प्रश्न गरौं, गरिरहौं- विचार - कान्तिपुर समाचार

प्रश्न गरौं, गरिरहौं

कसैको उपचारका लागि देशैभरका विशेषज्ञ डाक्टरहरू एकै ठाउँमा जम्मा हुने तर कसैले अस्पतालमा बेडसम्म नपाएर मर्न पर्नुको कारण के हो ?
सम्झना वाग्ले भट्टराई

देश किन बनेन र कसरी बन्न सक्छ भन्ने विषयमा विगत दशकहरूमा प्रशस्त बहस भए । यी बहसमा नेपाली राजनीतिक आन्दोलन र लोकतन्त्र, अर्थतन्त्र र पूर्वाधार, शिक्षा र स्वास्थ्य, सम्पदा र संस्कृति तथा भविष्यको सम्भावित र अपेक्षित नेपालजस्ता विषयहरू हुन्थे । त्यहाँ उज्यालो, समृद्ध र सुसंस्कृत नेपालको चर्चा हुन्थ्यो ।

ती बहस र चर्चाले अवसर र सम्भावनाहरूको उजागर गर्थे र यी सबको आधारमा थियो— राजनीतिक परिवर्तन अर्थात् लोकतान्त्रिक नेपालको स्थापना । तर लोकतन्त्र स्थापनाको बाह्र वर्षभन्दा बढी भइसक्दा पनि नेपालमा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको छ, लोकतन्त्रका आधारस्तम्भहरूलाई पंगु बनाइएको छ र आममानिसले आफ्ना दैनन्दिनमा लोकतन्त्रको रतीभर अनुभूति गर्न पाएका छैनन् । लोकतान्त्रिक नेपालपछि आम मानिसका मनमा उदाएका आशा र विश्वास हराएका छन् । किन त ? यसका प्रमुख कारकहरूमा छन्— राजनीतिक पार्टीहरू, कर्मचारीतन्त्र एवं बुद्धिजीवीहरूको प्रवृत्ति र व्यवहार ।

राजनीति

नेपाली राजनीतिको यो स्तरको क्षयीकरण विगतमा पनि सायद कहिल्यै भएको थिएन । विकृत राजनीतिक कथामा बनेका बलिउड तथा दक्षिण भारतीय सिनेमाले परिकल्पना गरेकाभन्दा पनि भयावह रूपले अराजनीतिक बनेको छ नेपाली राजनीति । राजनीतिक दलका नेताहरूले एकअर्कालाई लगाउने आरोप, अभिव्यक्तिमा प्रयुक्त शब्दहरू, सत्ता बचाउने र गिराउने क्रममा गरिएका निर्लज्ज अभ्यासहरू आदि देख्दा लाग्छ— अब नेपाली राजनीतिमा मूल्य र मान्यताको अस्तित्व बाँकी छैन ।

भ्रष्टाचार, सांसदहरूको किनबेच, अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणजस्ता विकृतिहरू सामान्य बनाइए । अरू त अरू, सुरक्षा निकायको पूर्वप्रमुखजस्तो व्यक्तिलाई अपराधमा र अपराध आरोपमा दर्जनौं मुद्दा खेपिरहेकालाई मन्त्रिपरिषद्मा सामेल गराइयो । महामारीजस्तो मानवीय संकटको समयलाई अकुत कमाइको अवसरका रूपमा लिइयो । नेतृत्वको देवत्वकरण र स्तुतिगान गरेबापत अयोग्यहरूलाई मुख्य जिम्मेवारी दिइयो, राज्यस्रोतको दोहन गराइयो र लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थाहरूलाई बेकामे बनाइयो ।

यी सबको परिणाम हामीले मात्र होइन, आउने पुस्ताले पनि भोग्नुपर्ने प्रबल सम्भावना छ । अहिलेको राजनीतिले त्यस्तो उत्तराधिकारी हुर्काएको छ जो रूप र सारमा वर्तमान नेतृत्वभन्दा कुनै अर्थमा फरक लाग्दैन । समयका विविध कालखण्डमा भएका राजनीतिक आन्दोलनहरू सिसिफसको नियति बेहोर्न अभिशप्त छन् । र त राजनीतिक उपलब्धि केही कालखण्डमा शून्यभन्दा तल गएको महसुस हुन्छ ।

कर्मचारीतन्त्र

झन्डै एक महिनाअघि महामारीले रोजगारी गुमाएका युवा वर्गलक्षित सहुलियतपूर्ण कर्जा कार्यक्रमबारे एउटा छलफल आयोजित भएको थियो । प्रदेशस्तरीय त्यस कार्यक्रममा प्रदेश मन्त्रालयका सहसचिव, उपसचिवसहित अन्य विषयविज्ञ पनि सहभागी थिए । सहुलियतपूर्ण कर्जाको कार्यविधिबारे प्रारम्भिक छलफल चलिरहेको सभाहलमा मन्त्रालयका सचिव अलि ढिलो गरी प्रवेश गरे र बीचमा प्वाक्कै बोले, ‘यो छलफलले कुनै परिणाम दिन्छ जस्तो लाग्छ तपाईंहरूलाई ? खासमा हाम्रा युवाहरू यहाँ कुनै उद्यम–व्यवसाय गर्नभन्दा वैदेशिक रोजगारीमा जानुलाई नै बढी प्राथमिकता दिन्छन् ।

यो महामारी खासमा एउटा बहाना मात्र हो । मलाई त यो छलफलभन्दा पनि हाम्रो मोही–मकै खाने कल्चर कसरी बचाउने भन्ने चिन्ता लागिरहेको छ ।’ सहभागीहरू जिल्ल परे, कार्यक्रममा मोही–मकैले कसरी प्रवेश पायो भनेर । तर सचिवका अगाडि कसले के बोल्ने ? उनले मोही–मकै माहात्म्य एक छिन सुनाए । सहभागीहरूले पनि बिस्तारै ‘होमा हो’ मिलाए र त्यस दिनको रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यविधिको छलफल त्यत्तिकै टुंगियो ।

पछि थाहा भयो, त्यसै दिन कुनै कार्यक्रममा प्रधानमन्त्रीले हाम्रो खाने बानी र मोही–मकैको प्रसंग सुनाएका रहेछन् । त्यसैले त प्रधानमन्त्रीका ठूला प्रशंसक सचिवले रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यविधिको छलफललाई ‘मोही–मकै’ मय बनाइदिए । हाम्रो कर्मचारीतन्त्रको कार्यशैलीको एउटा उदाहरण हो यो । यदि त्यसो नगर्ने हो भने सायद कर्मचारीलाई पनि एक ठाउँमा छ पटक सरुवा गरिन्छ । त्यसैले त कर्मचारीहरू पनि रोजगारी सृजना, महामारी नियन्त्रणका लागि काम गर्नभन्दा ‘सीतारामको मूर्ति प्राणप्रतिष्ठा’ मा खटिन सहज महसुस गर्छन् ।

बौद्धिक वर्ग

अहिले देखिएको राजनीतिक अभ्यासका आधारमा भन्दा— नेपालमा राजनीति गर्नु भनेको राज्यस्रोतको अनधिकृत दोहन गर्नु र बेलगाम बोल्नु हो । नेताहरूको अनधिकृत व्यवहारबारे माथि नै चर्चा गरियो, बोलीमा शून्य जवाफदेहीका प्रमाण पनि यत्रतत्र भेटिन्छन् । समृद्धि र विकासको रटान त राजादेखि हरेक नेतासम्मले लगाएकै थिए, अहिलेका प्रधानमन्त्री त महामारीजस्तो संवेदनशील विषयमा पनि अप्रमाणित कुराहरू गरी पछौटेका तालीमा मक्ख परिरहे ।

नेता होऊन् वा बौद्धिक वर्ग, सर्वज्ञानसम्पन्न कोही हुँदैनन् । विषयविज्ञले राजनीतिकर्मीलाई सही सल्लाह दिनुपर्ने हो । आफ्नो विज्ञताको विषयमा तथ्य र खोजका आधारमा सरकारलाई मार्गदर्शन गर्ने र आममानिसलाई सुसूचित गर्ने काम बौद्धिक वर्गको हो । तर समकालीन नेपालका अधिकांश बौद्धिक यसो गर्दैनन् । उनीहरू नेताका बेतुके र बेलगाम बोलीलाई पुष्टि गर्न र व्यक्तिमा विश्वविद्यालय खोज्न पसिना बगाइरहन्छन् अनि लाभका पद प्राप्त गर्न र्‍याल काढिरहन्छन् । अब यस्ताको ‘बौद्धिक’ कर्मबाट के प्राप्त होला ?

भोलिका नेता, कर्मचारी र बौद्धिक वर्ग

वर्तमान समाजको प्रतिविम्ब सामाजिक सञ्जालहरूमा प्रस्ट देखिन्छ । विभिन्न दलका नेता, उच्च कर्मचारी तथा बौद्धिक वर्गको पक्ष र विपक्षमा भिड्नेहरू देख्दा लाग्छ— उनीहरूको छुट्टै अस्तित्व नै छैन । उनीहरू तिनै नेता, कर्मचारी तथा बौद्धिक वर्गका छुट्टाछुट्टै ‘क्लोनिङ’ हुन् । मानव विकासक्रममा स्वाभाविक र सित्तैंमा पाएको ‘न्यूनतम विवेक’ पनि स्थायी बन्धकीमा राखेर एकअर्काका पक्ष–विपक्षमा भिड्नेहरू भोलिका नेता, कर्मचारी र बौद्धिक हुन् । र भोलिका हामी पनि यिनैबाट शासित हुन अभिशप्त हुनेछौं ।

सर्वसाधारण र भोलिको समाज

माथि उल्लिखित पात्र र प्रवृत्ति प्रभावका हिसाबले यत्र–तत्र–सर्वत्र छाएका छन् । तर देश उनीहरूको बपौती होइन, अनधिकृत कब्जा जमाएका मात्र हुन् । उनीहरूबाट शासित र प्रताडित जनसंख्याको ठूलो हिस्सा असन्तुष्ट तर मौन छ । सानो हिस्सा नै सही, राजनीति, कर्मचारीतन्त्र तथा बौद्धिक वृत्तमा आम मान्छेको भावनाको प्रतिनिधित्व गर्नेहरू छन् ।

आममानिसको अबको कार्यभार अनुचित प्रभावमा नपर्नु हो । भाषणबाजीमा होइन, व्यवहारमा राजनीतिकर्मीको परख गर्नु हो । त्यसैले प्रश्न सोधौं र चित्त बुझ्ने उत्तर नपाउन्जेल सोधिराखौं । महामारीका कारण भोकले मलर सदा मर्दै गर्दा सत्तानजिकका व्यापारीले कसरी अर्बौं रुपैयाँ कमाउन सके ? एउटै देशको सीमाभित्र जन्मे–हुर्केर पनि कसैको उपचारका लागि देशैभरका विशेषज्ञ डाक्टर एकै ठाउँमा जम्मा हुने तर कसैले अस्पतालमा बेडसम्म नपाएर मर्न पर्नुको कारण सोधौं । कुनै मनकारीले भोकभोकै मर्दै गरेकाहरूलाई खुलामञ्चमा निःशुल्क खाना बाँड्दै गर्दा, छेवैमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै उत्सव मनाउने नैतिकताबारे प्रश्न गरौं ।

महामारीले रोजगारी गुमाएर भोकभोकै सडकमा भौंतारिएका मजदुरहरूलाई पचास वर्षअघिको ऐनअनुसार कारबाही गर्ने तर वर्षौं लामो संघर्षपछि जनताका प्रतिनिधिले बनाएको संविधान उल्लंघन गर्ने नेतालाई कारबाही नहुनुको कारण सोधौं । आमसभामा शक्ति देखाउन दर्जनौं बस रिजर्भ गर्न सक्नेहरूले सयौं किलोमिटर पैदल घर फर्कन अभिशप्त जनताका लागि यातायातको व्यवस्था गर्न किन रुचि देखाएनन्, सोधौं । अस्पताल निर्माणको सट्टा सीतारामको मन्दिर निर्माण राज्यको प्राथमिकतामा किन पर्‍यो, सोधौं । यी र यस्ता अनगिन्ती प्रश्नको उत्तर नपाएसम्म प्रश्न गरिरहौं र उत्तरमा चित्त नबुझेमा उनीहरूलाई बहिष्कार गरौं । यति गर्ने हो भने आम अपेक्षाअनुसारको देश बन्न अनन्त प्रतीक्षा गर्नुपर्दैन ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनासँग जुध्न राजदूतहरूबीच सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरका बेला खाडीसहित करिब एक दर्जन मुलुकमा रहेका राजदूतले नेपाली कामदारको सुरक्षा र हेरचाहमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले मंगलबार दिउँसो गरेको वेबिनारमा राजदूतहरूले अन्तर्राष्ट्रिय उडान बन्दका कारण नेपाली कामदारलाई पर्ने समस्या, कोभिड–१९ ले पार्ने असर र त्यसको प्रतिकार्यमा दूतावासको भूमिका तथा सहकार्यका विषयमा छलफल गरेका थिए ।

वेबिनारमा राजदूतहरू साउदी अरेबियाका महेन्द्रप्रसाद सिंह राजपुत, बहराइनका पदम सुन्दास, कुवेतका दुर्गाप्रसाद भण्डारी, कतारका नारदनाथ भारद्वाज, यूएईका कृष्णप्रसाद ढकाल, इजरायलका अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, पाकिस्तानका तापस अधिकारी, दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्मालगायतको सहभागिता थियो ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×