सरकारले उठाएको हात !- विचार - कान्तिपुर समाचार

सरकारले उठाएको हात !

अस्पतालमा बेड उपलब्ध गराउन सक्दैनौं भन्दै गर्दा स्वास्थ्य मन्त्रालयले अस्थायी प्रकृतिका बेडहरूसहितको संरचना वा उपचार केन्द्रहरूको स्थापना गर्न के गृहकार्य गर्‍यो ? 
ढुण्डीराज पौडेल

कोरोना महामारी मुलुकमा व्यापक रूपमा फैलिरहेको छ । समयमै यसको नियन्त्रण गर्न नसके बहुसंख्यक नागरिक संक्रमित भई दसौं लाख गम्भीर अवस्थामा पुग्न र केही लाखको अकाल मृत्यु हुन सक्छ ।

सरकारले आफ्ना सबै संयन्त्र, व्यापारी एवं निजी संस्थाहरू, नागरिक समाजलगायत सम्पूर्ण तह र तप्काका जनतालाई एकत्रित गरी महामारीबाट मुक्ति दिलाउन संयोजनकारी भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै हात उठाउनु दुर्भाग्यपूर्ण छ ।

भारतमा कोभिड–१९ को भयावह स्थितिलाई ख्याल गर्दै समयमै उचित कदम नचाले त्यहाँको अनुपातमा हाम्रो स्थिति झनै कहालीलाग्दो हुन सक्छ । अहिले भारतमा पैदा भएको संकटको पूर्वानुमान पोहोरै भएको हो । अमेरिकापछि संक्रमणको सिकार सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत हुन सक्छ भनेर विज्ञहरूले सतर्क गराएका पनि हुन् । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य सुरक्षाका लागि आवश्यक मास्क, पीपीईलगायत सामग्री र भ्याक्सिन ठूलो मात्रामा उत्पादन गराए । नेपालका केही लाख स्वास्थ्यकर्मीसहितका नागरिक सो खोपबाट लाभान्वित भए । भारतबाट पाएको खोपको दुवै डोज लगाएकाले अघिल्लो वर्षका तुलनामा यसपालि स्वास्थ्यकर्मीहरूले आफूलाई सुरक्षित महसुस गरी सेवा दिइरहेका छन् ।

साधन या माध्यमहरूको उत्पादन गर्दैमा समयमै सेवा प्रवाह गर्न सकिन्न, यसको उपयुक्त वितरण, पहुँच र तालिमप्राप्त जनशक्तिको उपलब्धता अपरिहार्य हुने रहेछ भन्ने शिक्षा भारतको अहिलेको अनुभवले दिन्छ । अहिले मुलुकका अधिकांश सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । योबाहेक महामारी नियन्त्रणका लागि भारत र अर्को छिमेकी मुलुक चीनको अनुभव र सहयोग लिनुपर्छ । ढिलो गरी लागू भएको निषेधाज्ञाले संक्रमण दरलाई कति घटाउँछ, अहिल्यै अनुमान गर्न सकिन्न ।

काठमाडौं तथा अन्य ठूला सहर छोडेर आआफ्ना गाउँ पुगेका नागरिकहरूको अवस्था अहिले कस्तो छ भन्नेबारे हामीले प्रभावकारी निगरानी गर्न सकेका छौं ? ख्याल रहोस्, चीनले कोभिड–१९ माथि विजय पाउनुमा प्रभावकारी निगरानी नै मुख्य कारण हो । भारतबाट आएकाहरू होऊन् या स्वदेशभित्रै स्थानान्तरित लाखौं नागरिक, ती केकति संख्यामा संक्रमित थिए र छन् भन्ने अनिश्चित छ । तिनले यात्रा गर्ने क्रममा शतप्रतिशत उपयुक्त तरिकाले मास्क लगाएका थिए कि थिएनन् वा आपसमा दूरी कायम गरे कि गरेनन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । तिनीहरू अझै संक्रमणकालमा रहेकाले गाउँमा अरूलाई सार्न सक्ने सम्भावना रहन्छ । अझै समय छ, संक्रमणको यो चेनलाई उपयुक्त तरिकाले अवच्छेद गर्न घरभित्रसमेत मास्क लगाउनु सर्वोत्तम विकल्प हो । त्यसबाहेक भौतिक दूरी कायम गर्नु या हात धुनुजस्ता सामान्य सुरक्षाका उपायहरू अपनाउनु अपरिहार्य छ । केही हप्तामै व्यापक हुन सक्ने संक्रमणका लागि प्रभावी हुन नसक्ने भएकाले धपेडी र भीडभाड गर्दै खोप लगाउने प्रयास गर्नुभन्दा धैर्य र होसियारी अपनाउनुपर्छ ।

कोरोना भाइरसले अक्सिजन ग्रहण र कार्बनडाइअक्साइड निष्कासन गर्ने फोक्सोका झिल्लीहरूमै कोषीय दाह गर्छ । यसले शरीरमा अक्सिजनको मात्रा घटाउँछ । यस्तो अवस्थामा मात्राअनुसार बाह्य चापीय अक्सिजनलाई गम्भीरता हेरेर क्यानुला, फेसमास्क, सिप्याप एवं बिप्यापबाट प्रवेश गराउनुपर्छ । १ प्रतिशतजतिलाई त अझै उच्च चापीय अक्सिजनका लागि भेन्टिलेटरको प्रयोग गर्नुपर्ने हुन्छ । समयमै उचित एवं स्तरीय भरथेगबाट व्यक्तिलाई अकाल मृत्युबाट जोगाउने सम्भावना रहन्छ । तर, अति गम्भीर भई भेन्टिलेटरमा पुगेकाहरू बच्ने सम्भावना न्यून रहन्छ । अहिलेसम्मको अनुसन्धानले गम्भीर बिरामीहरूका निम्ति लाभदायी मानिए पनि सामान्यतया महँगो पर्ने रेम्डिसिभिर नामक भाइरसविरुद्धको औषधि उपयोग विवादास्पद नै छ । त्यसैले भेन्टिलेटरअघिको उपचार अक्सिजन, सुजनविरुद्धको औषधि स्टेरोइड र रगत पातलो बनाउने हेपरिनका न्यून वजनका कणहरू भएको औषधि, सिटामोल आदि नै हुन् । अवस्था हेरी एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ । यी र यस्ता उपचार पद्धतिबारे सरकारले सम्बन्धित विज्ञहरूसँग परामर्श गर्‍यो ? अस्पतालमा बेड उपलब्ध गराउन सक्दैनौं भन्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी प्रकृतिका बेडहरूसहितको संरचना वा उपचार केन्द्रहरूको स्थापना गर्न के गृहकार्य गर्‍यो ? प्रयासै गरेर हात उठाएको हो ?

धरहराको टुप्पोमा बसी चिसो हावाको स्पर्श गर्दै काठमाडौंका दृश्यहरू अवलोकन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षअघि शिलान्यास गरेको ५०० बेड अटाउने वीर अस्पतालको नयाँ भवन किन तयारी भएको महिनौंसम्म उपयोगमा आउन सकेन भन्ने सुर्ता गरेको देखिएन । धरहरा उद्घाटनका क्रममा भित्रभित्रै सल्किएको कोरोना संक्रमणरूपी आगोले खासै महत्त्व पाएन । प्रधानमन्त्री एवं अन्य जिम्मेवार नेताहरूका अभिव्यक्ति सुन्दा कोरोना महामारीप्रति पटक्कै गम्भीर नभएको प्रतीत हुन्छ । हँसीमजाक गर्नु, योग गर्नु, बेसार र कागतीपानी खानु स्वास्थ्यका लागि सकारात्मक हुन सक्छन् तर कोरोना निको हुन्न । कोरोना केही होइन भन्ने अभिव्यक्ति अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प वा बाज्रिली राष्ट्रपति बोल्सेनारोले दिन सक्छन्, कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई यसो भन्न सुहाउँदैन । यस्तो गैरजिम्मेवारीपनले कतिसम्म क्षति गर्छ, हामीले अमेरिका र ब्राजिलमा देखिसक्यौं ।

सरकारले व्यापारीहरू, गैरसरकारी क्षेत्र एवं सेनाकै समेत सहयोगमा टुँडिखेल, नारायणहिटी आदिका खुला जग्गामा अक्सिजनको प्रवाहसहितका हजारजति बेडका अस्थायी संरचनाहरू खडा गर्न सक्छ । आवश्यक परे, भेन्टिलेटरका लागि वीर अस्पताल, सैनिक अस्पताल आदिमा व्यवस्था गर्न सक्छ । चिकित्सक, नर्सलगायत दक्ष जनशक्तिका लागि निजी क्षेत्रलाई पनि परिचालन गर्न सकिन्छ । अहिले बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र अन्य केही अस्पताल कोभिड डेडिकेटेड अस्पतालमा रूपान्तरित हुँदै छन् । कोरोनाइतर स्वास्थ्य समस्याहरूका लागि पनि समन्वयात्मक रूपमा व्यवस्थापन गर्नु आवश्यक छ ।

निजी क्षेत्रका अस्पतालहरूलाई संकटको घडीमा एउटै प्रवाहमा समाहित गर्न आवश्यक छ । अमेरिका, युरोपदेखि भारतसम्मकै अर्ब/खर्बपतिहरूले अहिले उपन्न मानवीय संकट निरूपणका लागि उदारता देखाएका छन्, आर्थिक सहयोग गरेका छन् । नेपालका धनाढ्यहरूले पनि उदारता देखाउने बेला आएको छ । निषेधाज्ञाका कारण हुन गएको घाटा कोभिड–१९ का बिरामीबाट असुल्ने प्रवृत्ति अवश्यै उत्पन्न हुनेछैन र कमभन्दा कम आर्थिक भार पर्ने गरी उपचार हुनेछ भन्ने आशा गरौं ।

अप्ठ्यारो पर्दा गुहार्ने, सजिलो हुँदा वास्तै नगर्ने उल्टो बाधा–व्यवधान मात्रै खडा गर्ने या उनीहरूबाटै अनुचित फाइदा लिने सरकारी प्रवृत्तिका कारण निजी क्षेत्रले सरकारलाई विश्वास गरिहाल्दैन । सरकारले पुरस्कार, सम्मान दिँदा आफ्ना नजिककालाई मात्रै सम्झने प्रवृत्ति छ । निजी क्षेत्रलाई विश्वासमा लिएर कोभिड उपचारका लागि स्वास्थ्य मन्त्रालयमै केन्द्रीय कमान्ड पद्धतिको विकास गरी मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघजस्ता नियमनकारी एवं प्रतिनिधिमूलक संस्थाहरूलाई व्यापक रूपमा परिचालन गर्नु अहिलेको आवश्यकता हो । राष्ट्रिय आविष्कार केन्द्र, इन्जिनियरिङ तथा बायोमेडिकल इन्जिनियरिङ कलेजहरू, स्टिल उद्योगहरूसँग समन्वय गरी सिप्याप, बिप्याप र भेन्टिलेटर ठूलो मात्रामा बनाउन सकिन्छ ।

अब घरमै पनि मास्क लगाउने बानीको विकास गर्नुपर्छ । सार्वजनिक रूपमा उपयुक्त तरिकाले मास्क नलगाई हिँड्नेमाथि सरकारले कारबाही गर्नुपर्छ । यसका लागि स्थानीय निकायहरूलाई परिचालन गर्दा हुन्छ । प्रत्येक व्यक्ति–व्यक्तिबीच दूरी कायम हुनुपर्छ । अतालिँदा सकारात्मक नतिजा निस्कन्न । अहिले सरकारले व्यापक रूपमा तालिमप्राप्त स्वास्थ्य जनशक्ति परिचालन गर्न उनीहरूको विश्वास जित्न सक्नुपर्छ । कोभिड–१९ को नियन्त्रण तथा उपचारमा सरकारले सबै पक्षसँग हात मिलाउनु आवश्यक छ । यस्तो संकटमा नागरिकलाई झनै असहाय छाडेर जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन ।

(नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य पौडेल कोहलपुर मेडिकल कलेजमा प्राध्यापनरत छन् ।)

प्रकाशित : वैशाख २०, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य सामग्रीका लागि भारतकै भर 

२० हजार अक्सिजन सिलिन्डर चीनबाट ल्याउने तयारी बल्ल सुरू
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ । संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते विज्ञप्ति जारी गरी ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न नसकिने भइसकेको’ जनाएको छ । त्यसका बाबजुद सरकारले आवश्यक स्वास्थ्य सामग्री ल्याउने सवालमा भने भारतकै मुख ताकिरहेको छ ।

अस्पतालबाहिर आइसोलेसन कक्ष बनाएर संक्रमितलाई रोक्न सरकारले अर्को छिमेक चीनलगायतका मुलुकहरूसँग स्वास्थ्य सामग्रीका लागि आग्रह गर्न सक्थ्यो तर त्यसतर्फ पहल भएको देखिन्न । नेपालले आफैं कोरोनासँग संघर्ष गरिरहेको भारतबाटै सहयोगको आशा गरिरहेको छ, जबकि भारतले चाहिं चीनको मुख ताक्न थालेको छ । विगत दुई सातामा चीनबाट मेडिकल सरसामान बोकेका ६१ कार्गो फ्लाइटहरू भारत पुगेका छन्, जसमा मुख्यत: अक्सिजन जेनेरेटर र अक्सिजन कन्टेनरहरू रहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

भारतलाई अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, साउदी अरेबियालगायत १५ मुलुकले पनि अक्सिजन, भेन्टिलेटरसहितका अन्य आवश्यक सामग्री सहयोग गरिरहेको भारतीय पत्रिका ‘द हिन्दु’ ले जनाएको छ । भारतको दुश्मन मुलुक भनिने पाकिस्तानले समेत उसलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ ।

नेपालले भने अहिले पनि अरूको सहयोग लिएर कोरोना रोकथाम र नियन्त्रण गरिरहेको भारतसँगै सहयोगको आशा गरेको देखिन्छ । जबकि कोरोना संकटका बेला विश्वभरि चिकित्सा सामग्रीको मुख्य निर्यातकर्ताका रूपमा चीन देखापरेको छ । नेपालले भने चिनियाँ विकल्पतर्फ आवश्यक पहल भएको देखिन्न । चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले गत साता भएको ६ मुलुकबीचको संयन्त्रको बैठकमा नेपाललाई करिब ९ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने बताएका थिए, तर त्यो कहिले आउने वा ल्याइने हो भन्नेबारे प्रस्ट छैन । चीनबाट करिब २० हजार अक्सिजन सिलिन्डर ल्याउने छुट्टै गृहकार्यचाहिँ आइतबारबाट सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, ‘हाम्रोमा धेरैले अक्सिजन सिलिन्डर घरमै राख्ने वा अन्यत्र लुकाएर राख्न सक्छन्, त्यसलाई मध्यनजर गरेर सिलिन्डर ल्याउनका लागि छलफल गरिएको हो ।’ त्यही सिलिन्डर पनि तत्काल आउने गरी छलफल भएको छैन । दुई हजार सिलिन्डरमात्र कार्गो विमानबाट र बाँकी सडकमार्गबाट ल्याउने भनिएको छ । सडकबाट ल्याउँदा निकै समय लाग्न सक्छ । चिनियाँ दूतावासका प्रवक्ता लुआन सिउतानले महामारीका कारण नेपालको कठिन स्थितिका बारेमा जानकार रहेको र चीनले आफ्नो क्षमताले भ्याएसम्म नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुई मुलुकबीच सहयोगका सम्बन्धमा कुराकानी भइरहेको कान्तिपुरलाई जानकारी दिए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार अन्तर्राष्ट्रिय समुदायबाट भारतलाई भइरहेको सहयोग र नेपाललाई भइरहेको सहयोगको तुलना गर्न मिल्दैन । ‘भारतको जनसंख्या, भूगोल र उनीहरूको आफ्नो अरू किसिमका लिने–दिने पनि हुन्छन्, ती सबैले फरक पार्ने भयो, उनीहरूका आफ्नै किसिमका शक्तिका सम्बन्ध छन्,’ उनले भनिन् । उनले नेपालले माग गरेको स्वास्थ्य सामग्रीहरू चीनबाट छिट्टै आउने बताइन् । ‘हामीले पनि स्वास्थ्य मन्त्रालयबाट आएको सूचीअनुसार समन्वय गर्ने हो, परराष्ट्र मन्त्रालय आफैंले आवश्यक सूची बनाउँदैन,’ उनले भनिन् ।

उनले नेपालमा अहिले नै भयावह स्थिति आउने आकलन नगरेको बताइन् । ‘हाम्रो अहिलेको निषेधाज्ञाले गर्दा चेनब्रेक हुन्छ भन्ने अपेक्षा गरेका छौं, जनताले पनि यसलाई मान्नुहुनेछ र अरूले पनि आफ्नो भूमिका खेलिरहनुभएको छ,’ उनले भनिन् । उनले नेपालले भारतसँग आवश्यक स्वास्थ्य सामग्रीको माग भारतमा भयावह स्थिति आउनुअघि नै गरेको बताइन् ।

प्रकाशित : वैशाख २०, २०७८ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×