कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

के दलहरू मात्र दोषी छन् ?

मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?
केशव दाहाल

चैत अन्तिम हप्तातिर म प्रदेश १ को यात्रामा थिएँ । इटहरी चोकमा स्कुले यारसँग एक्कासि भेट भयो । ऊ पच्चीस वर्ष विदेशमा काम गरेर गत वर्ष मात्र फर्किएको थियो । उसको सपना थियो— नेपालमै बस्ने र जमिनमा पसिना बगाउने ।

के दलहरू मात्र दोषी छन् ?

साथी भाडाको जमिनमा इजरायली पाराले तरकारी रोप्न चाहन्थ्यो । कसैले उसलाई सल्लाह दियो, ‘कम्पनी बनाऊ र बैंकमा जाऊ । सस्तो ब्याजमा ऋण पनि पाइन्छ, प्रविधि पनि ।’ बस, उसले सप्तरंगी सपनाहरू बुन्यो र मनमनै गदगद भयो । मेरो मित्र स्वाभिमानसाथ देशमै बाँच्न चाहन्थ्यो । तर जब ऊ घरबाहिरको राजनीति, समाज र सरकारसँग ठोक्किन पुग्यो, कष्टका दिनहरू सुरु भए । कम्पनी दर्ताको प्रक्रियादेखि ठगिन थालेको मेरो यार पाइलैपिच्छे ठगिँदै गयो । छ महिना अनेक गौंडा र गल्छेडामा ठगिएपछि उसले निष्कर्ष निकाल्यो— यताका ठगहरूलाई पोस्नुभन्दा त मुगलान भासिनु नै बेस ।

इटहरीको धूलोसँग चिया घोलेर पिउँदै गर्दा उसले सोधेको पहिलो प्रश्न थियो, ‘हाम्रो देश ठगहरूको स्वर्ग हो, साथी ? स्कुल गयो, पढाइ छैन । अस्पताल गयो, उपचार छैन । सरकारी कार्यालय गयो, घूस नखुवाई काम हुँदैन । बैंक गयो, ब्याज चर्को । बजार गयो, महँगी चर्को । दूध किन्यो, ठगिएकै छ । चामल किन्यो, ठगिएकै छ । सहरमा काम छैन, गाउँमा श्रम छैन । खेत बाँझै छन्, तर जोत्न पाइँदैन । न मल, न बीउ । नेताले ठग्छ । पुलिसले ठग्छ । हाकिमले ठग्छ । ठेकेदारले ठग्छ ।’ आफू ठगिएको सम्पूर्ण कथा बेलीविस्तार लगाएपछि उसले थप्यो, ‘सकिँदैन यार ! यो देश साना मान्छेका सपनाहरूको मसानघाट भैसक्यो ।’

मेरो साथी यो देशका लाखौं आम मान्छेको प्रतिनिधि पात्र हो । उसले भन्यो, ‘थाहा छ तिमीलाई ? यो देशमा एउटा साधारण मान्छे दैनिक सरदर दसचोटि ठगिन्छ ।’ मान्छेका कोमल सपनाहरू ढुंगाजस्ता तीखा र कठोर सत्यसँग ठोक्किएर कसरी छियाछिया बन्छन्, त्यसको जिउँदो साक्षी हो ऊ । पछिल्लो समय भेट्दा उसको अनुहार सुक्खा र उजाड थियो । ‘किन यति धेरै निराश छौ, यार ?’ मेरो प्रश्नमा उसले भन्यो, ‘यो देशमा आशाको उज्यालो निभिसक्यो, साथी ! हाम्रो पुस्ताका लागि अब कुनै सम्भावना बाँकी छैन ।’

किन यति धेरै लाचार छ मेरो साथी ? किन आम मान्छेका लागि नेपालमा आशाको उज्यालो कतै देखिँदैन ? एकातिर मान्छेहरू भन्छन्— यो लोकतन्त्रको असफलता हो; यो संघीयताको असफलता हो । अर्का थरी मान्छेहरू भन्छन्— यो व्यवस्थाको हैन, राजनीतिको असफलता हो । खासमा यो केको असफलता हो ? राजनीतिको कि व्यवस्थाको ? विचार गरौं ।

राजनीति : आकाशको कुरा

राजनीति भन्नु र राज्यव्यवस्था भन्नु एउटै कुरा होइन । राजनीति, सरकार र सत्ता भन्नु पनि फरकफरक कुरा हुन् । राजनीति आफैंमा व्यापक र गहिरो विषय हो । जस्तो कि, आकाश । आकाशको विशालता र गहिराइ अनन्त हुन्छ । आकाशभित्र ताराहरू हुन्छन्, चन्द्रमा हुन्छ, ग्रहहरू हुन्छन् । तर चन्द्रमा भन्नु र आकाश भन्नु एउटै कुरा होइन । यसरी हेर्दा राजनीति भन्नु र पार्टी भन्नु पनि एउटै कुरा होइन । राजनीतिभित्र पार्टीहरू हुन्छन् । सत्ता हुन्छ । र, सरकार हुन्छ । तर त्यति मात्र हुँदैनन्, किनभने राजनीति व्यापक र गहिरो विषय हो ।

राजनीतिको आकाशभित्र मुख्यतः तीन कुरा हुन्छन् । पहिलो— चेतना, दर्शन, ज्ञान, विज्ञान र विचारहरू । दोस्रो— जनता, देश, राज्य, सरकार, पार्टी र प्रणालीहरू । तेस्रो— संकल्प, प्रतिबद्धता र मूल्यमान्यताहरू । यी सम्पूर्णको योगफल हो— राजनीति । अतः राजनीति भनेको व्यवस्था, प्रणाली र सरकार मात्र होइन । राजनीति भनेको जीवन र जगत्लाई हेर्ने, बुझ्ने, उत्प्रेरित गर्ने र बदल्ने अभियान हो । राजनीति व्यक्ति, समाज र संसारको बनोट र चाललाई बुझ्ने अनि बदल्ने कुरा हो । राजनीतिले संसारलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर चिन्तन गर्छ । यसर्थ यो ज्ञान पनि हो र साधना पनि । र, राजनीति जीवन र जगत्लाई समृद्ध गर्ने अनुष्ठान हो ।

भनिन्छ, मान्छे स्वयं राजनीतिक प्राणी हो । प्रत्येक सचेत मान्छेले राजनीति गरिरहेको हुन्छ । जस्तो कि, लेख्नु राजनीति हो । अनुसन्धान गर्नु राजनीति हो । विज्ञान राजनीति हो । गीत, संगीत र नाटक गर्नु पनि राजनीति हो । त्यस्तो प्रत्येक चीज राजनीति हो जसले जीवन र जगत्का बारेमा विचार गर्छ । र, सँगै जीवन र जगत्‌लाई अझ सुन्दर बनाउन उत्प्रेरित गर्छ । संसारलाई अझ सुन्दर, कलापूर्ण, उन्मुक्त र भव्य बनाउन लेखकले, कलाकारले, गायकले, कृषकले, व्यापारीहरूले योगदान गरिरहेका हुन्छन् । यसको अर्थ, सबैले राजनीति नै गरिरहेका हुन्छन् ।

आंगिक संरचनाहरू

राजनीति एक्लो हुँदैन । यो अनेक आंगिक वा सहयोगी संरचनाहरूसँग एकता र संघर्षको नियममा मिलेर बसेको हुन्छ । जस्तो, राजनीतिमा दलहरू हुन्छन् । नागरिक समाज हुन्छ । लेखक, कलाकारहरू हुन्छन् । उद्योगी, व्यापारीहरू हुन्छन् । सामाजिक अभियन्ताहरू हुन्छन् । यी सबै राजनीतिका आंगिक वा सहयोगी संरचना हुन् । आकाशमा ताराहरूजस्तै । अतः राजनीतिमा दलहरू मात्र महत्त्वपूर्ण हुँदैनन् । बरु त्यति नै महत्त्वपूर्ण हुन्छन् नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि । यी सबैको सामूहिक योगदान हो राजनीति । अतः राजनीतिको सफलता र असफलता दलहरूको सफलता र असफलतामा मात्र निर्भर हुँदैन । वस्तुतः कस्तो राजनीति गर्ने ? खासमा यो दलहरूलाई मात्र सोध्नुपर्ने प्रश्न हैन । यो नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरूलाई पनि उसरी नै सोध्नुपर्ने एउटा महत्त्वपूर्ण राजनीतिक प्रश्न हो ।

त्यसो भए व्यवस्था के हो ? देशदुनियाँका अनेक स्वार्थ र सपनाहरूलाई नियमन गर्ने एउटा साधन हो राज्य । राज्यलाई सञ्चालन गर्ने पद्धति वा प्रणाली हो— व्यवस्था, जसलाई दिशानिर्देश गर्छ राजनीतिले । र, पार्टीहरूले त्यसलाई कार्यान्वयन गर्छन् । यो सम्पूर्ण चक्रमा राजनीतिका आंगिक संरचनाहरूले मिलेर काम गरे भने राजनीति सफल हुन्छ । अन्यथा राजनीति असफल हुन्छ । राजनीति असफल हुनु भनेको दलहरू मात्र असफल हुनु होइन; दलहरूसँगै नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवी र अरूहरू पनि असफल हुनु हो ।

असफलताको दुश्चक्र

राजनीतिक असफलता सामूहिक दुश्चक्रको एउटा कठिन सिलसिला हो, जसलाई बुझ्न केही प्रश्न हेरौं । जस्तो, राजनीतिक असफलताहरूको स्रोत कहाँ छ ? मान्छेहरू भन्छन्— हाम्रा समस्याहरू दलहरूमा निहित छन्; नेताहरूमा निहित छन्; सरकार लम्फु छ । निश्चय नै, हाम्रो गरिबी, कुशासन र अविकासका लागि दल, नेता र सरकारहरू जिम्मेवार होलान्, तर दलहरूलाई सरकारमा पुर्‍याउँछ कसले ? मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?

जब समाजमा आलोचनात्मक चेतना सकिन्छ र भाटगिरी सुरु हुन्छ, तब राजनीति राजनीतिजस्तो हुँदैन । जव राजनीतिका आंगिक संरचनाहरू सड्दै र गल्दै जान्छन्, तब राजनीतिले जीवन र जगत्लाई बदल्ने सामर्थ्य गुमाउँछ । जब लेखकले ठीक कुरा लेख्न छोड्छ, जब कलाकारले जीवनमुखी सृजना गर्दैन, जब व्यापारीले लुट्न थाल्छ, जब बुद्धिजीवी सत्ताको दास बन्छ, तब यस्तो हुँदै जान्छ । राजनीतिका सम्पूर्ण अंग बिग्रँदा दलहरू मात्र राम्रा हुन्छन् भनेर अपेक्षा गर्नु आफैंमा मूर्खता हो । किनभने राजनीतिका आंगिक संरचनाहरू एकअर्कासँग अविभाज्य र अन्तर्निहित हुन्छन् ।

यसरी हेर्दा स्पष्ट हुन्छ, अहिलेको मुख्य समस्या न व्यवस्था वा प्रणाली मात्र हो न त दलहरू मात्र । अहिलेको मुख्य समस्या राजनीति हो । र, यसका सम्पूर्ण आंगिक संरचनाहरूमा अहिले समस्या छ । जस्तो कि, अहिले लेखकहरूमा समस्या छ । कलाकारहरूमा समस्या छ । बुद्धिजीवीहरूमा समस्या छ । कार्यकर्ताहरूमा समस्या छ । मतदाताहरूमा समस्या छ । नागरिक समाजमा समस्या छ । प्राध्यापकहरूमा समस्या छ । यो आरोप तिनलाई हैन, जसले राजनीतिलाई ठीक दिशा दिन सक्दो प्रयत्न गरी नै रहेका छन् । यो आरोप तिनलाई हो, जसले बिग्रिएको राजनीतिलाई अझ सत्यानाश गर्न योगदान गरिरहेका छन् ।

के हामी आम निराशाको सिकार हुँदै छौं ? होइन । तर राजनीतिका आंगिक संरचनाहरूले स्वयं राजनीतिमाथि निर्णायक हस्तक्षेप गर्ने बेला भने अब भयो । अन्यथा आम निराशा हाम्रो नियति बन्नेछ । अन्यथा दल र नेताहरूलाई गाली गरेर मात्र अवस्था फेरिनेछैन । सत्य हो, अहिलेको बिग्रँदो अवस्थामा बदलाव ल्याउन निश्चय नै पार्टीहरू त फेरिनैपर्छ, तर त्यतिले मात्र पुग्दैन । कार्यकर्ताहरू पनि फेरिनुपर्छ । मतदाताहरू पनि फेरिनुपर्छ । नागरिक समाज पनि फेरिनुपर्छ । कर्मचारी, प्राध्यापक र शिक्षकहरू पनि फेरिनुपर्छ । लेखकहरू फेरिनुपर्छ र कलाकारहरू पनि फेरिनुपर्छ । अरू पनि सबैसबै फेरिनुपर्छ ।

अन्त्यमा यति भनौं, राजनीतिक सफलता सामूहिक सफलताको एउटा उज्यालो अवस्था हो । असफलता हाम्रो आफ्नै सामूहिक दासता र दुष्कर्मको परिणाम । हामीले के रोज्ने ? दासताको अँध्यारो कि स्वतन्त्रताको उज्यालो ? व्यवस्थालाई दोष दिएर मात्र कतै पुगिँदैन । यो सम्पूर्ण परिवर्तनको समय हो । यो स्वयं हाम्रो राजनीति बदल्ने समय हो । अन्यथा दल, नेता र सरकार मात्र कसै गरी फेरिनेछैनन् । स्पष्ट छ, राजनीतिलाई यथावत् राखेर नयाँ परिणाम आउँदैन ।

[email protected]

प्रकाशित : वैशाख १५, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?