खाना अनुशासन

‘हुने–खाने’ हरूले खानाको सदुपयोग गर्ने हो भने, दैनिक ६ करोड ‘हुँदा खाने’ हरूको छाक टर्न सक्छ ।
विन्दु अधिकारी ढकाल

काठमाडौँ — एउटा अन्तर्राष्ट्रिय अध्ययनअनुसार, ४ अर्ब मानिससँग भए बराबरको सम्पत्ति विश्वका आठ धनाढ्यसँग छ । छिमेकी मुलुक भारतमा झन्डै ४० करोड मानिसले दुई छाक खान पाउँदैनन्, खुला आकाशमुनि रात काट्नेहरू पनि निकै छन् ।

खाना अनुशासन

भोकमरी र कुपोषण विश्वव्यापी समस्या हो । हाम्रै देशमा पनि दुई छाकको जोहो गर्न नसक्ने नागरिक कति होलान् ? पेटमा पटुका बाँधेर भोकै रात कटाउनेहरूको तथ्यांक कतै पाइन्न । प्रायः राजनीतिज्ञ तथा व्यापारीहरूका खातामा अकूत पैसा छ । समाजप्रति उत्तरदायी हुनुभन्दा आफ्नो दुनो सोझ्याउनतिर लागेकाहरूमा तल्लो वर्गका लागि केही असल काम गरौं भन्ने सोच हुँदैन ।

हुन त मानिस खानका लागि मात्र जन्मेको होइन तर जीवन चलाउन खाना अति आवश्यक छ । बिनाखाना हाम्रो शरीर चल्दैन । मानव जीवनलाई चलायमान बनाउन खानाको निकै महत्त्वपूर्ण भूमिका भए पनि विश्वभरि नै ‘हुने–खाने’ हरूले खाना खेर फाल्ने गर्छन् । एउटा अध्ययनअनुसार, खेर फालिएको खानाको सदुपयोग गर्ने हो भने, दैनिक ६ करोड ‘हुँदा खाने’ हरूको छाक टर्न सक्छ । कोरोना महामारी तीव्र नभएको भए अहिलेको मौसम भोजभतेरको हो । हाम्रोमा हुने भोजभतेरलाई खाना फाल्ने अवसरका रूपमा लिँदा हुन्छ । प्रायः भोजभतेरमा के खाने, के नखाने, रोजीछाडी खानाका विभिन्न परिकार हुन्छन् । भोजमा मीठोमसिनो खाइन्छ । भोज भन्नेबित्तिकै हामी मुस्कुराउँछौं । तर, हामीमा खाना अनुशासन छैन ।

‘आए बाउको, गए साहूको’ पारामा भोजभतेरको खानालाई लिन्छौं । पेटमा कति अट्छ भन्ने थाहा हुँदाहुँदै पनि खानै नसकिने गरी टन्नै लिन्छौं, कहिल्यै खान नपाएझैं गरी । अनि थोरै खान्छौं, धेरै फाल्दिन्छौं । खाना बनाउन कसैको श्रम परेको छ भन्ने सोच्दै सोच्दैनौं । भोज दिनेले आफ्नो मिहिनेत र पसिना खर्च गरेर आफन्तजनलाई तृप्त पार्न निमन्त्रणा गरेको हुन्छ । यदि फालेको खाना बराबरको अन्न कोही गरिबको मुखमा परे, ऊ आनन्दले निदाउँथ्यो होला वा कुपोषणबाट छुटकारा पाउँथ्यो । कसै न कसैको त भलाइ हुन्थ्यो । यसरी सारा भोजभतेरमा फालिने खानाले कति गरिबको पेट भरिन्थ्यो होला ! यहाँ गरिबले जुठो खाओस्, खानुपर्छ भन्ने पंक्तिकारको आशय होइन, तर खाना पकाउनुपूर्व नै व्यवस्थापन गर्न सकियो भने खाद्य पदार्थ जोगिन्थ्यो कि ! खाना खेर फाल्ने अवस्था आउँदैनथ्यो कि ! खाना खाने, फाल्ने र बचाउने चर्चा भइरहँदा, हाम्रो कृषि प्रणाली कस्तो छ, किसानले कति मिहिनेत गरेर अन्न उब्जाउँछन् भन्ने पनि थाहा पाउनु जरुरी छ ।

जबजब देशमा बेरोजगारी र भोकमरीको समस्या पर्छ, तबतब कृषि क्षेत्रलाई सम्झने गरिन्छ । हाम्रोमा कृषिमा गाउँका निरक्षर वर्ग, जो सहरबजार आउन सक्दैनन्, त्यस्ताले समय, श्रम खर्च गर्छन् भनिन्छ । आफ्नै खेतीपातीबाट जीवन धानिरहेकाहरूलाई हेला गरिन्छ । परम्परागत कृषि प्रणाली भएको हाम्रोजस्तो मुलुकमा किसानको शारीरिक श्रममै उब्जनी निर्भर हुन्छ । बोल्न जति सजिलो, काम गर्न कहाँ छ र ! किसानले घाम–पानी, जाडो–गर्मी, साँझ–बिहान, धूलो–हिलो, अँध्यारो–उज्यालो केही भन्न पाउँदैनन् । भनेको समयमा नुहाउन पनि पाइँदैन । जति नै सफासुग्घर भए पनि माटोमा काम गर्दा लुगा मैलो देखिन्छ । अनुहार सधैं घामले डढ्छ । त्यसैले पढे–लेखेकाहरू परम्परागत खेतीमा लाग्न रुचाउँदैनन् ।

जुन बेला मानिसको आहार गाउँमै उत्पादन हुन्थ्यो, त्यस बेला अहिलेको जसरी विदेश पलायन हुनुपर्दैनथ्यो । परम्परागत ग्रामीण कृषि आत्मनिर्भर अर्थतन्त्रको जग थियो । जब सडक र सहर बन्न थाले, तब मानिसहरूले सुख, सुविधा, कमाइ र बालबालिकाको पढाइलेखाइका लागि गाउँ छोडे । फलतः गाउँहरू रित्तिन थाले, सहर भरिन । देशका उपत्यकाहरूमा सहरीकरण हुन थालेको केही दशक मात्र हुँदै छ । यसैका कारण सहर बनिरहेका क्षेत्रहरूमा कृषियोग्य जमिन साँघुरिँदै छ । पहाडको जमिन पनि बाँझै बस्न थालेकाले कृषिजन्य उत्पादन घट्दो छ । उन्नत बीउ र प्रविधिले अझै गाउँ प्रवेश गरेको छैन । माटोसुहाउँदो उब्जनी गर्न कतैबाट कुनै पहल भएन । आकाशे पानीकै भरमा ग्रामीण कृषि चलिरहेको छ । थुप्रै गाउँमा सिँचाइ सुविधा विस्तार हुन सकिरहेको छैन । किसानलाई सहजै ऋण दिन खासै पहल गरिएन । अरू त अरू, कृषि क्षेत्रलाई दिने भनिएको सरकारी अनुदानमा पनि वास्तविक किसानभन्दा टाठाबाठा जागिरेकै हालीमुहाली छ । कृषि मन्त्रालयले धान पाकिसकेपछि पनि मल ल्याउन सक्दैन । यस्तो परिस्थितिले गर्दा अन्न उब्जाउन निकै गाह्रो छ ।

हाम्रो धर्म दर्शनले खाद्यान्नलाई देवी अन्नपूर्णाको अंश मानेको छ । त्यही भएर खाना पकाइसकेपछि श्रद्धापूर्वक पितृ र देवीदेवताका नाउँमा चढाउने चलन छ । खानालाई आदर गर्ने परम्पराबाट हुर्केकाहरूले नै अहिले यसको महत्त्व बिर्सेका छन् । खाना फाल्नु हुन्न भनेर परिवार र विद्यालयले पनि सिकाउन सकेनन् । नभुलौं, बढ्दो भोकमरी र खाद्य संकटबाट बच्न उपभोग्य सामग्रीलाई खेर जान दिनु हुन्न ।

प्रकाशित : वैशाख १७, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?