के दलहरू मात्र दोषी छन् ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के दलहरू मात्र दोषी छन् ?

मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?
केशव दाहाल

चैत अन्तिम हप्तातिर म प्रदेश १ को यात्रामा थिएँ । इटहरी चोकमा स्कुले यारसँग एक्कासि भेट भयो । ऊ पच्चीस वर्ष विदेशमा काम गरेर गत वर्ष मात्र फर्किएको थियो । उसको सपना थियो— नेपालमै बस्ने र जमिनमा पसिना बगाउने ।

साथी भाडाको जमिनमा इजरायली पाराले तरकारी रोप्न चाहन्थ्यो । कसैले उसलाई सल्लाह दियो, ‘कम्पनी बनाऊ र बैंकमा जाऊ । सस्तो ब्याजमा ऋण पनि पाइन्छ, प्रविधि पनि ।’ बस, उसले सप्तरंगी सपनाहरू बुन्यो र मनमनै गदगद भयो । मेरो मित्र स्वाभिमानसाथ देशमै बाँच्न चाहन्थ्यो । तर जब ऊ घरबाहिरको राजनीति, समाज र सरकारसँग ठोक्किन पुग्यो, कष्टका दिनहरू सुरु भए । कम्पनी दर्ताको प्रक्रियादेखि ठगिन थालेको मेरो यार पाइलैपिच्छे ठगिँदै गयो । छ महिना अनेक गौंडा र गल्छेडामा ठगिएपछि उसले निष्कर्ष निकाल्यो— यताका ठगहरूलाई पोस्नुभन्दा त मुगलान भासिनु नै बेस ।

इटहरीको धूलोसँग चिया घोलेर पिउँदै गर्दा उसले सोधेको पहिलो प्रश्न थियो, ‘हाम्रो देश ठगहरूको स्वर्ग हो, साथी ? स्कुल गयो, पढाइ छैन । अस्पताल गयो, उपचार छैन । सरकारी कार्यालय गयो, घूस नखुवाई काम हुँदैन । बैंक गयो, ब्याज चर्को । बजार गयो, महँगी चर्को । दूध किन्यो, ठगिएकै छ । चामल किन्यो, ठगिएकै छ । सहरमा काम छैन, गाउँमा श्रम छैन । खेत बाँझै छन्, तर जोत्न पाइँदैन । न मल, न बीउ । नेताले ठग्छ । पुलिसले ठग्छ । हाकिमले ठग्छ । ठेकेदारले ठग्छ ।’ आफू ठगिएको सम्पूर्ण कथा बेलीविस्तार लगाएपछि उसले थप्यो, ‘सकिँदैन यार ! यो देश साना मान्छेका सपनाहरूको मसानघाट भैसक्यो ।’

मेरो साथी यो देशका लाखौं आम मान्छेको प्रतिनिधि पात्र हो । उसले भन्यो, ‘थाहा छ तिमीलाई ? यो देशमा एउटा साधारण मान्छे दैनिक सरदर दसचोटि ठगिन्छ ।’ मान्छेका कोमल सपनाहरू ढुंगाजस्ता तीखा र कठोर सत्यसँग ठोक्किएर कसरी छियाछिया बन्छन्, त्यसको जिउँदो साक्षी हो ऊ । पछिल्लो समय भेट्दा उसको अनुहार सुक्खा र उजाड थियो । ‘किन यति धेरै निराश छौ, यार ?’ मेरो प्रश्नमा उसले भन्यो, ‘यो देशमा आशाको उज्यालो निभिसक्यो, साथी ! हाम्रो पुस्ताका लागि अब कुनै सम्भावना बाँकी छैन ।’

किन यति धेरै लाचार छ मेरो साथी ? किन आम मान्छेका लागि नेपालमा आशाको उज्यालो कतै देखिँदैन ? एकातिर मान्छेहरू भन्छन्— यो लोकतन्त्रको असफलता हो; यो संघीयताको असफलता हो । अर्का थरी मान्छेहरू भन्छन्— यो व्यवस्थाको हैन, राजनीतिको असफलता हो । खासमा यो केको असफलता हो ? राजनीतिको कि व्यवस्थाको ? विचार गरौं ।

राजनीति : आकाशको कुरा

राजनीति भन्नु र राज्यव्यवस्था भन्नु एउटै कुरा होइन । राजनीति, सरकार र सत्ता भन्नु पनि फरकफरक कुरा हुन् । राजनीति आफैंमा व्यापक र गहिरो विषय हो । जस्तो कि, आकाश । आकाशको विशालता र गहिराइ अनन्त हुन्छ । आकाशभित्र ताराहरू हुन्छन्, चन्द्रमा हुन्छ, ग्रहहरू हुन्छन् । तर चन्द्रमा भन्नु र आकाश भन्नु एउटै कुरा होइन । यसरी हेर्दा राजनीति भन्नु र पार्टी भन्नु पनि एउटै कुरा होइन । राजनीतिभित्र पार्टीहरू हुन्छन् । सत्ता हुन्छ । र, सरकार हुन्छ । तर त्यति मात्र हुँदैनन्, किनभने राजनीति व्यापक र गहिरो विषय हो ।

राजनीतिको आकाशभित्र मुख्यतः तीन कुरा हुन्छन् । पहिलो— चेतना, दर्शन, ज्ञान, विज्ञान र विचारहरू । दोस्रो— जनता, देश, राज्य, सरकार, पार्टी र प्रणालीहरू । तेस्रो— संकल्प, प्रतिबद्धता र मूल्यमान्यताहरू । यी सम्पूर्णको योगफल हो— राजनीति । अतः राजनीति भनेको व्यवस्था, प्रणाली र सरकार मात्र होइन । राजनीति भनेको जीवन र जगत्लाई हेर्ने, बुझ्ने, उत्प्रेरित गर्ने र बदल्ने अभियान हो । राजनीति व्यक्ति, समाज र संसारको बनोट र चाललाई बुझ्ने अनि बदल्ने कुरा हो । राजनीतिले संसारलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर चिन्तन गर्छ । यसर्थ यो ज्ञान पनि हो र साधना पनि । र, राजनीति जीवन र जगत्लाई समृद्ध गर्ने अनुष्ठान हो ।

भनिन्छ, मान्छे स्वयं राजनीतिक प्राणी हो । प्रत्येक सचेत मान्छेले राजनीति गरिरहेको हुन्छ । जस्तो कि, लेख्नु राजनीति हो । अनुसन्धान गर्नु राजनीति हो । विज्ञान राजनीति हो । गीत, संगीत र नाटक गर्नु पनि राजनीति हो । त्यस्तो प्रत्येक चीज राजनीति हो जसले जीवन र जगत्का बारेमा विचार गर्छ । र, सँगै जीवन र जगत्‌लाई अझ सुन्दर बनाउन उत्प्रेरित गर्छ । संसारलाई अझ सुन्दर, कलापूर्ण, उन्मुक्त र भव्य बनाउन लेखकले, कलाकारले, गायकले, कृषकले, व्यापारीहरूले योगदान गरिरहेका हुन्छन् । यसको अर्थ, सबैले राजनीति नै गरिरहेका हुन्छन् ।

आंगिक संरचनाहरू

राजनीति एक्लो हुँदैन । यो अनेक आंगिक वा सहयोगी संरचनाहरूसँग एकता र संघर्षको नियममा मिलेर बसेको हुन्छ । जस्तो, राजनीतिमा दलहरू हुन्छन् । नागरिक समाज हुन्छ । लेखक, कलाकारहरू हुन्छन् । उद्योगी, व्यापारीहरू हुन्छन् । सामाजिक अभियन्ताहरू हुन्छन् । यी सबै राजनीतिका आंगिक वा सहयोगी संरचना हुन् । आकाशमा ताराहरूजस्तै । अतः राजनीतिमा दलहरू मात्र महत्त्वपूर्ण हुँदैनन् । बरु त्यति नै महत्त्वपूर्ण हुन्छन् नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि । यी सबैको सामूहिक योगदान हो राजनीति । अतः राजनीतिको सफलता र असफलता दलहरूको सफलता र असफलतामा मात्र निर्भर हुँदैन । वस्तुतः कस्तो राजनीति गर्ने ? खासमा यो दलहरूलाई मात्र सोध्नुपर्ने प्रश्न हैन । यो नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरूलाई पनि उसरी नै सोध्नुपर्ने एउटा महत्त्वपूर्ण राजनीतिक प्रश्न हो ।

त्यसो भए व्यवस्था के हो ? देशदुनियाँका अनेक स्वार्थ र सपनाहरूलाई नियमन गर्ने एउटा साधन हो राज्य । राज्यलाई सञ्चालन गर्ने पद्धति वा प्रणाली हो— व्यवस्था, जसलाई दिशानिर्देश गर्छ राजनीतिले । र, पार्टीहरूले त्यसलाई कार्यान्वयन गर्छन् । यो सम्पूर्ण चक्रमा राजनीतिका आंगिक संरचनाहरूले मिलेर काम गरे भने राजनीति सफल हुन्छ । अन्यथा राजनीति असफल हुन्छ । राजनीति असफल हुनु भनेको दलहरू मात्र असफल हुनु होइन; दलहरूसँगै नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि असफल हुनु हो ।

असफलताको दुश्चक्र

राजनीतिक असफलता सामूहिक दुश्चक्रको एउटा कठिन सिलसिला हो, जसलाई बुझ्न केही प्रश्न हेरौं । जस्तो, राजनीतिक असफलताहरूको स्रोत कहाँ छ ? मान्छेहरू भन्छन्— हाम्रा समस्याहरू दलहरूमा निहित छन्; नेताहरूमा निहित छन्; सरकार लम्फु छ । निश्चय नै, हाम्रो गरिबी, कुशासन र अविकासका लागि दल, नेता र सरकारहरू जिम्मेवार होलान्, तर दलहरूलाई सरकारमा पुर्‍याउँछ कसले ? मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?

जब समाजमा आलोचनात्मक चेतना सकिन्छ र भाटगिरी सुरु हुन्छ, तब राजनीति राजनीतिजस्तो हुँदैन । जव राजनीतिका आंगिक संरचनाहरू सड्दै र गल्दै जान्छन्, तब राजनीतिले जीवन र जगत्लाई बदल्ने सामर्थ्य गुमाउँछ । जब लेखकले ठीक कुरा लेख्न छोड्छ, जब कलाकारले जीवनमुखी सृजना गर्दैन, जब व्यापारीले लुट्न थाल्छ, जब बुद्धिजीवी सत्ताको दास बन्छ, तब यस्तो हुँदै जान्छ । राजनीतिका सम्पूर्ण अंग बिग्रँदा दलहरू मात्र राम्रा हुन्छन् भनेर अपेक्षा गर्नु आफैंमा मूर्खता हो । किनभने राजनीतिका आंगिक संरचनाहरू एकअर्कासँग अविभाज्य र अन्तर्निहित हुन्छन् ।

यसरी हेर्दा स्पष्ट हुन्छ, अहिलेको मुख्य समस्या न व्यवस्था वा प्रणाली मात्र हो न त दलहरू मात्र । अहिलेको मुख्य समस्या राजनीति हो । र, यसका सम्पूर्ण आंगिक संरचनाहरूमा अहिले समस्या छ । जस्तो कि, अहिले लेखकहरूमा समस्या छ । कलाकारहरूमा समस्या छ । बुद्धिजीवीहरूमा समस्या छ । कार्यकर्ताहरूमा समस्या छ । मतदाताहरूमा समस्या छ । नागरिक समाजमा समस्या छ । प्राध्यापकहरूमा समस्या छ । यो आरोप तिनलाई हैन, जसले राजनीतिलाई ठीक दिशा दिन सक्दो प्रयत्न गरी नै रहेका छन् । यो आरोप तिनलाई हो, जसले बिग्रिएको राजनीतिलाई अझ सत्यानाश गर्न योगदान गरिरहेका छन् ।

के हामी आम निराशाको सिकार हुँदै छौं ? होइन । तर राजनीतिका आंगिक संरचनाहरूले स्वयं राजनीतिमाथि निर्णायक हस्तक्षेप गर्ने बेला भने अब भयो । अन्यथा आम निराशा हाम्रो नियति बन्नेछ । अन्यथा दल र नेताहरूलाई गाली गरेर मात्र अवस्था फेरिनेछैन । सत्य हो, अहिलेको बिग्रँदो अवस्थामा बदलाव ल्याउन निश्चय नै पार्टीहरू त फेरिनैपर्छ, तर त्यतिले मात्र पुग्दैन । कार्यकर्ताहरू पनि फेरिनुपर्छ । मतदाताहरू पनि फेरिनुपर्छ । नागरिक समाज पनि फेरिनुपर्छ । कर्मचारी, प्राध्यापक र शिक्षकहरू पनि फेरिनुपर्छ । लेखकहरू फेरिनुपर्छ र कलाकारहरू पनि फेरिनुपर्छ । अरू पनि सबैसबै फेरिनुपर्छ ।

अन्त्यमा यति भनौं, राजनीतिक सफलता सामूहिक सफलताको एउटा उज्यालो अवस्था हो । असफलता हाम्रो आफ्नै सामूहिक दासता र दुष्कर्मको परिणाम । हामीले के रोज्ने ? दासताको अँध्यारो कि स्वतन्त्रताको उज्यालो ? व्यवस्थालाई दोष दिएर मात्र कतै पुगिँदैन । यो सम्पूर्ण परिवर्तनको समय हो । यो स्वयं हाम्रो राजनीति बदल्ने समय हो । अन्यथा दल, नेता र सरकार मात्र कसै गरी फेरिनेछैनन् । स्पष्ट छ, राजनीतिलाई यथावत् राखेर नयाँ परिणाम आउँदैन ।

dahal.keshab@gmail.com

प्रकाशित : वैशाख १५, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तकबाट टाढिँदै शिक्षक

मधु राई

‘खै कतिखेर पढ्नु होउ, म्याम ! म त भ्याउँदै भ्याउँदिनँ ।’ ‘म त लोकसेवाको तयारीमा छु, पढ्नै भ्याउँदिनँ ।’‘म त अनलाइनमै पढ्छु, दिदी !’


शिक्षक तथा गृहिणीहरूलाई केही वर्षअघि म्यागजिनहरूको वार्षिक ग्राहक बनाउन खोज्दा पाएका उपर्युक्त जवाफ मेरो मानसपटलमा अझै ताजा छन् । शिक्षक र गृहिणीहरू कत्तिको पत्रपत्रिका र पुस्तक पढ्दा रहेछन् भन्ने अनुभव बटुल्न मैले पाँच वर्ष ‘शिक्षक’ र ‘नारी’ मासिक बिक्री गरें । शनिबार र अन्य बिदाको दिन पारेर स्कुटीको डिकीमा दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका अनि केही पुस्तक पनि राखेर जोगबनी नाकासम्मै बेच्न पुग्थें । यसबीच कतिपयलाई आफूले पढ्दै गरेको पुस्तक पनि दिएँ । कतिले वर्षौंपछि फर्काए, कतिले बिर्से । कतिले वार्षिक ग्राहक शुल्क आजआज, भोलिभोलि भन्दै टारे ।

यसबीच नियमित रूपमा पत्रपत्रिका र पुस्तक पढ्ने केही शिक्षक तथा गृहिणीहरूलाई मेरा प्रकाशित लेखहरूको प्रतिलिपि बाँडें । कतिपय यस्ता पाठकहरूलाई पाक्षिक वा मासिक रूपमा कुनै पत्रपत्रिकामा छापिएका लेखलगायत पुस्तकबारे चर्चा–छलफल गरौं न भनेर प्रस्तावसमेत राखें । उनीहरूमध्ये केहीले ‘हुन्छ नि, गरौं न’ पनि भने, तर पछि समयाभाव देखाएर पन्छिए ।

यसरी शिक्षक र गृहिणीहरूलाई पाठक बनाउने मेरो अघोषित अभियान थालेकै ताका सन् २००५ मा काठमाडौंको अस्मिता महिला प्रकाशन गृहले एकवर्षे सञ्चार साक्षरता अभियान सुरु गर्‍यो । उक्त अभियानले शिक्षक र गृहिणीहरूलाई पाठक बनाउने मेरो अभियानलाई टेवा मात्र पुर्‍याएन, सञ्चार सहजकर्ताको भूमिकासमेत निर्वाह गर्ने अवसर जुराइदियो । कार्यक्रमअन्तर्गत बेलाबेला सञ्चार साक्षरतासम्बन्धी अन्तरक्रिया गर्नुपर्थ्यो, पाठकहरूसँग । यसका साथै विभिन्न सञ्चारमाध्यममा प्रकाशित महिलासम्बन्धी समाचार र प्रसारित कार्यक्रमहरूबारे छलफल गरी मासिक प्रतिवेदन तयार गर्नुपर्थ्यो । मैले उक्त सञ्चार साक्षरता अभियानअन्तर्गत धेरै पाठकसँग साक्षात्कार गर्ने अवसर पाएँ । यसले मेरो अखबारी लेखनमा पनि ऊर्जा थप्यो ।

मैले गृहिणी तथा सहकर्मी शिक्षक र केही अभिभावकलाई आफ्ना लेखहरूको प्रतिलिपि बाँड्ने अभियानलाई केही समय निरन्तरता दिएँ । मेरो विद्यालयमा सञ्चालन हुँदै आएको साप्ताहिक शिक्षक भेलामा प्रकाशित लेख तथा पुस्तकबारे चर्चा–परिचर्चा गर्ने परम्परा पनि थालें । कतिपय शिक्षकलाई ‘नारी’ तथा ‘परिवार’ मासिकजस्ता म्यागजिन पनि दिने गरें । गत वर्षदेखि भने ‘हिमालखबर’ र ‘कान्तिपुर’ दैनिकमा प्रकाशित सामग्री नियमित रूपमा सामाजिक सञ्जालमार्फत बाँड्दै आइरहेकी छु । यस्तै, साप्ताहिक शिक्षक भेलामा उपस्थित सहकर्मी शिक्षकहरूलाई मेरा प्रकाशित सामग्रीका प्रतिलिपिहरू गृहकार्यका रूपमा दिन थालेयता उनीहरूले प्रतिक्रिया दिन थालेका छन् । गत वर्षदेखि विगतका मेरा अधिकांश पाठकहरूले लेखेरै पनि प्रतिक्रिया दिन थालेका छन् । कोही भने पठाउनेबित्तिकै नपढी नै लाइक गर्छन् । यस्तै, आफ्ना छोराछोरीको पढाइबारे चासो राख्ने केही शिक्षक तथा अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिन थालेका छन् । सहकर्मी शिक्षक र अभिभावकहरूसँग मिलेर हामीले मासिक बचत सुरु गरेका छौं । नियमित पत्रपत्रिका तथा पुस्तक पढ्न रुचाउने शिक्षक तथा अभिभावकहरूलाई मैले बेलाबेला ‘तपाईंहरूले घरमा पढेको देखेर छोराछोरीले पनि पढ्छन् है’ भनेर नमागेको सल्लाह दिने गरेकी छु ।

नियमित पत्रपत्रिका, पुस्तक पढ्ने शिक्षक तथा अभिभावकहरूले घरमा पनि छोराछोरीको पढाइलगायत सर्वांगीण विकासमा चासो राख्न थालेका छन् । बहुसंख्यक शिक्षक, तिनमा पनि सामुदायिक विद्यालयका प्रायः शिक्षक लोकसेवा तयारीका लागि वर्षभरि पढ्ने गरे पनि अधिकांशले आफूलाई अद्यावधिक गर्न वा ज्ञान बढाउन अतिरिक्त पुस्तक भने पढ्दैनन् । लोकसेवा वा पाठ्यक्रमबाहेकका पुस्तकहरूले आफ्नो शिक्षणसिकाइमा सहयोग पुग्छ र ज्ञानको दायरा पनि बढ्छ भनी तिनले महसुस गरेको पाइँदैन ।

पाँच वर्षको मेरो अभियानअन्तर्गत महिलाका तुलनामा पुरुष शिक्षकहरू अध्ययनशील हुने र उनीहरूमध्ये केहीले स्थानीयलगायत राष्ट्रिय पत्रपत्रिकामा लेख्ने गरेको पाएँ । तथापि पछिल्लो समय शिक्षणसँगै लेखनकार्यमा पनि महिलाहरूको सहभागिता बढ्दै छ । दशकौं शिक्षण पेसामा बिताएका कतिपय महिला आफ्नो शिक्षणकालमा अतिरिक्त पुस्तक नपढेकै कारण सेवानिवृत्तिपछि पुनः घरधन्दामै फर्केका पनि छन् । यस्तै, शिक्षण पेसामा आबद्ध तथा सेवानिवृत्त शिक्षिकाहरूमध्ये धेरैलाई पत्रिकामा लेख लेख्दा पारिश्रमिक पाइन्छ भन्नेसमेत थाहा छैन । केही वर्षअघि चिनजानकी सेवानिवृत्त शिक्षिकाले ‘आज पनि छापिएछ तपाईंको लेख, कति रुपैयाँ तिरेर छाप्नुभो ?’ भनेपछि मैले ‘तिर्नुपर्दैन म्याम, पत्रिकाले नै पारिश्रमिक दिन्छ लेखेबापत’ भन्दा उहाँले अचम्म मान्दै जवाफ दिनुभएको थियो, ‘हो र ! म त पैसा तिरेर पो छाप्छन् भन्ठान्थें ।’

शिक्षण पेसामा दशकौं बिताएकाहरूलाई यी र यस्ता आधारभूत ज्ञानसमेत नहुँदा लाग्छ— उनीहरू पत्रपत्रिका तथा पुस्तकबाट निकै टाढिएका छन् । शिक्षित जमातलाई अतिरिक्त पठनबाट पाइने चौतर्फी फाइदाबारे बुझाउन सञ्चारमाध्यमहरू पनि चुकिरहेका छन् । शिक्षकहरूमा पठन बानी नभएकाले नै अहिलेको शिक्षा अनुत्पादक बन्दै गएको छ । शिक्षणसिकाइलाई परिमार्जन गर्दै आफ्नो ज्ञान अद्यावधिक गर्न पत्रपत्रिका तथा पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्ने बुझेका अध्ययनशील शिक्षकहरूले बहुपहिचान मात्र बनाएका छैनन्, अखबारी लेखनबाटै स्थापित लेखकसमेत बनेका छन् । यस्ता शिक्षकहरूको अतिरिक्त आम्दानीको स्रोत बन्दै छ, लेखन कला ।

त्यसो त, पछिल्लो समय शिक्षणसँगै लेखन कार्यमा व्यस्त हुने शिक्षकशिक्षिकाको संख्या बढ्दो छ । स्थानीयदेखि मूलधारे पत्रपत्रिकासम्म आइपुगेको उनीहरूको लेखनले अरूलाई पनि प्रोत्साहित गरिरहेको छ । यस्ता लेखकहरूले अखबारी लेखनमा मात्रै आफूलाई सीमित राखेका छैनन् । कतिपयले पुस्तकै लेखिसकेका छन् ।

बहुसंख्यक शिक्षकको प्राथमिकतामा अतिरिक्त पत्रपत्रिका, पुस्तक पर्दैन । विद्यार्थीलाई जीवन र जगत्सँग परिचित गराउनुपर्ने अभिभारा बोकेका हाम्रा शिक्षकहरूको पुस्तक नपढ्ने बानीका कारण शिक्षा उत्पादनशील बन्न सकेको छैन । शिक्षालाई उत्पादनमूलक बनाउन शिक्षण पेसामा आबद्ध शिक्षकहरूले अतिरिक्त पत्रपत्रिका र पुस्तक पढ्नु जरुरी छ । यसका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनले पनि पढ्ने, पढाउने र छलफल गर्ने वातावरण तयार पारिदिन आवश्यक छ ।

प्रकाशित : वैशाख १५, २०७८ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×