१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतमा बढेको भय

निकट छिमेकको त्यो दुर्दशा र यहाँ पनि त्यस्तै अवस्थाका संकेतहरू आइरहँदासमेत बुद्धिमा बिर्को लागेका सत्तान्धहरूले केकस्तो दुर्गति निम्त्याउने हुन्, त्यसको कल्पना मात्रै पनि कहालीलाग्दो छ ।

एक महिनाअघि झन्डैझन्डै कोरोना कहर सकियो भन्ने निष्कर्षमा पुगेको भारतमा पछिल्ला दिनहरूमा कोरोनाको सुनामी नै आएको छ ।

भारतमा बढेको भय

प्रतिदिन ३ हजारभन्दा बढी मानिसको मृत्यु र करिब ४ लाख नयाँ संक्रमण भइरहँदा त्यहाँ बेड, प्राण वायु अर्थात् अक्सिजन र जीवनरक्षक औषधिको चरम अभाव भएको छ । अक्सिजनको त हाहाकार नै छ । दक्षिण एसियामा अपेक्षाकृत राम्रो स्वास्थ्य संरचना भएको भनिएको देशको स्वास्थ्य सेवा नै तहसनहस भएको छ । शवदाहस्थलहरू भरिएकाले पार्कहरूमा समेत शवहरूको दहन भइरहेको छ ।

भारतको अवस्था आज उसका शत्रुका पनि आँखा रसाउने गरी दर्दनाक छ । महिनादिनअघिको भारत आज छैन । सार्कका अधिकांश मुलुकका साथै अफ्रिकी र दक्षिणपूर्वी एसियाका मुलुकसम्मलाई सहयोगस्वरूप कोरोनाविरुद्ध रोगप्रतिरोधी खोप दिने भारत आफैं यस विश्वव्यापी संक्रामक रोगका कारण थलिने अवस्थामा पुगेको छ । अरूलाई के दिनु, उसैलाई खोपको अभाव भएको छ ! विश्वकै ठूलो औषधि उत्पादकका रूपमा परिचित देश आफूले थेगिनसक्नु दबाबले थिचिएको छ । डिसेम्बर २०१९ मा चीनको वुहानमा देखा परेर जनवरी २०२० मै संयुक्त राज्य अमेरिका पुगेको कोरोना २०२० भर डुलिरह्यो र २०२१ मा अर्को उत्पात मच्चाइरहेको छ । बेलायतलगायत युरोपलाई तहसनहस पार्ने गरी फैलिएको कोरोना धेरैलाई यता आउँदैन भन्ने लागेको थियो तर त्यस्तो भएन ।

यता त कतिसम्म भने, दक्षिण एसियाका मानव शरीरधारीहरू स्वतः रोगप्रतिरोधी छन् भन्नेहरूसमेत भेटिएका थिए । तिनकै अग्रपंक्तिमा नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली छन् । उनले धेरैपटक कोरोनासँग निस्फिक्री हुन गलत बाटो सुझाएका हुन् । उनले बेसार खाए कोरोना लाग्दैन त भने नै, हाच्छिउँ–साच्छिउँ गरे आफैं भाग्छसम्म भन्न भ्याएका हुन् । पछिल्लो पटक उनको आयुर्विज्ञानचाहिँ कोरोना भगाउन अम्बाको पात उमालेर खानु भन्ने हो । यस्तै अर्का प्राणी भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतसमेत हुन् । हरिद्वारको कुम्भ संक्रमण वृद्धि गर्दै थामिनसक्नु विस्तारको माध्यम हुन सक्छ भन्दा उनले त्वरित् जवाफ दिँदै भनेका थिए, ‘गंगाको पानीमा यति शक्ति छ कि यसले एक त कोरोना लाग्न दिँदैन, स्वतः भगाइदिन्छ; लागेकै भए पनि पखालिदिन्छ ।’ वास्तवमा महामारीमा सतर्कता अपनाउन सुझाव दिनु त परै, उच्चस्थानमा आसीन व्यक्तिहरूले सुरुदेखि नै यस्ता मनोगत प्रचार गरेकाले आज भयावह अवस्था निम्तिन सहयोग पुगेको हो । तिनैमध्ये हुन् प्रधानमन्त्री ओलीका साथै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जायर बोल्सेन्यारो ।

भारतको दुरवस्था आज त्यहाँको मात्र होइन, पूरै जगत्कै चिन्ताको विषय भएको छ । भारतसितको सान्निध्य र संक्रमण दर हेर्दा नेपालको अवस्थासमेत सम्हालिनसक्नु हुन सक्छ भनेर चिकित्सकहरूले चेतावनी दिएका र दिइरहेका छन् । यस्तो अवस्थामा समेत राजनीति गर्नेहरू कति गैरजिम्मेवार छन् भने, आफ्नो सत्ता बचाउन कोरोनाकै गलत रिपोर्ट बनाएर खेला गरिरहेका छन् । गण्डकी प्रदेशमा भइरहेको तमासा हेर्नुहोस् त, एकै दिनका जाँचमा दुई थरी रिपोर्ट आएका छन् । अनैतिक सत्ताका अधमहरूबाहेक अरूले यस्तो गर्न त परै, सोच्नसम्म सक्दैन । निकट छिमेककै त्यो दुर्दशा र यहाँ पनि त्यस्तै अवस्थाका संकेतहरू आइरहँदासमेत बुद्धिमा बिर्को लागेका सत्तान्धहरूले केकस्तो दुर्गति निम्त्याउने हुन्, त्यसको कल्पना मात्रै पनि कहालीलाग्दो छ ।

सबैलाई आज भारतको विभीषिका यता फैलिने सन्त्रास छ, फगत अधम राजनीतिकर्मी र ती राजनीतिकर्मीको सेवामा लागेका द्रव्यपिशाचहरूबाहेक । यो अवस्था भनेको, कसरी हुन्छ मृत्युको विभीषिका अरू फैलिन नदिनमा राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने बेला हो । अनुमान र समझ गलत भयो भने भनिरहनु नपर्ला, गलत समझ र गलत अनुमानका कारण भारतको सुध्रिँदै गरेको अवस्था सम्हालिनसक्नु भएको हो । फलस्वरूप, भारत एक्लैले देशमा फैलिएको महामारी नियन्त्रण गर्न सक्ने सामर्थ्य नभएकैले विश्वसामु मद्दतको याचना गर्नुपर्ने अवस्था उपस्थित हुन गएको हो ।

निश्चय नै आशा र कामना के गरिएको थियो भने, यो कहर सन् २०२० भरको हो, २०२१ अपेक्षाकृत सहज हुनेछ । तर त्यस्तो भएन । सबै गरी विश्वमा तेह्र किसिमका खोप बने तर ती खोपहरू गरिब देशका धनीहरू र धनी देशका धेरैजसोलाई सुलभ भयो । खोपमा सर्वसाधारणको सहज पहुँच हुनुपर्नेमा त्यस्तो भइरहेको छैन । खोप उत्पादनको क्षमता भएका देशहरूले सबैभन्दा पहिला आफैंलाई प्राथमिकतामा राखे, त्यसो गर्नु अस्वाभाविक होइन । तर खोपकै प्रभावकारिताबारे प्रश्न उठिरहँदा र मानिसलाई आश्वस्त पार्न नसक्दा खोप भईभई नलगाउने त छँदै नै छन्, कतिपय पश्चिमा धनी देशहरूले गरिब देशका जनतालाई मर्न छाडिदिएर आफूले खोप भण्डारण गरेर राखेका छन् । जस्तै, अमेरिकाले नै अस्ट्राजेनेका खोप भण्डारण गरेर राखेको बताइँदै छ ।

सन् २०२१ को चौथो महिनासँगै भारतमा कोरोना सर्वध्वंसी यमदूतका रूपमा प्रस्तुत भएको र पछिल्लो तथ्यांकअनुसार यसले त्यहाँ २ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । २०२० मा धेरै हदसम्म रोग फैलिन नदिन उच्च सतर्कता अपनाउने र त्यसैअनुसार उपचार व्यवस्थित गर्न सक्ने भारतले पछिल्लो संक्रमणमा ब्राजिल र संयुक्त राज्य अमेरिकालाई नै पछाडि पारेको छ । मृत्यु हुनेमा पनि भारत यिनैलाई पछ्याउँदै छ । नियन्त्रणनजिक पुगेको भारतमा सुनामीजस्तै भएर किन उर्लियो कोरोना, यसमा विज्ञहरूले तीन कारण बताएका छन् । पहिलो कारण, भारतमा राजनीतिज्ञहरूबाट कोरोना नियन्त्रणमा आयो भन्ने अपरिपक्व सन्देश गयो, यसले गर्दा मानिसले अवस्था सामान्य भइसक्यो भन्ने अर्थमा लिए । दोस्रो, भारतका पाँच राज्यमा भइरहेको निर्वाचनमा भीड भेला गर्ने प्रतिस्पर्धा । तेस्रो, कमजोर स्वास्थ्य सुरक्षा प्रबन्धअन्तर्गत कुम्भ र मेला–महोत्सवहरूको आयोजना । यी तीन गलत आकलन र ढंग संक्रमण तीव्रतम रूपमा फैलाउने कारक हुन्, अर्थात् ‘सुपर स्प्रेडर’ हुन् ।

पहिलो लहरमा आन्तरिक प्रवासी मजदुरहरू र नेपालबाट भारतमा काम गर्न गएका कामदारहरूको व्यवस्थापनमा कमजोरी देखिएको थियो । तर यसपाला सर्वत्र नै व्यवस्थापन चौपट छ । स्वास्थ्य संरचनाले नथेगेर परिस्थिति अत्यासलाग्दो भएको छ । धेरै हदसम्म थामिनसक्नु दुरवस्थाका कारण मानिसको ज्यान गइरहेको छ । अक्सिजन आपूर्तिको अवस्था वास्तवमा पानी पर्न थालेपछि भिज्दै छाता किन्न दगुर्नेको जस्तो छ । यता मानिस घिटीघिटी भइरहँदा बिरामीलाई अलपत्र छोडेर परिजन अक्सिजन खोज्न भौंतारिइरहेका छन् । यस्तो दुरवस्था भारतीयहरूका आधुनिक समयको ज्ञात स्मृतिमा छैन, दुर्दशा अकल्पनीय रूपमा घटित भइरहेको छ ।

अब प्रश्न उठ्छ, किन यस्तो भयो र भइरहेको छ । कोरोनाको नयाँ प्रकार ज्यादै घातक भएका कारण मात्र यस्तो चरम दुरवस्था उपस्थित भएको हो कि माथि उल्लेख गरिएका तीन कारणका अतिरिक्त यसमा मानवीय र पद्धतिगत त्रुटि पनि छ भन्ने विषयमा भारतमै र विश्वका धेरै ठाउँमा अनुसन्धान र विश्लेषण भइरहेको छ । यसकारण यस विषयमा यहाँ पनि विमर्श आवश्यक छ । आवश्यक किन पनि छ भने, नेपाली र भारतीयहरूको बानीब्यहोरा र बनोट कतिपय प्रसंगमा नछुट्टिने गरी समान छ । दुवै देशमा (भलै नेपालका तुलनामा भारतमा स्वास्थ्य संरचना राम्रो छ) तर स्वास्थ्य सेवा सुलभ छैन, अर्थात् सार्वत्रिक (युनिभर्सल) छैन । प्रभाव र पैसा हुनेले उपचार पाउँछन्, सर्वसाधारण सास फेर्ने अक्सिजन नपाएर फडफडाउँदै मर्छन् । मरिरहेका छन् । निजी अस्पतालको खर्च धान्न नसक्ने र सरकारी अस्पतालमा व्यवहार र उपचार दुवै नपाउने अवस्था उन्नाइस–बीस फरक परे पनि यताउता उस्तै छ ।

सरकारी होस् कि निजी, अस्पतालमा राज्यका विशिष्ट र अति विशिष्टका लागि साधन सुरक्षित छन् तर सर्वसाधारणलाई निम्न कोटिमा हेरिन्छ र उनीहरूलाई पर्दा सास फेर्ने अक्सिजन र जीवनरक्षक औषधि त दुर्लभ हुन्छ नै, उनीहरूले विशिष्टबाट उब्रे औषधि, साधन पाउने हुन् । ठूलाबडा कसैको पनि अक्सिजन नपाएर मृत्यु हुँदैन, अक्सिजनमै मर्छन् । भए पनि विरलै होला । अक्सिजनबिना मर्ने मध्यम र निम्न वर्गका हुन् । अत्यधिक निम्न वर्गका मर्दै छन् र यस दुर्दशाले भारतको पद्धतिलाई नै उदांगो पारेको छ । नेपाल पनि यसमा अपवाद हुँदैन । जसको स्रोतसाधनमा खटन छ, उसले अरूको भाग कटौती गरेर आफ्नो भाग चुल्याएको छ, साधनमाथि कब्जा गरेको छ ।

अमेरिकादेखि भारतलगायत नेपालसम्म कोभिडका कारण कसको ज्यान कसरी गयो भन्ने तथ्य हेर्ने हो भने, प्रभाव र पहुँच हुने व्यक्ति अथवा समूहको कम तर प्रभाव र पहुँच नभएकाहरूकै अत्यधिक ज्यान गएको छ । स्याहार नै प्रभाव र पैसाबापत पाउने भएकाले नहुनेको दर्दनाक मृत्यु भइरहेको मात्र होइन, शवदाहका दृश्यसमेत दर्दनाक छन् । मैले यहाँ उठाउन खोजेको विषय केवल महामारीको होइन, महामारीले उदांग्याएका विभेदकारी व्यवस्थाको हो । लोकतन्त्रको नाम जपीजपी मानिसलाई कित्ताकित्तामा बाँड्ने, प्रभाव र पैसासँग जीवन दाँज्ने क्रूरतालाई केकसरी वैधता मिलिरहेको छ भन्ने हो । त्यसैले भन्नैपर्छ, यी व्यवस्थाहरूमा कहीँ नराम्रो त्रुटि छ ।

यहाँ पनि, त्यहाँ पनि निर्वाचनले सत्तान्धतालाई वैधता दिएजस्तो भएको छ । समय छउन्जेल आफ्नै दुनो सोझ्याएर बस्ने कर्मलाई वैधता दिन संविधान लेखिएको होइन, राजनीति गर्नेलाई मालिक बनाउन प्रणाली निर्धारण गरिएको होइन भनिरहिए पनि अर्थचाहिँ त्यही नै लागिरहेको छ । भयावह स्थितिभित्रका कारण हेर्ने हो भने भारतकै प्रणालीमा समेत असंवेदनशीलताको चरम देखिन्छ । भारतको वर्तमान दुरवस्थामा माथि उल्लिखित कारणका साथै त्यसैले त्यहाँको प्रणालीको अक्षमता पनि परिलक्षित हुन्छ ।

प्रकाशित : वैशाख १७, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?