१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रैथाने ज्ञान : आफैंलाई बुझ्ने आधार

‘कागले गुँड बनाउन झिँजा चुच्चोको दायाँबाट उठाएमा पानी असारको सुरुमै पर्न थाल्छ, बायाँबाट उठाएमा असारको अन्तिममा मात्र र माझबाट उठाएमा मध्य असारबाट पानी पर्न थाल्छ ।’
जीवनमणि पौडेल

हाम्रा बाउबाजेहरू आकाशमा बादलको रङ, दिशा र आकार हेरेर मौसमको अनुमान गर्थे । आकाशमा ताराहरू गन्थे । हावाको बहाव पढ्थे । चराचुरुंगीको चिरबिर सुन्थे, तिनीहरूका गतिविधि अवलोकन गर्थे । जनावर वा कीराफट्याङ्ग्राका व्यवहार र क्रियाकलाप नियाल्थे । बोटबिरुवा हेर्थे । दिन र चाडपर्वहरू सम्झन्थे ।

रैथाने ज्ञान : आफैंलाई बुझ्ने आधार

यसैका आधारमा मौसम, समाजमा आउन सक्ने घटनाबारे अनुमान गर्थे । उनीहरूका अनुमानहरू सही साबित हुन्थे पनि । त्यसैले त समाजमा कहावत थियो, ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको’ । अहिले मुढालाई ग्यास, हिटरलगायतले विस्थापित गरे भने ‘बूढा’ लाई पश्चिमा मोडलले ।

समय बदलियो; हामी बदलियौं, सुखभोगी बन्यौं । भौतिक विलासितामा रमाउन थाल्यौं । हामीले आफूलाई जल, जंगल, जमिनबाट अलग गर्न थाल्यौं । डोजरे विकासमा रमाउन थाल्यौं । जीवन निर्वाहका पद्धतिहरू बदल्यौं । समय र बदलिएको पर्यावरण र जीविकोपार्जनसँगै पुर्खाहरूले प्रकृतिलाई अवलोकन गरेर जन्माएका ज्ञानको अथाह भण्डार पनि बिस्तारै पुर्दै लग्यौं । अहिले हामीले आफ्ना धार्मिक, सामाजिक र आर्थिक मान्यताहरू मात्र परिवर्तन गर्दै गएका छैनौं, पर्यावरणसँग जोडिएका पुर्ख्यौली ज्ञानका भण्डारहरू पनि रित्त्याउँदै गएका छौं । परम्परागत वा रैथाने पद्धति र प्रविधिहरूलाई मास्दै गएका छौं । पुर्ख्यौली ज्ञानलाई ज्ञान नमान्ने हाम्रो पश्चिमकेन्द्रित विज्ञानले गर्दा, प्रकृतिसँग पौंठेजोरी खेलेर हाम्रा पुर्खाले जन्माएको यो ज्ञान निसासिएर मर्दै छ ।

केही वर्षअघिको कुरा हो, जलवायु परिवर्तन र त्यसले कृषि प्रणालीमा ल्याएको परिवर्तनबारे काठमाडौंको कीर्तिपुरमा म केही बूढापाकासँग गफिँदै थिए । वैशाखको महिना थियो । कागले बचेरा कोरल्नका लागि गुँड लगाउने बेला थियो । हामीनजिकै एउटा काग गुँड बनाउनका लागि झिँजाहरू टिपिरहेको थियो । बूढापाकाहरूमध्येकै एक जनाले कागको गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेका रहेछन् । जब काग झिँजा चुच्चाले समातेर उड्यो, उनले भने, ‘यो वर्ष त पानी असारको सुरुआततिरै पर्छ ।’ मैले आश्चर्य मान्दै सोधें, ‘कसरी थाहा पाउनुभयो ?’ उनले भने, ‘कागले गुँड बनाउन चुच्चोको दायाँबाट झिँजा उठाएमा असारको सुरुमै पानी पर्न थाल्छ, बायाँबाट उठाएमा असारको अन्तिममा मात्र पानी पर्न थाल्छ र माझबाट उठाएमा मध्यअसारबाट पानी पर्न थाल्छ ।’ उनले भनेझैं त्यो वर्ष पानी असारको सुरुआतमै पर्‍यो ।

ती बूढामान्छेको अनुभव र उनमा रहेको ज्ञानलाई मैले मानवशास्त्रीय नजरले हेर्न थालें । म मानवशास्त्री नभएर विशुद्ध प्राकृतिक विज्ञानको विद्यार्थी भएको भए ती बूढामान्छेले फुइँयाँको कुरा गरे भन्थें होला । सायद मैले मानिस, प्रकृति र स्थानीय पशुपन्छीबीचको अन्तरसम्बन्धलाई हेर्न सक्ने थिइनँ । मानवशास्त्रीय ज्ञानले मलाई बूढामान्छेको भनाइमा मानिस, प्रकृति र स्थानीय पशुपन्छीबीचको अन्तरसम्बन्धबाट जन्मिएको पुर्ख्यौली ज्ञानको भण्डारलाई बुझ्न राम्ररी सघायो । तर आज यी ज्ञानहरू नासिँदै गइरहेका छन् । यसको अर्थ हो— मानिस बिस्तारै आफूलाई वातावरणबाट अलग्याउँदै गइरहेको छ । अझ पश्चिमा शिक्षा प्रणाली, आधुनिक प्रविधिको विकास, विस्तार र प्रयोग, युवापुस्तामा परम्परागत जीवन निर्वाहमा आएको विचलनले मानिस–प्रकृति अन्तरसम्बन्ध र त्यसले जन्माएका रैथाने ज्ञानलाई झन् कमजोर बनाउँदै लगेको छ । परिणामतः हामी जलवायु परिवर्तनजस्ता वातावरणीय समस्याको सिकार बन्दै छौं ।

युरोपेलीहरूको उपनिवेशवादबाट निर्देशित विकासे मोडलले रैथाने ज्ञानलाई कहिल्यै प्रमाण वा तथ्यांकका रूपमा बुझेन । उसले जे भन्यो, हामीले त्यही पत्यायौं । उसले कुनै बेला रैथाने ज्ञानलाई विकासविरोधी भन्यो, हामीले मान्यौं । उसले यसलाई रूढिवादी मानसिकताको पक्षपोषक भन्यो, हामीले मान्यौं । उसले पछ्यौटेपनको विम्ब भन्यो, हामीले पत्यायौं । उसले ज्ञान भनेको तथ्यांक मात्र हो भन्यो, हामीले स्वीकार गर्‍यौं । उसले ज्ञान प्रविधिले मात्र उत्पादन र पुनरुत्पादन गर्न सक्छ भन्यो, हामीले मान्यौं । उसले ज्ञान भनेको तथ्यांक मात्र हो भन्यो, हामीले विश्वास गर्‍यौं । हामीले आफ्ना गुणात्मक कुरालाई बिर्सियौं, गुणात्मक तथ्यांकमा जोडिएको रैथाने ज्ञानलाई चटक्कै भुल्यौं ।

सन् १९८० को दशकमा आइपुग्दा चाहिँ पश्चिमा विकासे मोडलले रैथाने ज्ञानलाई प्राकृतिक स्रोतहरूको व्यवस्थापन गर्ने राम्रो मोडलका रूपमा व्याख्या गर्न थाल्यो । त्यो पनि उसले भनेपछि मात्र हामीले पत्यायौं । उसले समाजको दिगो विकास र पर्यावरण वा जैविक विविधताको संरक्षणका लागि रैथाने ज्ञान महत्त्वपूर्ण र अपरिहार्य छ भन्यो, हामीले होमा हो मिलायौं । अहिले रैथाने ज्ञान सिद्धान्त मात्र होइन रहेछ, यो त इतिहासलाई/आफैंलाई बुझ्ने आधार पनि रहेछ भन्दै छ ऊ; हामी बल्ल विश्वास गर्दै छौं ।

पश्चिमा चक्षुले जे देख्यो र भन्यो, हामीले पनि आफ्ना चक्षुले नहेरी पत्याउँदै आयौं; त्यसैलाई पछ्याउँदै गयौं । हामीले कहिल्यै पश्चिमा दृष्टिकोणमाथि प्रश्न उठाएनौं । हामीले आफ्नो चिन्तनशैलीलाई औपनिवेशिक मानसिकता, सामाजिक दासता र मानसिक दरिद्रताबाट बाहिर निकाल्नुपर्छ भनी कहिल्यै सोचेनौं । हामीले आफ्नो विचारलाई औपनिवेशवादी चिन्तनबाट माथि उठाएनौं । पश्चिमा मोडलले उत्पादन गरेको तथ्यांकलाई मात्र प्रमाणका रूपमा हेर्न थाल्यौं; पर्यावरणसँग जोडिएका आफ्ना पुर्ख्यौली ज्ञानका भण्डारहरूलाई ज्ञान र प्रमाणका रूपमा हेर्ने कोसिस गरेनौं ।

सन् १९७५ देखि विश्वमा ज्ञानलाई ‘इम्प्याक्ट फ्याक्टर’ का आधारमा मापन गर्न थालिएको हो । यसमा अहिले पनि केही मानिस, वर्ग र क्षेत्रको मात्र पहुँच वा वर्चस्व छ । तर स्थानीय मानिसका अनुभव र ज्ञानले ‘इम्प्याक्ट फ्याक्टर’ भएका समीक्षात्मक अनुसन्धानमा आधारित रचनाहरूमा स्थान पाउन मुस्किल छ । विश्व पुँजीवादबाट निर्देशित ज्ञान र त्यसलाई मात्र शाश्वत मान्ने जगत्ले मौलिक ज्ञान र पद्धतिलाई अहिले पनि बृहत् बौद्धिक समाजमा अनुपस्थित गराई आफ्नो वर्चस्व वा अधिनायकत्व स्थापित गर्न लागिपरिरहेकै छ । यसको एउटा उदाहरणका रूपमा मौसम अनुमान गर्ने रैथाने ज्ञानलाई लिन सकिन्छ । त्यसैले अहिले विश्वमा भइरहेका ज्ञानमाथि हुने बहस एकपक्षीय देखिन्छ, युरोपकेन्द्रित देखिन्छ, जसका बारेमा सोच्ने बेला आएको छ ।

मौसम अनुमान गर्ने आधुनिक प्रविधिको विकास, प्रयोग र विस्तार हुनुअघि मानिसहरू रैथाने ज्ञानका माध्यमबाट त्यो काम गर्थे । विश्वमा मौसमको प्रक्षेपण गर्ने प्रविधिको पहुँच नपुगेका समुदायहरूका लागि अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता विपत् आदिले निम्त्याउने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने मुख्य स्रोतका रूपमा प्रकृतिमा आधारित रैथाने ज्ञान र पद्धतिलाई नै लिएका थिए । अहिले पनि मौसम अनुमान गर्ने प्रकृतिमा आधारित परम्परागत वा रैथाने ज्ञान कृषि तथा पशुपालनमा आश्रित विश्वका धेरैजसो समुदायमा जीवितै छ । तसर्थ हाम्रा समुदायहरूमा प्रचलित मौसम अनुमान गर्ने स्थानीय रैथाने ज्ञान र पद्धतिलाई वैज्ञानिक ज्ञानसँग गाँस्न आवश्यक छ, नीति निमार्णसँग जोड्न आवश्यक छ ।

नेपाली समाजमा मौसम अनुमान गर्ने ज्ञानमा स्थान र संस्कृतिपिच्छे फरकफरक रहेको पाइन्छ । यी रैथाने गुणात्मक ज्ञानहरूलाई विभिन्न क्षेत्रबाट अभिलेखीकरण गरिएको कमै पाइन्छ । यिनलाई अभिलेखीकरण गर्न सकेमा स्थानीय, प्रादेशिक, क्षेत्रीय, राष्ट्रिय तहमा बन्ने नीतिनिर्माण र योजना तर्जुमामा पनि महत्त्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ । तसर्थ रैथाने ज्ञानलाई आधुनिक पश्चिमा ज्ञान वा पद्धतिको प्रतिद्वन्द्वीका रूपमा नलिई यी दुई ज्ञानलाई एकअर्कामा जोड्न आवश्यक छ । अहिले समाजभित्र दुई ध्रुवमा विभाजित ज्ञान र पद्धतिजस्तै विश्व ज्ञान र स्थानीय ज्ञान, बृहत् ज्ञान र सूक्ष्म ज्ञान, तथ्यांकीय ज्ञान र गुणात्मक ज्ञान, प्राकृतिक विज्ञान र सामाजिक विज्ञानलाई विभाजित नगरीकन एक ठाउँमा ल्याउन जरुरी छ । यसो गर्न सकेमा अहिले प्रचलित ज्ञान झन् सम्पूर्ण र सशक्त बन्ने देखिन्छ । दुर्भाग्य, अहिले पनि स्थानीय मौलिक वा परम्परागत ज्ञानलाई नीतिनिर्माताहरूले बेवास्ता गर्न छाडेका छैनन् ।

प्रकाशित : वैशाख १७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?