अकासिँदो कोरोना–कहरमा हाम्रो नियति

सगर थामेको हुटीट्याउँ–स्वप्नमा आफूलाई सबैभन्दा शक्तिशाली, ज्ञानी, ध्यानी र अजम्बरी मानिरहने शासकलाई कसैले सोधिदेओस्— नाम असल कर्मका कारण अमर रहन्छ कि कोरोनापीडित जनताका घाउमा नुनचुक छर्दै गरिएका उद्घाटन र शिलान्यासका अक्षरहरूमा ?
रामहरि पौड्याल

२०७७ को आगमनदेखि नै भोगेको कोरोना–कहर घट्नेभन्दा झन् बढ्दो देखिनु ठूलो चिन्ताको विषय बनेको छ । दोस्रो लहरको सम्भाव्य जोखिमले यतिखेर समाज आक्रान्त छ । भारतमा संक्रमण भुसको आगोझैं भएको छ ।

अकासिँदो कोरोना–कहरमा हाम्रो नियति

तीनतिर भारतसँगकै खुला सिमानाले बेरिएको हाम्रो सानो देशका लाखौं मानिस रोजीरोटीका लागि त्यता जाने गर्छन् । त्यसरी लावालस्कर लागेर जाने र फर्किनेहरूको कुनै आधिकारिक तथ्यांक हामीसँग छैन । यो महामारीबाट सिक्नुपर्ने पहिलो पाठ थियो– कन्ट्याक्ट ट्रेसिङ । यसका लागि हरेक नाकामा एउटा खरिदार र एउटा ल्यापटप भए हुन्छ । हाम्रो ध्यान यतातिर छैन । डिजिटल ठेगानाले देशभरका मानिसहरूलाई जोड्नु नेपालको पहिलो आवश्यकता हो । यो कार्य हामी आगामी राष्ट्रिय जनगणनासँगै गर्न सक्छौं ।

विश्व यतिखेर कोरोनाले अर्थतन्त्रमा पारेको गहिरो प्रभाव, कोरोनापछिको भविष्यको आकलनमा व्यस्त छ । दुर्भाग्य, हाम्रा समय र सम्भावनाहरू महामारी नियन्त्रणमा नभएर सरकार कसरी गिराउने र सांसद किनेरै भए पनि जनवाद होइन डनवादलाई कसरी टिकाउने भन्ने मात्रै भएको छ । जवाफदेही, नैतिकता, संविधानको मर्म कुन चराको नाम हो, नेताहरूलाई सरोकारको विषय भएन ।

कोरोनाको लामो भय

कोभिड–१९ को डरलाग्दो प्रकोप एक्काइसौं शताब्दीको उत्तरआधुनिक मानिसले भोगेको एउटा ठूलो वैश्विक त्रासदी हो । वैज्ञानिक विकासका कारण चन्द्र धरातलपछि मंगल ग्रहको यात्रामा रमाइरहेको आधुनिक मानिसलाई सन् २०१९ को अन्त्यतिर एउटा सानु ‘भुसुना’ ले जिस्क्यायो । सुरुमा अमेरिका र युरोपले त्यसलाई साधारण ‘चाइनिज भाइरस’ भनेर खिसी गरे । आफूहरू विश्वको उत्कृष्ट स्वास्थ्य व्यवस्था भएको मुलुक भनेर गर्व गरे । तर तिनै देशले कोरोनाको सामना गर्न नसकेर लाखौं मानिसलाई हेर्दाहेर्दै गुमाउन पुगे । तिनका व्यवस्थित भनिएका स्वास्थ्य संरचना कति अपुग र कति निरीह ठहरिए !

कोरोनाको विश्व–आतंकबाट प्रताडित हुनेहरूको संख्या करिब १५ करोड २१ लाख पुगेको छ भने, लगभग ३२ लाख मानिसको असामयिक मृत्यु भएको छ । पहिलो लकडाउनमा अमेरिका र युरोपतिर बढी आतंक फैलाएको यो महारोगले एक महिनायता भारत र ब्राजिलसहित ल्याटिन अमेरिकी देशहरूलाई बरबाद पारिरहेको छ । भारतमा नयाँ संक्रमितहरूको दैनिक संख्याले ४ लाख २ हजार टेकेको छ, मृत्यु हुनेको संख्याले २ लाख नाघेको छ, करिब १ करोड ९२ लाख मानिसलाई संक्रमण देखिएको छ । यतिखेर विश्वभरका सञ्चार मध्यम र टेलिभिजनहरूमा भारतमा कोरोनाले निम्त्याएको महाविपत्ति, अस्पतालहरूको बिजोग, अक्सिजनको अभाव, चारैतिर मृत्युको भयले जनमानसमा ल्याएको दर्दनाक दुरवस्थाको कभरेज भइरहेको छ । धेरै देशले भारततिर सहयोगको हात बढाइरहेका छन् । अक्सिजनका सिलिन्डर र औषधिका प्याकहरू चार्टर प्लेनबाट पठाइरहेका छन् । जीवनको क्षणभंगुरताले तीतो सत्य बनेर सबैलाई सोचमग्न बनाएको छ ।

जब केही महिनाअघि कोरोना भाइरस अमेरिका र युरोपेली मुलुकहरूतिर युद्धस्तरमा फैलिँदै थियो, ती मुलुकहरूले दोस्रो लहरको चरम पीडा भोगिरहेका थिए, त्यहीताका जनवरी २८ मा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पूर्वाधार र कोभिड–तयारीबारे आत्मश्लाघापूर्ण मन्तव्य दिएका थिए । उनले भनेका थिए— २०२० को फेब्रुअरी–अप्रिलमा भारतमा कोरोनाको सुनामी आउने, २० लाख मानिसको मृत्यु हुने र ७०–८० करोड मानिस संक्रमित हुने बताइएको थियो; हामीले त्यो सम्भावनालाई जित्यौं र भारतीयहरूलाई बचायौं ।

कोरोना भगाउन दीप प्रज्वलन, महाकुम्भमा लाखौंको भीड जम्मा गरेर ‘होली’ स्नान गरेपछि सब ठीक हुने अवैज्ञानिक वक्तव्य, चुनावी र्‍याली, जनताको स्वास्थ्यभन्दा आफ्नो राजनीतिक भविष्य र आत्मकेन्द्रित प्रचारमुखी लालसाको परिणामस्वरूप यतिखेर भारत कोरोना भाइरसको इपिसेन्टर बनिरहेको छ । सहयोग र सद्भावको याचक बनेको छ । भारतको पछिल्लो अवस्था चित्रित गर्दै विख्यात लेखक अरुन्धति रोय (गार्डियन, २८ अप्रिल २०२१) ले लेखेकी छन्, ‘जीवितहरूभन्दा बढी मृतकहरू देखिन्छन्, अस्पतालहरूमा । मानिसहरू अस्पताल कोरिडोरमा, सडकहरूमा र आफ्नै घरहरूमा मरिरहेका छन् ।

दिल्लीमा दाहस्थलहरू दाउराको अभावले छटपटाएका छन् । सहरका रूखहरू काट्न वन विभागले विशेष अनुमति दिनुपर्‍यो । व्याकुल व्यक्तिहरूले जे भेट्टाए त्यही प्रयोग गरिरहेका छन् । पार्क र कार पार्कहरू दाहसंस्कार मैदानमा परिणत हुँदै छन् । अवस्था यस्तो छ मानौं सर्वत्र अदृश्य मृत्यु मडारिएको छ । हाम्रो फोक्सोबाट हावा चुस्ने मृत्यु हुँकार गरिरहेको छ, मानवताका विरुद्ध । यस्तो हवाई हमलाबारे हामीले कहिल्यै थाहा पाएनौं । अक्सिजन भारतको नयाँ स्टक एक्सचेन्जमा नयाँ मुद्रा हो । वरिष्ठ राजनीतिज्ञ, पत्रकार, वकिलहरू, भारतका अभिजात वर्ग ट्वीटरमा अस्पतालमा बेड र अक्सिजन सिलिन्डरका लागि बिन्ती गरिरहेका छन् ।’

नेपालका मानिसहरूले समेत अमेरिका र युरोपभन्दा त आफ्नै देश सुरक्षित छ भनेर व्यंग्य गरे । तर गएको एक वर्षमा कुनै सतर्कता अपनाइएन । सत्तारूढ दलका गुट–उपगुट देशलाई पूरै रणमैदान बनाएर एकअर्कालाई सिद्ध्याउन नारा–जुलुस र आरोप–प्रत्यारोपमा लागिरहे ।

विकासको मोदी–ओली मोडल

रोयले त्यसै लेखमा भनेकी छन्— केवडिया भारतको गुजरात राज्यको नर्मदा जिल्लामा अवस्थित एउटा सहर हो । यो नर्मदा नदीको किनारमा र सरदार सरोवर बाँधको अगाडि स्ट्याचु अफ युनिटीनजिकै अवस्थित छ । दुर्भाग्य, केवडियामा कुनै अस्पताल छैन । त्यहाँ केवल स्ट्याचु अफ युनिटी छ जुन भारतका राजनीतिज्ञ सरदार वल्लभभाई पटेलको प्रतिमा हो । १८२ मिटर उचाइको यो प्रतिमा विश्वकै अग्लो हो, जुन ३ हजार करोड भारु खर्च गरेर बनाइएको हो । एकातिर यस्तो फजुल खर्च, अर्कातिर अहिले आम भारतीय सास फेर्ने अक्सिजन नपाएर सोत्तर भइरहेका छन् ।

यता, नेपाल सरकारले कोरोना संक्रमण रोकथाम गर्न २५ जनाभन्दा बढी जम्मा हुन नपाउने नियम लागू गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली साढे ३ अर्ब खर्च गरेर बनाइएको ७२ मिटर अग्लो झिल्के धरहरा उल्लेख्य भीडबीच उद्घाटन गर्दै थिए । देश यस्तै भीडहरूको नियति भोग्दै छ, केही महिनादेखि । देश अक्सिजन, भेन्टिलेटर, भ्याक्सिन, कोभिड हस्पिटल र डाक्टरहरूको बाटो कुर्दै छÙ शासकहरू भने केवल अकण्टक सत्ता र नाम खोजिरहेका छन्, दाम खोजिरहेका छन् । त्यही भएर नगदे विकासका मोडलहरूप्रति लालायित छन् शासकहरू, न कि स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउनतिर ।

अन्त्यमा, गत हप्ता संसारभर कोरोनाका ५ करोड ८० लाख नयाँ केस देखा परे, जुन अहिलेसम्मकै बढी हो । पहिलो लकडाउनमा युरोप र अमेरिका जस्ता विकसित क्षेत्र डरलाग्दो चक्रमा परेका थिए, जुन अहिले विकासोन्मुख देशहरूतिर सोझिएको छ । यसले विश्वका करिब ३२ लाख मानिसको अमूल्य जीवन समाप्त पारिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, दोस्रो लहरमा २५–५९ वर्ष उमेर समूहका मानिस अत्यधिक प्रभावित भइरहेका छन् । पहिले मृतकको संख्या १० लाख पुग्न नौ महिना लागेको थियो भने, त्यसमा अरू १० लाख थपिन चार महिना मात्र लागेको थियो । तर ३० लाख पुग्न केवल तीन महिना लाग्यो । कोरोनाको दोस्रो लहर कति खतरनाक छ, यसैबाट थाहा हुन्छ । यता, हाम्रा शासकहरू दिनहुँजसो शिलान्यास र उद्घाटनमा लिप्त छन् । नवनिर्माणमा आफ्नो नाम कुँदाउन शासकहरूमा आतुरता छ ।

काम आधा बाँकी भएका प्रोजेक्ट होऊन् कि अर्थको कुनै टुंगो नलागेका सम्भाव्य प्रोजेक्ट, एउटै प्रोजेक्टको टुक्रे उद्घाटन र तिनको जस लिने होडबाजीले लोकलाई चकित बनाइरहेको छ । रोजगारीको खोजीमा भारत पसेका लाखौं नेपाली खुला सीमा हुँदै घर फर्किरहेका छन्, जसको कन्ट्याक्ट ट्रेसिङ छैन । अस्पतालहरू भरिभराउ छन् । अक्सिजन छैन । टेस्ट नाम मात्रको छ । शासकहरू यो बेला कानमा तेल हालेर बसिरहेका छन् । आफ्नै पार्टीका सय भाइ कमरेडलाई मिलाउन नसक्ने अनि सगर थामेको हुटीट्याउँ–स्वप्नमा आफूलाई सबैभन्दा शक्तिशाली, ज्ञानी, ध्यानी र अजम्बरी मानिरहने शासकलाई कसैले सोधिदेओस्— कसैको नाम असल कर्मका कारण दुनियाँको दिलमा बस्छ र अमर रहन्छ कि कोरोनापीडित जनताका घाउमा नुनचुक छर्दै नियम–कानुन र संविधानलाई चुनौती दिएर गरिएका उद्घाटन र शिलान्यासका अक्षरहरूमा ?

प्रकाशित : वैशाख १९, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?