दा ठूलो परिवर्तन राजनीतिमा भयो तर नेतृत्वको कार्यशैलीमा परिवर्तन आउन सकेन ।

फोहोरी : राजनीति अत्यन्त फोहोरी खेल बनिसकेको छ । यहाँ जसले जे गरे पनि हुन्छ । साँचोलाई झुटो र झुटोलाई साँचो बनाउन सक्ने खेल बनेको छ राजनीति । स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न वा तोड्न सक्ने, अपराध गर्न सक्ने, आरोप–प्रत्यारोप लगाउन सक्नेहरू हर्ताकर्ता बनेका छन् । एकअर्कालाई नङ्ग्याउने, खुइल्याउने मानौं होडबाजी चलेको छ । आउने पिँढीले वर्तमान राजनीतिक नेतृत्वबाट यस्तै कुरा सिक्ने हो ?

राजनीति र अपराधबीच पर्खाल नहुनु : राजनीति र अपराध फरक विषय हुन् । यी दुई विषयबीच निकै दूरी हुनुपर्छ । विडम्बना, आज हरेक घटना–परिघटना तथा अपराधलाई राजनीतीकरण गरिन्छ । चाहे यौन शोषण होस्, चाहे महिला हिंसा, चाहे दलितको हत्या वा चाहे भ्रष्टाचारका मुद्दाहरू होऊन्, हरेक विषयमा राजनीति रङ पोत्ने गरिन्छ । यी दुई विषयबीच कुनै पर्खाल रहेन । त्यही भएर अपराधलाई राजनीतिले चोख्याइन्छ र राजनीतिलाई आपराधिक क्रियाकलापमा प्रयोग गर्न सजिलो भएको छ ।

महँगो : बजारमा सबै वस्तु तथा सेवाको मूल्य बढेको छ । प्रत्यक्ष रूपमा महँगीले दिन–प्रतिदिन सर्वसाधारणको जीवन असहज बन्दै गएको छ भने, अप्रत्यक्ष रूपमा राजनीतिमा भएको महँगीले अझ बढी प्रभाव पार्न थालेको देखिन्छ । हिजो निष्ठा, आदर्श, त्याग, सम्मान, समर्पणको राजनीति हुन्थ्यो । मानिसहरू अरूका लागि आफूलाई सिध्याउने गर्थे र तिनै गुण तथा विशेषताका आधारमा नेतृत्व चयन हुन्थ्यो । तर आज पैसा सबैभन्दा माथि पुगेको छ । उम्मेदवारीको टिकट किन्न पैसा चाहिन्छ, चुनावमा पैसाको खोलो बगाउनुपर्छ । चुनावताका विविध शीर्षकमा हुने खर्चले गर्दा राजनीति अत्यन्त महँगो भएको छ । पैसा हुने एउटै मान्छे भिन्नभिन्न दलमा नेतृत्वमा रहेका उदाहरणहरू त्यसैले पाइने गरेका हुन् । पैसा हुने तर अयोग्य मानिस नेतृत्वमा जान सक्ने र पैसा नहुने तर योग्य मानिस नेतृत्वमा जान नसक्ने परिस्थिति छ ।

अनैतिक : जनताको साथ र समर्थन लिएर पदीय जिम्मेवारीमा पुगेपछि राजनीतिकर्मीहरू जनताको मतलाई अवमूल्यन गर्दै पद र स्वार्थका लागि प्रयोग गर्ने गर्छन् । हरेक राजनीतिकर्मीले बोलेपिच्छे आमजनताको दुहाई दिइरहँदा व्यवहार भने स्वार्थी रहेको सबैले छर्लंग बुझिसकेका छन् । देश र जनताको जति अहित गरेको भए पनि पटकपटक जिम्मेवारी पाइरहने प्रवृत्ति नेपाली राजनीतिमा अब नौलो रहेन । राजनीतिकर्मीमा नैतिकता हराएकाले सबैजसो क्षेत्रमा अनैतिकताको बिगबिगी छ ।

मैमत्त : सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन । नेतृत्वले आफूलाई संविधानभन्दा माथि सम्झने प्रवृत्ति नत्यागेसम्म देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन ।

अन्त्यमा, नेपाली जनता अब त शान्तिको सास फेर्न पाइन्छ भन्दै हरेक आन्दोलनमा होमिँदै आएका हुन् । त्यस क्रममा कतिले ज्यान गुमाए, कतिले परिवार गुमाए, कति आजीवन अपांग भए । हरेक आन्दोलनपछि राजनीतिकर्मीहरूले भने, ‘राजनीतिक क्रान्ति समाप्त भयो । अब आर्थिक क्रान्ति गर्ने हो ।’ तर, त्यो आर्थिक क्रान्ति उनीहरूकै लागि मात्र भयो, न कि आम जनताका लागि । जुनै दल सत्तामा पुगे पनि राम्राले भन्दा हाम्राले स्थान पाइरहँदा, ‘पहुँचवालालाई अवसर, क्षमतावान्लाई पर सर’ को वातावरण रहिरहँदा आम जनतामा निराशा छाई नै रह्यो ।

अहिले देश कोरोना–संकटमा छ, युवा शक्ति देशबाहिर छ, लगानी गर्ने वातावरण बन्न सकेको छैन, बेरोजगारी व्याप्त छ, व्यापार घाटा दिनहुँ चुलिँदो छ, कृषियोग्य जमिन बाँझै रहेको वा खण्डीकरण भएको छ, मानिसमा परिश्रम गर्ने बानी हराउँदै गएको छ । अर्थलोलुप, पदलोलुप, आफूलाई अजम्बरी सम्झिने व्यक्तिहरूले राजनीतिको लगाम समाएका छन्, जसका कारण नेपाली जनताका दुर्दिन चाँडै सकिने छाँट छैन । सत्य के हो भने, राजनीति यही हिसाबले अघि बढिरहे देश पछिपछि सर्दै गइरहनेछ ।

प्रकाशित : वैशाख २३, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×